२०४० सालदेखि २०६९ सालसम्म २९ वर्षको डेरा जीवनको अवधिमा काठमाडौँका विभिन्न स्थानहरू गरी १२ ठाउँमा डेरा अर्थात् कोठा सार्ने काम भयो। कहिले क्याम्पसको पायक पारियो त कहिले कार्यालयको पायक डेरा वा कोठा। कोठा सार्दा पुराना सामानहरू पन्छाउने वा फाल्ने काम पनि भयो।
नयाँ डेरामा सरेपछि नयाँ सामान फेरिनु स्वाभाविकै थियो। डेरा सरेपछि कोठाको आकार हेरेर कार्पेट बिछ्याउने र झ्यालका आकार हेरेर पर्दा राख्ने काम हुन्छ नै। पहिलो पटक २०४० सालमा ललितपुरको सातदोबाटोमा मासिक १२५ रुपियाँमा डेरा जीवन सुरु गरेकोमा अन्तिम पटक चाबहिलस्थित शान्तिगोरेटोमा भाडाको कोठामा मासिक ७ हजार भाडा तिरेर समय बिताउनु परेको थियो।
डेरामा बस्दा विविध समस्याहरू भोग्नुपर्ने हुन्छ। तर २९ वर्षे डेरा जीवनमा जहाँ बसे पनि घरबेटीसँग सद्भाव, सहयोग र मिठो वचनका साथ बिताइयो। बाध्यतावश कोठा वा डेरा सर्नुपर्दा सबै घरबेटीहरूले ‘नसर्नुस्, यहीँ बस्नुस्’ नै भन्थे।
राजधानी काठमाडौँमा पाँचौँ पटकको डेरा धोबिधारामा रहेको एउटा कच्ची घरमा थियो। २०४३ देखि २०४६ वैशाखसम्म एक जना नातेदारसँग मिलेर नक्सालमा संयुक्त डेरा बसेकोमा २०४६ जेठमा मेरो बिहे भएपछि धोबिधारामा सर्नुपरेको थियो।
डिल्लीबजार-पुतलीसडक चोकबाट उत्तरतर्फ जाँदा दायाँबाट कुमारी हल जाने बाटोबाट सुरु हुन्छ- धोबिधारा। मेरो दम्पती सरेको धोबिधाराको त्यो घर बाहिर प्लास्टर गरेको भए तापनि भित्री रूपमा कच्ची नै थियो। घर ढलानवाला नभई काठका दलिन र फल्याकबाट तला छापिएको थियो। एक हिसाबले वातावरणमैत्री घर थियो। किनकि सिमेन्टको घरलाई स्वास्थ्यका लागि लाभदायक मानिँदैन। सुविधाका लागि मात्र सिमेन्टको घर बनाउने गरिन्छ।
विज्ञहरूका अनुसार जलवायु परिवर्तनको कारक नै बढ्दो सहरीकरण र आधुनिक जीवनशैली नै हो। सहरीकरणले वायु प्रदूषण र आधुनिक जीवनशैलीले स्वास्थ्यमा नानाथरीका समस्याहरू आउने गर्छन्। यो धेरैलाई थाहा भएको कुरा पनि हो।
घरबेटी नेपाल राष्ट्र बैंकबाट अवकाश प्राप्त कर्मचारी थिए। पौडेल थरका घरबेटीका आफ्ना सन्तान नभए पनि धर्मपुत्र थिए जसको नाम रामप्रसाद थियो। तल्लो तलामा एकातर्फ झापाली युवाहरूको टोली बस्दथे भने अर्कोतर्फ म्याग्दीका दुई दाजुभाइ बस्थे। घरको आँगन डिलमा सुन्तलाको बोट थियो।
