२०४१ सालमा वीरगञ्जस्थित वीरगञ्ज चिनी कारखाना लिमिटेडले विज्ञापन गरेबमोजिम लिखित परीक्षा उत्तीर्णपश्चात् भएको अन्तर्वार्तामा उपस्थित हुनका लागि अघिल्लो दिन काठमाडौंबाट प्रस्थान गरेका थियौं साथी भुपेन्द्र पौडेल र म।
काठमाडौं बसपार्कबाट वीरगञ्जका लागि छुटेको हामी सवार दिवा बस नागढुंगाबाट ओरालो लाग्दैगर्दा झमझम पानी परिरहेको थियो।
नौबिसे कटेपछि भारी वर्षा भैरहेको थियो। साथी भुपेन्द्र र म ठट्टा गर्दै गफमा ब्यस्त थियौं। बस मलेखु पुगेपछि गाडीहरूको ताँती देखिए। बुझ्दै जाँदा मलेखुको मोटरेबल पुल बगाएपछि गाडीहरू आवतजावत हुन नसकेर मलेखु खोलाको वर र पर ताँती लागेको बुझियो।
खोलाको अलि माथि रबरको डुंगाबाट दस रुपैयाँको दरले यात्रु वारपार गराइरहेका थिए। हामी पनि दस रुपैयाँ तिरेर त्यो रबरको डुंगाबाट पारिपट्टि पुग्यौं र वीरगञ्जबाट आएको बस उतै फर्किने भएपछि त्यसैमा चढेर वीरगञ्जतर्फ लाग्यौं र भोलिपल्टको अन्तर्वार्तामा उपस्थित हुन पायौं।
रक्सौलको स्टोभ र कुकरः
जतिपटक वीरगञ्ज गए पनि मैले रक्सौलबाट केही न केही सामान किनेर ल्याउँथें। सामान सस्तो पर्ने हुँदा मैले स्टोभ, प्रेसर कुकर ल्याउँथे। साथै चप्पल, ब्याग र पोशाक पनि किन्थेँ।
वीरगञ्जका स्थानीय सवारी साधन टाँगा र रिक्साः
म कारखाना सम्बन्धी कामका लागि बेलाबखतमा वीरगञ्ज जाने गर्दथेँ। काठमाडौंदेखि वीरगञ्जसम्मको यात्रा गर्दा दायाँबायाँ वनजंगलहरू देखेपछि म मोहित हुन्थेँ। मलेखु-मुग्लिन-नारायणघाट-हेटौंडा-पथलैया-परवानीपुर हुँदै पर्साको पिपरास्थित वीरगञ्ज चिनी कारखानानिर पुगेपछि आवास क्षेत्रको गेटनिर ओर्लिन्थेँ र गेष्ट हाउसमा झोला बिसाएर नुहाईधुवाई गरेर कारखानाको प्रशासनमा पुग्थेँ।
म कारखानामा पुग्दा कसैकसैले 'अधिकारीजी काठमाडौँ से आग या' भन्दै अरूलाई सुनाउने गर्थे। मलाई अतिथि बनाउन साथीहरू इच्छा ब्यक्त गर्नुहुन्थ्यो। तर म सबैकोमा जान भ्याउँदैनथेँ। त्यतिबेला वीरगञ्जमा स्थानीय यातायातका मुख्य सवारी साधन भनेकै टाँगा र रिक्सा थिए।
२०४४ सालमा भृकुटीमण्डपमा होटल एसोसिएसन अफ नेपालको आयोजनामा फुड फेस्टिबल चलिरहेको थियो। म वीरगञ्ज चिनी कारखानामा कार्यरत भएको नाताले अन्य स्टाफको साथमा कारखानाको डिष्टिलरीबाट उत्पादित विभिन्न ब्रान्डका मदिराको स्टलमा बसेको थिएँ। ग्राहकहरूलाई आवश्यकतानुसार रम, जिन, ह्विस्की दिनुपर्ने थियो। हामी स्यान्डविच, बर्गर, रोस्ट र म:म खान भने अरूको स्टलमा जानुपर्थ्यो। आधा रातमा फेस्टिबल सकिएपछि डेरामा गएको थिएँ। कुनै समय चिनी र सुगर क्युबको पनि जिम्मा लिएर एकरात भृकुटीमण्डपको एक स्टलमा सुतेको पनि थिएँ।
