विश्व भूमण्डलीकरणका कारण देश अब भूगोलमा मात्र सीमित रहेन । भूगोलभन्दा बाहिर, भावनामा पनि एउटा ठूलो देश रहने परिस्थिति बन्यो। तेस्रो विश्वका अधिकांश देशका लागि यो एउटा सनातन प्रथा नै भएको छ ।
नेपाल पनि यसमा अछुतो छैन। लामो समयसम्मको राजनीतिक अस्थिरता र माओवादी सशस्त्र द्वन्दका कारण नेपाल भूगोल र भावनामा अरू धेरै बाडिन बाध्य भयो । अहिले विश्वका ७३ देशमा त संस्थागत रूपमै भावनाको नेपाल बनिसक्यो । त्यो नेपालको संस्थागत प्रतिनिधित्व गैरआवासीय नेपाली संघ (एनआरएन)ले गर्दै आएको छ । एनआरएन संस्थागत हुन नसकेका विश्वका अन्य धेरै मुलुकमा पनि नेपाली डायस्पोराको उपस्थिति छ । यो बेग्लै कुरा हो कि, अझै पनि नेपाली डायस्पोराको ठूलो हिस्सा एनआरएनको संस्थागत संरचना बाहिरै छ।
सन् २००३ मा सुरू भएको गैरआवासीय नेपाली अभियान एकपटकको नेपाली सधैँको नेपाली भन्ने सोच र कोणबाट सुरू भएको थियो। पछिल्लो नेपालको संविधानमा गैरआवासीय नेपाली नागरिकताको व्यवस्था भएपछि त्यो अभियानले सार्थकता हासिल गर्याे । अहिले एनआरएन एक कदम अगाडि बढेर नेपालीका लागि नेपाली भन्ने मूल नाराका साथ यात्रारत छ । बढ्दो नेपाली डायस्पोरासँगै यसका अवसर र चुनौतीहरू बढेका छन् ।
एनआरएनलाई कसरी अगाडि बढाउने र कसको नेतृत्वमा अगाडि बढाउने भन्ने बारेमा हरेक दुई वर्षमा एकपटक विश्व सम्मेलन र साधारणसभा आयोजना गरेर निधो गर्ने गरिएको छ। यस वर्ष यही अक्टोबर १४ देखि १७ सम्म काठमाडौंमा यसको आठौं सम्मेलन आयोजना गरिँदैछ । सम्मेलनमा सहभागी हुन विश्वभरका हजारौं नेपाली नेपाल पुगिसकेका छन् र पुग्ने क्रम जारी छ । सम्मेलनमा व्यापक सहभागिता होस् भनेर यो सम्मेलन नेपालीको ठूलो चाड दशैं –तिहारको छेको पारेर आयोजना गरिन्छ। आफ्नो मातृभूमिमा परिवारजनसँग चाड मनाउन पनि एक पन्थ दो काजका हिसाबले धेरै नेपाली यो सम्मेलनमा सहभागी हुने गरेका छन्। बढ्दो एनआरएन संगठनका कारण यस वर्ष एकहजार पाँचसय त प्रतिनिधि र पर्यवेक्षकको मात्र सहभागिता हुने अनुमान गरिएको छ।
विश्वकै ठूलो नेपाली डायस्पोरा भएर पनि अमेरिकामा एनआरएन संस्थागत हुन भने अलि समय लाग्यो । व्यक्तिगत रूपमा र अमेरिकी सहभागिता देखाउनकै लागि केही अग्रज एनआरएनलाई यस अभियानमा सहभागी गराए पनि अमेरिकामा संस्थागत रूपमा एनआरएन अभियान सुरू भएको भने धेरै भएको छैन । एनआरएन अमेरिकामा पहिलादेखि रहँदै आएका साथीहरूको सहयोग, साथ र सदाशयताका कारण मेरै कार्यकालमा एनआरएन अमेरिका विधिवत रूपमा दर्ता भयो र त्यसयता दुई कार्यकाल चुनाव भैसकेको छ। सानो संख्यामा रहेको एनआरएन अमेरिका अहिलै १५ हजार सदस्यसहित संसारकै ठूलो एनआरएन राष्ट्रिय समन्वय समिति भैसकेको छ। हो, यसमा अझै पनि धेरैभन्दा धेरै अमेरिकामा रहेका एनआरएनलाई सहभागी गराउने र चुनावी प्रक्रियालाई चुस्त, दुरूस्त र पारदर्शी बनाउने चुनौतीहरू देखिएका छन्। समयक्रममा हामी सबैको सक्रिय सहभागिता, साथ र सहयोगले ती समस्याहरू समाधान हुँदै जाने नै छन् ।
