२०४० सालको लाग्दो भदौमा काठमाडौँ आउनुभन्दा अघि अर्थात् किशोरावस्थामा गाउँमा रहँदा हामी घाँस, दाउरा, स्याउला, सोतरका साथै दियालो काढ्न वनतिर जाने गर्थ्यौँ। त्यति मात्र होइन गाईबस्तु चराउन पनि वनमा गइरहन्थ्यौँ। व्यस्तताले होला आक्कलझुक्कल बाहेक आमा वनमा गएको मलाई त्यति जानकारी छैन।
एक दिन म पिताजीसँग दियालो काढ्न कुटिधारा नामको वनमा गएँ। सल्लाका फेदमा घरीघरी घाउ पार्दै, दियालो निकाल्दै गर्ने र त्यसैमा आगो लगाउने काम गर्दथे गाउँलेहरू। रुखलाई घाउ बनाएर दियालो काढ्दा सल्लोलाई पक्कै पनि यातना हुन्छ होला। दुःख-पीडा बताउन नसक्नु वनस्पतिका लागि स्वाभाविकै कुरा हो।
दियालो खोज्दै र काढ्दै गर्ने क्रममा पिताजी र मेरो दूरी बढेछ। वहाँ कतै दियालो काढ्दै हुनुहुन्थ्यो भने मैले फेदमा धेरै घाउ पारिएको सल्लोबाट दियालो निकाल्दै गर्दा सल्लोको बोट नै ढलेको थियो। रुख ढलेको आवाज पिताजीले थाहा पाउनुभएछ र दौडँदै आउनुभयो र 'रुख किन ढालेको?' भनेर आक्रोशित हुनुभयो। म चुप लागेर बसी नै रहेँ। बिहानै घरबाट वनतिर लागेको र उकाली-ओराली गर्दा ज्यानमा भोक र तिर्खा थियो, कहिले घर पुगौँला र खानपिन गरौँला भनेर सोचेँ।
मैले हलो जोत्दा आमालाई चित्त बुझेको थिएन। वहाँले 'बाहुनले हलो जोत्नुहुँदैन' भन्नुहुन्थ्यो। तर म अलिक प्रजातान्त्रिक र क्रान्तिकारी सोचको भएको हुँदा आमाले भने बमोजिमको कुरालाई मैले बेवास्ता गरेँ। घरमा कुखुरा पाल्न वर्जित भए तापनि मैले तीन वटा कुखुरा पालेको थिएँ। त्यसैबाट मैले आफ्नो पकेट खर्च पनि आफै जुटाउँथेँ।
माध्यमिक विद्यालय तहमा कृषि विषयको विद्यार्थी पनि भएको र कुखुरा पालन सम्बन्धी पाठ पनि पढ्नु पर्ने भएको हुँदा पनि मैले कुखुरा पालेको थिएँ। घरअगाडि आँगनछेउमा कम्पोस्ट मल बनाउने भनेर खाडल खन्दा पिताजी झोक्किनुभएको थियो। किन कि गोठ छेउको खाडलमा परिपक्व भएको गोबर मल प्रशस्त हुँदाहुँदै कम्पोस्ट मल बनाउनुको कुनै औचित्य थिएन।
मेरो जन्मथलो रोल्पाको खुंग्री समुद्र सतहबाट ७०० मिटरको उचाइमा भएकोले औलो ठाउँमा गनिन्छ। मैले जबरजस्ती भटमास रोपेको थिएँ तर फल्ने बेला अर्थात् २०४० भदौको पहिलो सातामा म काठमाडौँ आइसकेको केही समयपछि सो भटमास अलिअलि फलेको जानकारी पाएँ।
तिँदु खान पानीचारे खोला
तिँदु खास गरी चैत वैशाखमा पाक्ने फल हो, हलुवाबेद झैँ काँचोमा टर्रो र पाकेपछि गुलियो हुने तर हरियो देखिने तिँदु टिपेर खान हामी पानीचारेखोला छेउछाउमा जाने गर्दथ्यौँ। हाल प्युठानको स्वर्गद्वारी नगरपालिकामा पर्ने डाँफेधाराको मुनितिर प्रशस्त मात्रामा तिँदु फल्ने गर्छ। पाकेको तिँदु केही दिन घाममा सुकाएर खाँदा झनै मिठो हुन्छ।
तित्री वा इम्ली खान बाहेखोला
तित्री वा इम्ली खान हामी रोल्पाको तत्कालीन मिझिङ गाउँ पञ्चायत अन्तर्गत पर्ने र कोइरालखर्कको मुनि पर्ने बाहेखोलामा जाने गर्थ्यौँ। त्यहाँ जान त्यति बेला राप्ति नदीको मुख्य शाखा नदी लुंग्री तर्नुपर्थ्यो। अहिले त्यहाँ पुग्न चेपुङ्गे र ओगिल्जामा झोलुङ्गे पुल छन्। तर त्यति बेला त्यस्ता पुल नभएका कारण अस्थायी फड्के तरेर पारितिर जाने गर्थ्यौँ।
पिचकारीका लागि खस्रे बाँस
