विभिन्न सरकारी कार्यालयहरू पुगेर एउटा उद्योगको कामहरू गर्नुपर्ने थियो। ‘खर्च’ नगरी नहुने भनिएका धेरैजसो काम ढिलै भए पनि बिना घुस सकियो। रुखा कर्मचारी कोठैपिच्छे भेटिनु अनौठो होइन, सहयोगी र फुर्तिला कर्मचारी पनि भेटिए।
बाँकी रहेको एउटा कार्यालयमा भने खाममा दाम नचढाई कामै नहुने कुरा बुझियो। जीवनमा पहिलो पटक खाममा दाम टक्र्याएर सरकारी काम निकाल्नुपर्ने अवस्था सम्झेर म प्रारम्भमै खिन्न भएँ।
राजधानी भित्रको एक फराकिलो परिसरभित्र बेसोमती ढंगले ठडिएका सरकारी भवनहरू छिचोल्दै म काम हुने कार्यालयमा पुगेँ। ढोकाछेउका ‘भित्र/बाहिर’ बोर्डहरूमा नाम खोज्दै एउटा कोठा बाहिर पुगेर हल्का ढकढकाएँ अनि सुस्तरी ढोका खोलेँ।
ढोकाको चेपबाट देखिएको टेबुलपछाडि बसिरहेको अनुहार कुनै मूर्धन्य दार्शनिक वा साहित्यकारको जस्तो थियो। तिनलाई देखेपछि मेरो मनले जनाएको पहिलो प्रतिक्रिया थियो, ‘के यस्तो मुहारको मान्छेले पनि घुस खान्छ? यी भलाद्मी हाकिम बेकारमा बदनाम भएका हुन सक्छन्।’
‘फलानो सर…’ नम्र भाषामा सोधेँ।
‘मैँ हुँ, के थियो?’ उनको वाणी सेवाग्राहीमैत्री थिएन। आश्चर्य मानिनँ।
‘आउन मिल्छ सर?’
उनले दाहिने हातको इशाराले बोलाए। भित्र पुगेर बस्नुअघि रौसिँदै सोधेँ, ‘हजुर कविता लेख्नुहुन्छ सर?’
उनी हल्का मुस्कुराएको अनि आँखा च्यातिएको भान भयो तर उनको ‘लेख्दिनँ’ भन्ने जवाफले गुड फर्स्ट इम्प्रेसन दिने मेरो प्रयास असफल भयो।
गहुँगोरो मुहार, ढाकाको टोपी लगाएका उनले ज्याकेट लगाइराखेका थिए, सिलिङ फ्यान पनि चलिरहेको थियो।
मैले कागजातहरू उनको अगाडि राख्दै प्रयोजन बताएँ। मैले उनलाई खाम चढाएर काम गराइराख्ने मित्रको नामसमेत लिएँ, काम सहजै निप्टिएला भन्ने आशामा।
उनले ‘बस्नुस्’ भन्ने शिष्टता देखाएनन्। मैले आश्चर्य मानिनँ।
उनले कागजात हेरेर ‘नयाँ हो?’ भनेर सोधे।
‘हजुर सर, त्यही भएर कति कुरा थाहा नै भएन’ भनेँ।
उनले चाहिने कागजपत्रको बेलिबिस्तार लगाएर भावशून्य मुद्रामा ‘हाम्रो अनुगमन चाहिन्छ’ भने।
उनकै कार्यालयका अर्को सर (चिलानो) ले सहयोग गरौँला भनेकाले उनको नाम लिएँ।
तर हाकिम साब त उल्टै फन्किए पो! उनले भने, ‘क-कसले के-के गर्छ त्यो कुरा भएन। हामीले हेर्नुपर्छ।’
उनले ‘फाइल ल्याउनुस्, सल्लाह गरौँला, बुझौँला’ भनेर मलाई बिदा गरे।
त्यसपछि म हामीलाई सहयोगको आश्वासन दिएका चिलानो सरलाई भेट्न अर्को भवनतिर गएँ। त्यो चाहिँ त्यही मन्त्रालयको बेग्लै विभाग रहेछ।
अधबैँसे वयका उपल्लो दर्जाका चिलानो सरले मीठो स्वरले बोले, हाम्रो कामको प्रशंसा गरे। मेरो निराशा घट्यो।
‘अनुगमनको रिपोर्ट नभई हुँदैन भन्नु हुन्छ फलानो सर। सहयोग गरिदिनु पर्यो’ भनेँ।
उनले आश्वासन दोहोर्याए। म खुसी भएर फर्किएँ।
कार्यालय फर्किँदै गर्दा मलाई फलानो हाकिमको अनुहार अनि व्यवहार झलझली आइरह्यो। ‘यो मान्छे कुनै कवि वा अनुसन्धानकर्ता पनि त हुन सक्थ्यो, कि यो विरही हो?’