अमेरिका संसारकै ठूलो एनआरएन राष्ट्रिय समन्वय समिति भैसके पनि यसले अझै पनि एनआरएनको ग्लोबल भूमिकामा आफ्नो सम्मानजनक पहुँच र उपस्थिति बनाउन सकेको छैन। यसका दुई कारण छन् पहिलो त हामी आफैँ पनि त्यसका लागि योग्य बन्न समय लाग्यो र अझै पनि हामीले सामूहिक प्रयास गरिरहेका छैनौं । दोस्रो, ग्लोबल नेतृत्वले पनि हामीलाई उपयोग गर्ने नीति मात्र लियो, सम्मानजनक सहभागिता र उपस्थिति दिएन। हुन त अमेरिकामा एनआरएन संस्थागत नभएको बेला हाम्रा केही अग्रजहरूले कार्यकारी पदमा रहने मौका पाएका हुन् । तर, त्यतिबेला एनआरएन आजजस्तो ग्लोबल भैसकेको थिएन, अमेरिकामा यो संस्थागत भैसकेको थिएन । विधानतः भन्ने हो भन्ने नेपाल सरकारबाट मान्य पनि भैसकेको थिएन ।
आज स्थिति फरक छ । अमेरिका विश्वकै ठूलो एनआरएन राष्ट्रिय समन्वय समिति भैसकेको छ। यसले संस्थागत स्वरूप प्राप्त गरेर एनआरएन ग्लोबल अभियानकै लागि पनि महत्वपूर्ण योगदान दिइसकेको छ। यसका केही सदस्यहरूले संसारभरका एनआरएनहरूले महसुस गर्ने गरी योगदान पुर्याएको र केहीमा नेतृत्व लिएको नजीर पनि स्थापित भैसकेको छ । यस्तो अवस्थामा एनआरएन अमेरिकाले संस्थागत रूपमै पनि कार्यकारी पदमा आफ्नो दाबी गर्नु स्वभाविक हुन्छ। यही सोच र कोणबाट यसअघिको साधारणसभामा मैले उपाध्यक्ष पदमा उम्मेदवारी दिएको थिएँ । व्यक्तिगत र संस्थागत रूपमा एनआरएन चुनावको खासै अनुभव नभएको र एनआरएन ग्लोबल नेतृत्व लिनेहरूले पनि हामीलाई गम्भीरताका साथ नलिएका कारण मैले जीत हासिल गर्न सकिनँ । यद्यपि, मैले संसारभरका एनआरएनकर्मीहरूको सम्मानजनक विश्वासको मत जित्दै उनीहरूमाझ अमेरिकन एनआरएनको उपस्थिति बनाउन सकेँ।
यसबीचमा मैले वर्तमान कार्यसमितिको आइसीसी सदस्य तथा नागरिकतासम्बन्धी कार्यदलको सह–अध्यक्षका रुपमा महत्वपूर्ण योगदान दिन सकेँ । त्यही योगदानका कारण मलाई नेपाल सरकारले गैरआवासीय नेपाली नागरिकसम्बन्धी मानार्थ सल्लाहकारमा नियुक्त गरेर गैरआवासीय नेपालीको थप सेवा गर्ने अवसर प्रदान गर्याे । मैले यी दुबैतर्फका भूमिकामा रहेर एनआरएनको हक, हित र सुविधाका लागि पहल गरेको छु। यस बीचमा म संसारभरका एनआरएन अभियन्ताहरूसँग सहकार्यमा छु । प्रस्तुत पृष्ठभूमिमा मैले आफ्नो उम्मेदवारी प्रस्तुत गरेको हुँ ।
