त्रिविले आफ्नो फेसबुकमा कुनै सूचना प्रकाशित गर्नसाथ आर्यन आफ्नो कलेजको ग्रुप च्याटमा त्यस सूचनाको स्क्रिनसट पठाउँछ।
कुनै लामो जानकारी रहेको छ भने ग्रुप च्याटमा तनाव सिर्जना हुन्छ। कसले जानकारी पढेर छोटकरीमा बुझाइदिने? जानकारी नतिजाको होस् वा परीक्षा तालिकाको, आवेदन फारमको वा परीक्षा केन्द्रको आर्यनलाई नेपाली अक्षर देख्न साथ झिजो लागेर आउँछ। आर्यन र उसका साथी गुनासो गर्दै सराप्छन्, ‘ब्याचलर पढ्ने विद्यार्थीलाई त इङ्ग्लिसमा नोटिस् दिनु नि!’
आर्यन मेरो छिमेकी हो। हरेक वाक्यमा आधा अंग्रेजी शब्द मिसाएर ककटेल भाषा बोल्ने आर्यन विदेशमा जन्मिएको हैन। न उसका परिवारका कुनै सदस्य विदेशबाट फर्किनुभएको हो। काठमाडौंमा जन्मिएर काठमाडौंमै हुर्किएको आर्यनको मातृभाषा नेवारी, किराँती या मैथिली पनि हैन। तसर्थ उसलाई नेपाली बोल्न र लेख्न कुनै आपत्ति नहुनु पर्ने हो। यद्यपि ऊ नागरिकता बनाउन जाँदा निवेदन लेख्नेदेखि फारम भर्ने कुनै काम आफैले गर्न सक्दैन।
एक पटक घर आएका बेला आर्यनलाई मेरो हजुरआमाले सोध्नुभयो, ‘बाबु, अनि तिमी चाहिँ कति साले?’
आर्यनले पिलिक्क मलाई हेर्यो। मैले उसलाई जन्मेको साल सोध्नु भएको भनिदिएँ। उसले जबाफ दियो।
‘म टु थाउजेन्ड सिक्स्टी टु सालको आमा’
हजुरआमाले बुझ्नुभएन।
त्यस्तै एक बेलाको कुरा हो घरमा कोही नभएको समयमा हजुरआमाले घर छेउमा आर्यनलाई देखेर मोबाइलमा पैसा हाल्दिन भन्नुभएछ। आर्यनलाई इसेवा, खल्ती वा मोबाइल ब्याङ्क चलाउन कुनै समस्या थिएन। तर आमाले ‘अन्ठानब्बे पाँच बिस’ भन्दै आफ्नो नम्बर भन्न थालेपछि उसलाई समस्या आइपर्यो। उसले ठग्दै नेट चलेको छैन भनेर कुरा टारेछ।
आर्यन त एउटा प्रतिनिधि पात्र मात्र हो। अहिलेको युवापुस्ता माझ नेपाली भाषाको बिलाउँदो आकर्षणले सिङ्गै भाषाको अस्तित्व जोखिममा पुर्याउँदै छ। एकै परिवारका दुई पुस्ताबीच कुराकानी हुँदा भाषिक विभेदले बेमेल सिर्जना हुन्छ। अघिल्ला पुस्ताका कुरा अहिलेको पुस्ताले बुझ्दैनन् र अहिलेको पुस्ताको कुरा अघिल्ला पुस्ताले बुझ्दैनन्। युवाहरूबीच भाषाको ज्ञान हराउँदै जाँदा नेपाली चलचित्र, गीत-सङ्गीत, साहित्यदेखि सिर्जनाका हरेक विधाको भविष्य अन्योल बन्ने निश्चित छ।