२०४७ साल भदौ २६ गते जन्मथलो रोल्पामा हाम्रा छोराको जन्म भएकोले दसैँ र तिहार मानेर ३५ दिनको बालक लिएर हामी काठमाडौँ आउनुपरेको थियो। डेरामा एउटा बेडरुम र अर्को सानो भान्सा थियो। महिनाको सात सय रुपैयाँ तिरेर बसेको सो डेरामा बिहानको घाम देख्न पाइँदैनथ्यो। मध्य दिउँसोमा मात्र घामले स्पर्श गर्दथ्यो र शिशुको रूपमा रहेका छोरालाई राम्रोसँग घाम तपाउन पनि पाइएन।
धर्मपुत्रलाई घरबेटीकी श्रीमतीले ‘सानोराम’ भनेर बोलाउँथिन्। एक दिन घरबेटीका धर्मपुत्र रामप्रसाद अर्थात् सानोराम कुकुर डोर्याउँदै सिँढीबाट छततिर उक्लिँदै थिए। छतमा जान मान्छेले जस्ताको धार छलेर उक्लनु पर्दथ्यो भने कुकुरलाई छतमा लैजान सकिने सम्भावना थिएन। सानोरामले त्यो कुरा ख्याल गरेनन् र जबरजस्ती कुकुरलाई उसको घाँटीमा बाँधिएको सिक्री तान्दै छतमा लैजान खोजे। मैले नजाऊ भन्दाभन्दै कुकुर र सानोराम असन्तुलनका कारण तल भुइँमा बजारिए।
त्यो दृश्य देखेर म आत्तिएँ र भान्सामा रहेकी श्रीमतीलाई बोलाएँ। सानोराम र कुकुर खसेको घरबेटी दुवै जनाले थाहा पाएका थिएनन्। म तत्कालै हतार-हतार सिँढीबाट भुइँमा ओर्लिएँ। सानोराम बेहोस अवस्थामा थिए भने कुकुर फुत्किएर कतै कुलेलम ठोकिसकेको थियो। मैले बिस्तारै सानोरामलाई उचालेर काँधमा राखेर माथि लगेर बिछ्यौनामा सुताइदिएपछि घरबेटी दुवैले थाहा पाए।
दुवै जना आत्तिए ‘लौन नि!’ भन्दै। म पनि आधा होसमा थिएँ, मुटु ढुकढुक गर्दै थियो भने खुट्टा थरथर कामिरहेको थियो। पछि के के गरियो र होसमा ल्याइयो त्यो चाहिँ थाहा भएन।
त्यही समयको अर्को घटना पनि छ।
श्रीमती सुत्केरी भएका कारण गह्रौँ काम गर्न सक्ने अवस्था थिएन। त्यति बेला सुविधाको भान्सा नभएकोले भाडाहरू सफा गरेको फोहोर पानी प्लास्टिकको बाटामा जम्मा पारिन्थ्यो र भरिएपछि बाहिर नालीमा फ्याँकिन्थ्यो। एक दिन भाडा सफा गरेर जम्मा भएको फोहोर पानी तल बाटो छेउको नालीतिर फ्याँकिदिन व्यस्तताले गर्दा मैले भ्याएको थिइनँ।
हाम्रो डेरा रहेको तलाभन्दा एक तला माथिल्लो तलामा बस्ने काभ्रे घर भएका एक जना विद्यार्थीले बाटामा रहेको फोहोर पानी देखेपछि नालीतिर फ्याँकेर सहयोग गर्न खोजे। तर पानी हत्याउँदा भुँडीले धकेलिएर बार्दलीको पर्खाल गर्ल्यामगुर्लम ढल्यो। पर्खाल अघिल्लो दिन मात्र बनाइएका कारण सिमेन्ट सेट भएको थिएन। तल बाटोमा हिँड्ने मान्छे नभएकोले कसैलाई केही भएन। पानी फ्याँकिदिने वाला ती विद्यार्थी पनि धन्न तल खस्नबाट जोगिए। पर्खाल भत्किएको भोलिपल्ट घरबेटीले फेरि पर्खाल लगाए।
