धेरै वर्ष अघिको कुरो होइन। सायद मङ्गलवारको दिन थियो। म स्कुल खुल्छ कि खुल्दैन भन्ने दोधारमा थिएँ। त्यो समयमा बन्द र हडताल सबै जना त्रसित हुन्थे। बाटोतिर आफ्नै नाङ्गो आँखाले प्रेसर कुकर बम देखेको अनगिन्ती घटनाहरू थिए। त्यसैले मैले ममीलाई बिहानको सातै बजे स्कुलमा फोन गर्न लगाएँ। केही समयपछि मात्र फोन लाग्यो। सायद फोनको चाप धेरै भएर होला।
स्कुल बिदा छ भन्ने खबर आयो। मनको पुतली पनि त्यो खबर सँगसँगै भुर्र उड्यो। ममा खुसीको सीमै थिएन। हतार हतार टिभी खोलेर ‘डोरेमन’ हेर्न थालिहालेँ। केही छिनमै सिमसिम पानी पर्न थाल्यो। भान्छामा खानाको सिट्ठी, बाहिर सिमसिमे मौसम, आफ्नो मन पर्ने कार्टुन हेर्न पाएपछि के चाहियो र? गृहकार्यहरू पनि अघिल्लो दिन नै सकाएको थिएँ। जीवनमा पिर, ताप खासै थिएन भनम्।
पिर भन्ने शब्द शब्दमै सीमित थियो। धेरै कुरोमा गुनासो गरिरहँदैन थ्यौँ। निराशावादी हावाले छोइसकेको थिएन। आपत्ति आएको बेलामा धरि खुसी हुने बानी थियो। स्कुलमा भारी वर्षा भएको बेलामा पानी कक्षाभित्र पसेपछि हामी बेन्चमाथि बसेर अन्ताक्षरी खेल्थ्यौँ। निकै रमाइलो हुन्थ्यो। बेन्च मादलु भइदिन्थ्यो र थपडी खैँजडी।
‘लेकाली हे चोयाको डोको’ गीतदेखि ‘गुराँसै फुल्यो वनैमा’ सम्मको गीत गाइन्थ्यो। कसैको खाजाको दालमोट बाँकी भए मिलीजुली खाइन्थ्यो। एक अर्काको हाँसो देख्दा आफूभित्र नि अलगै खुसी छाउँथ्यो। प्लास्टिकको चम्चामा पाइने पाँउ चुसिन्थ्यो। पाँच रुपैयाँमा ठुलो डल्लो पाँउ आउँथ्यो। अहिले फर्केर सोच्दा, ‘ला! त्यो प्लास्टिकको प्रयोग त वातावरणको लागि हानिकारक पो थियो त’ भन्नेझैँ लाग्छ। जति ठुलो हुँदै गयो, त्यति नै विश्लेषणात्मक बानी थपिँदै जाँदो रहेछ। कुराहरू बिस्तारै बुझिँदो रहेछ।
माघे सङ्क्रान्ति तिर स्कुल नजिकै रहेको चाकु बनाउने ठाउँमा गइन्थ्यो र पाँच रुपैयाँको चाकु किनिन्थ्यो। ’क्लास डेकोरेसन’ मा आफ्नो कक्षालाई जिताउने हुटहुटी हुन्थ्यो। ठुलो चार्ट पेपरमा चित्रहरू बनाइन्थ्यो र फेबिकोल मागेर टालिन्थ्यो। ब्रेक टाइममा पाले दाइले नदेख्ने पाराले लुकेर चटपटे, मामा चाउचाउ र स्याभाले खाइन्थ्यो।
चैततिर हुने अभिभावक दिवसको लागि नृत्य वैशाखदेखि नै सिकिन्थ्यो। कक्षामा सबैभन्दा बढी नाच्न आउनेलाई हेरेर आफ्नो ताल मिलाइन्थ्यो। परीक्षाको चिन्ता परीक्षाको अघिल्लो दिनदेखि मात्र हुन्थ्यो। ‘अर्को पालिदेखि चाहिँ दिनदिनै पढ्न थाल्छु’ भन्ने अपुरो भाका राखिन्थ्यो। ठिक हाम्रो नेताहरूको जस्तै!
सामाजिक विषयमा सोधिएको कुनै प्रश्नको जवाफ नआउँदा हामी एउटा साझा जवाफ दिन्थ्यौँ। त्यो थियो, ‘राजनीतिक अस्थिरता!’ यति लेखेपछि केही न केही ‘मार्क्स’ त अवश्य पाइन्थ्यो।
२००७ देखिको विशेष राजनीतिक मिति घोक्नु पर्थ्यो। धेरै सरकार परिवर्तन भएको कारण धेरै मिति घोक्नु पर्थ्यो। त्यसैले मनमनै नेताहरूलाई सराप्दै मिति घोकिन्थ्यो। नघोके अथवा घोकेर पनि नआए घुँडा टेकेर बस्नुपर्थ्यो। आफ्नो कक्षामा होइन, आफ्नो भाइबहिनीको कक्षामा!