‘यस्तो मुहारको मान्छेले पनि घुस खान्छ?’
‘अनुहारले मान्छेको चरित्र बताउँछ त?’
‘यो काम कुनै नेता वा झोलेको भएको भए वा खाम चढाएर काम गराउने मेरो साथीको भएको भए यस्तै सास्ती पाउँथ्यो होला त?’
यस्तै कुराहरू गम्दै कार्यालय आइपुगेँ।
एक मनले खामवाला साथीलाई जिम्मा दिएर टाउको हलुका बनाउन मन लाग्यो। फोन गरेर कुरा गर्दा उनले ‘मैले कुरा गरेको। अनुगमन त गर्नै पर्छ रे’ भनेपछि खामको दरभाउ बढ्ने पिर भयो।
भोलिपल्ट…
म थप कागजात बोकेर सबेरै उही कार्यालय पुगेँ। फलानो हाकिम कक्षमा नभेटिएपछि सँगैको छिरेर त्यहाँका ढिस्कानो सरसँग परिचय गरेर भलाकुसारी गरी बसेँ। उनले शिष्टाचार देखाए। बस्न दिए।
गफकै क्रममा उनले ‘फलानो सर राम्रो मान्छे हुनुहुन्छ’ भन्दा मैले दूधको साक्षी बिरालो भन्ने उखान सम्झेँ।
निकै बेर कुर्दा पनि नआएपछि म उनी बसिरहेको अर्को कोठामा पुगेँ। उनी त्यहाँ सहकर्मीहरूसँग गफिँदै थिए। म पुग्दै गर्दा गफको सिलसिला टुट्यो। मलाई सरकारी कर्मचारीको फुर्सदिलो समय सम्झी दिक्क लाग्यो।
उनले मैले दिएको फाइल तीन पटकसम्म हरेक पाना हेरिसकेपछि भने, ‘ठिक छ, यति भयो। अब हामीले अनुगमन गर्नुपर्छ। हामी सल्लाह गर्छौँ। तपाईंलाई फोन आउँछ। यो नम्बर तपाईंकै हो?’
कागजात मिलेकोमा राहत भयो तर सल्लाहको समय सीमाको अन्योलसँगै मैले भनेँ, ‘अलिक चाँडै गरिदिन आग्रह गरेँ हजुर।’
उनले रूखो स्वरमा भने, ‘हामी हेर्छौँ। तपाईंलाई फोन आउँछ।’
उनका सहकर्मीले मलाई हेरिरहेका थिए। मैले आफू जिस्क्याइएको महसुस गरिरहेको थिएँ। म निरीहताका साथ ‘हस् सर’ भनेर फर्केँ।
‘घुसले नै काम हुने भए सजिलै गरिदिनु नि!’
‘खाम दिने पनि तरिका पो छ त! फाइलको बिचमा बाहिरबाट थोरै देखिने गरी खाम घुसाउनुपर्ने रे। हाकिमले खाम सरक्क निकालेर भित्र चियाउँछ रे अनि टेबुलमुनि राख्छ रे। अनि कागजमा सही गर्छ रे।’
‘प्रक्रिया मिलाएर पनि घुस खुवाउनु पर्ने कस्तो थिति!’
