२०८० साल बितेका वर्षहरूभन्दा मेरा लागि पृथक र अविस्मरणीय रह्यो। मूलतः सिकाइ र नयाँ अनुभवको वर्ष रह्यो।
यही सालको सेरोफेरोको भोगाइ र सिकाइहरूले मलाई आगामी दिनमा आइपर्न सक्ने चुनौतीहरूसँग सशक्त तबरले डट्न सक्ने आत्मविश्वास प्रदान गरेको छ।
धेरै कुरा सिकाएको छ, धेरै कुरा भोगाएको छ, जीवनमा सफल हुन अत्यावश्यकझैं रहने सीपहरू सिक्ने अवसर मिलेको छ, व्यावसायिक भविष्यमा झेल्नु पर्ने आरोह-अवरोहसँग लड्न आवश्यक पर्ने सामाजिक र राजनीतिक बुझाइलाई हिजोभन्दा आज अझ धारिलो बनाएको छ।
खुला प्रतिस्पर्धाबाट नेपालको संघीय संसद, प्रतिनिधि सभाकी कान्छी सांसद माननीय निशा डाँगीज्यूको स्वकीय सचिवको रूपमा छनोट भएबाट मेरो २०८० सालको सुरूवात भयो। त्यसअघि कुनै पनि पार्टीगत आस्था वा झुकावको राजनीतिमा नरहेकी मेरा लागि एकातर्फ राजनीतिक पदमा रही पदीय निष्ठा कायम गर्ने र अर्कोतर्फ व्यक्तिगत स्वविवेकमा अडेको सैद्धान्तिक तटस्थतालाई कायम गर्ने चुनौतीको बीचमा मैले निशा डाँगीज्यूको सचिवालय समाल्ने प्रण लिएर विगतमा कानुनको विद्यार्थी भइकन सिद्धान्तमा अध्ययन गरेका विषयगत ज्ञानहरूलाई आफ्नो कार्यक्षेत्रमा प्रयोग गर्दै विधायकी प्रक्रियामा टेवा पुर्याउँछु भन्ने हेतुले यस नवीन यात्राको सुरूआत गरेकी थिएँ।
यस दौरान देशको केन्द्रीकृत राजनीति र यसका विविध आयामहरूलाई फरक फरक दृष्टिकोणबाट नियाल्ने र अनुसरण गर्दै राजनीतिका अनेकन केस्राहरूलाई केलाउने स्वर्णिम अवसर मलाई प्राप्त भयो। यसले मलाई धेरै कुरा सिकायो, बुझायो र राजनीतिक क्रियाकलापहरूले अन्तर्मनमा प्रश्नहरूका असिनाले कैयौं डोपहरू छोडेर गयो। ती डोपहरूलाई पुर्न आवश्यक प्रश्नका उत्तरहरू भने अनुत्तरित नै रहे।
कर्मचारीतन्त्र र कूटनीतिक विभागहरूको बेजोड तालमेल, सत्ता प्राप्तिको लागि गरिने वैचारिक जगविहीन दलीय गठबन्धन, संसद भवनभित्र सांसदहरूको वाक युद्ध र लगत्तै भवन बाहिर देखिने सुमधुर सम्बन्धले मलाई कैयौं पटक निःशब्द तुल्याएको थियो।
यी सबै चर्तीकलाहरू मलाई कुनै व्यावसायिक सिनेमामा पर्दाभित्र लडिरहेका नायक र खलनायकको युद्धझैं भान हुन्थ्यो। पर्दाभित्र र बाहिर एकै व्यक्तिले निर्वाह गर्ने फरक फरक रोलहरूझैं।
विभिन्न समस्याहरूको पोको बोकेर 'अब त केही होला' भनेर आफ्नो नेताको दैलोमा आउने आमजनको मुहारमा देखिने आश र भरोसा देख्दा मलाई हर्ष र विष्मत दुवै एकसाथ अनुभव हुन्थ्यो। राज्यसत्तासँग प्रत्यक्ष सम्बन्ध नभएका कैयौं किनाराकृत जनताहरूका असरल्ल समस्याहरूको पोको र मुग्लानमा दु:खको भेलले जीवन नै बगाएका नेपालीहरूको पीडा, यो संसार अर्कै थियोे जहाँ विस्मयादी पलहरू बाहेक केही थिएनन्। हरेक फोन कल उठाउँदै गर्दा त्यहाँ दलनमा परेका नेपालीको दु:खको चीत्कार बाहेक केही हुँदैन थियो। ती तमाम दुखद् समस्याहरूलाई समाधान गर्न म तत्परताका साथ सधैं लागिपरेँ।