बरालद्वयको तानातानमा परेँ:
वीरगञ्ज चिनी कारखानाले मलाई २०५४ सालमा 'डिप्लोमा इन कम्युटर टेक्नोलोजी' प्रशिक्षणको लागि एक मात्र सरकारी स्वामित्वमा रहेको राष्ट्रिय कम्प्युटर केन्द्र, सिंहदरबारमा मनोनयन गरी पठायो।
मैले बिहानको समयमा एक कम्पनीमा पार्टटाइम काम गर्थें। उता कारखाना दिनानुदिन घाटामा जाँदै गर्दा डुब्ने अवस्थामा थियो। उद्योग मन्त्रालयले मलाई काजमा राखेपछि मन्त्रालयका सहसचिव निरन्जन बराल र कारखानाका महाप्रबन्धक जयराम बरालको मत बाझियो। २/३ महिनासम्म निरन्जन बराल र जयराम बरालको वैचारिक द्वन्द्वमा फसेँ म। कारखानाले दुई महिनासम्म मेरो तलब नै रोकिदियो। आखिर मेरो काज सदर भयो। एकआपसमा नाता नपर्ने दुई जना बरालको विवाद पनि सकियो। डेढ वर्षपछि लोक सेवा पास गरेर निजामतीमा प्रवेश गरेपछि मेरो तनाव पनि समाप्त भयो, पछि कारखाना पनि धरासायी भयो। लोक सेवा पास नगरेको भए म त्यतिबेलैदेखि नै जन्मथलो रोल्पाको खुंग्रीमा खेतीपाती र पशुपालनमा ब्यस्त हुन्थेँ होला, प्रकृतिसँग रमाउँथे होला।
जब नमिता-सुनिताको घरमा जान्थेँ:
२०३८ सालमा पोखरामा एउटा भयानक घटना भयो, नमिता-सुनिता हत्याकाण्ड। त्यस काण्डमा मारिएकी अर्की नीरा पराजुलीको भने चर्चा हुँदैन। नमिता-सुनिताको लास भेटिए पनि निराको भेटिएन। देशभर हत्याको विरोध र हड्ताल भयो। छानबिन गरी दोषीलाई कारबाही गर्नका लागि। काण्डकै कारण देशभर आगोको ज्वाला दन्कियो। नमिता-सुनिताका बुवा माधव भण्डारीलाई सरकारले वीरगञ्ज चिनी कारखाना लि. को महाप्रबन्धक बनायो। महाप्रबन्धक भण्डारीको घरभित्र पस्दा भित्तामा टाँसिएको उनै नमिता-सुनिताको तस्वीरमा मेरो आँखा पुग्थ्यो र म भावबिह्वल हुन्थेँ। दिवंगत नमिता-सुनिताकी आमा सफला भण्डारी निराश र चिन्तित अवस्थामा देखिनुहुन्थ्यो।
पदकहरू बोकेँ, लगाउन भने पाइनँ:
२०४० देखि २०५६ सम्म वीरगञ्ज चिनी कारखाना लि. को काठमाडौं कार्यालयमा कार्यरत हुँदा कारखानाको वार्षिकोत्सवमा बीस वर्ष सेवा अवधि पुगेका कर्मचारी र मजदुरहरूलाई वितरण गरिने दीर्घसेवा पदकहरू सुरक्षितसाथ वीरगञ्ज लैजाने काम मलाई नै तोकिन्थ्यो। चाँदीबाट बनेका ती पदकहरू हरेक वर्ष माघ १६/१७ गते वीरगञ्ज पुर्याउनुपर्थ्यो। १८ गते वार्षिकोत्सव हुन्थ्यो र त्यसैदिन पदकहरू वितरण गरिन्थ्यो। काठमाडौंदेखि