त्यस घरको पश्चिमतर्फ एक किसान दम्पतीले काउली लगायत विभिन्न तरकारीको खेती गर्दथे। छेउमा रहेको नालीमा बगिरहेको फोहोर पानी पट्याइने गरेको देखिँदा त्यहाँबाट हामीले तरकारी किन्दैनथ्यौँ। त्यस खेतमा तरकारीहरू राम्रोसँग फल्थ्यो। तर फोहोर पानी हालेको प्रत्यक्ष देखिएको कारण हामीले त्यहाँबाट कहिल्यै पनि तरकारी किनेनौँ।
खेतको छेउमा रहेको खाली जग्गामा किशोर र युवाहरू विभिन्न खेलहरू खेलिरहेका देखिन्थे। उनीहरूले हल्ला गर्दा हामीहरूलाई बाधा परेकै हुन्थ्यो। हामी बसेको घरको पूर्वतर्फ धोबीहरूले लुगा पछारिरहन्थे। लुगा पछार्दा उनीहरूको मुखबाट बल गरेको आवाज पनि सुनिन्थ्यो। धोबिधारामा पानी झरिरहने एउटा धारो पनि थियो। त्यहाँ अरू धाराहरू भने देखिँदैनथ्यो। सायद त्यो धारामा कुनै बखत ठुलै पानी आउने र स्थानीयलाई सुविधा थियो होला भन्ने अन्दाज गरेको थिएँ।
त्यही धाराकै सहारामा धोबीहरूले लुगा धुने गरेकाले टोलको नाम धोबिधारा नाम रहन गएको भन्ने पनि सुनियो। २०४६ सालको जनआन्दोलन हुँदा अश्रुग्याँसको पिरो धुवाँ हाम्रो कोठासम्म आइपुग्थ्यो। बहुदलवादी नेताहरूको भाषण सुन्न जाने उत्सुकता धेरैमा हुन्थ्यो। आमसभाहरू हेर्न र भाषण सुन्न धेरैले चासो दिन्थे। अरू नेताहरूका भन्दा पनि मदन भण्डारी, पद्मरत्न तुलाधरको भाषण सुन्न धेरैले रुचाउँथे।
रत्नपार्कमा ट्रकको पछाडिको खाली भागलाई मञ्च बनाएर नेता लीलामणि पोखरेलले भाषण गरेको पनि मलाई याद छ। बहुदल आएपछि अन्तरिम सरकार रहँदासम्म देश शान्त नै थियो। २०४८ सालमा काँग्रेसको सरकार आएपछि जनताका लागि धमिजा, लाउडालगायत अप्रिय काण्डहरू सुरु हुन थाले। २०४० साल अगाडिको नमिता-सुनिता काण्डको घाउ पनि बेलाबेलामा बल्झी नै रहन्थ्यो।
हामी धोबिधारामै रहँदा २०४७ सालमा नारायण गोपालको निधन भएपछि रेडियोमा बजाइएको ‘आज र राती के देखे सपना मै मरिगएको’ र ‘श्रद्धाको फूल चढाइदिनु आएर लासमा’ बोलका गीतहरू मैले जीवनमा पहिलो चोटि सुनेको थिएँ। ती दुई गीत मलाई अहिले पनि कण्ठस्थ छ।
वर्षौँपछि कुनै बखत त्यो घरमा हामीसँगै बसेका साथीसँग भेट हुँदा बुढाबुढी प्यारालाइसिसले थलिएको जानकारी पाएको थिएँ। अलि पछि घरबेटी बूढाबूढीको निधन भइसकेको कुरा पनि थाहा पाएँ। बेसहारा अवस्थाका घरबेटी दम्पतीको याद आई नरहने कुरै छैन। धोबिधाराबाट २०४९ सालमा हाम्रो परिवार भाटभटेनीस्थित एक नर्सको घरमा सर्यो। त्यहाँ एक वर्ष पनि बसिएन।
