पहाडी भूभागमा जन्मे हुर्केपछि बुढो मावली, मावली, फुपूको घर जताततै जाँदा आउँदा डाँडाकाँडा काट्नु पर्ने, उकाली चढ्नु पर्ने, ओराली झर्नु पर्ने अनि खोलानाला तर्नु पर्ने हुन्छ। यो धेरैलाई थाहा भएकै कुरा हो। कुनै बखतसम्म पुल भएका ठाउँमा पुल र पुल नभएका ठाउँमा खोलै तर्नुपर्ने, जुत्ता हातमा समाएर ठाउँ-ठाउँका जंघार तर्नु पर्ने अवस्था थियो र कता कतै हाल पनि यस्तो अवस्था छ।
पछिल्लो समयमा भने ठाउँ-ठाउँमा पुग्नका लागि यातायातका साधनहरू चल्ने गर्छन्। त्यस्तै ठाउँ-ठाउँमा रहेका नदी, खोलाहरूमा झोलुङ्गे पुल पनि बनेका छन्। जसले गर्दा पदयात्रीहरूलाई यात्रा छोटिने गरेको छ।
पहिले रोल्पाको खुंग्रीबाट दाङको घोराहीसम्म जाँदा माडीचौरको पुल तरेपछि रोल्पाकै साबिक घोडागाउँ गाविसको भाग्रीबाङ पुगेर पश्चिमतर्फको बाटो मोडिनु पर्दथ्यो। त्यो बाटो पहिले दाङको कोइलाबासमा भारी खेप्नका लागि रुकुमेली र रोल्पालीहरू वा ढाक्रेहरू ओहोरदोहोर गर्दथे। नुन र गुड अनि मट्टितेल लगायतका घरायसी अत्यावश्यक वस्तुहरू खरिद गर्न पहिले नेपाल-भारत सीमा क्षेत्रमा रहेको कोइलाबास बजार जानै पर्थ्यो।
भाग्रीबाङबाट घोरखोलाको किनारै किनारको तेर्सो कम र र उकालो बढी हिँड्नुपर्थ्यो। भाग्रीवाङदेखि धेरै भन्ने ठाउँसम्मको पट्यार लाग्दो पैदल यात्रा हुन्थ्यो। पुठाथान, सिक्रिआँप, सुर्पालनेटा, मैचन्नेपछि मसिना आउँथ्यो। बिच-बिचमा रहेका चौतारो वा बिसौनीमा थकाइ मेटेर घरबाट बोकेर ल्याइएको रोटी-अचार खाएर कल कल बगेको खोलाको पानी पिइन्थ्यो। यो बाटोमा चोर पनि लाग्थे, मान्छे हिँड्न डराउँथे।
मसिना भन्ने ठाउँको अलि परबाट कल्लेरी हुँदै अरङखोला झरेर सो खोला तरी उकालो लागेपछि धौलवाङ आउँथ्यो। धौलबाङमा अलग बाटो भएर लिबाङतर्फबाट आउने बटुवाहरू र खुंग्रीतर्फबाट आउने बटुवाहरू भेटिने संगम स्थान हो। त्यहाँबाट धेरै पर गएपछि राम्चेको डाँडो आउँथ्यो। त्यो डाँडोमा उभिएपछि पूरै शरीर पहेँलो देखिन्थ्यो। त्यहाँ सुनको खानी छ भन्ने हल्ला पनि थियो।
त्यहीँ राम्चेको बाटो छेउमा ठेकामा दही र केराका हाता अर्थात् काइँयो बोकेर कोही कोही गाउँलेहरू बसेका हुन्थे। दही र केरा खाएपछि थकाइ र भोक हराएको भान हुन्थ्यो। पूर्णतया सक्कली फल र गोरस खान पाएपछि स्वर्गीय आनन्द कसलाई हुँदैन होला र?
