मेरो बाल्यकालमा हाम्रो गाँउघरतिर विजया दशमीको २०-२५ दिनअघि नै दसैं आएको आभास हुन्थ्यो। गाउँमा एक किसिमको रौनक सुरू भइसक्थ्यो।
पल्लाघरे काका, माथिल्ला घरे साहिँला दाइ र यस्तै अरू पनि लाहुरबाट आउन सुरू हुन्थ्यो। गाउँबाट कामका लागि टाढा गएकाहरू आउन थाल्थे। गाउँमा चर्चा सुरू हुन्थ्यो – फलानो आयो, ऊ आउँदै छ रे, त्यो नआउने भयो रे!
गाउँका हामी बालबालिका लाहुरेको ‘गाई चकलेट’ पर्खेर बसेका हुन्थ्यौं। हाम्रो ध्यान लाहुरेका घरतिर हुन्थ्यो। लाहुरे काकाहरू र दाइहरू आएको थाहा पाउनासाथ उनीहरूका घरमा पुग्थ्यौं। चकलेट पाउने अपेक्षा गर्थ्यौं, पाउँथ्यौं पनि।
गाउँघरमा सरसफाइ र लिपपोत सुरु हुन्थ्यो। बाटो सफाइको काम हुन्थ्यो। घर लिपपोतका लागि रातो माटो र सेतो माटो (कमेरो) जम्मा गर्नेको दोहोरीलत्ता चल्थ्यो। पक्की घर हुनेलाई भन्दा कच्ची घर हुनेलाई सफाइको धमाधम बढी हुन्थ्यो।
कच्ची घर कमेरो र रातो माटोले सिँगार्ने चलन थियो। झ्यालढोकामा घरेलु कालो रङ बनाएर पोत्नुपर्थ्यो। त्यो रङको चमक र बास्ना अहिलको आधुनिक ‘पेन्ट्स’ मा कहाँ हुनु!
घरवरिपरि सफा गर्ने, झाडी भए फाँड्ने, खाल्टाखुल्टी भए पुरेर सम्याउने जस्ता काम पूरा नगरी दसैं आएझैं नै नहुने!
बोटबिरुवाको हरियाली, रंगीचंगी फूल, बारीका फलफूल र धान नुहिन थालेको खेत दसैंको समयको अतिरिक्त पहिचान हुन्थ्यो। तब पो दसैं आएको पक्का हुन्थ्यो। मनमा उमंग छाउँथ्यो।
दसैं मध्य हुँदासम्ममा सयपत्री र मखमली फूल तिहारको स्वागत गर्न तयार हुन्थे। यतिन्जेलमा धानका बालामा पहेँलोपन देखापर्थ्यो। बारीका डिलमा सयपत्री र मखमली फूल, धान पहेँलिन थालेको खेत र गाउँघरको जमघटले दसैंको रौनक बढाउँथे।
नीलो आकाश, पूर्णिमा आउँदै गरेको टहटह जून अनि न जाडो न गर्मीको शीतल मौसम दसैंको खास विशेषता झैं लाग्थ्यो। खासमा त्यो प्रकृतिले नै मानव गतिविधिमा दसैंको रौनक थप्थ्यो।
त्यो प्राकृतिक सौन्दर्यको बयान गरेर कहाँ साध्य हुनु!
दसैंको किनमेलमा आमा, काकी र दिदीका पछि लागेर बजार जानुको मज्जा झन् बेग्लै थियो। त्यो मज्जा अहिलेको अनलाइन सपिङमा कहाँ छ र!