‘थुक्क जिन्दगी, छ्या: समय!’
अनायासै सरकारी हाकिमलाई उडुससँग तुलना गर्न पुगेँ। सहरको जाम दिक्क लाग्दो लाग्यो।
पर्सिपल्ट…
‘हामी सम्पर्क गर्छौँ’ भनेको भए पनि कामको हतारोले म बेलैमा उनको कार्यालय पुगेँ। उनी बार्दलीतिर गफ गर्दै थिए। त्यतिखेर नै हो मैले उनलाई हँसिलो देखेको। मुड राम्रै रहेछ, काम हुन्छ कि क्या हो भन्ने आसमा उनीहरू गफ गरुन्जेल कुरेँ। बादल डम्म लागेको थियो, पानी दर्किन सकेको थिएन। हपक्क थियो। उनले ज्याकेट लगाइरहेकै थिए।
उनी मलाई देखेर पटक्कै खुसी थिएनन्। मैले नमस्कार गरी नभ्याउँदै उनले चिढिएको स्वरमा भनेँ, ‘तपाईं किन आइराख्नु भएको छ?’
मैले बहाना गरेँ, ‘सर खासमा यही बाटो परेको हुनाले छिरिहालेको।’
उनले ‘हामी सल्लाह गर्दै छौँ। यसरी पछि लागेर काम हुँदैन’ भने।
मभित्र आगो बलेको भए पनि निरुपाय थिएँ। बोल्दा ‘बाठो भइस्’ भनिने डरले बोल्न सकिनँ। मनले चाहिँ, ‘यो उडुसले सजिलै काम गर्ला जस्तो छैन’ भन्दै थियो।
उनको विभागका सबैभन्दा ठुला हाकिमकहाँ गुहार माग्न जानु पर्यो भनेर अलिक परतिरको भवनतिर लागेँ। हाकिम गोष्ठीमा गएका रहेछन्। फर्केर भरोसाका केन्द्रबिन्दु चिलानो सरकोमा गएँ। उनी पनि गोष्ठीमै। अलपत्र अवस्थामा मैले चिलानो सरलाई म्यासेज पठाएर सहयोगको याचना गरेँ। जवाफ आएन। एकछिन पर्खेर कार्यालय फर्केँ।
दिउँसोतिर गोष्ठी सकिएको अपेक्षामा उतै जाँदै गर्दा चिलानो सरको २/३ वटा म्यासेज आयो, ‘मैले ठुला हाकिमलाई भन्दिसकेको छु। गएर भेटिहाल्नू।’
म्यासेज पढी नसक्दै उनको फोन आयो, ‘ल तपाईं तुरुन्त गएर भेटिहाल्नुस् त।’
आधी लडाइँ जितेजस्तो भयो। सरलाई धेरै धन्यवाद दिएँ। बाइक चलाउने साथीसँग खुसी साटेँ। बाइकको गति बढ्यो।
ठुला हाकिम कार्यकक्षमा आइपुगेकै रहेनछन्। उनीभन्दा एक तह मुनिका हाकिमलाई फोन गरेँ। उनले त्यो काम फलानोबाटै हुने भनेर सरक्कै पन्छिए।
फेरि ठुला हाकिमलाई नै फोन गरेँ। उनले, ‘ल फटाफट भनिहाल्नु त के हो कुरा?’ भने। ठुला हाकिमको ठुलै हतार हुन्छ।
फटाफट बताएपछि उनले फलानोकै शाखाकी एक हाकिमसँग भेट्न पठाए। बिहानै थर्काएर पठाएको हुनाले मलाई त्यहाँ जान डर लागिरहेको भएर म चिलानो सरकहाँ गएँ। उनले भने, ‘मैले ठुला हाकिम साबलाई तपाईंको कामको बारेमा सबै कुरा भनेको छु। तपाईं गएर ढिस्कानो सरलाई भेट्नुस्। भएन भने मलाई भन्नुहोला, म गर्छु।’
