सेतोपाटी चुनाव विश्लेषण: चितवन-१
शनिबार बिहान ७ बजे चितवनको राप्ती नगरपालिका लोथरस्थित एउटा चिया पसलमा पुग्दा एक दम्पती भेटिए।लोथर चितवन-१ निर्वाचन क्षेत्रमा पर्छ।
हामी त्यहाँ चुनावी माहोलबारे स्थानीयसँग कुरा गर्न चाहन्थ्यौं। यहाँ चुनावी माहोल कस्तो छ भन्ने हाम्रो प्रश्न भुइँमा झर्न नपाउँदै ती दम्पतीले ‘हामी त यसपालि घन्टीलाई भोट दिने हो’ भने।
मित्रलाल बर्तौला र पम्फा बर्तौला लोथरका स्थानीय हुन्। उनीहरूले यसअघि एमालेलाई मत दिने गरेका थिए। यसपालि भने मन फेरेका छन्, मत फेर्ने निधो गरेका छन्।
‘जित्न त के गर्छन् तर हरि ढकालले निकै मत ल्याउँछन्,’ मित्रलालले भने।
श्रीमती बर्तौलाले श्रीमानलाई सम्झाइन्, ‘त्यसो नभन्नुस्।’
बर्तौला दम्पती मात्र होइन, हामीले यो निर्वाचन क्षेत्रका धेरै वडा घुम्दा यस्ता धेरै मतदाता भेट्यौं जसले यसअघि अरू दललाई मत दिएका थिए। यसपालि भने उनीहरू राष्ट्रिय स्वतन्त्र पार्टीलाई मत दिन चाहन्छन्। ढकाल राष्ट्रिय स्वतन्त्र पार्टीबाट प्रतिनिधिसभा उम्मेदवार छन्।
कतिपय मतदाता यस्ता पनि भेटिए जो हरि ढकाललाई चिन्दैनन् तर घन्टी चुनाव चिह्नमा भोट दिने बताउँछन्।
स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने चितवन आएर चुनाव लडेकाले पनि यहाँ त्यसको प्रभाव परेको देखिन्छ। लामिछाने सँगैको निर्वाचन क्षेत्र चितवन-२ मा चुनाव लडेका छन्। त्यसले चितवन-१ मा पनि माहोल बनाउन सहयोग पुगेको छ।
परम्परागत रूपमा नेपाली कांग्रेस र नेकपा एमालेलाई मत दिइरहेका कतिपय मतदाता नै राष्ट्रिय स्वतन्त्र पार्टीको पक्षमा उभिएपछि यी दलहरूलाई दवाब परेको छ।
चुनावमा मतदाता के भनिरहेका छन्? उनीहरूका मुद्दा र सरोकार के छन्? स्थानीय र राष्ट्रिय राजनीतिबारे उनीहरूको धारणा के छ? उनीहरू कसलाई र किन भोट दिन चाहन्छन्? यसपालि कुनै दलप्रति असन्तुष्टि वा आकर्षणका आधार के हुन्?
