म कविता पढ्दिनँ किनकि बुझ्दिनँ। कविता नबुझ्नु सायद ठुलो कुरा पनि होइन। मनका भाव व्यक्त गर्न सबैको आ–आफ्नै माध्यम हुन्छ। तर कुनै कुनै कविता मनमा बास गर्छ। खासमा त्यो कविता जसमा आफ्नै कथा हुन्छ।
उहाँ अर्थात् मेरो श्रीमानको कवितामा रुचि छ। कहिलेकाहीँ लेख्नु हुन्छ र सुनाउनु पनि हुन्छ। कहिले नबुझे पनि बुझेजस्तो गर्छु, कहिले नबुझे सोध्छु। उहाँ त्यसपछि व्याख्या गर्न थाल्नु हुन्छ। मन भएको बेला रस लिएर सुन्छु, मन नभएको बेला हाई आउँछ।
उहाँलाई नि थाहा छ म कविता बुझ्दिनँ। मजस्तो प्राविधिक विषय पढ्ने अहिलेको पुस्ताका अधिकांश मान्छेलाई कविता, गजलभन्दा आधुनिक फिल्मी गीतहरू बढी मन पर्छ। म यही पुस्ताको प्रतिनिधि पात्र हुँ। पढाइले नर्स तर पेसाले सामाजिक अभियन्ता हुँ। सामाजिक कार्यमा लागेको भने धेरै भएको छैन, जम्मा एक वर्ष।
आज म मेरो कथा लेख्छु। आफ्नै कथा।
कसरी बैंगलुरुमा बसेर सपनाको उडान भर्ने एक जना केटी परिवर्तन भई? विदेशको सपना हेर्ने एक जोर आँखा कसरी स्वदेशमै केही गरूँ भनेर प्रतिबद्ध भई? कसरी म एक्कासि एक अल्लारे केटीबाट जिम्मेवार बुहारी भएँ?
कुराको सुरुआत गरौँ कोरोना कालबाट। त्यति बेला म भारतको बैंगलौरबाट बिएससी नर्सिङ पढेर त्यहीँ एउटा इन्सुरेन्स कम्पनीमा मेडिकल अफिसरको रूपमा काम गर्दै थिएँ। आम्दानी यति थियो कि मैले आफ्ना लागि सोच्नु पर्दैनथ्यो। केही पैसा घरमा पनि पठाउन सक्थेँ र २–३ महिनामा भारतका विभिन्न ठाउँहरूमा घुम्न पनि जान सक्थेँ। आफ्नो रुचि अनुसारको पहिरन र खानपानको लागि अभाव हुन्थेन।
तर त्यही बिचमा कोरोना महामारी सुरु भयो। चारैतिर त्राहिमाम् भयो। लकडाउन घोषणा गरियो। कम्पनीहरूले 'वर्क फ्रम होम' चलाउन थाले। पहिलो लकडाउन केही खुलेपछि घरबाट बोलाहट आउन थाल्यो। आफूलाई पनि घरको चिन्ता भइरहेको थियो। त्यसैले टिकट पाउन साथ घर फर्किएँ।
घर आउँदा एक/दुई महिना त मानौँ उत्सव नै थियो। त्यसपछिका केही समय पनि सामान्य नै थियो। तर त्यसपछि सुरु भयो बिहेका कुरा। सुरुमा नाइँनास्ती त गरेँ तर नाइँ भनिरहन कुनै आधार पनि थिएन। पढाइ पूरा भएको थियो। जागिर गरी नै रहेको थिएँ, उमेर पनि पुगेकै थियो। समस्या थियो त केवल मानसिक रूपमा तयार नभएको कुरा। तर जब सबै तिरबाट त्यही कुरा आउन थाल्यो, तब नाइँ भनिरहने ठाउँ नै रहेन। बाध्यतावश भनूँ वा आफ्नै मनले 'हो' भन्नुको विकल्प रहेन।
