नेपालमा भदौ १५ को मितिमा पुस्तकालय दिवस मनाउन थालिएको एक दशक पुग्यो। पुस्तकालय तथा सूचना विज्ञान विभागमा अध्ययन गर्ने विद्यार्थीको समूहले काठमाडौंमा काम गर्ने पुस्तकालयकर्मीसँग यस विषयमा छलफल आयोजना थालेको २०६४ सालको अन्तिम महिनातिरै हो।
तर, तत्कालीन अधिकांश पुस्तकालयकर्मी विद्यार्थीका ‘आलाकाँचा’ कुरा सुन्न राजी थिएनन्। नेपाल पुस्तकालय संघका तत्कालीन अध्यक्षले विद्यार्थीको समूहलाई आपूmले थालेको अध्ययन सक्न र व्यावासायिक बन्न सुझाव दिएका थिए। विद्यार्थीको समूहले नेपालमा पुस्तकालय विकासका लागि संस्थागत र सामूहिक पैरवी आवश्यक छ भन्ने कुरालाई बढी जोड दिँदै विभागीय शिक्षक रुद्रप्रसाद दुलालको अध्यक्षतामा एक समिति गठन ग¥यो। समितिले पुस्तकालय दिवस मनाउनका लागि उपर्युक्त मितिमध्ये ३ वटा मिति सिफारिस गर्ने जिम्मेवारी पाएको थियो।
समितिले विभिन्न विज्ञ, इतिहासविद्सँगको परामर्शमा समयमै आफ्नो प्रतिवेदन बुझायो। इतिहासविद् दिनेशराज पन्तले भदौ १५ को मिति ऐतिहासिक तथ्यका आधारमा उपर्युक्त ठह¥याए। राजा गिर्वाणयुद्ध शाहले वि.सं. १८६९ मा बसन्तपुर दरबारमा रहेका पुस्तक व्यवस्थापनका लागि जारी गरेको सनदपत्र को मिति नै पुस्तकालय दिवस मनाउन उपर्युक्त ठह¥याइयो। नेपाल पुस्तकालय संघका अध्यक्षको संयोजकत्वमा मूल आयोजक समिति बनाएर प्रथम पुस्तकालय दिवस २०६५ भदौ १५ मा भव्य रुपमा सम्पन्न गरियो।
पहिलो पुस्तकालय दिवसमा सवैका लागि पुस्तकालय नारा तय गरियो। हामीले कुनै कुरालाई यो मात्र आदर्श भन्नुपर्छ भनेनौं। यो आदर्श वाक्य पनि थिएन। मात्र पुस्तकालय सवैका लागि हुनुपर्छ भन्ने सान्दर्भिक नारा लगाइएको थियो। पुस्तकालयले आफ्नो कक्ष हरेक पाठकलाई उपलब्ध गराउनुपर्ने जिकिर थियो। त्यसैले यो नारा पुस्तकालय लक्षित थियो। आपैmँ पुस्तकालयकर्मी भएर पनि कतिपय पाठकलाई पुस्तकालयमा पहुँच नदिने हामीजस्तै पुस्तकालयकर्मीलाई आफ्ना नियम सच्याउन र व्यवहार परिवर्तन गर्न घच्घच्याउने नारा उठान गरिएको थियो। यो नाराको सान्दर्भिकता आज पनि छ र जसले यस्तो व्यवहार पाठकमा गरेको छैन उसले प्रथम पुस्तकालय दिवस सम्झिएर सेवा दिन कञ्जुस्याँई नगरे हुन्छ। सम्वत २०६६ मा पनि भदौ १५ गते पुस्तकालय दिवस मनाउने कार्यक्रम जारी रह्यो। देश जनआन्दोलन पछि परिवर्तनको मोडमा थियो। राजनीतिक रुपले जनता सचेत थिए। समय नयाँ नेपाल खोज्ने संघारमा थियो। दोश्रो पुस्तकालय दिवसको नारा पुस्तकालयको विकास, नयाँ नेपालको निकास राखियो। ¥याली, सभा, सम्मेलन र मिडियाभरी यसको प्रचार प्रसार गरियो।
सूचना, ज्ञान र सीपका लागि पुस्तकालय भन्ने नारा २०६७ सालमा तेश्रो पुस्तकालय दिवसले तय ग¥यो। ज्ञानको श्रोत, सूचनाको संकलक र सीप विकास गर्ने उपर्युक्त स्थान पुस्तकालयमा गोष्ठी, सेमिनार मात्र भएनन् रक्तदान र सरसफाइ सम्मका कार्यक्रम गरी भव्य रुपमा मनाइयो। पुस्तकालय विज्ञानका विद्यार्थीको ऊर्जा सामु व्यावसायिक पुस्तकालयकर्मीहरू कहिले लजाउदै त कहिले धकाउँदै सहभागी भए। उनीहरूलाई यत्तिका वर्ष आपूmहरूले केही गर्न नसकेकोमा ग्लानी थियो। विद्यार्थीले कुनै दिन कुनै पुस्तकालयकर्मीले दिएको सानो आडमै हो