म यता र उता कुदाइको झन्झटले थकित र क्रोधित थिएँ।
ढिस्कानो सर आफ्नो कक्षमा थिएनन्। अलिक परतिरको शौचालयबाट निस्केर उनी उतै नजिकको कोठामा छिर्न लाग्दा मैले उनलाई पछ्याएँ। त्यो हिजो फलानो हाकिम गफ गर्दै बसेको कोठा थियो।
फलानो पनि त्यहीँ रहेछन्। सबैभन्दा ठुला हाकिमले भेट्न भनेकी सहित अरू २ जना महिला हाकिम साबहरू पनि थिए त्यहाँ। म पुग्ने बित्तिकै उनीहरूको गफको सिलसिला टुटेको थियो। मलाई देख्ने बित्तिकै फलानो झस्किए अनि मलाई झम्टिए।
‘तपाईं सबैभन्दा ठुलो हाकिमकोमा जाने? यहाँ त्यहाँ जाने? जानुस् कहाँबाट हुन्छ गराउनुस्। प्रक्रिया नपुर्याईकन मबाट त सही हुँदैन। कसरी गर्नुपर्छ गर्नुस्।’
के घुस्याहा कर्मचारीले नैतिकताको झन् बाक्लो ज्याकेट लगाउँछन्? केही महिनाअगाडि एक जना उच्चपदस्थ सरकारी कर्मचारी शरणार्थी काण्डमा समातिएपछि सञ्जालतिर भाइरल भएको उनको नैतिकताको प्रवचनको भिडियो सम्झेँ। म अक्क न बक्क परेँ।
मैले भनेँ, ‘हैन सर। मैले त जम्मा प्रक्रिया चाँडो गरिदिनु भनेको हो। हजुरले हाम्रोमा अनुगमन गर्न २४ घण्टा तयार छौँ तर अहिले समय कम छ भनिसकेँ। मैले के गर्नुपर्छ भनिदिनुस् तर प्लिज काम गरिदिनुस् हजुर।’
मलाई ‘तँ घुस्याहालाई दाम नपुगेर यस्तो दुख दिँदै छस्’ भन्न मन लागेको थियो। तर सरकारी कर्मचारीलाई बिना प्रमाण ठाडै घुसको आरोप लगाउनु त अपराधै हुन्छ। जाकिन सकिन्छ।
महिला हाकिमले क्रमभंग गरिन्, ‘ठिक छ, तपाईंलाई हामीले भनेकै छौँ। चिलानो सरले रिपोर्ट दिनुभयो भने काम हुन सक्छ। नभए हामी अनुगमनको लागि सल्लाह गर्छौँ।’
मैले रुन्चे मुख बनाएर भनेँ, ‘अनुगमन नै गरिदिनुस् न हजुर। थाहा नपाएर सास्ती पाइयो। समय छैन। अहिले गरे पनि त भ्याइन्छ, गरिदिनुस् न! बरु म गाडी के-के चाहिन्छ व्यवस्था गर्छु।’
सेवाग्राहीले यो हदसम्म अनुनय विनय गर्दा लोक सेवा पास गरेको लोक सेवक लज्जित हुनुपर्ने हो। त्यहाँ बसेका कुनै कर्मचारीले लज्जा पो महसुस गरे कि!
फलानो फेरि कड्के, ‘जानुस् तपाईं प्रधानमन्त्रीकहाँ गए पनि हुन्छ। मैले गर्नुपर्ने काम मैले जानेको छु र तपाईंलाई मैले पुरै प्रक्रिया बुझाएको छु। हो कि हैन?’
