२०३९ सालमा मात्र मैले ‘टुथ ब्रस’ र ‘टुथपेस्ट’को प्रयोग गर्न थालेको हुँ। त्यसअघि कहिले सेवाँलीका साना डालाले, कहिले सजिवनका साना डालाले त कहिले बनाइनाका साना डालाले दाँत माझ्ने गर्थ्यौँ। कहिले केले त कहिले केले दाँत टल्काउँथ्यौँ। आमाले अंगारको धुलो, नुन र तेल मिसाएर त्यसैले दाँत माझ्नु हुन्थ्यो। लुंग्री नदीमा पौडी खेल्दै गर्दा कसै-कसैले बगरमा बसेर भिजेको बालुवाले पनि दाँत माझ्दथे।
हाम्रो गाउँमा टुथपेस्ट र टुथब्रसको चलन त पछि मात्र आएको हो। दाँत माझ्ने साधन उपलब्ध नहुँदा कतिपय गाउँलेहरूको पचास वर्ष नहुँदै दाँत झरिसकेका हुन्थे अर्थात् थोते भइसकेका हुन्थे। दाँतको सुरक्षाका लागि संवेदनशील हुने अवस्था पनि थिएन। त्यति बेलाको ग्रामीण परिवेश र हालको अवस्थामा धेरै फरक छ। चेतना स्तरमा धेरै नै वृद्धि भएको छ।
मेरो जन्मथलो रोल्पाको खुंग्रीमा हाम्रो आफ्नै पसल भएकोले कहिलेकाहीँ गुड वा भेलीका डल्ला कोमर्ने वा दार्ने गर्थ्यौँ। गुलियो खाए लगत्तै पानीले कुल्ला गर्नुपर्छ भन्ने चेतना त्यति बेला थिएन। कहिलेकाहीँ चिनी पनि फाँको मार्थ्यौँ। हानिकारक रङ मिसाइएका गोली मिठाई खाँदा मुखभरि रातो नै हुन्थ्यो। पिपलमेठ र चकलेट चाहिँ अलि गुणस्तरीय लाग्थे। हुन त जुनसुकै गुलियोले पनि दाँतलाई खराब त गरिहाल्छ। हामीमा त्यो हेक्का हुँदैनथ्यो।
तिनै गुलिया चिजहरू खाने अनि कुल्ला नगर्नाले दाँत बिग्रिएको देखिन्छ। सत्र वर्षको उमेरमै तल्ला बंगाराको माथिल्लो भागमा रहेका खाल्डामा अम्बाका गेडा अड्किने समस्या थियो। कसै-कसैले ल्वाङ चपाउनु किरा झर्छ पनि भन्थे।
काठमाडौँ प्रवेश गरेको केही दिनमा सिनेमा हेर्न हलमा छिरेपछि सिनेमा देखाउनुअघि एभरेस्ट टुथपेस्टको विज्ञापनमा शर्मिला शाह देखा परिन्। सायद उनको दाँत मिलेको र आकर्षक भएकै कारण टुथपेस्टको विज्ञापनमा खेलाइएको होला। उनी सफल चलचित्र कान्छीकी अभिनेत्री पनि हुन्। विज्ञापनको प्रभावमा परेर मैले एभरेस्ट टुथपेस्ट नै किनेँ।
बालाजुमा रहेको एभरेस्ट टुथपेस्टले राम्रै बजार पाइरहेको थियो। देशमा विभिन्न उद्योगहरू धराशायी हुने क्रममा सो उद्योग पनि बन्द भयो। भारतीय कोलगेटको लगानीमा हेटौडामा रहेको कोलगेट पाल्मोलिभ पनि बन्द भयो। अहिले आयुर्वेदिकदेखि रसायनयुक्त टुथपेस्ट बजारमा छ्यापछ्याप्ती पाइन्छन्। यिनैमध्ये कुन कुनले माझ्दै आउँदा दाँतमा समस्या भई नै रह्यो। फलतः अझैसम्म पनि डेन्टल अस्पताल वा क्लिनिक धाउनु परेको छ।
