केही वर्षअघि जुम्लाका माधव चौलागाईले ट्विटरमा हाम्रा तिरका मालिकाहरू भनेर लिस्ट पोस्ट गरे। त्यसमा चासो हुने र आफूलाई जानकारी भएकाले लिस्ट लम्ब्याउने काम गरेका थिए।
उक्त लिस्टलाई आधार मान्दा सुदूरपश्चिम तथा कर्णालीतिर मालिका नाम जोडिएका तीर्थस्थल १५ वटाभन्दा बढी नै देखिन्छन्। यी सबै मालिका मध्ये ठूलो बढीमालिकालाई मानिन्छ। त्यसैले होला कसैकसैले यसलाई दरबार मालिका पनि भन्छन्।
हिन्दु धर्म ग्रन्थहरूमा यस क्षेत्रका पहाडलाई मल्लागिरि पर्वत भनेको पाइन्छ।
बाजुरातिर बढीमालिकालाई मालिका मात्र भन्छन्। मैले पनि यो लेखमा बढीमालिकालाई मालिका मात्र सम्बोधन गरेको छु। मालिकामा जनैपूर्णिमाको अघिल्लो दिन पूजा लाग्छ। यो बेला यहाँ नेपालसहित भारतका कुमाउ गडवालबाट पनि तीर्थालु आउने चलन रहेको छ।
सामान्यता कुनै नयाँ मान्छेसँग कुरा भयो र बाजुरा घर भनेपछि सुरुमै दुइटा प्रश्न तेर्सिने गर्छन्- एउटा चुनावमा झगडा किन हुन्छ?
अर्को, मालिका कस्तो छ?
पहिलो राजनीतिक कुरा भयो, अहिले चर्चा नगरौं।
मालिका जाने रहर पुरानै हो तर जान सकिएको थिएन। यो पटक मालिकाको दर्शन गर्ने र त्रिवेणीमा रमाउने धोको पूरा भयो।
सधैंको विवाद
केही वर्ष पहिलेसम्म मालिकाको मूल पुजारीका विषयमा कालिकोट र बाजुरा (पैमा) का पुजारी बिच मुद्दा नै चल्यो जसमा पैमाका पुजारीले जिते।
त्यसैले उनी मालिकाका मूल पुजारी रहेका छन्। तर हाल त्रिवेणी पाटन कसको भनेर विवाद सुरु भएको पाइन्छ।
कालिकोटका स्थानीय तहले आफ्नो दाबी गरेका छन् भने बाजुराकाले आफ्नो। त्रिवेणी बुढीमाईका मन्दिरमा पचालझरना, कालिकोट र त्रिवेणीको मन्दिरमा सान्नी त्रिवेणी कालिकोट लेखिएको छ। तर ती ठाउँहरूमा बाजुराको त्रिवेणी नगरपालिकाले नेम-प्लेट बनाएर त्रिवेणी नगरपालिका बाजुरा लेखेको देख्न सकिन्छ।
नामका कुरा
मालिका यात्रामा आकर्षणको केन्द्र हो- त्रिवेणी पाटन।
यसका नाम फरक-फरक छन्, अर्थ एउटै। बाजुरा बाहिरका मानिसले भन्ने, समाचार र सरकारी औपचारिक नाम त्रिवेणी हो। तर बाजुराका मार्तडी तिरकाले बिनी पाटन भन्छन् भने कोल्टी तिरकाले त्रिपिनि भन्छन्।
बाजुराका दुई ठुला धार्मिक तीर्थस्थल छन्- बुढीनन्दा र बढिमालिका।
तर यी दुवै स्थलमा लौरी विनाई (विनायक) भन्ने ठाउँ छन्। यी ठाउँको खास नाम गौरी विनायक हुनु पर्ने मालिकामा भेटिएका सन्जेल जी महाराजको तर्क थियो। किनभने यी तीर्थस्थलमा सुरुको पूजा लौरी विनायकबाट हुने गर्दछ। तर हिजोआज यहाँ आफूसँग भएको लौरी साट्ने चलन स्थापित भइसेको छ।
नेपाल एकीकरणसँग जोडिएको मालिका
नेपाल एकीकरणको क्रममा डोटीमा मालिकाको थान थापेर पूजा गरी एकीकरणको अभियान अगाडि बढाएको र एकीकरण अभियान सफल भएको भन्ने इतिहास सुन्न र पढ्न पाइन्छ। भक्तजनहरूले भाकल गरे अनुसारको आशिष् मिल्छ भन्ने यहाँका स्थानीयहरूको विश्वास छ।
थाकेका गोडा नथाकेका आँखा
जब दुई-तीन दिनको उकालो पछि ठूलीमाईको थानमा पुगिन्छ अनि देखिन्छ त्रिवेणीको हेरौँ हेरौँ लाग्ने पाटन। चरिरहेका/दौडिरहेका घोडाका बथान र सेतो तन्ना ओछ्याएझैँ गरी चरिरहेको भेडाका बथानको गजबको दृश्य।
पाटनमा देखिने अनेक थरी फूल, तिनको वासना र तिनलाई हेर्दै समय बितेको पत्तै हुन्न।
उकालीको मुस्कान