मैले आत्मनियन्त्रण गुमाएँ र कड्किएँ, ‘हैन सर। यस्तो कुरा मैले गरेको हैन। तपाईंले गर्दै हुनुहुन्छ। तपाईंको अफिसबाट हुनुपर्ने मेरो काम यहीँबाट हुनु पर्छ। तपाईंबाट हुनुपर्ने हो भने तपाईंबाटै हुनुपर्छ। आवश्यक भयो भने त म जहाँ पनि जान सक्छु। तर मैले त्यसो गर्न चाहेको छैन। सुरुमा त म हजुरकै अफिसमा आएको हो नि! आफ्नो सम्पर्कका मान्छेसँग सहयोग माग्नै नमिल्ने त हुँदै हुँदैन नि हजुर!’
मैले आत्मनियन्त्रणलाई लयमा ल्याएँ।
महिला हाकिमले मलाई थप बोल्नबाट रोक्दै चिलानो सरकहाँ गएर रिपोर्ट ल्याउन सुझाइन्। म अर्को भवनतिर लागेँ।
म अहिलेको कर्मचारीतन्त्रदेखि छक्क परिरहेँ। चेन अफ कमान्ड ध्वस्त छ। यहाँ पदको गरिमा, जिम्मेवारी, दायित्व भन्ने कुराको हिसाबकिताब कसरी राखिन्छ? यस्तो अवस्थाले सेवाग्राहीलाई पारेको मारको लेखाजोखा कसले गर्छ?
चिलानो सरकहाँ पुगेर निराशा पोखेँ, ‘यत्रो लगानी छ। जोखिम छ। देशमै केही गर्न भनेर लागेको छ। हजुरहरूले त हामीलाई नियम पालना गर्न सिकाउने पनि त हो नि। नयाँ छौँ, गल्ती गर्छौँ। अब यस्तो व्यवहार भएपछि हामी त फेरि विदेशै जानुको विकल्पै छैन नि।’
चिलानो सरले मेरो आवेग सुनिराख्ने धैर्यता राखेनन्, भने, ‘ठिक छ ठिक छ, काम भइहाल्छ।’ उनले ढिस्कानो सरलाई फोन गरेर रिपोर्टको नमुना मगाए अनि भने, ‘म गरिदिन्छु, तपाईं ढुक्क भएर जानुस्, काम हुन्छ।’
मैले भनेँ, ‘काम हुने निश्चित नगरी त म आज फर्किन्नँ सर। म यतै पर्खिन्छु।’
उनले दिक्क मान्दै मलाई अर्को कोठातिर गएर बस्न भने। वचन दिइसकेको हुनाले कसरी सल्टाउने होला भनेर दिक्क लागेको हुनुपर्छ उनलाई। हामी चौरतिर गएर सरकारी उडुसहरूलाई सराप्दै बस्यौँ।
पानी सिमसिम पर्दै थियो। निकै बेर कुरेपछि मैले ढिस्कानो सरबाट एउटा कागज पाएँ। उनले भने, ‘ल यो भइसक्यो सर। यसमा तपाईंको कम्पनीको छाप लगाएर सही गरेर लिएर आउनु भोलि काम हुन्छ।’
मेरो आशाले फेरि एक पटक टुसा हाल्यो। आभारी हुँदै हामी फर्कियौँ। कार्यालय समय सकिने बेला भएकाले सहरको जाम बढेको थियो।
निकोर्सिपल्ट…
बिहान सबेरै चिलानो सरको फोन आयो। सरले ‘त्यो मान्छेको धेरै तिरबाट कम्प्लेन आइसकेको छ। उसले गर्दा हाम्रो कामको वातावरण नै असहज भएको छ। तपाईंको काम भइहाल्छ। चिन्ता नलिनुस्’ भने।
म अचम्मित हुँदै उनका कुरा सुनिरहेँ।
मलाई ती कम्प्लेनहरू आउनुको कारण थाहा छैन। उनी खराबै भएर हुन सक्छ। उनले खाम एक्लै पचाए भनेर पनि त हुन सक्छ!