हिजोको समय जस्तै हप्ताका फरक-फरक दिन फरक-फरक नेपाली टेलिशृंखला पर्खिएर बस्ने बालबालिका आज भेटिँदैनन्। आजका बालबालिकादेखि युवाहरू नेट्फ्लिक्समा रमाउँछन्। सार्वजनिक बसमा शिव परियार बजे पनि इयरफोन वा हेडफोन लगाएर यात्रा गर्ने किशोर किशोरीले टेलर स्विफ्ट र बि टी एस नै सुन्छन्। बाले पढ्ने पुस्तकहरूको चाङमा अमर न्यौपाने र बुद्धि सागर भेटिएलान् तर छोरा छोरीले पढ्ने पुस्तकहरूको चाङमा प्राय: मुराकामी, पाउलो कोइलो वा चेतन भगतलाई मात्र देख्न सकिन्छ।
नेपाली विषयमा पास भए अरू विषय त पार लागिहाल्छ भन्ने मानसिकता हाबी हुँदै गर्दा आजका विद्यार्थीले नेपाली भाषालाई बोझको रूपमा लिन थालेका छन्। अधिकांश विद्यार्थीको विदेश पढ्ने मोहले गर्दा पनि नेपाली भाषा आवश्यक नै नरहेको सन्देश फैलिँदो छ। आर्यन र आर्यन जस्ता कैयौँ युवा घर छोडी एक्लै अन्यत्र ठाउँ जानुपर्यो भने आफ्नै देशमा असहज महसुस गर्छन्। अखबार पढ्नु पर्दा पसिना आउँछ र समाचार सुन्नु पर्दा नौला भाषा सुनेझैं लाग्छ। कसैलाई केही बुझाउनु पर्दा अङ्ग्रेजी लवज र शब्दहरूले जिब्रो छोड्न मान्दैन। सबैभन्दा ठूलो समस्या त तब खडा हुन्छ जब उनीहरू नेपाली नजान्दा गर्व महसुस गर्छन्। कतिलाई लाग्छ नेपाली नजान्नु भनेको आधुनिक बन्नु हो। परम्परागत सोच र चालचलन भन्दा एक कदम अघि सर्नु हो। नकारात्मकता यतिसम्म फिँजिएको छ कि कोही नयाँ पुस्ताको व्यक्ति शुद्ध नेपाली बोल्छ भने उसलाई आदिम कालकै मान्छे जसरी हेरिन्छ।
ग्रामीण भेगबाट आएको अथवा अङ्ग्रेजी बोल्न नसक्ने रहेछ भन्ने अनेक अनुमान लगाइन्छ। यो हेपाइमा परिन्छ कि भनेर ठूला स्कुल र कलेजका विद्यार्थीहरू नेपाली बोल्नै डराउँछन्। दोष विद्यार्थीकै पनि हैन। ८ वर्षअघि, म स्कुल पढ्दासम्म नेपाली बोल्दा दण्ड पाइन्थ्यो। म आफै ‘ल्याङ्ग्वेज मनिटर’ अर्थात् नेपाली बोल्नेको नाम टिपेर हेडसरलाई दिने काम गर्थें। नेपाली बोल्नेहरू सबैले सिङ्गै स्कुलका अघि लौरो खानु पर्थ्यो। फेरि, नेपाली विषयमा फेल भएर घरमा बाको लौरो खानेहरू पनि धेरै थिए। तिनै बा घरमा पाहुना आउँदा ‘अङ्कललाई अङ्ग्रेजीमा बोलेर सुना त छोरा’ पनि भन्थे। आज समस्या झन् बढ्दो छ। आज ती बाआमा र छोराछोरीबीच कुराकानी लगभग समाप्त हुने स्थितिमा छ। कारण -पुस्ता अन्तर मात्र हैन भाषा, विषय र रूचि सबै बदलिएपछि के बारे बोल्न सकियो र? आज पनि विद्यालयहरूमा कार्यक्रम सञ्चालक अनिवार्य अङ्ग्रेजी बोल्ने हुनुपर्छ। अङ्ग्रेजीमा मन्तव्य दिने विद्यार्थीलाई गुरूहरूले नै मन्तव्य लेखिदिने गर्छन्। अहिले एआईको प्रयोगले नेपालीमा भन्दा अङ्ग्रेजीमा जस्तो सुकै सामग्री तयार पार्न मिल्ने भएकाले सबैलाई अङ्ग्रेजीमा सामग्री तयार पार्न मेहनत गर्नै नपर्ने अवस्था छ।