मेरा केही आफन्तहरू जनकपुरमा बस्नु हुन्छ। त्यसै मध्येका एक जना मेरी माइजू उहाँ (श्रीमान्) को साथी। साथी पनि कस्तो भने उहाँको जीवन यात्राका साक्षी पात्र।
माइजूले उहाँको बारेमा मलाई सुनाउन थाल्नु भयो। हरेक जसो गफगाफमा उहाँको बारेमा सुनाइरहँदा म बिस्तारै उहाँप्रति आकर्षित हुँदै गएँ। संयोग पनि कस्तो भने म माइजूसँग एक दिन जनकपुर घुम्न गएको थिएँ। माइजूले कुनै बहानामा उहाँलाई पनि घर बोलाउनु भयो। उद्देश्य थियो हाम्रो भेट गराउने।
उहाँलाई भेटेपछि लाग्यो, यो मान्छेलाई जीवनसाथी बनाउन सकिन्छ। माइजूले राति मेरो फेसबुकबाट उहाँलाई फ्रेन्ड रिक्वेस्ट पठाइदिनु भयो। नभन्दै उहाँले पनि एसेप्ट गर्न भयो। त्यसपछि सुरु भयो गफको शृङ्खला। उहाँको रुचि कवितामा छ भन्ने कुरा माइजूबाट सुनेको थिएँ। मैले कुराकानीको क्रम कविताबाटै सुरु गरेँ। तर कवितामा म शिशु कक्षाका विद्यार्थी र उहाँ मास्टर्स गरेको शिक्षक। म कति बेर टिक्थेँ र उहाँको अगाडि। मेरो कविताप्रतिको अशिक्षा एकछिनमै छताछुल्ल भयो। तर यसले हाम्रो बिचको गफगाफको शृंखला सुरु गरिसकेको थियो।
त्यतिन्जेल हाम्रो बिहेको केही पनि कुरा भएको थिएन। हामी साथीजस्तै कुरा गर्थ्यौँ, कहिले के विषयमा त कहिले के विषयमा। तर बिस्तारै गफको क्रम बिहेवारी तिर सोझिन थाल्यो। मेरो घरको तर्फबाट उहाँलाई बिहेको अनौपचारिक प्रस्ताव गयो। उहाँले तत्कालै निर्णय दिनु भएन। तर हाम्रो बिचमा गफगाफ भई नै रह्यो। समय बित्दै गयो, कोरोना अझै सहज हुँदै गयो। म बैंगलुरु फर्किने भएँ।
बैंगलुरु फर्किसकेपछि म मेरो जीवनको नयाँ यात्रा आरम्भ गर्न चाहेको थिएँ। त्यसैले म मास्टर्समा भर्ना भएँ। अबको योजना थियो, पढाइ र कमाइ सँगसँगै गर्ने। तर मनको एउटा कुनामा आशा थियो– उहाँले ‘हुन्छ’ भन्नु हुन्छ। उहाँले यसको संकेत पनि गर्नु भएको थियो। नभन्दै केही दिनमै उहाँको घरको तर्फबाट सकारात्मक जवाफ आयो। बिहे हुने पक्का भयो। दिन पनि तोकियो। अब हामी सामाजिक सञ्जालमा कुरा गर्ने एक जोडी साथी मात्र होइन, एकअर्काको मंगेतर भइसकेका थियौँ।
बिहेको लागि बैंगलुरुबाट फर्किरहँदा सोचेकी थिएँ– बिहेपछि बैंगलुरु फर्किन्छु, मास्टर्स गर्छु, यहीँ काम गर्छु र मास्टर्स गरिसकेपछि विदेशको लागि प्रयास गर्छु। मेरो योजना थियो, उहाँलाई मनाउने र बैंगलुरु फर्किने।
तर आफूले सोचेको हुँदो रहेनछ। बिहे पछि मेरो जीवन १८० डिग्री परिवर्तन भयो।
