एक वर्षअघि ‘नेपाली ट्राभलर्स’ नामक समूहले एउटा प्रतियोगिताको घोषणा गर्यो- महिलाको एकल यात्रा शीर्षकमा।
घुम्नका लागि संस्थाले तोकेको मापदन्डभित्र रहेर प्रतियोगिता जित्नुपथ्र्यो। मैले जितेँ। र, रोजेँ, मधेस यात्रा।
यात्रा थालिसकेपछिका चुनौति बेग्लै कुरा हुन्। हिँडिसकेपछि जे पर्छ, जसो पर्छ, सहने शक्ति बोकेर हिँडिन्छ। घुम्नुअघिको चुनौति पार गर्नु भनेको सर्पै–सर्पले भरिएको जंगल पारे गरेजस्तो! पहिलो त घुम्ने संस्कृति बसिसकेको छैन। एक्लो घुम्ने त परको कुरा। महिला भएकै कारण एक्लै यात्रा गर्ने भनेर सोच्न त अझै थुप्रै वर्ष कुर्नुपर्ला। त्यसमाथि चाडबाडको मुखैमा छोरी यात्रका लागि भनेर निस्कँदा जोकोही आमाबाबुले सायदै अनुमति देलान्।
मानौं, यात्राका लागि अनुमति पाइयो, सोध्न थाल्छन्, ‘जाने कहाँ नि?’ त्यसपछि दिने उत्तर उनीहरुका लागि अप्रत्याशित हुनसक्छ। मानौं, ठाउँ पनि चित्त बुझ्यो। अर्को प्रश्न आउँछ, कोसँग जाने नि? ‘एक्लै’ भन्ने सुन्दा जिस्केजस्तो लाग्दो रहेछ। नौलो ठाउँ या त्यो ठाउँ कुनै दुःखद घटनाका लागि परिचित छ भने परिवारको मन्जुरी पाउनु सजिलो छैन। परिवारका सदस्यलाई मनाएर मन्जुरी पाउनु भनेको यात्राको आधा चुनौति सकिनु हो।
खैर, समस्याका तारजाली तोडेर म एक्लो मधेस यात्रामा निस्किएँ।
अब मधेस नै चुन्नुको कारणबारे बताउँ!
दस वर्षभन्दा बढी समयदेखि मधेस आन्दोलित छ। अझ संविधान जारी हुने समयदेखि तातेको मधेस सेलाउने छाँटकाँट थिएन। राजनीतिको केन्द्रमा मधेस थियो, सन्चारमाध्यममा हरेक दिनजसो मधेस छाउँथ्यो, सामाजिक सन्जालमा मधेसलाई लिएर राष्ट्रियतामाथि टिका–टिप्पणी भइरहेका थिए। प्रभाव यसैको हो। मलाई खोला, झरना, हिउँका ‘सौन्दर्य’भन्दा समाज बुझ्ने यात्रा मनपर्छ। धेरैतिर मधेसले प्रभाव पारेकाले मेरो लागि यही नै ठूलो सिकाइ होला भन्ने ठानेँ। र, पूर्व झापादेखि पश्चिमको कन्चनपुरसम्मको यात्रा तय गरेँ।
यो यात्रा साँच्चिकै रोमान्चक थियो।
पोहोर यस्तै बेला हो। चाडबाडको समय। काठमाडौंबाट झापाको यात्रा गर्दाको कुरा, बसमा राम्रो सिट पाइएन। क्याबिन सिटमा बसेँ। घरमा झुठ बोलेँ, ‘अगाडिकै सिट पाइयो। राम्रैसँग आएँ।’
यी त सामान्य कुरा भए, महत्वपूर्ण कुरा त मैले कस्तो सिट पाएँ भन्दा पनि कसरी घुमेँ भन्ने हो। त्यो पनि त एउटा राम्रो अनुभव हो।
यात्रा त काठमाडौंदेखि नै सुरु भएको हो, तर मेरो खास यात्रा झापा पुगेपछि सुरु हुन्छ। म पहिलोपटक यस्तो यात्रामा निस्केको थिएँ, जुन यात्राको गन्तव्य त थियो, तर यति नै समय, यसरी नै पुग्नुपर्छ पूर्व योजना थिएन।
यात्रामा महिला श्रृंखला १-
कहाँ घुम्ने, कसरी घुम्ने, आफैंसँग यस्ता प्रश्न थिए।
