कुनै बेला कतै पढेको थिएँ, तिमी त्यसरी मेहनत गर्नु कि तिमीले अवसरको खोजी गर्ने होइन, अवसरले नै तिमीलाई खोज्ने छ। सायद अपाङ्गताको क्षेत्रमा सानैदेखि अनवरत रूपमा अभियन्ताको रूपमा सहभागी हुँदै गएँ र समय क्रमसँगै विभिन्न अवसरहरू प्राप्त गर्न थालेँ। यसै सिलसिलामा गत वैशाखमा अमेरिकी सरकारद्वारा आयोजना गरिने तीन हप्ते लामो एक्सचेन्ज प्रोग्राम (इन्टरनेशनल भिजिटर लिडरसिप- आइभिएलपी) मा सहभागी हुने अवसर प्राप्त गरेँ।
२१ देशबाट २१ जना सहभागी रहेको सीमान्तकृत समुदायहरूका लागि मानव तथा नागरिक अधिकार विषयक कार्यक्रम गत अप्रिल २२ देखि मे १० सम्म आयोजना भएको थियो। नेपालबाट प्रतिनिधित्व गर्दै संयुक्त राज्य अमेरिकाको राजधानी वासिङ्टन डिसी हुँदै क्यालिफोर्निया, कोलोराडो र न्यु वर्क राज्यको भ्रमण गर्ने अवसर प्राप्त गरेँ। तीन-हप्ते कार्यक्रममा सहभागी हुँदाका अनगिन्ती अनुभव र सिकाइहरू छन् जसमध्ये यस आलेखमा मैले त्यहाँ अनुभव गरेका सार्वजनिक स्थानसम्बन्धी केही पहुँचयुक्तका पक्षहरूलाई मात्र समेट्ने प्रयास गरेको छु।
वासिङ्टन डिसीमा हुँदा त्यहाँका राजनीतिक, ऐतिहासिक तथा पुरातात्त्विक स्थलहरू जस्तै युएस क्यापिटल बिल्डिङ, ह्वाइट हाउस, वाशिङटन मोनुमेन्ट लगायतका विभिन्न स्थलहरू घुमेँ। त्यस्तै सान फ्रान्सिस्कोमा हुँदा त्यहाँको प्रसिद्ध गोल्डेन गेट ब्रिज र गोल्डेन पार्क, कोलोराडोमा हुँदा त्यहाँको स्टेट क्यापिटल बिल्डिङ र प्रसिद्ध गार्डेन अफ द ड्रिम्स र न्युवर्कमा हुँदा त्यहाँको स्ट्याचु अफ लिबर्टी, एलिस आइल्यान्ड र अन्य महत्त्वपूर्ण पार्कहरू घुम्ने अवसर प्राप्त भयो।
नेपालमा कुनै त्यस्ता प्रसिद्ध ठाउँहरू घुम्न जाने हो त त्यस बारेमा थाहा पाउन केवल सहयोगी या सहकर्मीहरूको मौखिक वर्णनमा मात्र सीमित हुनु पर्दथ्यो। त्यसरी मौखिक वर्णन सुनेर त्यहाँको वस्तुस्थिति बारेमा केही हदसम्म बुझ्ने अवस्था भए तापनि त्यो स्थानको वास्तविक आकृति, स्वरूप, ढाँचा आदि बारेमा मेन्टल म्याप बनाउन निकै कठिन हुने गर्दथ्यो। तर अमेरिकाको तीन हप्ते बसाइँमा मैले त्यस्तो कुनै पनि असहजता सामना गर्नु परेन।
हरेक ठाउँ घुम्न जानुअघि त्यस भवन या स्थानको या त थ्री-डि मोडल प्रदान गरिन्थ्यो या त त्यस बारेमा आधारभूत जानकारी प्रदान गरिन्थ्यो जसबाट त्यस स्थलको बारेमा थोरै मेन्टल म्याप बनाउन सकिन्थ्यो। सम्बन्धित ठाउँमा पुगेर त्यसको वरिपरि घुम्दै थ्री-डि मोडेल या टेकटाइल म्यापमार्फत आफू रहेको स्थान लोकेट गर्दै त्यसको पूर्ण आकृति प्राप्त गर्न सकिन्थ्यो।
सबैभन्दा रोचक पक्ष भनेको युएस क्यापिटल बिल्डिङमा रहेको वासिङ्टन डिसीको टेकटाइल म्याप थियो। लामो टेबलमा डिसी भित्रका सबैजसो सरकारी भवनहरूलाई त्यसको पूर्ण स्वरूप झल्किने गरी राख्नुको साथसाथै त्यहाँ रहेका हाइवे तथा खोला र अन्य महत्त्वपूर्ण स्थानहरूलाई स्पष्ट सङ्केतसहित राखिएको थियो। जसलाई स्पर्श गरेर वासिङ्टन डिसीको पूर्ण आकृति महसुस गर्न सकिन्थ्यो।
अर्को रोचक अनुभव सान फ्रान्सिस्को स्थित गोल्डेन गेट ब्रिज घुम्दाको थियो। गोल्डेन गेट ब्रिजलाई पार नगरे तापनि त्यसैको नजिक रहेको सानो पार्कमा गोल्टेन गेट ब्रिजको विभिन्न स्वरूप, ढाँचा, विकास क्रम र महत्त्वपूर्ण तथ्यहरूलाई कुँदेर, त्यसको स्वरूप बनाएर राखिएको थियो। जसलाई पढेर, हेरेर र स्पर्श गरेर उक्त ब्रिजको समग्र प्रणाली बारेमा राम्रो बुझाइ बनाउन सकिन्थ्यो जुन मेरो लागि निकै रोचक र पहिलो अनुभव थियो।