बिहे भएको ७ औँ दिन द्विरागमन गरेर ससुराल जाँदा घर पूरै पाहुनाले भरिएको थियो। ५ जना फुपू, ३ जना दिदी, माइजू, सानीमा तथा भान्जाभान्जी लगायत अन्य गरेर २५–३० जना पाहुनाहरू थिए। द्विरागमन भएको चार दिनसम्म त कोहबरमै बसेँ, केही गर्नु परेन। त्यसपछि बिस्तारै घरका पाहुनाहरू जाँदै गए र म घरको जिम्मेवारीमा आउँदै गएँ।
म र मेरी सासूको बिचमा ४५ वर्षभन्दा बढीको अन्तर छ। खासमा नातामा सासू भए पनि उमेरमा मेरो हजुरआमा बराबर हुनुहुन्छ। उमेरको यो पडावमा सासू बन्दाको हर्षको सीमा नै हुँदैन। यस्तोमा म बैंगलुरु फर्किने कसरी भनूँ? दुई/तीन हप्ता यस्तोमै बित्यो। एक दिन हिम्मत गरेर उहाँलाई आफ्नो योजना सुनाएँ। उहाँले केही बोल्नु भएन। एक/दुई दिनपछि फेरि सोधेँ। उहाँले उपयुक्त समयमा घरमा कुरा गर्ने भनेर आश्वासन दिनु भयो।
भर्खर बिहे गरेर ल्याएको बुहारी, फर्किने कुरा गर्नु सजिलो पनि त थिएन। दुई/चार दिन त्यसमै बित्यो। यता बिहे गरेको एक महिना भइसकेको थियो। उहाँले एक दिन घरमा मेरो बैंगलुरु फर्किने योजना सुनाउनु भयो। बुवा अर्थात् मेरो ससुराले पढाइको लागि जान अप्ठ्यारो छैन भन्नु भयो। तर सासूआमा सायद त्यति सन्तुष्ट हुनुहुन्थेन।
यतिकैमा मेरो महिनावारीको समय भइसकेको थियो। सायद डिलेड पनि। पहिला पनि दुई/चार दिन ढिलो भएकोले मैले खासै वास्ता गरेको थिइनँ। तर जब एक हप्ता भयो, मैले उहाँलाई 'प्रेग्नेन्सी टेस्ट किट' ल्याइदिन भनेँ। जाँच गर्दा त 'पोजेटिभ' देखियो। अब म खुसी हुनु कि दुखी! केही सोच्न भ्याइरहेको थिइनँ। दुखी होऊँ, योभन्दा बढी खुसीको के कुरा होला? खुसी होऊँ, मेरा सबै योजनाहरू विफल भइरहेको देखेँ। न बोल्न सकिरहेको थिएँ, न हाँस्न नै। बिहेको लागि लिएको एक महिना बिदा सकिसकेर थप १५ दिनको समय पनि सकिन लागेको थियो। कलेजमा क्लास सुरु भइसकेको थियो।
यता म गर्भवती भएर घरमा बसिरहेको थिएँ। न अगाडि जान सक्ने अवस्था थियो, न पछाडि फर्किने। उहाँले ढाडस दिइरहनु भयो तर म किंकर्तव्यविमूढ भएर बसिरहेको थिएँ। सायद जीवनको सबैभन्दा अप्ठ्यारो अवस्था हुन्छ, योजना नभएको अवस्था। बच्चा मेरो योजनामा थिएन र मेरो योजनाको अब कुनै भविष्य थिएन।
उहाँले यदि म आमा बन्न तयार नभए बच्चा नराखौँ पनि भन्नु भयो। तर मैले बच्चा जन्माउने निर्णय सुनाएँ। उहाँ साह्रै खुसी हुनु भयो।
