सोह्रश्राद्धको तेस्रो दिन। म आफ्नो दाइसँग पशुपति क्षेत्रमा जाँदै थिएँ। ट्याक्सी ड्राइभरसँग केही तितामिठा गफ भए।
ड्राइभरले आफ्ना कुरा मलाई सुनाउँदै भने, ‘म त सात वर्ष दुवैमा बसेर आएको नि बहिनी, मेरो घर गुल्मी तर अहिले चार महिना भयो काठमाडौँमा एउटा सानो घर किनेको छु, एउटा ट्याक्सी किनेर नेपालमा यस्तै पठाओको काम गर्दै छु। राति, दिउँसो केही भन्न पाइँदैन। राति एक/दुई बजे पनि मेरो मान्छे बिरामी पर्यो हस्पिटल पुर्याइदिनु पर्यो भन्छन्। नाइँ भन्न सकिँदैन, सुत्ने समयको टुङ्गो हुँदैन, अरूको सेवा गर्न पाउँदा आफूलाई खुसी लाग्छ। खान, बस्न, बालबच्चा पढाउनका लागि पुगेकै छ।’
उसले मतर्फ हेर्दै सोध्यो, ‘अनि तपाईंहरू किन जान लाग्नु भएको नि पशुपति?’
मैले उसको अनुहारमा हेर्दै भनेँ, ‘श्राद्ध गर्न।’
मेरो उत्तर सकिन नपाउँदै उसले भन्यो, ‘आजकलका युवा पिँढी श्राद्ध जस्तो कर्ममा विश्वास गर्दैनन्। बाँचुन्जेल जिउँदा पितृको सेवा गर्नुपर्छ, उनीहरूलाई दुःख नदिई खुसी बनाएर राख्न सके मृत्युपछि कुनै कर्मकाण्ड जरुरी छैन। जीवित हुँदा नै श्रद्धा गर्ने हो, मृत्यु पछिको पिण्डको डल्लो र दान गरेका चिज कसरी पाउँछन् पितृले? भन्ने तर्क गर्छन्।’
मेरो मनले आफैलाई अनेक प्रश्न गर्न थाल्यो; मेरो बुवाको मृत्यु हुँदा मैले लगाएको सबै लुगा खोली क्रिया बसेकी मेरी आमाको काखमा गएको र तेह्रौँ पुण्य तिथिमा सेल रोटी खान पाइयो भन्दै खुसी हुँदै गाउँभरि सेलरोटी देखाउँदै हिँड्ने मैले के बुवाप्रतिको कर्तव्य पूरा गर्न सके होला तँ? मेरी आमाले सम्हाल्दै आएको जिम्मेवारीलाई मैले बहन गर्न सकेँ कि सकिनँ? आमाको सहयोगी बनेर आमाको बोझलाई कम गर्न सकेँ कि सकिनँ होला? के अब मृत्युपछि मैले दान गरेका चिजले मेरा बुवा–आमा खुसी हुनुहुन्न होला त? मनमनै स्वर्गलोक हुनुभएका मेरा बुवा–आमालाई प्रश्न गर्न मन लाग्यो।
निलो ट्राउजर र रातो टिसर्टमा सजिएको, कपाल फुङ्ग उडेको, ओठ कलेजी जस्तो परेको, झुस्स दारी पालेको ड्राइभरको अनुहारमा हाँसो पटक्कै थिएन। म उसलाई नियाल्नमा केन्द्रित भएँ।
उसले ट्याक्सी बिस्तारै हाँक्दै आफ्नो घर नजिकको छिमेकमा घटेको घटना सुनाउँदै भन्न थाल्यो, ‘अल्पायुमै श्रीमती गुमाएका नाताले काका पर्ने काशीराम (नाम परिवर्तन) का दुई छोरी, एक छोरा र बुढी भएकी आमा थिइन्। ठुली छोरीको विवाह गाउँ नजिकै गर्दिएका थिए। साथमा भएको एउटा छोरो पनि अस्ट्रेलिया जान कस्सिएपछि बाबुको केही सिप लागेन। छोरो जाने भएपछि बुवालाई रातभर निद्रा परेन।
आफ्नो छोरालाई लिएर एयरपोर्टसम्म पुर्याउन हिँडेका बुवाले छोरालाई सम्झाउँदै भने, ‘हेर छोरा, सारा जिजु बाजेको जीवन निर्वाह चलेको यस भूमिमा तँलाई नपुग्दो के छ र?’
