मैले आफ्नो स्नातकको अध्ययन पूरा गरेपछि २०७२ सालबाट अध्यापनको यात्रा सुरु गरेँ। डिप्लोमा र प्रि–डिप्लोमा स्तरमा सिभिल इन्जिनियरिङ पढाउनु एउटा जटिल तर रोमाञ्चक यात्रा रह्यो। अध्यापनको समयमा अवसर र चुनौती दुवैको सामना गर्न परेका अनुभव रह्यो।
करिब एक दशकको प्रशिक्षण कार्यमा बुटवल क्षेत्रका धेरै शिक्षालयहरूमा अध्यापन गर्ने र केहीमा लामो समय व्यवस्थापकीय जिम्मेवारी सहित नेतृत्व तहमा रहेर समेत प्राविधिक शिक्षा क्षेत्रलाई हेर्न र बुझ्न पाएँ। निजी क्षेत्रका प्राविधिक शिक्षालय संस्था हुन् वा सामुदायिक विद्यालयमा चलेका प्राविधिक धारका राजनीति, सबै देख्ने र सिक्ने अवसर मिल्यो। तर आज म यहाँ प्राविधिक शिक्षा अन्तर्गत शिक्षण पेसामा मैले करिब एक दशक बिताउँदा देखेका चुनौती र अवसरको बारेमा चर्चा गर्ने छु।
मजस्तै धेरै सिभिल इन्जिनियरहरूले अध्यापनलाई अस्थायी कामका रूपमा लिएका हुन्छन्, फिल्डको ठुला परियोजनामा काम गर्न चाहने आकांक्षासहित। तर कक्षाकोठाको शिक्षणले यति धेरै चुनौती र अवसरहरू प्रदान गर्यो कि यो अनुभव धेरैका लागि खासै अस्थायी रहँदैन।
धेरै इन्जिनियरहरूले अध्यापनमा आउनुको कारण सिधै शिक्षाको लागि गहिरो लगाव हुँदैन। बरु यो प्रायः अस्थायी कामका रूपमा सुरु हुन्छ। इन्जिनियरिङ फिल्डको ठुला काम नपाएको समयमा ‘अवस्थागत’ विकल्पको रूपमा नेपालमा सिभिल इन्जिनियरिङका शिक्षकहरूले अक्सर अध्यापनलाई ‘अस्थायी समाधान’ का रूपमा लिने प्रचलन रह्यो। वास्तविक परियोजनामा संलग्न हुने मौका कुरिरहेका बेला काम नगरी बस्नुको सट्टा शिक्षा दिने काम रोज्नुपर्ने हुन्छ। यसले कतिपय शिक्षकहरूलाई पेसागत द्विविधामा राख्छ- के म इन्जिनियरको रूपमा पर्याप्त योगदान गरिरहेको छु कि केबल कक्षामा समय बिताइरहेको छु?
तर यो कामले अप्रत्याशित रूपमा गहिरो सन्तुष्टि दिन्छ। कक्षामा विद्यार्थीहरूलाई इन्जिनियरिङको आधारभूत ज्ञान दिने र तिनले वास्तविक परियोजनामा सफलतापूर्वक योगदान गर्न सक्ने अवस्थासम्म पुग्न देख्नु अत्यन्त गर्वको कुरा बन्छ। अध्यापन पेसा अस्थायी रूपमा सुरु भए पनि धेरै शिक्षकमाझ यो कामको महत्त्व विस्तार हुँदै जान्छ।
अध्यापनलाई ‘अस्थायी काम’ ठान्नेहरूका लागि पनि शिक्षकको भूमिका एक गर्वको कुरा बन्छ। धेरै शिक्षकहरूले यस भूमिकालाई समाजमा प्रभाव पार्ने अवसरका रूपमा लिन थालेका छन्। खास गरी ग्रामीण क्षेत्र जहाँ आधारभूत पूर्वाधारहरू न्यून छन्, शिक्षकहरू केबल सैद्धान्तिक ज्ञान दिने मात्र होइन, भविष्यका इन्जिनियरहरू निर्माण गरिरहेका हुन्छन्। ग्रामीण क्षेत्रका विद्यार्थीहरूलाई स्थानीय आवश्यकतामा आधारित संरचनात्मक समाधान दिन सक्षम बनाउनु भनेको उनीहरूको समुदायको विकासमा प्रत्यक्ष योगदान दिनु हो।
तर यो गर्वको अनुभूति र व्यावहारिकता सँगै चल्नुपर्छ। सिभिल इन्जिनियरिङको पेसामा ठुला निर्माणहरूमा प्रत्यक्ष संलग्न हुने चाहना कहिल्यै हराउँदैन। शिक्षकहरूले आफ्नो जिम्मेवारी पूरा गर्दै विद्यार्थीहरूलाई मार्गदर्शन गर्दा सधैँ यो द्विविधा भोग्नुपर्छ कि उनीहरूले बाहिर फिल्डमा आफूले चाहेको काम गर्न सकिरहेका छैनन्।
