झिलिमिली उज्यालो लिएर हरेक वर्ष आउँछ तिहार। काग तिहारको दिनदेखि नै छिमेकीहरूले झिलिमिली बत्तीले घर सजाइसके। उज्यालो पारिसके। मलाई पनि आतुरी परेको छ।
अचेल काठमाडौंमा सबैतिर देख्छु, छतभरि ढकमक्क फुलेका छन् सयपत्री फूलहरू।
फूलबाट आँखा हटाएर सम्झिन्छु दाजुलाई – ओहो! आज त काग तिहार। भाइटीकाका लागि दाजुलाई निम्ता गर्नुपर्यो।
घरमा पनि पालैपालो फोन आउँछ नन्दहरूको।
दाजुभाइ दिदीबहिनीहरूको चाड हो तिहार। एकता र भ्रातृत्वको सन्देश लिएर हरेक वर्ष आउँछ तिहार।
स्वच्छताको आदेश लिएर हरेक घरमा भित्रिन्छ तिहार। संगीतको राग आलाप्दै ढोका ढोकामा आउँछ तिहार। मनमोहक प्रकृति बोकेर आउँछ तिहार। फूलहरूको सुगन्धले मगमगाउँछ तिहार। सेलरोटीको सुगन्धमा सुसज्जित हुन्छ घरआँगन। पकवानको सम्मिश्रणमा सम्पन्न हुन्छ तिहार।
तिहारको यो रमाइलो मौसममा म पनि खटिएकी छु, घरभित्र कामको पहाड खोसल्न। सरसफाइको काम सजिलो त कहाँ हुन्छ र! धूलोको साम्राज्य छ जताततै।
सासूआमाको साथ उत्तिकै शक्तिशाली छ। जति नै दगुरे पनि दुई जोडी हात कमै छन् काठमाडौंको धूलो पखाल्न। अझ रोड छेउको घर हे प्रभु! हरेक दिन झाडुपोछा चलाउँदा त छपक्क छोप्छ माटोको पाउडरले। अनि कस्सिन्छु तिहार टल्काउन।
छोरीहरूलाई छुट्टी छैन। सघाउन भ्याएका छैनन्। छोराछोरीको बिदा हुँदा अरू कामले अझ छोप्छ, सफाइको काम भ्याउनु छ।
हाम्रो पालामा पो दसैंदेखि तिहारसम्म हुन्थ्यो छुट्टी। काम गर्न हामीलाई समस्या थिएन। अहिले पढाइलाई मात्र जोड दिएका छन्। पढाइसँग सँगै घरको काम गर्ने गृहकार्य दिए कति जाती हुन्थ्यो। किताबबाट प्राप्त गरेको ज्ञानभन्दा अझ दीगो ज्ञान हासिल हुन्थ्यो घरका अनेकौं कामबाट।
घरको काम पनि महत्त्वपूर्ण हुन्छ भन्ने शिक्षा दिए हुन्थ्यो नि नानीबाबुलाई। चाडपर्वमा सबैले मिलेर घरको काम गर्नुपर्छ भन्ने दिव्य ज्ञान स्कुलले सानैदेखि नानीबाबुलाई सिकाए पनि हुन्थ्यो नि!
छोरी नजिकै आउँछे र भन्छे, 'मामु म के गरौं?'
अनलाइन कक्षा छ। बिहानदेखि ल्यापटपमा घोप्टिएर पढेकी छोरीलाई धूलो छुन के दिनु! धूलोको असरले भोलिबाट पढ्न नसक्ली। धन्न भान्सामा पकाउन सक्छे। ऊ खाजा बनाएर हामीलाई पनि खुवाउँछे।
भन्छे, 'हजुर सानैदेखि तिहारको काम गर्नुहुन्थ्यो?'