यता मेरो जागिर, पढाइ सबै धरापमा गयो। मैले बैंगलुरु नफर्किने निधो गरेँ। यो निर्णयसँगै एउटा अल्लारे केटी एक जिम्मेवार बुहारीको रूपमा परिणत भएँ। एक जागिरे केटी गृहिणीमा सीमित भएँ। एक घुमन्ते केटी ससुरालको एउटा घरमा सीमित भएँ। सपनाका चराहरू घर फर्कन लागेका थिए। जीवनको एक अध्याय सकेर अर्को अध्याय सुरु हुन लागेका थिए।
समय साँच्चिकै बलवान हुन्छ। यसले जस्तो सुकै मान्छेलाई गलाउँछ, थकाउँछ र सिधा पार्छ। यो अल्लारे केटी पनि समयको चापमा परेर सिधा हुँदै गई।
गर्भावस्था एक जटिल प्रक्रिया हो। यो अवस्थामा चिडचिडापन तथा मुड स्विङ एकदमै भइराख्छ। म पनि अपवाद थिइनँ। एक त मेरो पढाइ र करियर समाप्त भएको थियो, अर्को मेरो भविष्य अनिश्चित भएको थियो। गर्भावस्थाको लागि पनि म तयार थिइनँ। यस्तो अवस्थामा म त्यसै 'फ्रस्टेट' थिएँ, त्यसमाथि गर्भावस्थासँग सम्बन्धित जटिलताहरूले म झगडालु भएको थिएँ।
मेरो श्रीमान्को बहिनी छैनन्, दुई जना दिदीहरू हुनुहुन्छ। दुवै मेरी आमा र सानिमा उमेरको। फेरि उहाँहरू आफ्नै घरमा बस्ने। त्यसैले घरमा कोही पनि समय व्यतीत गर्न गफ गर्ने मान्छे थिएन। पुस्तान्तरले गर्दा म खुल्न सक्ने अवस्था पनि थिएन। मलाई टिभी र मोबाइल त्यसै पनि मन पर्दैन। त्यसैले टाइम पासका लागि अरू माध्यम नै थिएन। उहाँसँग मात्रै कति गफ गर्नु? देवर पनि काठमाडौँ बस्ने।
म एकदम निराश हुँदै गइरहेको थिएँ। यसको सिकार उहाँ बन्ने गर्नु हुन्थ्यो। मैले कति पटक बिना कारण उहाँसँग झगडा गरेको छु। उहाँ धेरै पटक सहनु हुन्थ्यो, सम्झाउनु हुन्थ्यो र मनाउनु हुन्थ्यो।
लक डाउन सहज हुन लागेको थियो। अफिसहरू पनि खुल्न लागेका थिए। उहाँको पनि अफिस खुल्ने जानकारी आयो। अब उहाँ केही दिनमा काठमाडौँ जाने कुरा गर्नु भयो। म गाउँमा एक्लै बस्ने वातावरण थिएन। गाउँमा कुनै सुविधा थिएन। चेकअपको लागि पनि जनकपुर जानु पर्ने, ल्याउने पुर्याउने कोही थिएन। यस्तोमा म पनि उहाँसँगै काठमाडौँ नै जाने निर्णय गरेँ।
काठमाडौँ गएपछि वातावरण अलि सहज भयो। त्यहाँ देवर थिए। मैले मेरो बहिनीलाई पनि बोलाएँ। मेरा भाइहरू पनि आए। काठमाडौँमा यति जना भएपछि टाइम पास हुन कुनै समस्या भएन। म बाहिर घुम्न जान थालेँ। मधेसमा बुहारी बाहिर घुम्न जाने कल्पना पनि गर्न सकिन्न। यहाँ म आजाद थिएँ। निराशा कम भएको थियो तर पढाइ र करियरको चिन्ता भने अझै भइराख्थ्यो।
एक दिन उहाँले प्रस्ताव राख्नु भयो, यो समयलाई त्यसै बरबाद गर्नुभन्दा बरु केही पढे राम्रो। मलाई पनि त्यसै समय बरबाद गरेको मन परेको थिएन। मैले मास्टर्स पढ्ने निर्णय गरेँ। तर के पढ्ने? उहाँले केही विषयहरूको प्रस्ताव गर्नु भयो। प्रस्ताव गरेको विषयमा मलाई 'जेन्डर स्टडिज' पढ्न मन लाग्यो।