नौरथा सुरु भएपछि लिंगे पिङ हाल्ने युवाहरूको जमघट दसैंको अर्को रमाइलो पक्ष हुन्थ्यो। पिङ हाल्नु र पिङमा मच्चिनु दसैंको अनिवार्य अंग थियो।
गाउँको फराकिलो चौरमा हालेको लिंगे पिङ खेल्नेको हुलको कुरा गरी साध्य छैन, पालो कुर्नुपर्ने। एउटा नाइकेले पालैपालो सबैलाई पिङ खेलाउँथ्यो। बेलुका घरको काम सकेर पिङ खेल्न जाने पनि प्रशस्त हुन्थे।
यसरी पालो कुर्नुमा पनि आफ्नै मज्जा थियो। हामी बालबालिका पिङ कसले कति मच्चाउन सक्यो; कसले सकेन भन्ने हेर्नु, हाँस्नु र ताली पड्काउनुमा रमाउँथ्यौं।
त्यो बाल्यकालको दसैंमा मलाई मनपर्ने अर्को लेख थियो खडखडे, झडी बुर्जा पनि भन्थे। एक रुपैयाँदेखि २० रुपैयाँसम्म दाउमा राख्न पाइन्थ्यो। म सधैं बुर्जामा मात्र दाउ राख्थेँ।
चिडी, हुकुम, झन्डी, इँट्टा, पान अरू पनि केके हुन्थ्यो। मलाई बुर्जा नै प्रिय थियो। जति जिते वा जति हारे पनि बुर्जामै दाउ राख्थेँ।
घरमा खसी काट्नु दसैंको अर्को अनिवार्य अंग थियो। दसैंमा मासुभात र मासुचिउरा मुख्य खान्की हुन्थ्यो।
दसैंको अर्को प्रचलित परिकार थियो दही, चिउरा र केरा। आफ्नै बारीमा, बोटमै पाकेको केराको स्वाद अहिले कहाँ भेट्नु!
मासु खाँदाखाँदा स्वाद फेर्न मन लागेका बेला आमाले बनाएको करेलाको अचार अहिलेसम्म पनि जिब्रोमै झुन्डिएर बसेको छ।
त्यो बाल्यकालमा दसैंको सबै रमाइलोसँगै एउटा पर्खाइ हुन्थ्यो दक्षिणाको। दक्षिणामा नयाँ नोट, नोटमा अलिकति रातो रङ लागेको! सुमसुम्याइरहन मन लाथ्यो। कति भयो भनेर खुसुक्क नगनी चित्तै नबुझ्ने!
पहिलोपटक मैले दक्षिणामा सय रुपैयाँको नोट पाएँ, चम्किलो हरियो नोट, पूरै नयाँ। मेरो खुसीको सीमा नै रहेन। त्यो दक्षिणा कोबाट पाएको थिएँ, आजसम्म पनि मलाई सम्झना छ। सायद कहिल्यै बिर्सन्नँ।
मेरा लागि ती रमाइला दिनहरू छैनन्। त्यो बालापन फर्किआउने होइन। त्यो रहरको दसैं हुन्थ्यो, महिनादिनको प्रतीक्षा हुन्थ्यो। त्यही दसैं करको हुन थालेको छ। रहरको जस्तो मज्जा करमा हुने भएन।
आफन्तहरूबीच संवाद घटेको छ। यसो हाइहेलो गरेपछि सबैजना हातमा मोबाइल फोन स्क्रोल गर्नमा व्यस्त हुने क्रम बढेको छ।
समय बित्दै जाँदा प्राकृतिक विपत्ति बढ्दो छ। आकाशको नीलो रङ घट्दो छ। मेरो बाल्यकालको समाज, त्यस बेलाको दसैं र प्राकृतिक छटा स्मरणमा सीमित हुँदै गएका छन्। मन उडेर गाउँ पुगे पनि, दसैं गीतले गाउँ सम्झाए पनि अब त्यो गाउँ छैन, गाउँ रहेन, उजाड भयो।
ए दसैं! ए दसैंकी प्रकृति बिन्ती छ– फेरि एकपटक मेरो बाल्यकालको त्यही गाउँ भएर आइदेऊ, फर्केर आइदेऊ!