यिनै प्रश्नबारे कुरा गर्न र मतदाताको धारणा बुझ्न हामीले यो निर्वाचन क्षेत्रका धेरै मतदातासँग उनीहरूको गाउँ, टोलमा पुगेर कुरा गर्यौं।
हामीले यो निर्वाचन क्षेत्रका तीनवटै नगरपालिका रत्ननगर नगरपालिका, खैरहनी नगरपालिका र राप्ती नगरपालिकाका करिब दुई दर्जन मुख्य टोल र बस्तीमा पुगेर १५० जना मतदातासँग कुरा गरेका छौं।
हामीले विधि पुर्याएर मत सर्वेक्षण गरेका होइनौं। हामी त्यसका लागि यहाँ आएका पनि होइनौं। यी ठाँउमा पुग्दा त्यहाँ चोक, पसल, बाटो, बारी वा खेतमा भेटिएका मतदातासँग हामीले कुरा गरेका हौं। उनीहरूसँगको कुराकानी, यो निर्वाचन क्षेत्रको वस्तुस्थिति र पछिल्ला निर्वाचनको मत विश्लेषण गरेर अहिलेको चुनावी विश्लेषण गर्ने हाम्रो ध्येय हो।
हामीले कुरा गरेका १५० जना मतदातामध्ये २८ प्रतिशतले राष्ट्रिय स्वतन्त्र पार्टीका ढकाललाई मत दिने बताए।
त्यस्तै २३ प्रतिशतले नेपाली कांग्रेसका विश्व पौडेललाई मत दिने बताए भने १६ प्रतिशतले एमालेका सुरेन्द्र पाण्डेलाई र ५ प्रतिशतले राप्रपाका मधुकुमार (माधव) भट्टराईलाई मत दिने बताए। यसबाहेक अर्का ५ प्रतिशतले यसपालि कसैलाई पनि मत नदिने भनेका छन्।
हामीले कुरा गरेकामध्ये २३ प्रतिशत मतदाताले कसलाई मत दिने अहिले नै निर्णय गरिनसकेको बताएका छन्।
दलहरू भर्खंरै चुनाव प्रचारप्रसारमा गएका छन्। चुनावका लागि दुई साता बाँकी नै छ। त्यसैले पनि मतदाताको ठूलो हिस्सा (२३ प्रतिशत) ले कसलाई मत दिने भन्ने निर्णय गरिसकेको छैन। यी मतदाताको निर्णयमा यहाँको अन्तिम चुनावी परिणाम निर्भर रहनेछ।
तर पनि अहिलेसम्मको माहोल र मन बनाइसकेका मतदाताका कारण चुनावको प्रारम्भिक तस्बिर बाहिर आएको छ। त्यसले भन्छ- यसपालि राष्ट्रिय स्वतन्त्र पार्टीले कांग्रेस र एमालेको धेरै मत तान्नेछ। उक्त पार्टीलाई मत दिन्छु भन्ने ४२ जना मतदातामध्ये १९ जनाले यसअघि एमालेलाई मत दिएको बताए। त्यस्तै १३ जनाले यसअघि नेपाली कांग्रेसलाई मत दिएको बताए भने ३ जनाले माओवादी केन्द्रलाई। अरू ५ जनाले भने यसअघि कसलाई मत दिएको बताउन चाहेनन्।
यसरी अहिलेसम्मको परिस्थितिमा राष्ट्रिय स्वतन्त्र पार्टीले यहाँ एमालेको सबभन्दा धेरै मत तान्ने देखिन्छ। त्यसका केही वस्तुगत कारण पनि छन्।
हरि ढकाल एमाले पृष्ठभूमिका व्यक्ति हुन्। रत्ननगर पिठुवाका ढकालको परिवार २०१५ सालमा गोरखाबाट बसाइ सरेको हो। त्यसैले उनी र उनको परिवार लामो समयदेखि यहाँको बासिन्दा हो। मध्यमवर्गीय परिवारका ढकाल १५ वर्षदेखि सेयर कारोबारमा सक्रिय छन्।
उनको राजनीतिक पृष्ठभूमि एमाले हो। उनी एमाले विद्यार्थी संगठन अनेरास्ववियुको चितवन सचिवसमेत बनेका थिए।