सम्झछु, एक जना बुबाले खाडीमा गुमाउनु भएको आफ्नो भविष्य यानि आफ्नो छोराको शवलाई नेपाल झिकाउन गर्नुभएको गुहार! यस अवधिमा म त्यस्ता दर्जनौं बुबाआमाको पीडाको प्रत्यक्षदर्शी भएँ।
कामकै सिलसिलामा म झापा, इलाम, मोरङ, सुनसरी, जाजरकोट, कञ्चनपुर र कैलाली पुगेँ। यस भ्रमणबाट त्यहाँको सामाजिक, राजनीतिक, भौगोलिक र आर्थिक पाटोहरू बुझ्ने मौका पाएँ। त्यहाँका पूर्वाधारको अवस्था नजिकबाट नियाल्ने मौका पाएँ। विशेष गरेर जाजरकोट भ्रमण मेरो लागि यादगार रह्यो।
त्यहाँ भूकम्पपश्चात् प्रभावित बस्तीहरूको अनुगमनका क्रममा दुई वटा घर, सँगै जोडिएका, एउटा आरसिसी ढलान घर जुन जस्ताको तस्तै उभिएको थियो भने सँगै टाँसिएको माटोको घर पूरै भत्किएको थियो, त्यसैलाई देखाउँदै कृष्ण भेटवाल (राष्ट्रिय स्वतन्त्र पार्टीका केन्द्रीय पुर्वाधार विभागका सचिव) सरले भनेको ज्यादै घतलाग्दो कुराले बेलाबेला घोचिरहन्छ, 'सुस्मिता म्याम, यहाँका मानिसहरू भूकम्पले होइन, गरिबीले मरेका हुन्। यदि यो घर आरसिसी हुनेथियो भने एकै घरका ९ जना एकै चिहान हुनुपर्ने थिएन। देशको आर्थिक अवस्था ज्यादै नाजुक हुन पुगेको छ।'
देशका विभिन्न भेगहरूमा जाँदै गर्दा नयाँ राजनीतिक दलप्रति देखिएको आशाको अनौठो ऊर्जा, भेटिएको कुण्ठा, निराशा, रोदन र प्राप्त भएको माया र सद्भाव! यी तमाम भावहरूले मलाई अझ मजबुत हुन र आफ्नो कर्मको बाटोमा अझ अडिग भएर अगाडि बढ्न प्रेरणादायी साबित भयो। युवापुस्तामा देखिएको देश प्रेम र यहीँ समाजको लागि केही गर्नुपर्छ भन्ने हुटहुटीले मलाई यहीँ देशमा बसेर समाजको लागि केही गर्नुपर्छ भन्ने प्रेरणा प्रदान गर्यो।
स्वकीय सचिवको रूपमा काम गर्दैगर्दा यो पदको कार्यभार, जिम्मेवारीको बुझाइ निकै कम व्यक्तिमा भएको पाएँ। मुख्यतः मेरो पदीय जिम्मेवारी विधायकको सचिवालय सञ्चालन, आम जनताको समस्या सम्बोधन, विधेयकमा राख्नुपर्ने संशोधनको तयारी, माननीयले बोल्नु पर्ने कुराको स्क्रिप्टको तयारी थिए। तर यहाँ भाष्य यस्तो थियो कि यो पद म जस्तोको लागि उपयुक्त होइन, यहाँ त अलि अलि काम गरे जस्तो गरे हुन्छ, हामीले काम गर्दिएर यो देश बन्दैन, किन दु:ख गरेको भन्ने जस्ता धेरै टीकाटिप्पणीको सामना गर्नुपर्यो।