स्वतन्त्र थिएँ म। सँगै पढेका दुई साथीलाई बिर्तामोडमा भेटेँ। गफ भयो, उनीहरुलाई मेरो उद्देश्य सुनाएँ। तुरुन्तै बेलडाँगीस्थित भुटानी शरणार्थी शिविर जाने सल्लाह भयो। मधेसमा लोकप्रिय बन्दै गरेको सवारीसाधन मयुरी चढ्यौं, र लाग्यौं, बेलडाँगी। खपिनसक्नुको गर्मी। स–साना छाप्राहरु। साना बजार। अनि, विभिन्न अन्तर्राष्ट्रिय संस्थाका बोर्डले शिविर वरिपरीका वातावरण रंगीचंगी देखिन्थ्यो। तेस्रो देशमा स्थानान्तरण भएकाको छाप्रा भने ताल्चा मारिएका थिए। कति त भत्किइसकेका थिए। एक लाखभन्दा बढी शरणार्थीमध्ये अहिले शिविरमा करिब दस हजार मात्र छन्। झापाले शरणार्थीलाई खुब ‘मिस’ गर्दो हो! खेतिपातीदेखि अन्य ज्यालादारी काममा शरणार्थीहरुले खुबै सघाए, निकै सस्तो ज्यालामा।
दमकको भेज मःम र चटपटे मलाई झापाको सबैभन्दा स्वादिलो लागेको खान्की। एक दिन झापा बसाइ क्रममा यही स्वाद जिब्रोमा झुन्ड्याएर म विराटनगरतिर सोझिएँ। विराटनगर बसपार्कमा बस रोकिएसँगै यस क्षेत्रकै महत्वपूर्ण सीमापारीको बजार जोगबनीतर्फ लागेँ। दशैंको बेला भएका कारण किनमेल गर्नेको घुइँचो निकै थियो। रंगीचंगी बजार, रेल स्टेसन र रमझम। सँगै उखरमाउलो गर्मी। अघिल्लो वर्ष यही बजारमा हुँदा भूकम्प जाँदा भागेको दृश्य सम्झँदै विराटनगर बजार फर्किएँ। विराटनगरको अस्पताल चोकमा रहेको कोइराला निवास मेरो अर्को गन्तव्य थियो। नेपाली राजनीति इतिहासको महत्वपूर्ण पात्रहरुको थलो कोइराला निवासमा घटेका किस्साहरुसँगै परिवारका व्यक्तिहरुको निजी जीवनका बारेमा त्यहीँ बस्नुभएकी एक दिदीसँग केहीबेर गफ भयो।
कहीँ कतै जान मन लागे रिक्सा चढ्थेँ। चालकहरुसँग कुरा गर्थें। कथा सुनाइमाग्दा सुरुमै उनीहरु इलेक्ट्रोनिक रिक्साले आफ्नो व्यवसाय नै धरापमा पारेको दुखेसो पोख्थे। हुन पनि पुरानो रिक्सा अब मधेसका सहरमा विस्तारै पातलिँदै गएका छन्। यात्रुलाई इ–रिक्साले सजिलो त पारेको छ तर, परम्परागत रिक्साचालकहरुको आर्थिक अवस्था भने खस्कँदैछ। उनीहरुको कहानी सुन्दा निकै दुःख लाग्छ।
विराटनगर बजारमा लागेको हाटबजार र झप्री भनिने बडेमानको केराको घरी मेरा लागि नौला स्वाद थिए। रंगीचंगी तोरण, ठूलो आवाजमा बजेका भोजपुरी भजन, कोशी किनाराका देवलहरुको माहोलमा यताउति डुलिरहने साँढे, विराटनगरले साँच्चै मन हर्छ।
कोशी ब्यारेजमा पैदल यात्रा गर्ने धोको पुरा गरेपछि म राजविराजका लागि बस कुर्दै थिएँ, दुई बालकहरुले माछा मारेर ल्याउँदै रहेछन्। तर विचरा! त्यो माछा उनीहरुले खान पाएनन्। प्रहरीरले धम्की दिँदै माछा किने, त्यो पनि मात्र बीस रुपैयाँमा।
मैले ती बालकलाई सोधेँ, ‘किन स्कुल नगएको?’