मैले अध्यापन गरिरहेको दशकमा प्रविधिको तीव्र विकासले शिक्षणमा ठुलो रूपान्तरण ल्यायो। अनलाइन स्रोतहरू, युट्युब ट्युटोरियलहरूसँगै सर्भे डिजाइनको क्षेत्रमा आएका नयाँ-नयाँ डिजाइन सफ्टवेयरको प्रयोगमा विद्यार्थीलाई पोख्त बनाउन आफूलाई समेत निरन्तर तालिम र क्षमता अभिवृद्धि गर्न कक्षाकोठा बाहिरको आफूलाई नियमित अभ्यस्त बनाउनु अत्यन्त चुनौतीपूर्ण रह्यो।
शिक्षकहरूले आफ्ना पाठ्यक्रममा यी नवीन प्रविधिहरू समावेश गर्न थाले जसले विद्यार्थीहरूलाई सिभिल इन्जिनियरिङमा आवश्यक सफ्टवेयरहरूको व्यावहारिक ज्ञान प्राप्त गर्न सक्षम बनायो। तर चुनौती भनेको यी प्रविधिहरूको समान पहुँच सुनिश्चित गर्नु थियो। धेरै ग्रामीण र आर्थिक रूपमा कमजोर क्षेत्रमा रहेका विद्यार्थीहरूमा भरपर्दो इन्टरनेट र उपकरणहरूको अभावले प्रविधिको पहुँचलाई सीमित बनायो।
कोभिड–१९ महामारीले प्रविधिको महत्त्वलाई अझ प्रस्ट बनायो। लकडाउनको समयमा नेपालभरका शिक्षकहरू पहिलो पटक अनलाइन प्लेटफर्महरूमा आधारित शिक्षणमा गएका थिए। तर यसले डिजिटल विभाजनलाई उजागर गर्यो— कतिपय विद्यार्थीहरूले यस नयाँ विधासँग अनुकूलन गर्न सके भने धेरैले संघर्ष गरे। प्राविधिक विषयहरू जस्तै- सिभिल इन्जिनियरिङ जहाँ भौतिक प्रदर्शन र व्यावहारिक तालिम आवश्यक हुन्छ, अनलाइन शिक्षामा थप चुनौतीपूर्ण बन्न पुग्यो।
नेपालका धेरै प्राविधिक संस्थाहरूमा अध्यापन गर्दा सीमित स्रोत–साधनले शिक्षकहरूलाई ठुलो चुनौती दिन्छ। पर्याप्त प्रयोगशाला उपकरण, सफ्टवेयर र सामग्रीको अभावमा धेरै शिक्षण संस्थानहरूमा विद्यार्थीहरूले व्यावहारिक सीपहरू सिक्न सक्दैनन्। शिक्षकहरूले सैद्धान्तिक शिक्षा प्रदान गरे पनि विद्यार्थीहरूलाई वास्तविक जीवनको परियोजनामा उतार्न सकेका छैनन् भन्नेमा निराश महसुस गर्छन्। सिभिल इन्जिनियरहरूका रूपमा व्यावहारिक अनुभव महत्त्वपूर्ण भएकाले सीमित स्रोतहरूले यो भूमिका निकै चुनौतीपूर्ण बन्छ।
अध्यापन धेरैका लागि अस्थायी कामका रूपमा सुरु भए पनि समयसँगै यसले लामो यात्रा तय गर्छ। शिक्षकहरूले आफ्नो विद्यार्थीहरूलाई व्यावसायिक रूपमा सफल भएको देख्न पाउँदा ठुलो सन्तुष्टि महसुस गर्छन्।
विशेष गरी ग्रामीण क्षेत्रमा विद्यार्थीहरूलाई शिक्षण गर्दा उनीहरू आफैँले निर्माण गरेका संरचनामा योगदान गर्दै गरेको देख्दा गर्व लाग्छ। शिक्षणले सिभिल इन्जिनियरहरूलाई केबल संरचना निर्माणमा मात्र नभई समाजको आधारभूत विकासमा भूमिका खेल्ने अवसर दिन्छ।
२०७२ देखि २०८१ सम्म नेपालमा सिभिल इन्जिनियरिङ पढाउनु चुनौतीपूर्ण भए पनि धेरै सन्तोषजनक अनुभव रह्यो। शिक्षणले इन्जिनियरहरूको सोच परिवर्तन गरिदियो र अस्थायी रूपमा सुरु भएको यात्रा जीवनभरको प्रतिबद्धतामा परिणत हुन पुग्यो। सीमित स्रोत साधन र शिक्षा प्रणालीको अवरोध हुँदाहुँदै पनि शिक्षकहरूले आफूले सिकाएका विद्यार्थीहरूलाई समाजका सफल प्राविधिक बनेको देख्न पाउँदा गर्व महसुस गर्छन्।
अध्यापनले इन्जिनियरहरूको जीवनलाई नयाँ अर्थ दिएको छ। निर्माण स्थलमा ठुला संरचना निर्माण गर्नु मात्रै महत्त्वपूर्ण होइन, ज्ञानको बीजारोपण गरेर भावी प्राविधिक तथा इन्जिनियरहरू तयार पार्नुले दीर्घकालीन प्रभाव तथा आत्मसन्तुष्टि दिने रहेछ।