वीरगञ्जसम्म कुद्ने सफारी बस खुब चलेको थियो त्यस बखत। एकपटक रात्रीबसले बिहानै तीन बजे वीरगञ्ज बसपार्क पुर्याइदियो। कतिपय यात्रु झरे भने बसपार्कमा रोकिएको बसमा केही यात्रुहरू सिटमै निदाइरहे- म समेत। त्यो अँध्यारोमा उठेर कता जानू, राती भएकोले रिक्सा पनि चलेका थिएनन्। माघ महिनामा पनि लामखुट्टेले आक्रमण गरिरहेका थिए। बिहान भएपछि बल्ल रिक्सा पकडेर कारखानाको आवास क्षेत्र प्रवेश गरेँ। गेष्ट हाउसले मलाई स्वागत गरिरहेको थियो। फ्रेस भई खाना खाएर कारखाना पुगि प्रशासनमा पदकहरू बुझाइदिएँ। कारखानाले वर्षमा कर्मचारी मजदुरहरूलाई छ महिनाको तलब बराबरको रकम बोनस स्वरूप दिन्थ्यो। देशमा बहुदलीय व्यवस्था आएपछि कारखाना डुब्दै गयो। दीर्घसेवा पदक पाउन ४ चार वर्ष बाँकी नहुँदै मैले कारखानाबाट राजीनामा गर्नुपरेको थियो।
लोक सेवा परीक्षा पास गरी २०५६ माघ २५ गते जिल्ला सिँचाइ कार्यालय रसुवामा हाजिर हुनुअगाडि नै म कारखानाबाट अलग भैसके पनि मैले पाउनुपर्ने उपदानको बाँकी रकम छ महिनापछि पाएको थिएँ। किनकि कारखाना ऋणमा सञ्चालित थियो। यसरी मैले बर्सेनि अरूहरूका लागि पदकहरू बोकेँ, तर आफूले पहिरिने दिन भने आएन।
लिकेफिटले प्राण त्यागेपछि
म वीरगञ्ज चिनी कारखानामा १६ वर्ष काम गर्दा भारतीय दूतावास, मन्त्रालयहरू, त्रिवि भन्सार, साल्ट ट्रेडिङ, तारे होटलमा (विदेशीहरू बस्नको लागि) पर्ने कामहरूमा धेरै नै खटिन्थेँ। ना. अ. ४८ नम्बरको गाडीमा सवार हुन्थेँ सोका ड्राइभर रामबहादुर कार्की थिए।
कारखानाको रोटर लगायत अन्य मेसिनरी र उपकरण बेला-बेलामा बिग्रिने हुँदा मर्मत र सर्भिसिङका लागि प्राविधिक, इन्जिनियर र विशेषज्ञहरू रूस, जर्मनी, चेकोस्लोभाकिया, चीन, भारत लगायत देशहरूबाट झिकाइन्थे।
उनीहरूलाई पर्यटकीय तथा पुरातात्विक स्थल मैले घुमाउँथेँ। म कामचलाउ अंग्रेजी बोल्थेँ। जुन उनीहरूले बुझ्थे। एकपटक बडेमानको ज्यान भएका एक जर्मन नागरिक लिकेफिट वीरगञ्ज पुगेर कारखानाको सेन्ट्रिफ्युगल मेसिन (एमबिए कम्पनी जर्मनीले सप्लाई गरेको) मर्मतको काम सकेर आफ्नो देश फर्कन वीरगञ्जबाट सिमरा विमानस्थल हुँदै काठमाडौं आए।
ठमेलमा केही कलात्मक सामान खरिद गरेपछि बालुवाटारस्थित कारखानाको सम्पर्क कार्यालयमा विश्राम गरी हामी एयरपोर्टतिर लाग्यौं। मैले उसलाई एयरपोर्ट पुर्याएपछि उनले आफूसँग बचेको नेपाली २६५ रुपैयाँ मेरो हातमा थमाइदियो।