राम्चे पार गरिसकेपछि सेवारखोला झर्ने ओरालो बाटो आउँथ्यो। धेरै बेरको हिँडाइपछि सेवार खोला भेटिन्थ्यो। दुई खोली हुँदै बगाले भन्ने ठाउँमा पुगेपछि दाङको समथर भूभाग भेटिन्थ्यो र गर्मीको महसुस हुन्थ्यो। ठाउँ-ठाउँमा चिया पिउँदा बडो आनन्द हुन्थ्यो। घोराही बजार आइपुग्दा बाह्र घण्टा व्यतीत भइसकेको हुन्थ्यो। घोराहीको गुजुरे बजार निकै चलेको बजार थियो।
यसरी घोरखोला, अरङखोला र सेवारखोला मैले कहिल्यै नबिर्सने खोलाहरू हुन्। घोराही र तुलसीपुर त पछि मात्र बजारको रूपमा विकसित भएका हुन्। दाङको घोराही र तुलसीपुरको चहलपहल बढ्न थालेपछि कोइलाबास बजार र मानपुर बजार सुक्दै गए र चहलपहल घट्दै गयो। फलतः त्यहाँका पुराना व्यापारिक भवनहरू अहिले जीर्ण अवस्थामा देखिन्छन्।
कुनै बखत दाङका पुराना दुई बजारमध्ये कोइलाबास पहिलो ठुलो र मानपुर बजार दोस्रो ठुलो बजारमा गनिन्थे। भारतको बलरामपुरबाट व्यापारीहरू आएर कोही कोइलाबास र कोही मानपुरमा कारोबार गर्न थालेका थिए। बजार चम्किँदै गएपछि मानपुर बजारमा किनमेल गर्नेहरूको घुइँचो हुने गर्थ्यो। पछि घोराही र तुलसीपुर बजार चम्किन थालेपछि भने मानपुर बजार सुक्न थाल्यो। उता कोइलाबास बजार पनि बिस्तारै सुक्दै गयो।
कुनै समय स्वर्गद्वारी अञ्चल र पछि राप्ती अञ्चलमा नाम परिवर्तन भएपछि सोही अञ्चलका पहाडी जिल्लाहरूको व्यापारिक केन्द्र बन्यो मानपुर बजार। एक समयमा आकर्षक बजारको रूपमा चिनिएको मानपुर बजार बिस्तारै सुस्ताउन थाल्यो। मानपुरमा रहेका अञ्चलाधीश कार्यालय र अन्य कार्यालयहरू तुलसीपुरमा स्थानान्तरण हुँदै गए र तुलसीपुरमा बजार बस्न थाल्यो भने मानपुरमा रहेको बजारमा चहलपहल घट्न थाल्यो। उता घोराही पनि चम्किँदै जाँदा मानपुरमा रहेका बलरामपुरे कोही व्यापारीहरू भारत तिरै फर्किए भने कोही घोराहीमा जम्न थाले। थोरै मात्र तुलसीपुरमा बसेर कारोबार गर्न थाले।
२०३२ सालसम्म मानपुर बजारमा चहलपहल भएको र अड्डाहरू तुलसीपुरमा सरेपछि चहलपहल कम हुँदै गएको मानपुरबासी पूर्व शिक्षक र पूर्व सरकारी अधिकृत ढुण्डिराज सुवेदी बताउनु हुन्छ। साबिक मानपुर गाविसमा रहेको मानपुर बजारमा अहिले चिया पिउने होटेल पनि नहुँदा चिया नास्ताका लागि विजौरीमा जानुपर्ने अवस्था छ। मानपुर बजार अहिले तुलसीपुर उपमहानगरपालिकाको वडा नं १७ मा पर्दछ। तुलसीपुर र घोराही जति जति चम्किँदै जान्छन् मानपुर बजार उति उति खस्किँदै गएको छ। प
