साथीभाइ आफन्त भन्छन्- ‘कस्तो व्यस्त छस् है त!’
म पनि उनीहरूलाई सोही कुरा भन्छु- ‘तिमीहरू पनि व्यस्त नै छौ है।’
आफूलाई व्यस्त राख्नु राम्रो हो। तर पनि यति व्यस्त पनि छैन म जति उनीहरू सोच्दछन्। सायद उनीहरू पनि यस्तै छन् होला।
मलाई उनीहरूले सोच्नु र मैले उनीहरूलाई सोच्नु स्वाभाविक पनि छ। पहिला घण्टौँसम्म बोल्न भ्याउने हामी; अचेल कि काम परेको हुनुपर्छ कि खास दिन चाहिन्छ। उति बेला जस्तो जति बेला मन लाग्यो बोल्न पाइँदैन। म बिहान १० बजेदेखि साँझ ७ बजेसम्म ड्युटी गर्छु। कहिलेकाहीँ त बिहान ५ बजेदेखि राति १० बजेसम्म पनि ड्युटी हेर्नुपर्छ।
हामी सञ्चारकर्मी, स्वास्थ्यकर्मी र सुरक्षाकर्मीलाई न चाडबाड, न दिनरात, न त शुक्रवार, शनिवार, न कुनै खास दिन। हर पल, हरदम काममा खटिनु पर्ने।
साथीभाइ आफन्तले सोध्छन्, ‘यत्रो ड्युटी गरेको त पैसा राम्रो आउँछ होला।’
म पनि के कम, ‘आजलाई पुगेको छ’ भन्छु। उनीहरूको प्रश्न गर्ने शृङ्खला रोकिन्छ।
आफूले रोजेको पेसा चाहे ठुलो होस् या सानो, पैसा बढी होस् या थोरै मनको शान्त मिल्छ। हुन त जीवन चलाउन आर्थिकसँग जोडिनुपर्छ। आजलाई चलेको जीवन भोलि यसै गरी चल्छ त भन्न सकिन्छ। यसो भए त मनलाई शकुन हुनु नै ठुलो कुरा मान्दछु म।
काममा भएको बेला बोल्न भएन। म फुर्सदमा भएको बेला उनीहरूको फुर्सद पनि त हुँदैन। यसै कारण पनि ऊ, उनी, उहाँसँग बोलचाल कम हुन्छ। घरकाले पनि काम पर्दा फोन गर्ने हुन्। कि भने काम परेपछि, चाडपर्व आएपछि आफैले फोन गर्छु। कहिले फोन उठ्दैन त कहिले फोन लाग्दैन। घरदेखि दूरीको हिसाबले धेरै टाढा छैन म र पनि समय मिल्दैन।
गाउँमा काममा व्यस्त हुन्छन् घरका। साथीभाइ व्यस्त हुन्छन् काममा। उनीहरूलाई समय मिलेको बेला मेरो नमिल्ने अनि मेरो मिल्दा उनीहरूको। यसैले पनि एकलाई कम बोल्छ भन्नु हो पनि।
चाडबाडको बेला भने घर गई नै रहेको हुन्छु। त्यस बेला आफन्त र साथीभाइ भन्छन्- ‘कुरै गर्न छोडिस्।’ कतिले ठुलो भइस् भन्न भ्याउँछन्। बोल्दैमा सानो र नबोल्दैमा ठुलो भन्ने त हुँदैन होला। उसो त कम बोल्ने स्वभावको म। मन मिल्ने साथीभाइसँग ठिकै बोले जस्तो लाग्छ। अरूसँग भने त्यति बोल्दिनँ म। त्यो मेरो स्वभाव नै हो।