नेपाली बोले कि गोजीबाट पाँच रुपैयाँ गायब हुन्थ्यो।
एक दिन म साथीसँग बोल्दै थिएँ। उसले टुटे फुटेको अङ्ग्रेजी बोल्दै थियो र चलचित्रको कुरा गर्दै थियो। मैले झुक्किएर ‘ए ए’ भनेँ। अर्को साथीले सुनिहाल्यो र नाम टिपिहाल्यो। पछि आफूलाई बचाउन ‘मैले भनेको ए ए त अङ्ग्रेजीको पहिलो अक्षर वाला ए पो हो त’ भनिदिएँ।
खासमा मसँग पाँच रुपैयाँ थिएन। त्यस समयमा मैले पकेट खर्च बोक्दिन थिएँ। खाजाको पैसा ममीले नै क्यान्टिनमा तिर्दिएर जानु हुन्थ्यो।
पिकनिक मनाउन जाँदा मज्जाले गीत गाइन्थ्यो। आफ्नो घरमा भएको सबैभन्दा राम्रो लुगा लगाएर जान्थ्यौँ। मिल्ने मिल्ने साथीहरू एउटै सिटमा हुन्थे।
आफ्नो जन्मदिनको दिन कक्षाको अगाडि गएर ठिङ्ग उभिन्थ्यौँ र साथीहरूले ‘ह्याप्पी बर्थडे’ गीत गाएको सुन्थ्यौँ। हल्का हल्का औडाह लाग्थ्यो। स्कुल नजिकैको ‘स्टेशनरी’ मा अनौठा र नयाँ-नयाँ स्टिकर आउँथे। ममीको खुट्टा ढोगेर भए पनि ‘प्रिन्सेस’ को स्टिकर किन्न लगाउँथेँ। साथीहरू पनि हेर्न भनेर झुम्मिन आउँथे। रमाइलो लाग्थ्यो।
एक/दुई वटा मात्र स्टिकर बुकमा टालिन्थ्यो। पछिको लागि भनेर साँचेर राखिन्थ्यो। त्यो पछि कहिले पनि आएन। अहिले कोठा सफा गर्दा ती स्टिकर भेटिन्छन् तर प्रयोग गर्न मन लाग्दैन। पहिलाको जस्तो मोह छैन यी कुरामा।
अहिले पो नेटफ्लिक्स आयो त, पहिला हामी ‘मेरी बास्सै’ हेर्न शनिवार कुर्थ्यौँ। सोमबार ‘जिरे खुर्सानी’ आउँथ्यो र बिहीबार ‘तितो सत्य’। यी कार्यक्रम हेर्नलाई घडीको सुईमा आँखा गाडेर बसिन्थ्यो।
अझै पनि लुकामारी, चोर-पुलिस, लन्डन स्टप र ढ्याक खेलेको याद आउँछ। दसैँमा दाइहरूसँग फिल्मको चक्का भाँडामा लिन गएको याद आउँछ।
दसैँभन्दा अगाडि हुने जाँच सकाए पछिको खुसीको स्मरण हुन्छ। हजुरबुवाले ‘नातिनी मैले पिङ बनाइसकेँ, कहिले आउँछौ तिमी?’ भनेको याद आउँछ।
मालश्री धुन, सुगम पोख्रेल, एपिएफको गीत नसुनेसम्म दसैँ आएको जस्तो महसुस हुँदैनथ्यो र अहिले पनि हुँदैन।
चङ्गा उडाउन खुब रहर लाग्थ्यो। तर आए पो! एक साल दसैँमा ‘अब चाहिँ चङ्गा उडाउन सिक्छु’ भनेर चङ्गा किनेको थिएँ तर गिट्टी वाला बाटोमा म पछारिएँ र मेरो चङ्गा च्यातियो। चङ्गा सँगसँगै मेरा रहरहरू पनि।
मलाई आकाशमा चङ्गा हेर्न खुब मन पर्थ्यो। टाढातिर देखिने चङ्गालाई हेर्दै म सोच्ने गर्थेँ, ‘त्यो चङ्गा उडाउने मानिस को होला? कस्तो छ होला?’
तिहारको बेला देउसी भैलो खेल्न थुप्रै मानिस आउँथे। उनीहरू आएर गाउन, बजाउन अथवा नाच्न थाल्ने बित्तिकै म कोठाभित्र टाप कस्थेँ। मलाई एकदम लाज लाग्थ्यो तर झ्यालबाट आँखा मात्र निकालेर हेर्थेँ।
‘म पनि उनीहरू जस्तै बहिर्मुखी भइदिएको भए’ भनेर सोच्थेँ। मेरो यो चिन्तन दश दिनपछिको तिहारे सेलरोटी जस्तै थियो। एकदम साह्रो! प्रयासको चियामा जति चोटि डुबाए पनि त्यो डरको सेलरोटी कहिले नरम भएन।
कहिलेकाहीँ त सबै स्कुले साथीहरूलाई साझा रूपमा अङ्गाल्न मन लाग्छ। पुरानो मनमुटाबहरू बिर्सेर नयाँ यात्रा सुरु गर्न मन लाग्छ तर के गर्नु? कोही अमेरिकामा छन्, कोही अस्ट्रेलिया त कोही क्यानडामा।
जापानमा ‘किन्सुगी’ भन्ने दर्शन प्रचलित छ। त्यसले के भन्छ भन्दा, ‘टुटेको वस्तुहरूलाई फेरि पनि सुनले जोड्न सकिन्छ’ भनेर। यही दर्शनबाट प्रभावित भई म पनि सम्बन्धहरू जोड्ने प्रयास गर्दै छु।
नेपालमा बसेर गलत गरेछु कि क्या हो भन्ने सोच आउन थालेको छ तर नेपालमा बसेर राम्रो गरेछु भन्ने सोचले नै अघिल्लो सोचलाई पछारिदिन्छ। यो कुरा मेरो सन्दर्भमा मात्र भनेको हो मैले।
कहिलेकाहीँ यी प्रश्नहरूबाट टाढा जान मन लाग्छ। टाढा भन्नाले विदेश होइन। कौसीमा जान्छु। दसैँ पनि आउन लाग्यो है भनेर आकाश हेर्छु। आकाशमा एउटा पनि चंगा देख्दिनँ। अनि आँखा चिम्लेर सोच्छु, ‘न त आकाशमा चंगा छ, न त मनमा!’