‘ए मेरा प्रिय बुवा! तपाईंले आफ्नो बुवाको थोत्रो भोटो लगाएर सधैँ तपाईंको निर्वाह चलेन, चल्यो र बुवा? थोत्रा लुगा लगाएर मेरो निर्वाह चल्दैन, अब त म तन्नेरी भएँ मेरा बुवा। श्रद्धाले शिर निहुराएर म अन्तिम पल्ट बिन्ती गर्छु, बेर भइसक्यो म जान्छु, आज्ञा दिनुहोस्। जा बाबु भन्ने ममतापूर्ण शब्द सुन्न म आतुर भइसकेँ बुवा।’
बुवा एक छिन मौन भए। ‘हुन त म तेरो को पो हु र? मैले तँसँग जति निकटता ठाने पनि म तेरा लागि पराई जस्तै भएँ।’
बिहानी पखको समय, म आधा निदाएकी आधा ब्युँझिएकी थिएँ। म एक चौथाइ निद्रामा थिएँ तर पनि ड्राइभरको कुरामा रुचि देखाइरहेको आभास दिलाएकी थिएँ।
उसले आफ्नो कुरालाई निरन्तरता दिँदै भन्यो, ‘गालामा चाउरीका मुजा बस्दै गएका बुवाले तन्नेरी छोराका हात समाउँदै भने- प्रिय छोरा! सारा ब्रह्माण्डमा तँभन्दा प्यारो मेरो केही छैन। तेरो मूर्खता र जिदको अगाडि मेरो केही लागेन। तैँले आफ्नो संस्कार र कर्तव्य नबिर्सेस्।
तन्नेरी छोरा पसिनाले लुछुप्प भिज्यो र बाबुको अङ्कमालबाट छुट्टिँदै बिदाइको हात हल्लायो र भन्यो, ‘म छिट्टै फर्कने छु बुवा।’
२०६९ असार १५ गते छोरो अस्ट्रेलियाका लागि उड्यो। बुवा रित्तो मन लिएर घर फर्किए।
बाटोमा गाडीहरू कुदेको आवाज कानमा गुन्जिरहेको थियो। ट्याक्सीको उत्तरपट्टिको खुला झ्यालबाट पानीले चिस्याएको वायु सरर छिरिरहेको थियो। हिउँदको याम नभए पनि झरीको प्रभावले वायुमण्डललाई हिउँद झैँ आभास दिलाइरहेको थियो।
उसले लामो सास फेर्दै भन्दै गयो, म बिना प्रतिवाद चुपचाप सुनिरहेँ।
गएको तीन वर्षसम्म त घर परिवारसँग कुराकानी गरिरहन्थ्यो। जालो लागेका हजुरआमाका आँखामा दूरदृष्टि नै कम भइसकेको थियो। उनले आफ्ना आँखाबाट आँसुका बलिन्द्र धारा बगाउँदै थरथरी काम्दै भन्छिन्, ‘नाति, देवतालाई साक्षी राखी तैँले एउटी कन्यालाई वरण गरेको दृश्य हेर्न मन छ। मेरो जीवन भरिको आशा र धोका नै यही हो बाबु। मृत्युसँग जुधिरहेकी तेरी यो बुढी हजुरआमालाई यस्तो हालतमा छाडेर तँ उता नबस्, तेरो अनुहार हेरेर मर्ने धोका छ नाति।
मैले ड्राइभरको मलिन अनुहारतर्फ नजर लगाउँदै भनेँ, ‘अनि के–के भयो दाइ?’