शिक्षा मन्त्रालयले भाषाको जोखिम बुझ्दै गएपछि सामाजिक विषय नेपालीमा अध्यापन गराउनु पर्ने निर्णय लिएर आयो। यो निर्णयले विद्यार्थीको अङ्ग्रेजी भाषाप्रतिको निर्भरतालाई छर्लङ्ग बनाइदियो। अहिले अधिकांश बोर्डिङ स्कुलका विद्यार्थीको सबैभन्दा अप्ठ्यारो विषय सामाजिक भनिएको पाइन्छ। साथै, सामाजिक विषय नेपालीमा पढाउन सक्ने शिक्षक भेट्न उत्तिकै मुस्किल छ। शिक्षा मन्त्रालयदेखि विद्यालयहरूले अध्यापन शैलीमा रहेको यो ठूलो खाडल पत्तो लगाउँदा लगाउँदै अब यो समस्या निवारण नहुने स्थितिनेर पुगिसकेको छ। आउँदो पुस्ताले नेपाली भाषालाई मातृभाषा नभई केवल आफ्नो पाठ्यक्रमको विषयको रूपमा मात्र लिनेछन्। बिस्तारै भाषा सीमित बन्नेछ देशको इतिहासको कुनै थोत्रो पानामा।
देशको जुनसुकै भाषा भनेको त्यस देशको चिनारी हो। देशको पहिचान र परिचय भाषासँगै जोडिएको हुन्छ। देशमा एकताको भाव जोगाइराख्न भाषाले प्रमुख भूमिका खेल्छ। इतिहास, वर्तमान र भविष्यलाई एउटै कडीमा बाँध्न भाषा नै आवश्यक पर्छ। आज पनि रूसका राष्ट्रपति भ्लादिमिर पुटिन, फ्रान्सका राष्ट्रपति इम्यान्युएल म्याक्रन कुनै अन्तर्राष्ट्रिय सम्मेलनमा सामेल हुँदा आफ्नै भाषामा बोल्न रूचाउँछन्। यी प्रख्यात राजनीतिज्ञहरू अङ्ग्रेजी बोल्न नजानेर आफ्नो भाषा बोल्दैनन्, आफ्नै भाषा बोल्छन् किनकि उनीहरूलाई आफ्नो भाषाको प्रयोगबाट देशको सांस्कृतिक पहिचान विश्वसामु पुर्याउनु छ।
चीनमा आज पनि शास्त्रीय साहित्य र पुरातन कालमा लेखिएका पुस्तकहरू अध्ययन हुन्छन्। चीनमा आफ्नो भाषाप्रतिको प्रेम निकै गहिरो छ। फलस्वरूप एक अर्बभन्दा बढी मानिस आज पनि चाइनिज भाषा अपनाउँछन्।
अर्कापट्टि हामी संस्कार र संस्कृतिले भरिपूर्ण भएता पनि आफ्नै भाषालाई त्याग्दै गइरहेका छौं। एउटा सभ्य र विकसित समाज बन्न देशको अर्थतन्त्र र जनताको मात्र विकास हुनु पर्याप्त हुँदैन। देशको संस्कृति, भाषा र कलाको संरक्षण पनि उत्तिकै आवश्यक पर्छ। आधुनिक बन्ने होडमा आफ्नै जरा बिर्संदै जाँदा भोलि समयको पानाबाट हाम्रै कथाहरू पनि मेटिएर जानेछ।