छोरीको एउटा प्रश्नले म बाल्यकालको तिहारको बखान छोरीलाई सुनाउँछु, 'सरसफाइको काम हामी गर्थ्यौं। मामा र म मिलेर घरको झ्याल ढोका पुछ्थ्यौं। काठको झ्यालमा तोरीको तेल लगाउनुपर्थ्यो। फूल टिप्ने माला गाँस्ने। पकवान पकाउने काम पनि गर्थेँ। आमाले अन्तिम अन्तिमको पीठो छोडी दिनुहुन्थ्यो मलाई, सेल पकाउन। म जानिनजानी घुमाउँथेँ सेल।
मैले बनाएको जेरी जस्तो सेल देखेर आमा कति राम्रो सेल, स्वाद उही हो, गर्दै गएपछि सिकिन्छ बिस्तारै, आउँदैन भनेर गरेन भने कहिल्यै आउँदैन भन्नुहुन्थ्यो।
आमाले मलाई त्यही बेला सेल पकाउन सिकाएर त आज सेल खान पाएका छौ। थाहा छ नानी! मलाई पपरा पकाउन मज्जा लाग्थ्यो नि...।'
'पपरा! के हो मामु त्यो पपरा भनेको?'
ओहो! मैले पपरा नपकाएको त लामो समय भएछ।
म नानीलाई सम्झाउँछु, 'पपरा भनेको चामलको गिलो पिठो बनाई केराको पातमा पातलो गरी फिँजाएर घाममा सुकाई घिउमा फुराएर खाइने परिकार हो नानी! अझ पिठोमा विभिन्न रङहरू मिसाएर बनाउँथेँ र नाङ्लाभरि सुकाउथेँ घाममा। गुलियो खाँदा खाँदा वाक्क लाग्दा मलाई पपराले खुसी दिन्थ्यो।'
बोल्दा बोल्दै मेरो मुहारमा आएको उत्साह देखेर छोरी भन्छे, 'मामु हजुरलाई तिहार रमाइलो लाग्छ कि दसैं?'
म केहीबेर मौन हुन्छु।
अनि छोरीतिर हेरेर भन्छु, 'दुवै चाड रमाइलो लाग्छ नानी!'
उत्साहविहीन उत्तर दिन्छु छोरीलाई। म टोलाउँछु। फेरि अतीतले चसक्क छुन्छ।
'के भयो मामु! यी चिया खाइस्यो, थकाइ लाग्यो होला। म खाजा बनाउँछु,' भन्दै छोरीले हातैमा चिया ल्याएर दिन्छे।
म चिया पिउँदै चन्द्रागिरितिर फर्किन्छु, आँखाभरि आउँछ अतीतको तिहार...।
सुनको रङ सापट लिएर धानका बालाहरू खेतभरि लहलह झुल्थे। प्रकृतिले तिहारमय वातावरण निर्माण गर्थ्यो। दसैंमा हालेको पिङ पुनः झारिन्थ्यो लिंगोबाट। आलीमा लहर लागेर ढकमक्क फुलेका हुन्थे सयपत्री र मखमली। चाँगेका फूलले घरको आँगन अझ उज्यालो पारेको हुन्थ्यो। लक्ष्मी पूजाको दिनसम्म त मलाई तिहार रमाइलो लाग्थ्यो। भैलिनीहरू आँगनमा आउँथे। म पनि उनीहरूसँग मिसिन्थेँ।
तर भोलिपल्टदेखि एक किसिमको दिक्दारी छाउँथ्यो।
अघि छोरीलाई भन्न सकेकी थिइनँ 'मलाई तिहार मन पर्दैन छोरी' भनेर। यही तिहारले हामीलाई टुहुरो बनायो। हाम्रो आकाश खोस्यो। भरोसा खोस्यो। आनन्द खोस्यो। मेरो मन एकतमासको हुँदै गयो।
तिहारको दिन बुबाको हत्या भएको थियो। हलितिहारको दिन बुबाको एक छाकी पर्छ। द्वितीया तिथि हो बुबाको।