न्युवर्कमा रहेको स्ट्याचु अफ लिबर्टी र एलिस आइल्यान्डमा पनि युएस क्यापिटल बिल्डिङमा रहेको जस्तै दुवै आइल्यान्डको पूर्ण म्याप झल्काउने गरी ट्याकटाइल म्याप राखिएको थियो जसको स्पर्श गर्दै त्यहाँको समग्र भौगोलिक स्वरूप र संरचनाको बारेमा थाहा पाएँ।
एलिस आइल्यान्ड घुम्दा त झन् अडिओ गाइड डिभाइससमेत प्रदान गरिएको थियो जसको प्रयोग गरेर उल्लेखित निर्देशनहरूको पालना गर्दै उक्त आइल्यान्डको इतिहास, त्यहाँको प्रत्येक कोठासँग जोडिएको घटनाक्रम र आवश्यक अन्य जानकारीहरू कुनै गाइडको सहयोग बिना नै प्राप्त गर्न सकिन्थ्यो। त्यसरी अडिओ सुनेर इतिहासको बारेमा थाहा पाउँदा स्वयम् नै पहिला विश्व युद्ध ताका अमेरिका पुगेर त्यस बेलाको अवस्थालाई स्वयमले अवलोकन गरेको जस्तो महसुस भयो।
यस्तै कोलोराडोमा गार्डेन अफ द गड पार्क घुम्न जाँदा त्यस पार्कको जानकारी समेटिएको पम्प्लेट ब्रेलमा उपलब्ध गराइएको थियो। त्यस बाहेक विभिन्न सार्वजनिक पुस्तकालयहरू, म्युजियमहरू, थिएटर, प्रशासनिक कार्यालय, इत्यादि घुम्न जाँदा त्यहाँको पहुँचयुक्त बारेमा आवश्यक जानकारी प्राप्त गर्न तथा भ्रमण पूर्व नै सम्पर्क गरेर आवश्यक पहुँचयुक्तको सुविधा उपलब्ध गराउन अनुरोध गर्न सकिने व्यवस्था रहेको थाहा पाएँ।
पहुँचयुक्तलाई संयुक्त राज्य अमेरिकाको विद्यमान कानुनले अनिवार्य गरेको छ जसले गर्दा त्यहाँका सबैजसो सार्वजनिक संरचना, भवन तथा डिजिटल प्लेटफर्महरू पहुँचयोग्य बनाइएको हुन्छ। त्यसै कारण पनि त्यहाँ पहुँचयुक्तका निकै असल अभ्यासहरू देख्न सकिन्छ।
सबैजसो जेब्राक्रसमा साउन्ड आउने डिभाइसहरू राख्नुको साथै थिएटरहरूमा दोभासे र अडिओ डिस्क्रिप्सनको व्यवस्था गर्ने, सार्वजनिक भवन तथा पार्कहरूमा सूचना सामाग्रीहरू ब्रेलमा उपलब्ध गराउने, ऐतिहासिक स्थलहरूको स्पर्श म्याप तथा थ्री-डि मोडेल बनाउने आदि महत्त्वपूर्ण उदाहरणीय प्रयासहरू त्यहाँ देख्न सकिन्छ।
पहुँचयुक्तको सन्दर्भमा नेपालले हालसम्म केही नगरेको भने होइन। पहुँचयुक्त भौतिक संरचना तथा सञ्चार निर्देशिका विसं २०६९ मा नै जारी गरेर पहुँचयुक्त भौतिक संरचनालाई कानुनी रूपमा बाध्यकारी बनाउन नेपाल सरकारले प्रयासहरू गरिरहेकै छ। त्यस्तै अन्य विभिन्न ऐन कानुनहरूले पनि पहुँचयुक्तलाई महत्त्वपूर्ण सर्तको रूपमा उल्लेख गरिसकेको छ तर विडम्बना त्यसको सही ढङ्गले कार्यान्वयन हुन नसक्दा अपाङ्गता भएका सहित अन्य समुदायले पनि विभिन्न खालका अप्ठ्यारा र विभेदहरूको सामना गरिरहनु परेको छ।
यदि सबै पर्यटकीय/सार्वजनिक स्थलहरूका भौतिक संरचनाहरूलाई पहुँचयुक्त बनाउने, तीर्थ स्थलहरूको टेकटाइल म्याप तथा थ्री-डि मोडेलहरू सहजै उपलब्ध गराउने तथा सम्बन्धित ठाउँको आवश्यक जानकारीहरूको अडिओ डिस्क्रिप्सनको सहायताले सजिलै थाहा पाउने व्यवस्था भइदिए अपाङ्गता भएका व्यक्तिहरूले पनि अन्य व्यक्ति सरह पर्यटकीय आनन्दको लाभ र अनुभूति गर्न सक्थे कि।
(लेखक नेत्रहीन युवा सङ्घ नेपाल संस्थामा कार्यक्रम अधिकृतको रूपमा कार्यरत छन्।)