फागु वा होरी अर्थात् होलीका लागि हामी खस्रे बाँस काटेर ल्याउन बाहेखोलामा नै जाने गर्थ्यौँ। पिचकारी वा पचाका बनाउनका लागि खस्रे बाँस नै उपयुक्त हुन्छ। म सानो हुँदा बाजेको घरको करेसातिर खेलिरहेका बेला एक जनाले पिचकारीबाट रङ-पानी प्रहार गरेपछि कानभित्र पसेर समस्या आएको थियो। सायद त्यसैले नै हो कि, हालसम्म पनि कानमा समस्या छ।
‘कुण्टेरह’ को नामकरण
ओगिल्जा भएर बग्ने लुङ्ग्री नदीमा हामी पौडी खेल्ने रहहरूमा लाँभेरह, ठूलीरह, मुलिरह र बोक्सेरह थिए/छन्। मुलिरहको पानी हेर्दा नीलो रङको देखिन्थ्यो अर्थात् गहिरो रह थियो। रहमाथि रहेको ओडारका भित्तामा परेवा वा मलेवाले गुँड बनाउने र बच्चा काढ्ने गरेको देखिन्थ्यो। मुलिरहमा हत्तपत्त पौडी खेल्ने आँट हामीमा हुँदैनथ्यो। लाँभेरह र ठूलीरहको बिचमा अर्को सानो रह थियो, जुन रहको नामै थिएन। कुण्टो जस्तो देखिने भएकोले मैले त्यसलाई कुण्टेरह भनेपछि अहिलेसम्म त्यो रहको नाम कुण्टेरह भनिँदै आएको छ। पौडी खेल्दा त्यस रहमा यदाकदा साना खालका सर्पहरू पनि देखिन्थे। हामी कुण्टेरहमा १५ फिट माथिको ढिस्कोबाट हाम फाल्ने गर्दथ्यौँ।
एक्ले पिपलका जरा
खुंग्रीबाट सुलिचौर बजारतर्फ जाँदा लाँकुरधारा र माझीखोलाको बिचमा छ एउटा पिपलको बोट। त्यो पिपललाई हामी एक्ले पिपल भन्ने गर्छौँ। हरेक ठाउँहरूमा बर र पिपल त कतैकतै शमी समेत सँगै रोपिएको पाइन्छ। तर एक्ले पिपलसँगै न बर छ न त शमी नै। चालिस वर्ष अघिसम्म पिपलको दायाँबायाँ रहेका खोल्सा माथिबाट मोटा र ठुला खालका जरा फैलिएर पुल वा फड्कै झैँ देखिन्थे। हामी पुल तरेको अनुभव गर्न ती जराबाट खोल्सो वारपार गर्न गर्थ्यौँ। अहिले भने ती जराहरू काटिएको अवस्थामा देखिन्छ।
माझीखोलाको केतुकेधारा
मूल बाटोको दुई किलोमिटर माथि रहेको माझीगाउँको छेउ भएर बग्ने माझीखोलाको पानी कतै भूमिगत र कतै बगेको देखिन्छ। टाइगर होटेलमा माझीखोलाको पानी पाइपबाट ल्याइएपछि माझीखोलामा हामीले नुहाउने गरेको केतुकेधारा अहिले छैन। पानीको मात्रा पनि साह्रै थोरै बग्छ। केतुकेधारा झर्ने कुण्टोमा ज्यादै साना माछा देखिन्थे। हामीले कुण्टोमा खुट्टा डुबाउँदा ती साना माछाले खुट्टामा कुटुकुटु टोक्दथे तर घाउ हुने कुरै थिएन। किन कि ती सानाभन्दा पनि साना माछा थिए। हामी ती माछालाई देउराली पनि भन्थ्यौँ। खासमा शब्दकोशमा देउरालीको अर्थमा ती साना भुरा माछाको नाम भने उल्लेख छैन।
चेपुङ्गेको गौचरन
हामी कहिलेकाहीँ गाईबस्तु चराउन चेपुङ्गे पनि जान्थ्यौँ, जुन पाबाङको मुनि पर्दछ। चुपुङ्गे बगरमा रहेको बेदुवा जेठाबाको खेत लुंग्रीको बाढीले सखाप पारेको उहिल्यै हामी सानो छँदै हो। बाढीले ओगिल्जाका खेत, नामिद्वालीका खेत र सारिघाटका खेत पनि बाँकी राखेन। खेतका धनी सबैमा चिन्ता छाएको त्यो दिन म अझै पनि सम्झन्छु।
जलुको हल्लाउने पानीको वेग
देउखुरी फाँटका खेत र गोधुङ फाँटका खेतमा आउने एउटा कुलो थियो जसलाई ठुलो कुलो र देउखुरीको तल्लो अर्थात् फेरातर्फका खेतहरूका लागि सानो कुलो बग्दथ्यो। हाम्रो बस्ती वा गाउँमा जाने कुलो भने अलि माथि नै थियो। सेरा भन्ने ठाउँका खेतहरूमा वैशाखमै धान रोपिन्थ्यो, वैशाखमा धान रोपिने खेतलाई स्थानीय शब्दमा जुडाखेत भनिन्छ। ती खेतहरूका लागि बग्ने सबै कुलोको पानीको बेगले जलुकाका पातहरूमा गति वा चाल पैदा गरेको र जलुकाको पात हल्लिरहेका दृश्यहरू मैले कहिल्यै पनि बिर्सिँदैन।