कम बोल्नेलाई फरक नामले पनि सम्बोधन गर्छन् मान्छेहरू, घमन्डी। यो शब्द खुबै सुनियो। बालापनदेखि अहिले युवावस्थासम्म। बुढेसकालमा पनि सुन्छु होला म। किनकि बोल्न कम रुचाउने मान्छे म। पेसा बोल्ने भए पनि लागेको बानी छुटाउन अलि मुस्किल भने पक्कै छ। तर कोसिस गरेकै छु। बोल्न मन पर्छ तर पनि सुन्न बढी मन पराउँछु।
यसैले गर्दा घर होस् वा परबाट यही शब्दले मलाई सम्बोधन गर्दथे। म कुनै प्रतिक्रिया नै नदिएर आफ्नो बाटोमा हिँडिरहेँ। म यात्री, यात्रा भने पनि औधी मन पराउँछु; गाडीको होस् या जीवनको। यो अहिले मात्र होइन, म रहुन्जेलसम्म पनि चलिरहन्छ र चलाउनु पर्छ पनि।
१०/११ पढ्दाको जस्तो उमेर पनि रहेन। अनि शरीर पनि। मन त उही हो। फरक परिस्थिति बनेको छ। उमेर त्यस्तै थियो १६–१७। घण्टौँ सामाजिक सञ्जालमा साथी बनाउने र बोल्ने। रहर त्यही बेला पूरा गरे जस्तो लाग्छ। आजकल सामाजिक सञ्जालमा रहेता पनि कमै मात्र बोलिन्छ। यसैले पनि अस्ति, हिजो, आज गरेर साथीभाइ आफन्त टाढा बन्दै गएका छन्।
मसँग पढेका साथीभाइ कोही अमेरिका, कोही जापान, कोही साउदी त कोही मलेसिया अनि कोही दुबई कतार। उमेर बढी रहँदा जिम्मेवारको भार पनि बढ्दो रहेछ। मान्छेको जीवन पनि दिन जस्तै रहेछ। जसरी बिहान, दिउँसो र रात हुन्छ। त्यस्तै मान्छेको जीवन पनि उस्तै छ। फ्रेस, दौडधुप अनि थकित।
देख्नेहरूले भन्ने यही त हो-
क्या मस्त छ जीवन
भोग्नेहरूले भन्ने यही त हो-
कति दुःख कष्ट छ जीवन
सोध्नेहरूले भन्ने यही त हो-
देखाइमा भन्दा भोगाइमा फरक छ जीवन।
हरेक मान्छेले संघर्ष गरी नै राखेको हुन्छ। कतिले देखाएर गर्छन् त कतिले लुकाएर। फरक यति हो यहाँ बाहिरी आवरणको चर्चा बढी हुन्छ। तर सहेकै त सबैले हुन्छ। हर कोही मान्छे पलपल मरेकै हुन्छ। आँसु नझार्दैमा पीडा नै छैन भन्न त कहाँ सकिन्छ र? हाँसो भित्रको दुखाइ त झन् बढी हुन्छ।
साथीभाइ तथा आफन्त, तिमी पनि आऊ समय मिलाएर। म पनि आउँला समय मिलाएर। थोरै यही सञ्जालमा गफियौँ न हामी पनि। आफ्नो खबर बाँडेर। तँ ठुलो, म ठुलो, ऊ ठुलो अरे किन गर्ने हामी? भोलि मर्दा कसैले छैन यहाँ लानी। आ–आफ्नो कर्ममा रमेका हामी बोलौँ केही बेर। मनका कुरा खोलौँ केही बेर।
सम्झनाको लागि साथ छैन आवश्यकता। समय हुँदा तिमी पनि बोल्ने गर। याद नै काफी हुनेछ। यी पलहरू जीवनको लाग खास हुनेछ। म पनि समय व्यवस्थापन गर्छु अब। अरूबाट आस किन गर्नु, बोल्न सुरु गर्छु आफैबाट।
समय बलवान छ। उमेरले सिकाउँदै छ। आफ्ना र साथीभाइका महत्त्व पनि उमेरले सिकाउँदै छ। आउनुहोस् बोलौँ। फेरि दूरी केही नजिक बनाऊँ।