अलि पर बसेर हामीलाई सुनिरहेका ती प्रहरीहरु नजिकै आए र आफैं उत्तर दिए, ‘यिनीहरु स्कुल गएर के हुन्छ? यिनीहरुको जातै यस्तै हो, मुला मधिसेहरु!’
मलाई मधेसको आक्रोश बुझ्न समय लागेन।
कुनैबेलाको चर्चित र चहलपहलयुक्त अनि देशकै सबैभन्दा पहिलो योजनाबद्ध सहर राजविराज शुन्य थियो। साथीको घरमा बस्ने बहिनीले पकाएको खानासँगै उनको कथा सुनेँ। खाना त स्वादिलो थियो, तर कथाले मन खल्लो बनायो। ती बहिनी गाउँबाट एघार कक्षा पढ्न सहर आएकी रहिछन्। कालो वर्णकी भएकै कारण बिहे हुन मुस्किल परेछ। त्यसपछि उनी इख बोकेर पढ्न भनी सहर आइछन्। दाइजो प्रथा, रङ्गभेद, महिला हिंसाजस्ता समस्याले ग्रस्त ठाउँ तराईमा धेरै छन्। सप्तरीकै अर्को ठाउँ रुपनीतिर जाँदै गर्दा एक युवासँग चिनजान भयो। उनीसँग समस्या खोतल्दै कुरा गरेँ। उनले यिनै समस्याले भरिएको मधेसको चित्र देखाइदिए।
ती साथीसँग मधेसमा महिलाको समस्याबारे गफ गरिन मात्र, राजमार्ग वरिपरीका गाउँ घुमाइदिन आग्रह पनि गरेँ। ती साथीले खुसी हुँदै मेरो अनुरोध स्वीकारेँ।
धन्यवाद उनलाई!
नचिनेको ठाउँ, डराउँदिन भन्दाभन्दै डर त लागिहाल्दो रहेछ। तर, डरसँग पौंठेजोरी खेल्नुमा पनि मजा छ।
ती साथीले उनको गाउँ पनि घुमाइदिने भए। कहीँ हरिया फाँट, कतै धानका बाला झुलेर लहलह। धानै–धानको फाँटमा सिरसिर चल्ने हावा, हावासँग धानका गाँज झुल्छन् कि, आफैं धान भइदिउँजस्तो!
चोक–चोकमा दुर्गा पूजाका लागि माटो र परालबाट बनेका बिभिन्न देवी–देउताका मूर्ति उभिइरहेका देखिन्थे। तास–जुवाको खाल पनि उत्तिकै। यस्तै दृश्य हेर्दै म गाउँ पसेँ। गाउँका बुढीआमाहरुसँग कुरा गर्नुको मजै बेग्लै। भाषा बुझिँदैन तर भाव बुझिन्छ। कुरा गर्दा उनीहरु कत्ति मिठो हाँसेका भने नि! हाँसोको स्वाद हुन्थ्यो भने यो संसारकै विशिष्ट स्वाद हुन्थ्यो होला। तर ‘भन्न मिल्ने’ स्वाद नभएकै ठिक! मनले अनुभूत गर्ने कुनै पनि स्वादलाई शब्दले व्याख्या गर्न नसक्दो रहेछ!