पहाडी जिल्लाहरूबाट नुन-तेल किन्नेहरूको भिडभाड हुने मानपुर बजार अहिले खहरे खोला सुके झैँ सुकेको छ। थारु जातिहरूको बस्ती ज्यादा भएको मानपुरमा पहिले पहाडी भेगबाट पनि बसाइसराइ हुँदै आउँदा अरू जातजातिहरू पनि थपिँदै गए। अहिले भने मानपुरमा अन्यत्रबाट बसाइसराइ हुन छाडेको छ। धेरैले तुलसीपुर, घोराही र लमही तथा ती बजारका आसपासका स्थानहरू बढी रोज्ने गरेका छन्।
तुलसीपुर पश्चिम रुकुम र सल्यानवासीहरूको रोजाइमा पर्छ भने घोराही र लमही पूर्वी रुकुम, रोल्पा र प्युठानका मानिसहरूको रोजाइमा पर्दछ। दाङमा पहाडतिरबाट बसाइसराइ गर्नेको सङ्ख्या दिनानुदिन बढ्दै गएको पाइन्छ। दाङमा सुविधाहरू बढ्दै जाँदा पहाडतिरका मानिसहरू त्यतैतिर आकर्षित हुनु स्वाभाविकै पनि हो। हुन त अहिले पहाडी जिल्लाहरूमा पनि सुविधाहरू नभएको होइन। बस्न मधेसभन्दा पहाड नै ठिक भए तापनि पहाडबाट मधेसतिर झर्ने सिलसिला भने रोकिएको छैन।
पहाडबाट मधेस झर्ने उद्देश्य नै भात खानकै लागि हो भन्नुमा फरक पर्दैन। पहाडमा धानको उत्पादन कम हुनु स्वाभाविकै हो। तर हालका दिनहरूमा भातभन्दा पनि पहाडी उपजहरू नै बढी स्वास्थ्यवर्द्धक रहेको चेतना स्तर वृद्धि भएको पाइन्छ। अझै पनि कसै कसैलाई भातै चाहिने अवस्था पनि छ।
पहिलेदेखि नै घोराही बजार दाङ जिल्लाको सदरमुकाम रहँदै आएको छ। पहिले साबिक राप्ती अञ्चल हुँदाको अञ्चल सदरमुकाम भने तुलसीपुर थियो। घोराही नाम कसरी रहन गयो भन्ने खुल्दुली धेरैलाई हुनसक्छ।
वर्षौँ अघिदेखि कुनै बखतसम्म घोडाहरू धेरै भएकै कारण दाङको हालको सदरमुकाम र मुख्य व्यापारिक ठाउँको नाम घोराही रहेको भन्ने बुढापाकाहरूको भनाइ छ। घोराहीको नाम राख्न प्रमुख भूमिकामा रहेको घोडाहरूको पहिचान नमेटियोस् भन्नाका खातिर हाल घोराहीको ट्राफिक चोकमा एक जोडी घोडाको प्रतिमा राखिएको छ।
तत्कालीन राप्ती अञ्चलका पाँच जिल्ला रुकुम, रोल्पा, सल्यान, प्युठानका मानिसहरू सामान खरिदका लागि दाङको घोराहीमा आउने गर्दथे। पहिले पहिले जुत्ता चप्पल बेगर नै दाङसम्म आउने जाने हुन्थ्यो। घोराहीमा धेरै पहिलेसम्म नेपाल-भारत सीमा कोइलाबास बजारमाबाट घोडामा बोकाई सामान ल्याउने गरिन्थ्यो। त्यसै कारण पनि त्यस ठाउँमा घोडाहरूको सङ्ख्या धेरै थियो।