२०७४ को चुनावमा समेत उनी रत्ननगर नगरपालिका र चितवन क्षेत्र नम्बर १ मा एमालेलाई जिताउन सक्रियतापूर्वक लागेका थिए। उनको फेसबुकमा अहिले पनि एमाले नेताहरूसँगको फोटो प्रशस्त भेटिन्छ। उनै ३९ वर्षीय ढकाल अहिले एमालेका लागि ठूलो चुनौती बनेका छन्।
ढकालका चुनाव प्रचार संयोजक दिपक गौतमका अनुसार उनले एमालेको सरकारमा अर्थमन्त्री युवराज खतिवडाले सेयर बजारबारे लिएको नीतिका कारण एमाले छाडेका हुन्। खतिवडाको सेयर बजारप्रति नकारात्मक धारणाका कारण सेयर बजारमा त्यतिखेर समस्या आएको उनको भनाइ छ। सेयर बजारमा समस्या आउँदा ढकाल आमरण अनसनसमेत बसेका थिए।
यसअघि स्थानीय निर्वाचनमा ढकाल काठमाडौं महानगरका मेयर बालेन शाहको अभियानमा सक्रिय थिए। त्यही बेलादेखि उनी वैकल्पिक राजनीतिप्रति आकर्षित भएका हुन्।
रत्ननगर २०५४ सालदेखि नै एमालेको गढका रूपमा स्थापित थियो। २०७४ मा पनि यहाँ एमालेले नै जितेको थियो। त्यो बेला पनि एमालेलाई जिताउन ढकाल चुनावमा खटेका थिए। २०७९ को स्थानीय निर्वाचनमा भने गठबन्धनले रत्ननगरमा एमालेलाई हराएको हो। यहाँ नेपाली कांग्रेसले मेयर जितेको थियो।
हामी रत्ननगर पुग्दा ढकालको पक्षमा राम्रो माहोल पायौं। एमालेलाई अघिल्लोपटक मत दिएका थुप्रै मतदाताले उनलाई मत दिने बताए।
प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गर्दा त्यसको विरोधमा उभिएका र उनलाई प्रधानमन्त्रीबाट हटाउन भूमिका खेलेका पाण्डेसँग एमालेका कतिपय कार्यकर्ता खुसी देखिन्नन्। उनी पछिल्लो समय ओलीसँगै उभिए पनि कैयन एमाले कार्यकर्ता र शुभचिन्तकमा उनीप्रति पहिलेको जस्तो सद्भाव र न्यानोपन देखिन्न।
एकीकृत समाजवादीका कार्यकर्ताका नजरमा पाण्डेले अन्तिम समयमा माधवकुमार नेपाललाई साथ नदिएर धोका दिए। त्यसैले उनीहरू पनि पाण्डेसँग रूष्ट छन्। यसरी आफ्नै पूर्वसहकर्मीहरूको दोहोरो मार खेपिरहेका छन् पाण्डेले। तर यो नै उनी पछि पर्नुको निर्णायक कारण भने होइन।
पाण्डेले चितवन-१ बाट २०७० र २०७४ गरी दुईपटक चुनाव जितेका थिए। उनले दुईपटक चुनाव जितेर पनि केही नगरेको आरोप कतिपय मतदाताको छ।
तुलनात्मक रूपमा हेर्ने हो भने चितवन-१ नेपालका धेरै निर्वाचन क्षेत्रका दाँजोमा विकास र भौतिक पूर्वाधारका हिसाबले पछि छैन, बरू धेरै अघि छ। कतिपय विकास परियोजना पाण्डेले आफ्नै पहलमा यहाँ ल्याएका पनि छन्।
खैरहनी नगरपालिका-१०, सवनपुरका देवराज खरेलले सुरेन्द्र पाण्डेले विकास निर्माण गरेको र जनताको समस्यामा साथ दिएकाले उनैलाई मत दिने बताए।
क्षमता र इमानका हिसाबले पनि संसदमा औसत सांसदभन्दा पाण्डे धेरै माथि छन्। तर कैयन मतदाताका असन्तुष्टिका आयाम फरक हुन्छन्। कालोपत्रे सडक र तुलनात्मक रूपले राम्रो र व्यवस्थित टोलका एक मतदाताले हामीसँग कुरा गर्दै भने, ‘चोर नेताहरूले केही गरेनन्!’