म फेरि मास्टर्स पढ्ने विद्यार्थी भएँ। अब समय सक्रिय र उपलब्धिपूर्ण तरिकाले व्यतीत हुन थाल्यो। निराशा पनि धेरै कम भइसकेको थियो।
गर्भावस्थाको छ महिना बितिसकेको थियो। पेटमा हलचल महसुस हुन थालेको थियो। पहिलो पटक शिशुको हलचल महसुस गर्दाको अनुभूति अद्भुत थियो।
मास्टर्स पहिलो सेमेस्टरको परीक्षाभन्दा अगावै छोरी जन्माएँ। छोरी जन्मिएपछि म पूर्ण भएको महसुस हुन थाल्यो। जति पटक उनलाई काखमा लिन्थेँ, मुटुमा अजीव हलचल हुन्थ्यो। गर्भवती बेलाका सबै निराशा हराएर गयो। अब मेरो संसार छोरीको वरपर घुम्न थालेको थियो। मेरो काम दुइटा मात्र थियो; छोरीको स्याहार र मास्टर्सको पढाइ।
अब म अलिअलि कविता पनि बुझ्न थालेको थिएँ। कविता के हो? भावनामा चढाउने शब्दको जलप न हो। मलाई संसार सुन्दर लाग्न थालेको थियो।
सुनको चुरा, सुनको माला, पैसा गन्नुभन्दा
के हुन्छ र खुसी बढी, आमा बन्नुभन्दा?
यता जेन्डर स्टडिज पढिरहँदा मेरा केही प्रश्नहरूको आंशिक उत्तर पनि पाइरहेँ। जस्तै मेरो पहिलो प्रश्न थियो– छोरी मान्छेले नै किन त्याग गर्छन्? त्यसको उत्तर पाएँ– सामाजिक संरचनाको कारण।
समय बित्दै थियो। कमी अब एउटै कुराको थियो– जागिरको। बिच-बिचमा कति ठाउँमा जागिरको लागि आवेदन दिएँ। कहिले इन्सुरेन्स कम्पनीमा त कहिले नर्सिङ कलेजमा। कति ठाउँमा छनोट पनि भएँ। तर जागिर अपायक हुने, त्यसैले गरिनँ। जागिरको लागि हतार पनि थएन।
यत्तिकैमा उहाँको अफिसमा स्टाफ कटौती हुने भयो। एक महिनाको सूचना दिएर उहाँलाई पनि हटाइयो। म एकदमै चिन्तित भएँ। एक मनले भनिरहेको थियो– अहिले म पनि जागिरे भएको भए यतिको चिन्ता त हुन्थेन। एक महिना बित्यो, दुई महिना बित्यो तर जागिर भएन। यतिकैमा दसैँ आयो। हामी सबै गाउँ फर्कियौँ। गाउँमै हुँदा उहाँले अर्को जागिर पाउनु भयो। तर ड्युटी स्टेसन जनकपुर।
उहाँ जनकपुर बस्ने भएपछि म पनि जनकपुर जाने योजना बनाएँ। बच्चालाई लिएर एक्लै काठमाडौँमा बस्न सक्ने वातावरण थिएन। यही बिचमा एउटा भ्याकेन्सी आयो। जनकपुरको एउटा एनजिओमा स्वास्थ्य तथा लैङ्गिक अधिकृतको लागि आवेदन माग गरिएको थियो। म नर्सिङको विद्यार्थी र लैङ्गिक अध्ययनमै मास्टर्स गरिरहेको थिएँ, यो जागिर मेरै लागि हो जस्तो लाग्यो। आवेदन दिएँ र छनोट पनि भएँ। जनकपुर नफर्किँदै मैले जागिर पाइसकेको थिएँ। अब म ‘पूर्ण’ होइन ‘सम्पूर्ण’ भइसकेको थिएँ।