कार्यालय परिसरमा रहेको अर्को एक तले भवन खाली भएकोले मर्मत सम्भार गरेर त्यहीँ बसियो। कार्यालय चिनियाँ दूतावाससँगै टाँसिएकोले हाम्रो छोरा चिनियाँ दूतावासका एक जना नेपाली कर्मचारीका छोरा पारससँग खेल्ने र दूतावासभित्र आउने जाने गर्दथ्यो। एक दिन पारस र हाम्रो छोरालगायत छेउछाउका भुराहरू मिलेर एउटाले सानो खाले साइकल चढ्दै, घिच्च्याउँदै भाटभटेनी विशालनगर हुँदै चक्रपथ निस्कनेतिर पुगेछन्। हामी सबै अभिभावकहरू आफ्ना सन्तानहरू बेपत्ता भएको थाहा पाएपछि आत्तियौँ र खोजी गर्न थाल्यौँ। खोजी गर्दै जाँदा दिउँसो फेला परे।
पहिले भाडामा बसिसकेको घरमा दोहोर्याएर जाने र अवस्था बुझ्ने चलन भने हामीमा छैन। धोबिधाराको त्यो घर कस्तो होला? घर भत्कियो कि भत्काइयो कि वा त्यहाँ नयाँ भवन बन्यो कि भनेर २०८० सालको अन्तिमतिर त्यहाँ पुगेँ। घरको अवस्था उस्तै देखेँ, घरमा कुनै पनि परिवर्तन थिएन। घरका मान्छे भएको भए वा उत्तराधिकारी कोही भएको भए धोबिधारा जस्तो स्थानमा त्यहाँ ठुलै खाले पक्की भवन बन्ने थियो होला भन्ने सोचेँ।
३५ वर्षपछि बेवारिसे अवस्थामा देखिएको सो घर देखेपछि मेरो मनमा हल्का तरङ्ग पैदा भयो। करिब करिब भग्नावशेषतर्फ उन्मुख भएको सो घरलाई एकछिन हेरेँ, उहिलेका आफ्ना दैनिकीहरू सम्झिएँ। तर म मेरो इतिहाससँग जोडिएको त्यो घर धेरै बेर हेरेर बस्ने अवस्था थिएन। म तुरुन्तै फर्केर आफ्नो बाटो लागिहालेँ र त्यस बेवारिसे घरलाई बिर्सने कोसिस गरेँ।
२०४३ सालमा म कार्यरत कार्यालयले बालुवाटारमा एक जना राणाको घर किनेर त्यसलाई मर्मत गरेपछि हाम्रो कार्यालय डिल्लीबजारबाट त्यहाँ सर्यो। बालुवाटारमा दस लाखमा साढे दुई रोपनी जग्गा र तीन तले घर पाइन्थ्यो भन्दा अहिले अहिले अपत्यारिलो कुरा हुन्छ। बालुवाटार क्षेत्रलाई पहिलेदेखि नै भिआइपी एरिया भनिँदै आएको छ। भिआइपी एरिया भनिए तापनि कसै कसैले बालुवाटारमा दादाहरू बस्छन् पनि भनिन्थ्यो।
बालुवाटारका दादा भनेपछि मान्छेहरू डराउँथे पनि। त्यति बेला लाजिमपाटका दादा, महाराजगंजका दादा भनिन्थ्यो, अहिले डन भनिए झैँ। कोही कोही दादाहरू पङ्क्स बनेर पनि हिँड्थे। उनीहरूलाई देखेपछि जसले पनि आवारा र समाजका लागि भार भन्थे। दादाहरूले युवाहरू जम्मा पारेर गाँजा तान्ने पनि गर्दथे। प्रहरीले बेलाबेलामा समातेर दुई/चार दिन थुनेर कागज गरेर छोडिदिन्थे।