दाँत किराले खाँदैन, अड्किएका खानेकुराबाट उत्पन्न रसायनले गर्दा दाँत खिइने हो भन्ने कुरा पछि दन्त चिकित्सकहरूबाट ज्ञात हुन आयो। तातो-तातो चिज हतार हतारमा चपाउने त्यसपछि चिसो पानी पिउने गर्नाले पनि दाँत बिग्रने कुरा पछि थाहा भयो। दाँत सम्बन्धी यस्ता ज्ञानगुनका कुरा पहिलेदेखि नै थाहा पाएको भए त मेरा दाँतहरू बिग्रने थिएनन् होला।
तल्लो भागका दुवै कुनातिरका बंगारामा खाल्डा परी अम्बाका गेडा अड्किरहने समस्याले गर्दा सिमेन्ट भर्न मिल्छ रे भन्ने सुनेपछि म पहिलो पटक लाजिम्पाटको अस्पताल पुगेँ। आधुनिक उपकरणले सुसज्जित र पद्धतियुक्त अस्पतालमा पुगेपछि मेरो दाँतको समस्या समाधान भइहाल्छ भन्ने लागेको थियो। सिमेन्ट भर्नु पूर्व दाँत सफा गर्नुपरेको थियो। दाँत सफा गर्दा केही पीडा भए पनि दाँत सफा गरेर ऐना हेरेपछि टलक्क टल्किएको पाएँ।
त्यति बेला काठमाडौँमा दाँतका उपचार गर्ने निजी स्तरका स्वास्थ्य संस्था अरू भएजस्तो लाग्दैनथ्यो। पछि अर्को अस्पताल पनि खुल्यो क्यारे। महाराजगन्जस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा दन्त्य विभाग पनि रहेछ। अगाडिका छिचरा दाँतको बिचमा खाली देखिएकोले त्यसमा सिमेन्ट भर्ने काम शिक्षण अस्पतालमै भयो।
साथीहरूले सिमेन्ट भरेको भनेको सुन्दा म अचम्म हुन्थेँ। दाँतमा पनि सिमेन्ट भर्न मिल्ने के अचम्म हो भन्ने सोच्थेँ। त्यो त सेतो रङको एक प्रकारको लेप रहेछ- भरेको केही समयमै सुकेर कडा हुने खालको वस्तु।
गाउँघरमा दाँतमा सुन ठोक्ने चलन पनि थियो। त्यसरी दाँतमा सुन ठोक्नेमध्ये मेरा ससुरा बा स्वर्गीय खडानन्द सुवेदी पनि हुनुहुन्थ्यो। वहाँ हल्का कृष्ण वर्णका हुनुहुन्थ्यो, मिठो वचन गर्नुहुन्थ्यो र सबैले वहाँलाई मान सम्मान गर्थे। समाजसेवी, शैक्षिक अभियन्ता र राजनीतिज्ञ पनि हुनुहुन्थ्यो वहाँ। २०१५ सालमा प्युठान (क्षेत्र नं ८३) बाट सांसदमा निर्वाचित हुनुभएका उहाँको निधन २०५५ साल भदौमा भएको थियो। वहाँ फिस्स हाँस्दा सुनको टल्किने दाँत देखिन्थ्यो। हामी एसएलसी दिनुअघि विद्यालय जाने क्रममा बाटोमा भेट हुँदा लौ है बाबुहरू हो एसएलसी फलामको ढोका हो राम्रोसँग पढ्नुपर्छ भन्नुहुन्थ्यो। त्यति बेला म वहाँको छोरी ज्वाइँ भइसकेको थिइनँ।
दन्त उपचारमा दाँत मात्र नभएर गिजा र जिब्रोको पनि उपचार हुने गरेको पाइन्छ। हेलचेक्र्याइँ गरेमा गिजाको क्यान्सर पनि हुनसक्छ भन्ने सुनेको हुनाले पनि म समय समयमा डेन्टल धाउँथेँ।