यति मिठो स्वाद दिलाइदिएकोमा ती साथीलाई फेरि पनि धन्यवाद!
जनकपुरको दशैंको रङ्गीन माहोल अनुभव बटुल्दै म रौतहटको चन्द्रनिगाहपुरबाट झन्डै बाइस किलोमिटर पश्चिममा पर्ने राँगी भन्ने थारु बस्तीमा पुगे। यहाँ गोबर र माटोले सुकिलो गरी पोतिएका र विभिन्न चित्रहरु बनाइएका घरका भित्ताहरु निकै कलात्मक देखिन्थे। सँगै पढ्ने साथीको घरमा पाहुना लागेर गएको थिएँ। साथी भने राजधानीमै थिए। सत्र जनाको परिवार बस्ने उनको घरको भित्तामा ठूल्ठूला भकारी अडेस लागेका थिए। माटोबाट बनेका ती भकारीलाई बेदी वा कोठी भनिदो रहेछ। साथीकी आमासँगको वार्तालाप सबैभन्दा स्मरणीय रह्यो। किनकि, उहाँ नेपाली बोल्न नजान्ने, म उहाँको भाषा बोल्न नजान्ने। हाम्रो जिब्रोले एक–अर्काको भाषा बोल्न जान्थेन होला, मनले भने भाव बुझ्थ्यो। उहाँबाट थाहा पाएँ, दाइजोप्रथा पहिलेदेखिको समस्या होइन। यसले भर्खरै मात्र गरीबहरुलाई क¥याप्प पार्न थालेको रहेछ। अचम्म लाग्ने कुरा के भने, बिजुली बत्ती नपुगेको गाउँमा तर, फ्रिज र टेलिभिजन भने प्रायःको घरमा देखिन्थ्यो। आमाको भनाइमा त्यो दाइजोप्रथाले थुपारेको समस्या हो। राति अबेरसम्म गफ गरेर सुतेको भोलिपल्ट बिहानै आमासँग विदा मागरेर म गौर र गौरसँगै जोडिएको सीमापारको बैरगनिया पुगेँ।
बैरगनियाबाट रक्सौल हुँदै बीरगन्ज जाने मार्ग छोटो हुने कुरा साथीबाट थाहा पाएपछि मेरो धैर्य टुट्यो। पहिलोपल्ट लोकल रेल चढ्ने धोको बोकेर टिकट काट्न काउन्टर खोज्दै हिँडेँ। सानैदेखि फिल्मको प्रभाव, अनि बिहारबारे सुन्दै आएका नराम्रा किस्सा। मेरो हातले झोला यसरी कसेको थियो, मानौं भीर चढ्दा बुट्यान समातिन्छ। तर सुनेको भन्दा बेग्लै अनुभव रह्यो मेरो लोकल रेलको यात्रा। गीत गाएर माग्ने जोगीदेखि चना, बेच्नेसम्मका क्रियाकलाप। रक्सौलसम्म पौने एक घन्टाको मेरो यात्रा रोचक रह्यो।
व्यापारिक सहर वीरगन्जको घुमाइसँगै मेरो पूर्वतर्फको यात्रा सकियो। बीचमा पर्ने हेटौंडा, चितवन, बुटवलजस्ता ठाउँमा नझरी म पश्चिम नेपालको रमाइलो उपत्यका दाङको तुलसीपुर पुगेँ। झन्डै झन्डै काठमाडौंको झल्को दिने दाङ उपत्यका। चारैतिर पहाड अनि, बीचको समथर भूभागमा पहेँलै झुलेका धानका बाला। घरभन्दा धानकै बस्ती बाक्लो!