घोराहीलाई २०३५ साल माघ १५ गते त्रिभुवननगर नगर पञ्चायत नामकरण गरिएको थियो भने गणतन्त्र स्थापनापछि २०६५ कार्तिक २० गतेदेखि त्रिभुवननगर नगरपालिकाको नाम परिवर्तन गरी पुनः घोराही नगरपालिका बनाइयो। संघीय संरचनाअनुसार २०७३ वैशाख २२ गतेको नेपाल सरकारको निर्णयअनुसार साबिकका त्रिपुर नगरपालिका, सौंडियार गाविस, धर्ना गाविस, रामपुर गाविस, लक्ष्मीपुर गाविस र सैघा गाविस गाभेर नगरपालिकालाई उपमहानगरपालिकामा रूपान्तरण गरिएको हो। दाङ उपत्यका दक्षिण एसियाको दोस्रो ठुलो उपत्यका भनिए तापनि लिखित अभिलेख वा प्रमाण भने कतै फेला परेको पाइँदैन।
पूर्वमा बंगलाचुली गाउँपालिका, पश्चिममा तुलसीपुर उपमहानगरपालिका, उत्तरमा रोल्पा जिल्ला र दक्षिणमा लमही नगरपालिकाले घेरिएको घोराही उपमहानगरपालिकाको कुल क्षेत्रफल ५२२.२१ वर्ग किलोमिटर रहेको छ। २०६८ सालको जनगणनाअनुसार घोराही उपमहानगरपालिकामा ३५ हजार ४ सय १९ घरधुरीमा कूल जनसङ्ख्या १ लाख ५६ हजार १ सय ६४ रहेको थियो भने २०७८ सालको जनगणनाअनुसार घोराही उपमहानगरपालिकामा ४९ हजार ७ सय ६१ घरधुरीमा कूल जनसङ्ख्या २ लाख ५ सय ३० रहेको छ जसमा ४६.८ प्रतिशत पुरुष छन् भने ५३.२ प्रतिशत महिला रहेका छन्।
घोराही उपनगरपालिकामा साबिक राप्ती अञ्चलका रुकुम, रोल्पा, सल्यान र प्युठानका साथै अर्घाखाँचीबाट पनि बसाइसराइ भइआएको पाइन्छ। दाङकै छेउछाउका गाउँहरूबाट समेत सहर बजारतिर बसाइँ सर्ने क्रम बढ्दो छ। तुलसीपुर उपमहानगरपालिकामा सल्यान र पश्चिम रुकुमबाट बसाइँ सराइ भएको पाइन्छ भने घोराही उपमहानगरपालिकामा बसाइँ सराइ गर्नेमा रुकुम पूर्व, रोल्पा र प्युठानका धेरै छन्।
पहिले पहिले पहाडका मानिस मधेसतिर झर्न सितिमिति मान्दैनथे। औँलोको डरले मान्छेहरू पहाडमै बस्न रुचाउँदथे। हालका दिनहरूमा दाङमा सुविधाहरू बढ्दै जाँदा भने गाउँका मानिस सहर बजार केन्द्रित हुन थालेको आभास पाइन्छ। मलाई सम्झना भएअनुसार २०३३ अगाडि घोराहीमा भूपनारायण श्रेष्ठ एन्ड सन्स नामको होलसेल पसल थियो। त्यस्तै भिंग्रेली पसल कपडाको लागि चर्चित थोक विक्रेता थियो। आसपासमा केही पसल र होटेल मात्र देखिन्थे। माइती होटेल पहिलेदेखि नै नाम चलेको थियो। त्यति बेला घोराहीका सडक साँघुरो नै थियो।
२०३६ साल आसपासमा घोराहीमा जेनेरेटरबाट बत्ती बालिन्थ्यो त्यो पनि सीमित स्थानहरूका लागि। घोराहीमा एउटा व्यापारिक लाइन पनि थियो जहाँ कतिपय पसलका साइनबोर्डमा माथि नेशनल ट्रेडिङ लिमिटेड र तल पसलका नाम उल्लेख भएका देखिन्थे। घोराहीमा सिमला टेलर र गुडलक टेलर त्यति बेला धेरै चल्ने टेलर थिए भने कपाल काट्न जनता हेयर कटिङ नामको एउटा मात्र सैलुन देखिन्थ्यो। लुगा धुलाइका लागि धोबीको पसल एउटा भए जस्तो लाग्छ।