मूलधारका पार्टी र नेताहरूसँगको असन्तुष्टिको पारो चितवनमा यसपालि अलि धेरै नै देखिएको छ। त्यसले पनि मतदाताले विकल्पतर्फ आँखा लगाएका छन्।
राप्ती-६ का रामेश्वर तामाङ र राप्ती-७ का रामहरि मिजार अटोरिक्सा चलाउँछन्। भण्डारामा एउटै अटोरिक्सामा बसिरहेका बेला भेटिएका तामाङ र मिजार दुवैले घन्टीलाई भोट दिने बताए।
‘पहिला पहिला एमालेलाई दिएको हो। स्थानीय तहमा गठबन्धनलाई दियौं। तर यसपटक रवि सरको पार्टीलाई दिने हो,’ दुवै जनाले एकै स्वरमा भने, ‘कति पुरानालाई मात्रै भोट दिने भनेर यसपटक नयाँलाई मौका दिने।’
रत्ननगर गणेश टोलकी निरू चौधरीले २०७४ मा एमालेलाई मत दिएकी थिइन्। स्थानीय निर्वाचनमा कांग्रेसलाई मत दिइन्। यसपटक पनि उनले मत बदल्दै छिन्।
‘कति पुरानाको नाच हेर्नु, कहिलेकाहीँ नयाँको पनि नाच हेरौं भनेर यसपटक घन्टीमा भोट हाल्ने हो। मेरो श्रीमानले पनि यसमै भोट दिनुहुन्छ,’ उनले भनिन्, ‘हामीले त भोट दिन्छौं भनेका छौं भने युवाहरूले त नदिने कुरै आउँदैन।’
जग्गाधनी लालपुर्जा मिलाइदिन्छु भनेर कसैले नमिलाएकाले आफूले नयाँ पार्टी रोज्न लागेको उनले बताइन्।
रत्ननगर-२, टाँडीका दिनोज श्रेष्ठले आफू कांग्रेसको सक्रिय सदस्य भएकाले अन्तिम समयमा के गर्छु भन्न नसक्ने तर छोरा र श्रीमतीले भने घन्टीमा भोट हाल्ने बताए। तपाईंले घन्टीमा भोट दिने सम्भावना अहिलेसम्म कति छ भनेर सोध्दा उनले भने, ‘आजको दिनसम्म सय प्रतिशत छ।’
पाण्डेका तुलनामा नेपाली कांग्रेसका विश्व पौडेलको स्थिति केही राम्रो छ। उनले टिकट पाएपछि विद्रोहमा ओर्लिएका कांग्रेस नेता राजेन्द्र बुर्लाकोटीले आफ्नो उम्मेदवारी फिर्ता लिएर उनलाई सघाएका छन्। कांग्रेस तुलनात्मक रूपमा एक ढिक्का देखिएको पनि छ।
पौडेल पहिलोपटक उम्मेदवार भएको र राष्ट्रिय योजना आयोगको निवर्तमान उपाध्यक्ष भएकाले पनि उनलाई केही सहज छ। सायद फेरि पनि गठबन्धन सरकार बन्छ र पौडेलले यो क्षेत्रको विकासमा योगदान गर्न सक्छन् भनेर पनि होला, उनीप्रति मतदाताको आकर्षण देखिएको छ।
अघिल्लोपटक पाण्डेलाई मत दिएको बताउने तीन जना मतदाताले यसपालि पौडेललाई दिने बताए। तर अघिल्लोपटक कांग्रेसलाई मत दिएको र यसपालि एमालेलाई दिन्छु भन्ने एक जना पनि मतदाता हामीले भेटेनौं।
रत्ननगर-३, वेल्सीका स्वर्णिम खरेलले आफूले पहिला एमालेलाई भोट दिएको भए पनि यसपटक नेपाली कांग्रेसलाई भोट दिने बताए।
‘सडक पिच गराउने मात्रै विकास होइन। अब रोजगारी पनि दिनुपर्छ। त्यो काममा सरकारले ध्यान दिओस्,’ उनले भने, ‘एकपटक विश्व पौडेललाई मौका दिनुपर्छ। पढेको मान्छे भएकाले केही गरौं भन्नेलाई जिताउनुपर्छ।’