हाम्रो घरमा देउसी-भैलो खेल्नु हुँदैन। आज चोखो खाना खानुपर्छ। लसुन, प्याज केही नहाली खाना पकाउनुपर्छ। राति भात खान हुँदैन, पुवा पकाउनुपर्छ। नुन दुईचोटि खानु हुँदैन। घरमा पटका पनि पड्काउनु हुँदैन। हल्लाखल्ला पनि गर्नु हुँदैन — तिहार बुझ्ने भएदेखि सुन्दै आएका तीता तर यथार्थ वाक्यहरू हुन् यी।
आज बुबाको स्वर्गारोहण भएको ४६ वर्ष बितिसक्दा पनि बाल्यकालका जम्मै स्मृति ताजा भएर आउँछन्।
हलितिहारको दिन बुबाको हत्या भएको थियो।
म आज पनि देख्छु — भाइटीकाको दिन अरूको घरमा चहलपहल हुँदा, हाम्रो घरमा मभन्दा जम्मा दुई वर्ष ठूलो दाजुले कपाल खौरिएर, सेतो धोती लगाएको। निरस अनुहार लिएर आमा र पण्डितको छेउमा टुसुक्क बसेर बुवाको श्राद्ध गर्दै गरेको।
दाजुको त्यो मायालाग्दो मुहारले मलाई आज पनि लखेट्छ। श्राद्ध सकिएर पहेँला टीका लगाएपछि भाइटीकाका लागि पुनः नुहाउन गएको त्यो कारूणिक दृश्य। अरूको घरमा साइतमा भाइटीका लगाउने बेला हुँदा श्राद्धपछि हाम्रो नुहाउने हतारो। टीका लगाउन साइँलो बुबाको घरतिर हिँडेका थकित गोडाहरू। मामाहरू आमा नुहाउने प्रतीक्षामा बसिरहेको नमीठो पल।
आज पनि म देख्छु — श्राद्ध गरिरहेको ठाउँमा टुसुक्क बसेर त्यो अवोध छोरालाई जिम्मेवारी र संस्कारको पाठ सिकाइरहेकी मेरी जवान आमा।
श्राद्ध बिर्सेर बिर्सिने संस्कार हो र? पोहोर गरेँ यो वर्ष गर्नुपर्दैन, कति गर्नु एउटै मान्छेको श्राद्ध भन्न मिल्छ र?
हो म पनि हरेक वर्ष बुबालाई सम्झिएर उहाँको श्राद्ध गर्दै आएकी छु।
हरेक तिहारमा गरिने बुबाको श्राद्धले उहाँको हत्या भएको यथार्थ मेरा अगाडि चित्कार छोड्दै आउँछ। अनि मलाई अभिभावक विहीन मेरो बाल्यकाल र वर्तमानले न्याँक्छ। बुबा भनेको सन्तानको सम्पन्नता हो। बुबा सन्तानका लागि विशाल आकाश हो। आखिर बुबा भनेको बुबा नै हुँदो रहेछ भन्ने भाव त पलपल अनुभूत गर्दै आएकी छु आजपर्यन्त।
बाल्यकालमा डरलाग्दो मनोविज्ञान जन्मिएको थियो। सपनामा पनि बारम्बार देख्थेँ दाजुलाई मार्न आएका डरलाग्दा मान्छे। आमालाई मार्न आएका नकावधारीहरू। विपनामा पनि लाग्थ्यो मेरो दाजु र आमालाई पनि कसैले मार्न आउँछन् कि भन्ने। त्यो, पलपलको त्रास बिर्सिएर कहाँ बिर्सिन सक्छु र! आज पनि झसंग हुन्छु। आज पनि त्यही सपना बेलाबेला देख्छु।
आमा र दाजु नै मेरो सम्पूर्ण संसार थियो। त्यो आक्रान्त र विक्षोभित मनको त्रासले थिचिएको बाल्यकाल बडो गुम्सिएको थियो। त्यो पल आज पनि भुलेर भुल्न सक्दिनँ म। अरूका घरमा तिहार उत्साह र उमंग बनेर आउँदा मेरो लागि जहिल्यै पनि डरलाग्दो पीडा भएर आउँथ्यो। आज पनि आउँछ।
मेरो एक जना विद्वान दाइले पोहोरै भन्नुभएको थियो — दुःखका कुरा अब नलेख नानी!