उसले जवाफ दिँदै भन्यो, ‘नातिको अनुहार देख्न पाउने आशै आशामा हजुरआमालाई दमको रोगले लग्यो, स्वर्गवास हुनुभयो तर नाति आएन। हजुरआमाको स्वर्गवास भएको दुई वर्षसम्म ऊ सम्पर्कविहीन भएर बस्यो, पछि बहिनीको बिहेमा सम्पर्कमा आयो तर आफू घर फर्केन। बिहेपछि छोरी पनि अस्ट्रेलिया जाने पक्का भयो। अस्ट्रेलिया गइन्। घरमा बुवा एक्लै। उनले न छोराको बोली सुन्न पाउँथे न त आर्थिक सहयोग नै।
उसले फोन गर्थ्यो त केबल दिदीलाई, महिनाको एक पटक मात्र। एक्लै भएका बुढो बुवाले छोरी माइतीमा आएको बेला हड्बढाउँदै छोरालाई फोन गर्दै भन्छन्- बाबु, म तँबाट टाढा भएर बाँच्न सक्दिनँ। तँ आउँछस् कि भन्ने झिनो आशामा बाँच्नु मेरो नियति नै बनेको छ बाबु। म यहाँ एक्लै कति तड्पेर बाँचेको छु। प्रिय छोरा! जीवनको यस अन्तिम घडीमा यो एक्लो वैराग लाग्दो देवता सरी पूजनीय तेरो जन्मदाता निर्धो बाबुलाई अलपत्र पारेर तँ विदेशमा नबस्, घर फर्की। सुन मेरो छोरा, यतै आफ्नै कूलधर्म, जात र संस्कारमा हुर्केकी एउटी सुन्दर बुहारी खोजौँला। हेर् त म डाँडामुनिको घाम भइसकेँ, अब कति नै बाँचौँला र? मलाई ईश्वरको न्यानो काखमा पुर्याउने जिम्मा अब तेरो हातमा छ छोरा।
बुढो बाबुको लिडे ढिपी देखेर तन्नेरी छोराले भन्छ, ‘मेरो बुवा म पिआर नआएसम्म नेपाल आउन सक्दिनँ।’ यति भन्दै छोराले बुढो बाबुको फोन काट्छ।
बिहे गरेर अस्ट्रेलिया पुगेकी छोरी बाबुको मायाले पैँतालिस दिनको छुट्टी मिलाएर नेपाल आइन् तर छोरो आएन।’
मेरो आँखा भिजिरहेका थिए। मैले लामो सास फेरेँ, झ्यालबाट बाहिर चिहाएँ। मान्छेहरू छाता बर्सादीमा बाटोभरि थिए, केटाकेटीहरू स्कुल बस कुरिरहेका थिए। मलाई उत्सुकता लाग्यो र पुनः प्रश्न गरेँ, ‘अनि?’
उसले जवाफ दिँदै भन्यो, ‘छोरी नेपाल आएर फर्केको एक वर्ष नबित्दै बुवालाई क्यान्सर देखियो। एकातिर क्यान्सर खर्चिलो, त्यसमाथि छोराको साथ सपोर्ट थिएन। घर नजिकै दिएकी छोरी बिरामी बाबाको सहारा र हेरचाहका लागि माइतीमै कुरुवा जस्तै भएर बसिन्।
एक पटक आफ्नो छोरो नजिक आउँला, श्रद्धापूर्वक निहुरेर आफ्नो पवित्र पाउँमा ढोग गर्ला र आशीर्वाद माग्ला भन्ने आस थियो- हे भगवान्! मेरो किन यो दुर्दशा? छोरा अन्तिममा तेरो अभागी बाबुको दुःखको पुकार सुन्। तँ आइनस् भने म मरेपछि पिण्डपानी दिने कोही हुने छैनन्। वैतरणी तर्न गौदान गरिदिने कोही हुने छैनन्। भाग्यले म स्वर्गमा गएँ भने तँलाई हेर्न रहर लाग्दा पिता पुर्खाको यस पवित्र थलोमा तँलाई देख्न पाऊँ। म कति अभागी बाउ। भएको एउटा छोरो आफूलाई भेट्न आउँछ कि भन्ने समयमा ‘छोरो जन्मेको छ पण्डित खोजेर न्वारन गर्दिनू’ भनी दिदीको मोबाइलमा एक्कासि फोन आउँदा बुवाका आँखाभरि आँसु भए। शरीरभरि छटपटी मात्रै थियो। बेहोसी अवस्थामा थिए।