कार्यालय समय सुरु हुँदै गर्दा म छाप लगाएको रिपोर्ट लिएर त्यहाँ पुगिसकेको थिएँ। ढिस्कानो सरले छाप लगाएको कागज बुझेर दिनभरिमा काम सकिने आश्वासन दिएपछि फेरि चिलानो सरकहाँ पुगेँ। मलाई उनलाई कोट्याएर थप कुरा बुझ्न मन भयो।
उनले पनि कुरा खोले, ‘उसको (फलानोको) चुरीफुरी निकै बढेको छ। (शक्तिशाली दलको नाम लिएर) पावर देखाउँछ। मै हुँ सर्वेसर्वा, मैले नगरे त हुँदै हुँदैन भन्छन्। आखिर गलत गरेपछि फल यै जुनीमा पाउने हो नि! हेरौँ उसको पार्टीले कहिलेसम्म जोगाउँछ। हामीले नै केही सोच्नै पर्ने भएको छ।’
उनले थपे, ‘कोही खुसी छैन ऊसँग।’
म भनेँ यी कुरा सुन्दा गद्गद भइरहेको थिएँ।
उनीसँग बिदा भएर कार्यालय फर्किँदै गर्दा मलाई फलानोप्रति दया र घृणा एकसाथ महसुस भइरहेथ्यो। दयाभन्दा घृणा नै बढी थियो। ‘यसलाई त रंगेहात खाम दिँदादिँदै पक्राउन पाए पनि हुने!’ भन्ने सोच पनि नआएको त होइन। तर सारा संयन्त्र नै दुर्गन्धित हिलोमय भएको बेला मैले गरेर केही लछारपाटो लाग्ने वाला छैन भन्ने यथार्थ बोध ममा थियो।
अत्यन्त सफा देखिने कतिपय कर्मचारी यथार्थमा सस्पेन्स हिन्दी फिल्मका मेन भिलेनका साथीजस्तै हुन्छन्, जो सुन्दर देखिन्छन् तर अत्यन्तै कुरूप हुन्छन्। सरकारी उडुसहरूलाई मैले पटक पटक सामना गरेको छु र प्रशस्तै दुख पाएको छु।
दिउँसो फेरि ढिस्कानो हाकिमकहाँ पुगेँ। निकै बेर कुरेपछि उनले मलाई काम सकिएको भन्दै ३/४ कोठा परको हाकिमकोमा पठाए।
त्यहाँकी नवयुवा हाकिमले ‘पहिलो चोटि भएकाले समय लाग्यो, फेरि फेरि यति लाग्दैन’ भन्दै मलाई कागजात रुजु गर्न दिइन्। मलाई यो विश्वास गर्न गाह्रो भइरहेको थियो। मैले ठिक छ भनेपछि उनले त्यो कागजमा हस्ताक्षर गरिन् अनि त्यो कागज मलाई हस्तान्तरण गरिन्।
त्यो कागज समाउँदै गर्दा मैले आफूलाई सर्वाङ्ग थिचिरहेको अत्यन्तै गह्रुँगो भारी एक पलमै बिलाएको महसुस गरेँ। कपास जत्तिकै हलुका भएँ। एउटा हस्ताक्षरले मलाई थिचिरहेको भार बिलाएको मैले साक्षीभावले भोगेँ। एउटा हस्ताक्षरले ४ दिनको तनाव साम्य भयो। अत्यन्तै श्रद्धाका साथ उनीप्रति आभार व्यक्त गरेर फर्किएँ।
फर्किँदै गर्दा म छक्क पर्दै थिएँ, ‘यो काम त फलानोले मात्र गर्ने हो भन्थे, आज त नयाँ हाकिम पो निस्के त! के अनौठो भयो यो?’ मैले चिलानो हाकिमका कुरा सम्झेँ।
फर्केर ढिस्कानो हाकिमलाई पनि मुरी मुरी धन्यवाद दिएँ। उनीसँग निकै बेर गफिएँ।