अचम्म तब लाग्थ्यो जब यो पदलाई कार्यकारी कम नोकर जस्तो ज्यादा गरिन्थ्यो, गरिन्छ। यो पदको महत्त्व बुझ्न नसकेका धेरैलाई म को हुँ र म यहाँ के कारण संलग्न छु भन्ने प्रश्नको उत्तर अनगिन्ती दिइराख्नु नै पर्यो।
स्वकीय सचिवको कोड अफ कन्डक्ट कानुनत: छैन। संघीय संसदका पदाधिकारी तथा सदस्यहरूको पारिश्रमिक र सुविधा सम्बन्धी ऐन २०७३ को दफा ५ ले संघीय संसदका सदस्यहरूले राजपत्राङ्कित तृत्तीय श्रेणीको १ जना स्वकीय सचिवको नियुक्त गर्न पाउने व्यवस्था गरेको छ। स्वकीय सचिवले पाउने सेवा सुविधामा स्वकीय सचिवालयका कर्मचारीहरूले सुरू स्केल अनुसारको तलबमात्र पाउनेछन् भनिएको छ र स्वकीय सचिवालयका कर्मचारीहरूले यस ऐन बमोजिम प्राप्त गर्ने पारिश्रमिक निजहरूको बैंक खातामा उपलब्ध गराइनेछ भनिएको छ। सोही अनुसार स्वकीय सचिवालयका कर्मचारीको रूपमा स्वकीय सचिवको खातामा गएको रकमलाई समेत सांसदहरूले स्वकीय सचिवबाट रकम फिर्ता माग्ने, स्वकीय सचिव नियुक्त नगर्ने, आफ्नाको नाम चढाएर राज्यबाट आउने रकम आफै राख्ने र स्वकीय सचिवको तलब समेत सांसदहरूले मनोमानी ढंगले प्रयोग गर्ने गरेको पाएँ, जुन निकै गलत र दुःखलाग्दो पाटो छ, जसको छानबिन हुनु आवश्यक छ।
यो पद साच्चिकै उल्लेख गरेको जस्तै राजपत्राङ्कित तृत्तीय श्रेणीको लागि हो भने काम गर्ने त्यही अनुरूपको वातावरण पनि हुन अत्यावश्यक छ र राज्यको ढुकुटीबाट सेवा सुविधा लिनेहरू राज्यप्रति उत्तरदायी पनि हुन र गराउन दुवै आवश्यक छ। यसो गर्न सके मात्र बारम्बार अखबारमा आउने शैक्षिक योग्यता नपुगेका स्वकीय सचिव, आफूखुसी स्वकीय नियुक्त, मन्त्रीभन्दा स्वकीयको भत्ता बढी, संसदको स्वकीयको गुण्डागर्दी जस्ता समाचारको ओइरो घट्छ होला नत्र भने आफ्नाको वरिपरि घुमिरहने यो पदको बदनाम भइरहन्छ।
म जस्तै पदीय जिम्मेवारी पूरा गरिरहेका अधिकांश स्वकीयहरू आफ्ना निकटस्थहरूको वरिपरि मात्र घुम्ने, गलतलाई गलत भनेर बोल्न हिचकिचाउने, कसैको इच्छा बमोजिम खाएको जागिर हो, उसलाई रूष्ट पार्नु हुन्न भनेर बोल्नै हिचकिचाउने मैले धेरै भेटेँ। मलाई भने कहिल्यै पनि यसो गर्न परेन। मैले गलतलाई गलत भन्न कहिल्यै हिचकिचाउन परेन। मैले राजनीतिमा हुनुपर्ने संस्कारको लागि आवाज जहिल्यै पनि उठाइनैरहेँ।
मैले आफ्नो जिम्मेवारीबारे आफूले आफैलाई धेरैपल्ट प्रश्न सोध्ने गरेकी थिएँ। आखिर म को हो त? मैले गर्ने काम के हो? म सूचनालाई सञ्चार गर्ने सूचना प्रदायक हो, या सांसदको सहजकर्ता हो या समर्थक हो या सांसदको रूचिलाई आम मतदाताको रूचिसँग जोड्ने माध्यम हो? के यो मेरो पेसा हो? अथवा यो राजनीतिमा छिर्ने बाटो हो?