पुस्तकालय दिवसलाई हुर्काएर १० वर्षे बनाएको। यसमा विद्यार्थीका पसिनाको अमिलो गन्धमा पुराना पुस्तकालयकर्मी सहभागीताको मिठो गन्ध मिसिएर राष्ट्रिय पुस्तकालय दिवस भएकोमा गौरवान्वित नहुने कुनै व्यक्ति यो पेशामा आज छैन। भएपनि तिनले टाउको लुकाइसके। समृद्ध नेपाल निर्माण गर्नका लागि पुस्तकालयको बाटो रोज्नुपर्ने जिकिर हामीले चौथो पुस्तकालय दिवस २०६८ मा जोडदार उठायौँ। नीति निर्माता र सरोकारवालाको रोहवरमा पुस्तकालयको विकासबाट मात्रै नेपाल समृद्ध बन्ने कुरा गरिएको थियो।
पुस्तकालय जाऔं, पढ्ने बानीको विकास गरौं भन्ने आह्वान सहित पाँचौ पुस्तकालय दिवस २०६९ सालमा शिक्षा मन्त्रालयको व्यानरमा सवै सरोकारवालाहरू मिलेर मनाइयो। विद्यार्थीको पैरवीले शुरु भएको सानो समूहको दिवस यसै वर्षदेखि राष्ट्रव्यापी रुपमा मनाउन थालियो। शिक्षा मन्त्रालयले सवै जिल्ला शिक्षा कार्यालयमा परिपत्र गर्दै पुस्तकालय दिवस अनिवार्य मनाउन निर्देशन जारी ग¥यो। २०७० सालको छैटौं दिवस एक गाउँ, एक पुस्तकालय निर्माण गर्न दवाव दिने उद्देश्यले मनाइयो। समाज विकास हुन सभ्य समाज आवश्यक पर्ने कुरामा दुविधा छैन। पुस्तकालय वा अध्ययन संस्कृतीको विकास गर्न सकेमा मात्र सभ्य समाज निर्माण हुने कुरामा सातौं दिवसले कुरा उठान गरेको देखिन्छ। भूकम्पले पुस्तकालय क्षेत्रमा २०७२ सालमा ठूलो क्षति पु¥यायो। सरकारी पुस्तकालयहरू उठनै नसक्ने गरी थला परे। राष्ट्रिय पुस्तकालय हरिहरभवनका धेरै जसो पुस्तक आजपनि बोरामा थन्किएका छन्। पुस्तकलाई माया गरेमा मात्र पुस्तकालयको विकास हुने ठानेर आठौं पुस्तकालय दिवसको ‘आदर्श वाक्य’ यस्तै राखियो। तर वाक्यमा आदर्श भए पनि शिक्षा क्षेत्रका व्यक्तित्व र तत्कालीन सरकारी ठूला २ पुस्तकालय केशर पुस्तकालय र राष्ट्रिय पुस्तकालयको नेतृत्वले पुस्तकलाई माया गरेको देखिएन।
नवौं पुस्तकालय दिवस मनाउन २०७३ सालमा पुग्दा जीवन पर्यन्त शिक्षाका लागि पुस्तकालय भन्ने नारा तय गरियो। दशौं पुस्तकालय दिवसमा शिक्षा मन्त्रालयले जीवन पर्यन्त शिक्षाका लागि एक स्थानीय निकाय एक पुस्तकालय नारा तय गरेको छ। छैटौं पुस्तकालय दिवसदेखि नाराहरू बढी कर्मकाण्डी भइरहेका भान हुन्छ। छैटौं र नवौं पुस्तकालय दिवसका नारा जोडेर दशौं दिवसको नारा बनाइएको छ। दोश्रो दिवसको नारा भन्दा सातौं दिवसको खासै फरक छैन। नाराको विषयमा बढी र कार्यान्वयनको विषयमा कम जागरुक पुस्तकालयकर्मी नै भएका छन्। यसरी जवर्जस्त नारा बनाउनु भन्दा पुस्तकालयमा बसेर सेवा गर्नु उचित हुन थालिसक्यो। पुस्तकालय दिवसलाई कर्मकाण्डी र मन्त्रालयको बजेट सक्ने कार्यतालिकामा राख्नु भन्दा अन्य रचनात्मक तरिकाले सोच्ने बेला भैसक्यो। पुस्तकालय क्षेत्र सुधार गर्न कुनै व्यक्ति वा संस्था लाग्ला भन्नु भ्रम मात्र हुनेछ। आफ्नो पुस्तकालय सेवामूलक र प्रतिस्पर्धी बनाउन हरेकले पुस्तकालयमा काम गर्नु जरुरी छ।