नेपालको संविधानमा व्यवस्था भएको गैरआवासीय नेपाली नागरिकताको निरन्तरतालाई कानूनी रूपमा व्यवस्थित गरी तार्किक निष्कर्षमा पुर्याउन बाँकी नै छ । त्यस कार्यका लागि पनि मेरो कानूनी पृष्ठभूमी एनआरएन नेतृत्वमा आवश्यक छ भन्ने मेरो बुझाइ हो । ढिलै भएपनि यो कुराको हेक्का र महसुस संसारभरका एनआरएनहरूलाई होला भन्ने मेरो विश्वास हो ।
अर्काे कुरा, अमेरिकासँग मात्र एनआरएनमा १८१ मत छ । यो मत आफैँमा ठूलो र निर्णायक मत हो । यो मतको अंकगणित अमेरिकन एनआरएनले बुझ्न जति जरूरी छ, संसारभरका एनआरएन र यसको नेतृत्व गर्न चाहनेले पनि बुझ्न जरूरी छ । एनआरएनको सन्दर्भमा के पनि सत्य हो भने एनआरएन अमेरिकाले एनआरएन अभियानलाई दिएको मात्र छ, खासै लिएको अवस्था छैन । नागरिकताको निरन्तरताका लागि लागि बहस पैरवी गर्न, भूकम्प–पीडितका लागि राहत सहयोग जुटाउन, भवन निर्माणका लागि सहयोग संकलन गर्न, एनआरएनका सभा सम्मेलनहरू आयोजना गर्न, नेपाल सरकारसँग आवश्यकता अनुसार लविङ गर्न एनआरएन अमेरिकाले यथेष्ट योगदान दिएको इतिहास साक्षी छ। तर, जब चुनाव आउँछ र पदीय दायित्व दिने कुरा हुन्छ, त्यतिबेला भने एनआरएन अमेरिकालाई बिर्सने गरिएको छ । यो प्राकृतिक न्यायको सिद्धान्त विपरित हो। मलाई लाग्छ,यसपटक संसारभरका एनआरएहरूले हाम्रो त्यो योगदानको कदर गर्नु हुनेछ ।
एनआरएनमा राजनीति र जातियताजस्ता कुरा हाबी हुन थालेको चर्चा यदाकदा हुने गरेको छ । निश्चय पनि हामी एनआरएनहरू कुनै जाति, धर्म, सम्प्रदाय, लिंग र भौगोलिक क्षेत्रसँग सम्वन्धित छौं । हामी राजनीतिक रूपले सचेत छौं र हाम्रो आआफ्नो राजनीतिक आस्था र विश्वास पनि छ । यी सबै धरातलीय यथार्थ हुन्। तर, यी सबैका बाबजुद पनि हामी पहिले त एनआरएन हौँ र हाम्रो आस्था, विश्वास, मूल्य, मान्यता जे भने पनि नेपालीका लागि नेपाली नै हो ।
हाम्रो यो अभियानलाई तार्किक निष्कर्षमा पुर्याउन अहिलेका लागि कसको बढी आवश्यकता छ, त्यसलाई नै हामीले हाम्रो अर्जुन दृष्टी बनाउनुपर्छ। नेपालको संविधानमा व्यवस्था भएको गैरआवासीय नागरिकतालाई कानूनी रूपमा मान्य बनाउन मेरो पृष्ठभूमी र अनुभव अर्थपूर्ण हुन सक्छ। त्यसमा पनि अबको एनआरएन ग्लोबल अमेरिका बिनाको हैन, अमेरिकासहितको हुनुपर्छ भन्ने सोच सबैमा आउनु पर्छ। मलाई लाग्छ, काम पर्दा मात्र हैन, अवसर दिने बेला पनि अमेरिका सम्झने बेला हो यो।
(क्षेत्री, एनआरएनआइसीसी सदस्य तथा नागरिकतासम्बन्धी कार्यदलको सह–अध्यक्ष तथा नेपाल सरकारका गैरआवासीय नेपाली नागरिकसम्वन्धी मानार्थ सल्लाहकार हुन् ।)