मलाई त्यो पैसा समाउन अप्ठ्यारो लागिरहेको थियो। तर त्यो नेपाली पैसा नेपाल छोडेपछि उसलाई काम लाग्ने कुरै थिएन। भोलिपल्ट बिहान उसको कम्पनीबाट खबर आयो- लिकेफिटको आकाशमै हर्टअट्याक भएर निधन भयो। म शोकाकुल भएँ। मैले उसलाई झलझली सम्झेँ। उसलाई ठमेल, म्युजियम र पुरातात्विक स्थलहरूमा घुमाएर रेष्टुरेण्टमा गएर कफी पिउँदै कुरा गरेका पलहरू झलझली याद आयो।
कुमारी हल र ‘सन्तोषी माँ’ सिनेमा
काठमाडौंमा निर्माण हुने सिनेमा हलको पहिलो सिनेमा धार्मिक सिनेमा हुन्थ्यो। यसै क्रममा २०४० सालमा कमल पोखरीको नवनिर्मित कुमारी हलमा हिन्दी धार्मिक सिनेमा ‘सन्तोषी माँ’ चलिरहेको थियो।
कारखानाका प्रबन्धक उदयलाल श्रेष्ठले नेदरल्याण्डबाट सुगर टेक्नोलोजीमा मास्टर्स गरेर फर्किएपछि सबै स्टाफहरूलाई सो सिनेमा देखाउने विचार गर्नुभएको थियो। त्यसका लागि मलाई टिकट लिन हलमा पठाइएको थियो। बेलुकीको सो भएकोले कार्यालयमा असर पर्ने कुरै भएन। प्रबन्धक उदयलाल श्रेष्ठले मलाई धेरै माया गर्नुहुन्थ्यो। गल्ती भएमा सुधारिने मौका पनि दिनुहुन्थ्यो। कसैसँग परिचय गराउँदा उहाँले आफ्नो प्रशासनिक चेलो नै भन्नुहुन्थ्यो। व्यवस्थापन, कानुन र प्राविधिक सबै कुरामा उहाँ काबिल हुनुहुन्थ्यो। पछि उहाँको असामियक निधन भएपछि मैले एउटा प्रशासनिक गुरू नै गुमाएको अनुभूति गरेँ। उहाँ मैले जिन्दगीमा कहिल्यै नबिर्सिने व्यक्तिमा पर्नुहुन्छ।
कारखाना यसरी डुब्यो
२०४८ सालको संसदीय निर्वाचनपछि नेपाली कांग्रेसको सरकार बनेपछि मुलुकको हरेक क्षेत्रमा राजनीतिकरण हुन थाल्यो।
संस्थानहरूमा संघ-संगठनहरू बन्न थाले। कोही कुन पार्टीका त कोही कुन पार्टीका समर्थक भएर संगठनमा लाग्न थाले। सरकारले आफ्ना कार्यकर्ताहरू संस्थानका विभिन्न पदहरूमा राजनीतिक नियुक्ति गरेर पठाउन थाल्यो।
म कार्यरत वीरगञ्ज चिनी कारखाना लिमिटेड ‘क’ वर्गमा पर्ने सरकारी संस्थान थियो। पहिले अध्यक्ष तथा महाप्रबन्धक एकै व्यक्ति हुने गरेकोमा सरकारले अध्यक्ष छुट्टै र महाप्रबन्धक छुट्टै व्यक्ति नियुक्त गर्यो।
सञ्चालक समितिको सञ्चालकमा सामान्य लेखपढ भएका कार्यकर्तालाई नियुक्त गरेर पठाइयो। कारखानाको व्यवस्थापकीय, कानूनी, प्राविधिक कुनै पनि ज्ञान नभएका तर पार्टीका कार्यकर्ता भएकै कारण त्यसरी अयोग्य व्यक्तिहरूलाई सञ्चालक भएपछि संस्थानको हालत के होला र? सहजै अनुमान गर्न सकिन्छ।
अरू संस्थानहरूमा पनि त्यसै भएको देखियो। पछि अरू पार्टीका सरकारले पनि यस्तै बेथितिलाई निरन्तरता दियो। फलतः सरकारी विशेषगL औद्योगिक संस्थानहरू डुब्दै गए।