एक पटकको कुरा। नरिवल अलि अगाडि नै काटिएकोले सुकेर कडा भएको रहेछ। जबरजस्ती नरिवल चपाउँदा एउटा बंगारो नै भाँचिएपछि डेन्टिस्टकोमा गएँ। त्यो भाँचिएको बंगारो रहेको खाली ठाउँमा कृत्रिम दाँत राख्न एक लाख लाग्छ भनेपछि त्यत्रो रकम खर्च गर्न मैले हिम्मत नै गरिनँ। एउटा दाँतका लागि किन यति धेरै लाग्छ भनेर सोध्दा ‘दुई तिरबाट सपोर्ट लिनुपर्छ, गहिराइबाट उपचार गर्नुपर्छ’ भनेपछि मैले लाख रुपैयाँ खर्च गर्ने सोच राखिनँ।
एउटा बंगारा आरसिटी गरेर क्याप अर्थात् क्राउन लगाएको पहिला आठ हजार भनिन्छ। तर पछि घरीघरी आरसिटी गरिन्छ र हरेक दाँतको बिस हजार रुपैयाँको बिल हातमा थमाइन्छ। मेरा चार वटा बंगाराको आरसिटी र क्राउनका लागि ८० हजार खर्च भइसकेको छ। पहिला देखिका सानातिना उपचारसमेत सबै जोड्दा करिब एक लाख खर्च भइसकेको छ।
चाबहिलस्थित एक हस्पिटलमा स्केलिङ (दाँत सफा) गराएपछि रगत नथामिएर राती मुखमै रगत जमेर डल्लो पर्न थालेपछि निकै तनाव बेहोर्नु परेको थियो। राती अस्पताल पुग्न सम्भव पनि थिएन। बिहानै उठेर शिक्षण अस्पताल पुगेर दाँत विभागमा देखाएपछि रगत थामिने उपाय भयो।
दाँतको उपचारका लागि एक लाख सकिए पनि अझै राम्ररी चपाउन सकिएको छैन। पोलेको र उसिनेको हरियो मकै र नरिवल खान मन लाग्छ तर चपाउन सकिँदैन। अब हेरेर मात्र चित्त बुझाउनु परेको छ। दाँत चपाउन मिल्ने गरी उपचार गर्छौँ भन्ने डेन्टलका डेन्टिस्टहरूले ग्यारेन्टी छैन भनेर भनिदिए दाँतका बिरामीहरूले त्यही अनुसारको मानसिकता बनाउने थिए। खर्च मात्र गरेर उपलब्धि हासिल नभएपछि खर्च गर्नुको के औचित्य भयो र? दाँतको समस्या मध्ये विशेष गरी बंगारातिर समस्या थियो। चपाउँदा बंगाराका ग्यापमा खानेकुरा कोच्चिने, अड्किने, दुख्ने आदि कारणले गर्दा उपचारका लागि अनेक स्वास्थ्य संस्थामा धाएँ।
सरकारीभन्दा निजी अस्पतालमा दाँत उपचारमा मात्र होइन अरू पनि सोचेभन्दा बढी खर्च हुन्छ। सरकारीभन्दा निजी स्वास्थ्य संस्थाहरूले अनावश्यक डायग्नोसिस र परीक्षण गराउन लगाउने गरेको मैले अनुभव गरेको छु। काठमाडौँ बाहिरका साना सहरहरूमा पनि उपचारको नाममा अनावश्यक खर्च गराउने गरिएको पाइन्छ। कम्पनीमा डेन्टल सम्बन्धी कारोबार गर्ने गरी नामको पछाडि हस्पिटल उल्लेख गर्दा कर धेरै तिर्नुपर्ने र होम लेख्दा थोरै तिर्नुपर्ने कुरा पनि जानकारी पाइयो। यो जानकारी मेरा चिनजानका डाक्टरले बताउनु भएको हो।
दाँतको उपचारका लागि स्थापना भएका डेन्टल अस्पताल र क्लिनिकहरूको सङ्ख्या धेरै नै छ। काठमाडौँको एउटै चोकमा तीन/चार वटासम्म डेन्टल क्लिनिकहरू देखिन्छन्। केही समयदेखि जिल्ला जिल्लामा समेत डेन्टलहरू खुलेको पाइन्छ। जसले गर्दा जिल्लामा बस्नेहरूलाई दाँत सम्बन्धी सामान्य उपचारका लागि राहत पुगेको छ। जटिल उपचारमा मात्र ठुला सहरमा आउनुपर्ने अवस्था देखिन्छ।