डोँरको खेत
देउखुरी फाँट र गोधुङ फाँटको बिचमा थोरै क्षेत्रफलको एउटा सानो फाँट छ जसलाई डोँर नाम दिइएको छ। देउखुरी भएर बग्ने कुलो डोँरखोलामा रहेको डोँरबाट ओरालो हुँदै बग्ने गर्दथ्यो। हामी डोँरमा साना ढुंगा राखिदिँदा ती ढुंगा पनि बगेर पारिपट्टि जान्थे। काठको डुँडलाई स्थानीय शब्दमा डोँर भनिन्छ। त्यस शब्दबाट नै त्यो सानो फाँटको नाम डोँर रहेको हो।
ऋतुअनुसार अलग-अलग गौचरन
खुंग्रीको प्रमुख गौचरन ओगिल्जाका अतिरिक्त अन्य स्थानमा पनि गौचरन छन्। ती मध्ये चेपुङ्गेको चर्चा माथि गरिएको छ। नाम्दालीमा पनि गाईबस्तु चराउने गरिन्थ्यो। त्यस्तै शेराको बाटो छेउछाउ, गोधुङको ढिकतिर र देउखुरीको फाँटको छेउछाउमा पनि गाईबस्तु चराउने गरिन्थ्यो। हालका दिनहरूमा गाईबस्तु पाल्न छाडेपछि घाँस त्यसै खेर जाने गरेको पाइन्छ। गाईहरू जत्तिको भैँसीलाई चराउन लगिँदैनथ्यो। भैँसीलाई समय-समयमा नफुकाएमा वा चराउन नलगिएमा खुरको आकार बढ्न गई हिँड्न गाह्रो हुने र चुइँक-चुइँक आवाज आउने हुन्छ। मैले बाल्यकालदेखि थाहा पाएअनुसार हाम्रो गोठमा च्यांग्री, कलशे, रुपा, धना नाम गरेका भैँसी थिए भने गाईका नाम झपा र जानकी थिए।
जिब्रेको साग
गाईबस्तु पाबाङको माथि मजुवा हुँदै खोरिया पसेपछि चर्न थाल्थे भने हामी माझीखोला आसपास र कालिगेडीपोखराको छेउमा बसेर घोडेपासा र बाघचाल अनि राज्य, डण्डीबियो, भुरुङ खेल्थ्यौँ। वनमा चर्दै गाईहरू अघाएर बाटोतिर झरेपछि हामी गाई धपाउँदै घरतर्फ लाग्थ्यौँ। गाईबस्तु खुलखुले र टाँरापाखा हुँदै झर्ने भए भने हामी टाकुरामा रहेको वरको बोटमुनि खेल्ने वा हाँगाहाँगा चालेर एउटा हाँगाबाट अर्को हाँगामा समाउँदै हिँड्दै गर्ने अभ्यास गर्थ्यौँ। टाकुराको वरको नजिकै कालिगेडीको झाङमुनि जिब्रेको साग टिपेर घरमा ल्याउने काम पनि गरिन्थ्यो। त्यस्तै खोरियामा पनि जिब्रेको साग पाइन्थ्यो।
कालिगेडीको मुड
कालिगेडीको कलिलो पालुवालाई हामी स्थानीय शब्दमा मुड वा ढ्याँकुर भन्थ्यौँ र भन्छौँ पनि। यसको रङ रातो देखिन्छ। मुडको बोक्रा निकालेर खाँदा मिठो लाग्थ्यो र खाने गर्थ्यौँ। त्यस्तै करेली काँडाको ढ्याँकुरको पनि बोक्रा निकालेर खाने गर्थ्यौँ, गाउँमा यसले गर्मी हटाउँछ पनि भनिन्थ्यो। साथै यो जडीबुटीको रूपमा वा आयुर्वेदिक औषधिमा गनिन्छ। करेली काँडाको जरा पनि मान्छेहरू खोजी-खोजी औषधिको रूपमा सेवन गर्दछन्।
जडन्याबगरको जरुवा पानी
देउखुरी खेतका फाँटको ढिकमुनि अहिले मोटर बाटो छ। त्यही बाटो २०३५ सालअघि गोरेटोको रूपमा थियो, पछि घोडेटो हुँदै मोटर बाटोमा परिणत भयो। त्यहीँ बाटोको मुनि जडन्याबगर भन्ने ठाउँमा जरुवा पानीको मुहान थियो। प्यास लागेको बखत त्यो जरुवाको पानी पातलाई कोप्रो पारेर वा हातको अँजुलीको सहायताले पिउँथ्यौँ। अन्यत्रको भन्दा पनि मिठो लाग्ने सो पानीको मुहानमा पोहोरदेखि लुंग्री नदीले आफू बग्ने मार्ग नै बनाएको छ अर्थात् आजकल जरुवा कहाँनिर छ अत्तोपत्तो छैन।