सत्ता गठबन्धन मिलेर चुनाव लडेकाले पनि यहाँ पाण्डेको तुलनामा पौडेललाई सहज भएको हो। स्थानीय तहको निर्वाचनमा पनि गठबन्धन एक भएर चुनाव लडेको थियो। यो निर्वाचन क्षेत्रका तीन नगरपालिकामध्ये रत्ननगर र खैरहनी नगरपालिकाको प्रमुख नेपाली कांग्रेसले जितेको छ भने राप्ती नगरपालिकाको प्रमुख नेकपा एकीकृत समाजवादीले जितेको छ।
यस क्षेत्रमा पर्ने वडाहरूको मतलाई आधार मान्ने हो भने नेकपा एमालेले ३९ हजार ६ सय ६ मत पाएको छ। नेपाली कांग्रेसले ३६ हजार ७ सय ८३ मत पाएको छ। नेकपा माओवादी केन्द्रले ५ हजार २ सय ५२ र नेकपा एकीकृत समाजवादीले ४ हजार ५ मत पाएको छ।
नेपाली कांग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादी एकै ठाँउमा ४६ हजारभन्दा बढी मत पुग्छ।
त्यस्तै २०७४ सालको संसदीय निर्वाचनमा समानुपातिकतर्फ यो क्षेत्रबाट एमालेले ३९ हजार ९ सय मत पाएको थियो भने नेपाली कांग्रेसले ३० हजार ७ सय ५० र माओवादी केन्द्रले ८ हजार ७८ मत पाएको थियो।
२०७४ को संसदीय निर्वाचन र गएको स्थानीय निर्वाचनलाई हेर्ने हो भने विश्व पौडेको जित निश्चितजस्तै हुनुपर्ने हो। तर राष्ट्रिय स्वतन्त्र पार्टीका नयाँ खेलाडीको प्रवेशले यो निर्वाचन क्षेत्रलाई त्रिपक्षीय प्रतिस्पर्धामा बदलिदिएको छ। यो प्रतिस्पर्धामा पछि परेर पाण्डे ‘रेड जोन’ मा धकेलिएका छन् भने आजका दिनसम्म पौडेल र ढकालबीच पहिलो स्थानका लागि प्रतिस्पर्धा देखिन्छ।
नयाँ र तुलनात्मक रूपले बलियो खेलाडीको प्रवेशले यो निर्वाचन क्षेत्रको चुनावी अंकगणित बदलिदिएको छ। कांग्रेस, एमाले मात्र हुँदा ती दुवै दलका समर्थक मतदातालाई विकल्प खोज्न सजिलो थिएन।
कांग्रेस र एमालेका परम्परागत मतदाताले हतपत पार्टी बदलेर प्रतिद्वन्द्वी दललाई मत दिँदैनन्। कांग्रेसका समर्थकले एमाले वा एमालेका समर्थकले कांग्रेसलाई मत हाल्ने एकदमै कम हुन्छ। किनकि पार्टीका समर्थक मतदाताबीच पनि गाउँ, टोलमा प्रतिस्पर्धा हुने गर्छ। त्यसैले आफ्नो दल वा नेतासँग असन्तुष्ट भए पनि उनीहरूले हतपत प्रतिस्पर्धी दललाई मत हालिहाल्दैनन्।
तर जब नयाँ र केही सम्भावना भएको दल वा उम्मेदवार आफ्नासामु आउँछ, उनीहरूले विकल्प पाउँछन्। त्यसैले चितवन-१ मा परम्परागत रूपमा कांग्रेस र एमालेलाई मत दिने गरेका तर ती दलसँग असन्तुष्ट मतदाताले यसपालि विकल्प पाएको ठानेका छन्। पहिले एमाले र कांग्रेसलाई मत दिएका थुप्रै मतदाता यसपालि राष्ट्रिय स्वतन्त्र पार्टीका ढकाललाई मत दिन तयार देखिएका छन्।