‘मैले गर्दा फलानो सरको सही गर्ने अधिकार पनि गुम्यो कि सर, मलाई त नरमाइलो पो लाग्यो’ भनेँ। मलाई खासमा नरमाइलो लागेको थिएन। ‘ठिक्क पर्यो त्यसलाई’ भन्ने भएको थियो बरु।
उनले पनि, ‘भैगो नि सर, काम भइहाल्यो’ भनेर हाँसे।
फेरि भेट हुने वाचा गर्दै उनलाई धन्यवाद दिएर म हलुंगो भई बिदा भएँ। चिलानो सर गइसकेका रहेछन्। म्यासेज गरेर धन्यवाद दिएँ।
बाहिर निस्किँदा ६ बजिसकेको थियो। मैले सरकारी कार्यालयबाट कार्यालय समय सकिएको १ घण्टापछि पनि सेवा पाएको थिएँ, त्यो पनि बिना कुनै घुसको।
फर्किँदै गर्दा फलानो सरलाई पार्किङमा कसैसँग गफ गर्दै गरेको देखेँ। म सरक्क बाइक निकाल्न खोज्दै थिएँ, उनी फनक्क फर्के। मैले ‘नमस्कार सर’ भनेँ, उनले दाहिने हात आधा उठाएर अभिवादन फर्काए। भित्रभित्र रिसले उखरमाउलो भएका हुँदा हुन्। म निस्केँ।
फर्किँदा सहरको जामसँग पटक्कै दिक्क लागेन। फलानो हाकिमले दिनमा कति वटा खाम उठाउँदा होलान्, ती खामहरू कहाँ लगेर खोल्दा होलान्, कता-कता बाँड्दा होलान्, घर परिवारलाई ती खामभित्रका दामबारे के भन्दा होलान्, त्यो दाम कसरी पच्दो होला, अब ती खाम कसले बटुल्छ होला लगायतका कुराहरू मनमा खेले। अनि सडकका गाडीहरूको थरीथरीका ध्वनि प्रदूषणसँग मिसाएर जोडले गाएँ, ‘म आगो सहन्छु अन्याय सहन्नँ…’
यसरी मेरो समस्या र निवेदनअनुसारको सक्रियता नदेखाइदिएर एक जना कर्मचारीले दिएको सास्तीले गर्दा प्रक्रियागत रूपमा बढीमा १ घण्टामा सकिने कामका लागि मैले कम्तीमा पनि ५० घण्टाको भौतिक र मानसिक सास्ती खेप्नुपर्यो। एकजनाले अड्काएको काम त्यहीँ काम गर्ने अरू कर्मचारीको सहयोगले सहज भयो। घुस खुवाउनु परेन।
अब मैले बेहोरेका तनावको क्षतिपूर्ति कसले तिर्छ?
त्यसले मेरो व्यवसायमा परेको भार मैले को माथि थोपर्नु?
मलाई सामान्यतः सरकारी कर्मचारीहरूप्रति सम्मान छ। मैले सेवाग्राहीको फाइल बोकेर आफैँ कोठा कोठा चहारेर काम सकी बिदा गर्ने फुर्तिला कर्मचारीहरू प्रशस्तै भेटेको छु।
मलाई नीति र प्रक्रिया पालना गर्दै काम गर्न चाहने तर आवश्यक सहजीकरणको अभावले गलत तरिका अपनाउन बाध्य व्यवसायीहरूको पीडाप्रति पनि उच्च ऐक्यबद्धता छ।
व्यवसायीहरूको सीमित ज्ञान/प्रक्रिया पूरा गर्नमा उदासीनता/हतारो/समयलाई पैसासँग दाँज्ने शैली अनि केही कर्मचारीको लालच/कुण्ठा/परिबन्द आदि बिचको संसर्गबाट सरकारी उडुस पैदा हुन्छन्।
भला व्यवसायीहरूले सरकारी उडुस उन्मूलन हुने ओखती चाँडै बनाउन्। स्फूर्त राष्ट्रसेवकहरूको गरिमा झनै बढोस्। शुभकामना।