भोलिपल्ट घोराही र बाह्रकुने ताल घुमेर म बर्दियातर्फ लागेँ। बर्दिया पुग्दा दसैंको महाअष्टमी लागिसकेको थियो। बर्दियाको अम्बासाबाट आठ किलोमिटरमा पर्ने बकुवाका धनीराम चौधरी दाइ पनि दसैंको तयारी गर्दै थिए। उनको परिवारले मलाई त्यस दिनका लागि पाहुना मान्यो। थारु संस्कृतिमा त्यस रात देवताथानमा बत्ती बालेर देउताका द्वारपाल मानिएका माटाका साना घोडाको पूजा गरी ढिक्री खाने चलन रहेछ। धनीराम दाइको परिवारसँगै मैले पनि द्वारपालको पूजा गरेँ। भोलिपल्ट आठ किलोमिटर साइकलमा यात्रामा निस्किएँ। अघिल्लो दिन नै म शाकाहारी भन्ने थाहा पाएपछि धनीराम दाइले मलाई बलि दिएको हेर्न नपरोस् भन्दै साइकल दिएका थिए। फर्कंदा मेरा लागि शाकाहारी खाना तयार थियो। पाहुनाको चहलपहल बढ्न थालेको थियो। म नयाँ पाहुनाचाहिँ विदा भएँ।
कर्णाली पुल र लम्की यात्रापछि घोडाघोडी तालमा ओर्लिएँ। छ वर्षअघिको घोडाघोडी तालको सम्झना लिएर गएको मलाई तालको अवस्थाले दुखी बनायो। जलकुम्भीसँगै प्लास्टिक र अन्य फोहोरको थुप्रोले तालको अवस्था दयनीय बनाएको रहेछ। जम्माजम्मी सात मिनेटमा घोडाघोडी तालको दृश्यावलोकन गरेपछि म धनगढीतर्फ लागें। धनगढीको धर्मशालामा बस्ने र त्यहाँका धार्मिक गुरुसँगै टीका लगाउने सर्तमा मेरी आमाले मलाई दशैँको बेलामा यसरी हिँड्ने अनुमति दिनुभएको थियो। उहाँको इच्छा पुरा गर्नकै लागि मैले दशैंको टीका लगाएँ।
मेरो अन्तिम गन्तव्य महेन्द्रनग थियो, त्यतै लागेँ। महेन्द्रनगर अनि दोधारा–चाँदनी पुल घुमेसँगै मेरो चौध दिनको एकल यात्रा त सकियो। तर, यससँगै एकल यात्रा गर्ने वा भनौं अनेकन यात्रा गर्ने क्रमको सुरुवात भयो। कहीँ यात्रा गर्न साथी चाहिन्छ वा कोहीसँग जानुपर्छ भन्ने धारणाको अन्त्य पनि यस यात्राको सुरुवातसँगै भयो।
तीर्थाटनबाहेक पढाइका लागि मात्र यात्रा गर्ने चलनका बारेमा मात्र अवगत हामी अघिका पुस्ता या साथीभाइसँग घुम्ने हाम्रो पुस्ताका लागि यसरी घुम्नकै लागि घुम्ने अनि त्यसमा पनि एक्लै घुम्ने संस्कृति नयाँ हुनसक्छ।
र, यस किसिमको यात्राको सुरुवात गर्नुमा चुनौति छ। तर, यो ठूलो सिकाइ हो। प्रत्येक दिन आफू र आफैंले निर्धारण गर्नुपर्ने गन्तव्य, बासको व्यवस्था, खानाको प्रबन्ध अनि तय गर्नुपर्ने दुरी, खतराका संकेत अनि त्यससँगको सामना यी कुरा दिमागमा चलिरहने हुँदा एकल यात्राले आफ्नो आत्मविश्वास मात्र नभई व्यवस्थापन क्षमता, नयाँ मानिससँग बोल्ने कलादेखि समयको उचित व्यवस्थापनसम्मका कुरा सिकाउने रहेछन्। त्यसले असली मानेमा हाम्रो सशक्तिकरण गर्दछ र सधैं हौसला बढाइ राख्दछ।
मैले मेरो एकल यात्राबाट सिकेका जीवनपयोगी पाठहरू यिनै हुन्।
इमेल-
[email protected]