राष्ट्रिय स्वतन्त्र पार्टीबाट धेरै आशा राखेर भन्दा पनि कांग्रेस, एमालेसँग दिक्क भएर वा आक्रोशित भएर उक्त दललाई मत दिन्छु भन्नेहरू धेरै छन्।
खेती गर्ने समयमा मल नपाएकोदेखि विकास निर्माण नभएकोसम्म उनीहरूको गुनासो छ।
सडक दुर्घटना न्यूनीकरण, जंगली जनावरको व्यवस्थापन, फोहोर व्यवस्थापन, पक्की सडक, पक्की सडक भएको ठाउँमा नाली अनि समयमा मल, बीउ पाउनुपर्ने लगायत विषय यहाँका मतदाताका मुख्य माग र मुद्दा हुन्।
नयाँ उम्मेदवारले जितेपछि यी मागहरू सम्बोधन हुन्छन् भन्ने यहाँका मतदातालाई लागेको छैन। तर उनीहरू पुरानालाई सबक सिकाउन चाहन्छन्। राष्ट्रिय स्वतन्त्र पार्टीका स्थानीय उम्मेदवारका कारण भन्दा पनि रवि लामिछानेका कारण त्यो दललाई मत दिन चाहनेको संख्या पनि यहाँ धेरै छ।
चुनावको प्रचारप्रसार भर्खंरै सुरू भएको छ। नेता-कार्यकर्ता मतदाताकहाँ पुग्ने र पार्टीहरूको संगठन परिचालित हुने समय भर्खरै सुरू हुँदैछ। संगठन र कार्यकर्ता परिचालनको लाभ नयाँ दललाई भन्दा पुराना र संगठित दललाई हुनेछ। कसलाई मत दिने भनेर निर्णय गरिनसकेका कैयन मतदातालाई उनीहरूले फेरि पनि आफ्नो दलमा फर्किन सहमत गराउन सक्छन्।
यसै पनि कसलाई मत दिने भनेर निर्णय गर्न नसकेका अधिकांश मतदाता कांग्रेस-एमालेका छन्।
खैरहनी-६, पुरानो पर्साकी सरिता धरेल आफ्नो टोलमा सडकभन्दा नाली उँचो बनाएर अनियमितता भएको भन्दै रूष्ट छिन्। विगतमा कांग्रेसलाई मत दिएकी उनले यसपालि कसलाई मत दिने भन्ने निर्णय गरिनसकेको बताइन्।
घन्टीमा मत दिन्छु भन्ने मतदाता सुरूमै खुलेर बोलेको हामीले भेट्यौं। तर धेरै लामो कुरा गरेपछि मात्र एमाले वा कांग्रेसलाई मत दिन्छु भन्ने मतदाता खुलेको हामीले पायौं।
त्यसैले अहिले नखुलेका कतिपय मतदाताले फर्किएर ‘आफ्नै’ पुराना दललाई मत दिने सम्भावना रहन्छ। त्यसको लाभ कांग्रेस र एमालेलाई हुनेछ। तर चुनावी दौडमा सुरूमै अग्रता पाएका उम्मेदवारको आफ्नै आत्मविश्वास हुन्छ र सुरूआती अग्रताको केही लाभ पनि। यसले ढकाललाई सहयोग पुग्छ।
कांग्रेस र राष्ट्रिय स्वतन्त्र पार्टीलाई मत दिन्छु भन्ने मतदाताहरू हाराहारी नै रहेकाले यी दुई दलबीच मुख्य प्रतिस्पर्धा हुने सम्भावना छ। अहिलेसम्म धेरै पछि देखिएका एमाले नेता पाण्डेसँग दुईपटकको चुनावमा कार्यकर्ता परिचालन गरेको र चुनाव लडेको अनुभव छ। तर पनि अहिले देखिएको मतदाताको फरक रूझान आफूतिर बदल्न पाण्डेलाई सजिलो छैन। आफूलाई ‘रेड जोन’ बाट निकालेर चुनाव जित्न पाण्डेले ठूलो ‘कम ब्याक’ गर्नुपर्छ।