छोराले विदेशी बिहे गर्यो तर बुवालाई निम्तो आएन। छोराको बिहे बुवालाई थाहा भएन।’
ड्राइभर एक छिन टोलाइरह्यो, म चुपचाप बसिरहेँ। एकछिन पछि उसले मतिर हेर्दै भन्यो, ‘शरीर पनि दाउरा जस्तै भइसकेको थियो, होस क्रमशः धमिलिँदै गइसकेको थियो। शरीरमा छटपटी मात्रै थियो।
दिदीले भाइलाई फोन गर्दै भन्छिन्- बुवाको अवस्था अन्तिम भइसकेको छ, बुवासँग बोल्।
उताबाट भाइको आवाज आउँछ, ‘म काममा जाँदै छु, अहिले फुर्सद छैन।
उहाँको शरीरले उहाँलाई नै थाम्न सकेको थिएन। तन्किएपछि चुँडिनै पर्छ। त्यो दिन चुँडिए च्वाट्ट, कहिल्यै नउठ्ने गरी ढले।’
एकैछिन शून्यता छायो, उनी केही बोलेनन्। केही समयपछि उनी केही सहज हुँदै भने-
आँगनभरि मान्छेको भिड, बुवाको चिसो लासलाई तुलसाको मठमुनि राखिएको। भीडबाट एउटा आवाज आयो, ‘हराएको छोराको खोजी गर्नुपर्यो।’ अनि त्यही भिडबाट फेरि अर्को आवाज आयो, ‘खोजी हराएको मान्छेको गरिन्छ, लुकेको मान्छेको होइन’ भन्दै छोरालाई दोषारोपण गरिरहेका थिए।
सेतो कपडाले बेरेको बुवाको लास उठ्यो, छोरीले आँसुको थोपा झार्दै काँध हालिन्, मलामी अघि बढे।
मैले उनका कुरा सुनिरहेँ, उनी आफ्ना कुरा एकोहोरो राख्दै गए- ‘कसैले लासको छेउमा बसेर लास बोकेर खिचिएका फोटोहरू सोसियल मिडियामा सेयर गर्दिए। श्रद्धाञ्जली दिनेको ओइरो लाग्छ। छोरोले बाबुले प्राण त्याग गरेको कुरा सामाजिक संजालबाट थाहा पाउँछ अनि दिदीलाई फोन गदै सोध्छ, ‘मैले नुन खान हुन्छ कि हुँदैन? मासु खान मिल्छ कि मिल्दैन?’
उसलाई बाबुको मृत्युमा कुनै शोक, पछुतो थिएन। ऊ बाबुको मृत्युभन्दा बढी छोरो जन्मिएकोमा खुसी थियो। पाँच दिनपछिको टिकट छ, सात दिनपछिको टिकट छ भन्दा भन्दै तेह्रौँ दिन बित्यो तर ऊ आएन।
एउटै देशमा भएकी बहिनी बुवाको मृत्युको खबर सुन्ना साथ नेपाल आई। बुवाको उपचारका साथै क्रिया खर्चको सम्पूर्ण दायित्व आफूले लिई। छोरीको बुवाप्रतिको दायित्व पूरा गरी तर दाइ आएन। छोराको कर्तव्य एक कल फोनमा पनि अटाउन सकेन।
अस्ट्रेलिया गएको छोरो एघार वर्षपछि बुवाको तिथि पारेर सोह्रश्राद्धमा घर फर्कन्छ। पितृ भइसकेका बुवाको निर्जीव फोटोमा फूलमाला पैसासहित श्रद्धाञ्जलीको भाव अर्पण गर्दै फोटोलाई अङ्कमाल गरेर घोप्टो परेर घुक्क-घुक्क रुन्छ र ब्राह्मण भोजन तथा पिण्ड दान गराउँदै बुवासँग माफी माग्छ, ‘मलाई माफ गरिदिनु होस् बुवा। बिदेसिनु मेरो बाध्यता थियो, मलाई पश्चात्ताप भइरहेको छ।’
ड्राइभरका आँखा भिजिरहेका थिए। लामो कुराकानी गर्दागर्दै हाम्रो ओर्लने ठाउँ आइपुग्यो। हामी दुवै जना झर्यौँ।
‘हवस् बहिनी, फेरि भेटौँला है’ भन्दै फिस्स हाँस्दै उनी बिदा भए।