कहिलेकाहीँ एकदम धेरै नैतिक दुविधा हुने गर्थ्यो। मलाई यो पद कहिले पनि करियर हो भन्ने लागेन, यो एउटा व्यावसायिक सम्बन्ध हो भन्ने लाग्यो। त्यसबेला हरि शर्मा ( स्व. गिरिजा प्रसाद कोइराला ज्युको स्वकीय सचिव) सरले भनेको कुरा सम्झिन्थेँ, 'आफुले आफ्नो कामलाई परिचय दिनु। तिमी स्वतन्त्र व्यक्ति हौ भन्ने कहिल्यै नबिर्सनु। आफ्नो कामको, पदको सीमितता सदैव याद राख्नु। तिमी चन्द्रमा हो, सूर्य होइन , चन्द्रमामा औंशी, पूर्णिमा भइहाल्छ। तर तिमीले सदैव आफ्नो मूल्य सृजना गर्नु, तिम्रो यहाँको प्रवेश आकस्मिक, आफ्नै छनोट वा महत्वाकांक्षी जसरी भएको भएता पनि तिमी यहाँबाट निस्कदा खुसी भएर निस्कनुपर्छ। आफूले आफ्नो सीमा रेखा बनाउन सक्नुपर्छ र म पदीय सीमिततामा काम गरिरहेको छु भन्ने कहिले बिर्सनु हुँदैन।'
यी वाक्यहरूलाई मैले सदैव आफ्नो मार्गचित्र मानिरहेँ।
कामकै सिलसिलामा विधेयकको अध्ययन, संशोधनको तयारी, आवश्यक प्रस्तावहरूको तयारी त मेरो प्रमुख रूचिको काम नै थियो । यसो गरिरहँदा सरकारको तर्फबाट ल्याउने विधेयकको मनसाय अझ नजिकबाट बुझ्ने मौका पाएँ। गैरसरकारी विधेयकको आवश्यकता बुझी त्यसमा काम गर्ने मौका समेत मिल्यो।
मुख्यत: धेरै सुन्ने, धैर्य गर्ने, अझ मेहनती हुने, अलि बढी राजनीति बुझ्ने, अझ धेरै राजनीतिक अभ्यास बुझ्ने, थोरै नेपाल बुझ्ने, धेरै नेपाली बुझ्ने, मज्जाले कर्मचारीतन्त्र बुझ्ने मौका पाएँ। यो कार्यकालमा ज्यादै मिठा साथी भेटेँ, मार्गदर्शन दिने दाइहरू भेटेँ, दिदीहरू भेटेँ, भाइहरू भेटेँ, बहिनीहरू भेटेँ। यो माया, भरोसा, विश्वासको लागि आभारी छु। यो गज्जबको विश्वासको लागि माननीय निशा डाँगी ज्यूप्रति अझ बढी आभारी छु।
यी बुझाइ, भोगाइ र सिकाइ मेरो जीवनभरको लागि अमिट छाप बनेर बसेका छन् जसले मेरो आगामी दिनका कर्महरूलाई सदैव प्रेरित गरिरहने छन् भन्नेमा म आशावादी छु।