निरन्तरको उकालो यात्रा प्रायः यात्रीहरू थकित हुन्छन्। बाध्यता बाहेक बोल्ने जाँगर हुन्न। तर एकअर्कालाई हेर्दै मुसुक्क मुस्कान दिँदै पाइला चालेको दृश्य गजब रहर लाग्दो देखिन्छ।
गालिमको सौराई
बर्खाको सिजनमा बस्तुभाउ लेक तिर लगिन्छ। घाँसपात धेरै हुने भएर गाई भैँसीले दूध पनि धेरै दिन्छन्। गोरस धेरै हुन्छ। बाजुरा तिर धेरै मोही भएको समयमा गालिम बनाउने चलन छ। धेरै वर्ष भएको थियो गालिम नखाएको, यो पटक धित मर्ने गरेर खाइयो।
मागलको स्वाद
सुदूरपश्चिम तथा कर्णालीको संगीतमा चर्चामा आउन नसकेको संगीत हो- मागल।
यो बिहे, छैँटै, पूजा गर्दाको समयमा राति मागल गाउने चलन छ। मागल नसुनेको दशक बढी भइसकेको थियो। त्रिवेणी पुगेर बेलुकी पख खेतीपातीमा घुम्न जाँदा कालिकोट र बाजुराका महिलाले मागल गएको सुन्न पाउँदा धेरै आनन्द महसुस गर्न पाइयो।
फोहोरका दुःख
बाजुरातिर एउटा उखानै छ, शौचालयसम्बन्धी। यात्रा क्रममा बास बस्नु पर्ने सबै ठाउँमा अस्थायी शौचालय त छन्।
पछिल्लो समय प्याकेजिङ गरेका खानेकुरा यात्रामा धेरै प्रयोग र प्लास्टिकको उचित व्यवस्थापन गर्ने प्रवृत्ति नहुँदा वातावरण प्रदूषण बढ्दै गएको देखिन्छ। अझ दुःखद कुरा त के छ भने त्रिवेणीमा मालिका जानु अघि स्नान गर्ने गरिन्छ। तर स्नान गर्ने ठाउँ वरपर दुर्गन्धित छ।
पवित्र ठाउँमा अपवित्र व्यापार
हिन्दु पूजा प्रणालीमा मदिरा वर्जित नै हुन्छ। मालिका यात्रा मुख्यतः धार्मिक हो। यहाँ शुद्ध तन, मन बनाएर यात्रा गर्ने गरिन्छ। तर जब त्रिवेणीमा मदिराका बोतल देखियो मन नै खिन्न हुने अवस्था आयो।
धर्मशालाको कर्मकाण्डी
मार्तडीबाट मालिका जाँदा बाटोमा सोता पाटनसम्म विभिन्न ठाउँमा धर्मशाला भेट्न सकिन्छ। ती धर्मशाला थकाइ मेट्न त ठिक छन् तर बास बस्नलाई उपयुक्त देखिँदैन। यी धर्मशालाको आवश्यक मर्मत संहार गर्नु पर्ने देखिन्छ।
मन्त्री नपुग्नुका दुःख
दशकपछि बाजुरा जिल्लाले क्याबिनेट मन्त्री पायो। त्यो पनि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री। भर्खरै मात्र मन्त्री भएका बद्रीप्रसाद पाण्डे मालिकाको पूजामा उपस्थित हुनेछन् भन्ने धेरैमा विश्वास थियो। तर कार्य व्यस्तताले होला उनी मालिका पुगेनन्। यसले गर्दा मन्त्रीप्रति मालिकाका पुजारीदेखि स्थानीयले गुनासो गरेको सुनिन्थ्यो।
सरकारी टोलीको पूजा
मालिकामा सरकारी पूजा टोलीको रूपमा डोटी र जुम्लाबाट जाने चलन छ। तर खासमा डोटीले पशुपतिनाथ र जुम्लाले चन्द्रनाथको प्रतिनिधित्व गर्ने रहेछ। जुम्लाको टोलीले विगतकै पूजा प्रणालीलाई अपनाउँदै आएको तर डोटीले विगतको परम्परा छोड्दै गएको स्थानीयको गुनासो थियो।
बाजुराका लागि मालिका
हाल विकासको सूचकाङ्कमा बाजुरा ७७ औं जिल्ला हो। समस्याको चाङमा उभिएको छ।
यो जिल्ला सबैभन्दा सम्भावना भएको क्षेत्र पर्यटन नै हो। पर्यटनकै माध्यमबाट यहाँका जनताको जीवनस्तर उकास्न सकिने देखिन्छ।
यहाँ मालिकासहित बुढीनन्दा, खप्तड, रानीसैन, छेडेदह, नाट्यश्वरी लगायतका ठाउँहरू रहेका छन्। यसका साथै खप्तड – रामारोशन – मालिका – रारालाई एउटा पर्यटन सर्किट बनाउने बारे बेला मौकामा चर्चा पनि हुने गरेको पाइन्छ।
मालिका र यस आसपासका क्षेत्रको पर्यटन विकासमा यसै क्षेत्रका माननीय र हाल संघीय सरकारका पर्यटन मन्त्री पाण्डेले आवश्यक कदम चाल्नु पर्ने देखिन्छ।