'माफ गर्नुहोला दाजु, संवेदना भन्ने कुरा जन्मिँदै आउने गुण रहेछ। मलाई सानो सानो कुराले छुन्छ। म विगत बिर्सिन सक्दिनँ।
ज्ञानीजनहरू आफ्नो धरातल भुल्नु हुँदैन भन्छन्। म मेरो धरातल छोडेर कता भागूँ दाजु? मलाई विगतका घटनाहरूले आज पनि नराम्रोसँग छोएर जान्छन्, म के गरूँ? मेरो दाजु आज पनि टीकाको दिन बुबाको श्राद्ध गर्न बस्नुहुन्छ। के दाजुलाई पनि बुबाको श्राद्ध कति गर्छस् भन्नुहुन्छ? पक्कै भन्नु हुन्न। हो म पनि हरेक वर्ष बुबालाई स्मरण गर्दै बुबाप्रति श्रद्धा गर्छु। मैले पनि बुबाको श्राद्ध गरेको नै ठान्नुस् न! ढुक्क हुन्छ।
कतै पढेकी थिएँ — मातापिताको हात समातेर हुर्किएका सन्तानले आफ्ना आमाबुबालाई कहिल्यै पनि स्वर्गीय नबनाउनू। माता र पिताले जसरी जहाँबाट भए पनि सन्तानलाई हेरिरहेका हुन्छन्। आशीर्वाद दिइरहेका हुन्छन्।
मैले त बुबाको छायासम्म पनि देख्न पाइनँ। हात समातेर हिँड्नु त परको कुरा भयो। त्यसैले मैले पनि बुबालाई स्मृतिमा सदैव जीवित राखेकी छु। कुनै कुनै घटना बिर्सिन्छु भनेर पनि बिर्सिन सकिँदैन रहेछ।
मलाई कुनै पनि संवेदनशील घटनाहरूले प्रभावित पार्छ।
हलितिहारका दिन कोही देउसी खेल्न आउँदा आज पनि म तर्सिन्छु, 'ओहो! हाम्रो घरमा देउसी खेल्नु हुँदैन!'
आज पनि मलाई उस्तै नरमाइलो लाग्छ।
म गर्भेटुहरी, बुबाको हत्या हुँदा आमाको गर्भमा एक महिनाकी थिएँ रे। मलाई बुबाको स्मरणले नै विक्षिप्त पार्छ। त्यसैले मलाई तिहार सधैं हार जस्तै लाग्थ्यो। आज पनि लाग्छ। तिहारको खुसीमा खुसी हुन्छु भन्दा पनि बुबाको श्राद्धले जहिल्यै पनि बुबाको हत्या भएको त्यो कालो दिन ताजा गरिदिन्छ त म के गरूँ?
जब घाउ नासुर भएर हृदयमा बसेको हुन्छ नि, त्यो छुने बित्तिकै बल्झिहाल्दो रहेछ। मेरो मस्तिष्कको गहिरो घाउ जब छुइन्छ, मलाई औडाहा हुन्छ। चारैतिर रगतको खोलो देख्छु। बुबाको हत्या भएको यतिका वर्ष भए पनि मलाई हरेक तिहारमा त्यो घटना आजैको घटना हो भन्ने लाग्छ।
बिहे गरेर अर्कै घर आए पनि, मेरो तन काठमाडौंमा भए पनि, मेरो मन र मस्तिष्क भिमानको भूगोल र आमाको काखमा विचरण गरिरहन्छ। त्यसैले सानैदेखि मलाई तिहार अभिघात लाग्छ! यसले एउटा त्रासद अतीतको उपहार चढाउँछ!
(अनिता कोइरालाका अन्य लेख पढ्न यहाँ क्लिक गर्नुहोस्।)