मैले काम गर्ने लक्षित वर्ग भनेको मुख्यतः सीमान्तकृत समुदायका किशोर–किशोरी हो। किशोर–किशोरीलाई प्रजनन स्वास्थ्यसम्बन्धी जनचेतना अभिवृद्धि गर्नु मेरो मुख्य कार्य हो। जनचेतना अभिवृद्धिका लागि विभिन्न माध्यमहरूको प्रयोग गरिन्छ। हामीले प्रयोग गर्ने एउटा माध्यम हो, उनीहरूलाई जागृत गर्नु। जागृत गर्न विभिन्न सेसनहरूको प्लान गरिएको छ। त्यसमध्ये एउटा सेसन हो, सपना जगाउने। सपना जगाउने सेसन किन महत्त्वपूर्ण छ भने, सपना देख्नु नै कुनै पनि गन्तव्यको लागि पहिलो प्रस्थान बिन्दु हो।
म किशोरीहरूसँग बसेर त्यही सेसनमा छलफल चलाइरहेको थिएँ। त्यसै क्रममा मैले एक जनालाई सोधेँ– 'तिम्रो सपना के हो?'
उसको जवाफले एक छिन हाँसेँ र सँगसँगै झसङ्ग पनि भएँ। १५ वर्षीय किशोरीको जवाफ थियो– 'बिहे गर्ने।'
बिहे गर्नु पनि सपना हो र? यो जवाफले मलाई मेरो समाजको वास्तविक अनुहारसँग परिचय गरायो। मेरो समाज कति पिछडिएको छ भन्ने एउटा सूचकको रूपमा मैले यो जवाफलाई लिएँ।
भारतीय सुप्रसिद्ध कवि 'पास'को एउटा कविताको हरफ छ- 'सबसे खतरनाक होता है हमारे सपनोका मर जाना' अर्थात् हाम्रो सपना मर्नु/सपना हेर्ने हिम्मत मर्नु सबैभन्दा खतरनाक अवस्था हो। मैले मेरो समाजको खास गरी सीमान्तकृत समुदाय र त्यसमा पनि किशोरीहरूको सपना मरिसकेको अवस्था देखेँ जुन एकदमै खतरनाक हो।
एउटा अर्को घटनामा एक जना बहिनी जो सायद २१/२२ वर्ष पूरा गरेकी पनि थिइनन्, उनको ५ वटा बच्चा रहेको पाएँ। परिवार नियोजनको बारेमा थाहा छ तर धार्मिक रूढिवादको कारण त्यसको प्रयोग गरिँदैन। प्रयोग गर्ने मन छ तर परिवारको समर्थन नपाइने थाहा छ। त्यसैले त्यसका बारेमा सोच्दा पनि सोच्दैनन्।
अहिलेको समयमा मधेसी ग्रामीण समाजको सबै भन्दा ठुलो चिन्ता हो छोरी भाग्ने वा भनौँ 'भागी बिहे गर्ने' चिन्ता। यो किन बढेको छ भने किशोरीहरू भागेर बिहे गर्ने दर बढेको छ। त्यसैले आमाबुबाले उमेर नपुग्दै बिहे गरिदिन्छन्। त्यसैले भागी बिहे र यसबाट सृजित बालविवाह मधेसको सबैभन्दा ठुलो समस्याको रूपमा देखा परेको छ। समुदायले यसलाई आफ्नो प्रतिष्ठासँग जोडेको छ र अभिभावकले छोराछोरीको सामाजिक परम्पराअनुसार बिहे गराइदिए आफ्नो जिम्मेवारीबाट ‘मुक्त’ भइने ठान्छन्।
छोराछोरीले आफ्नो मर्जीले बिहे गरे ‘नाक काटिने’ डर एकदम भयावह छ, विशेषतः अन्तरजातीय बिहे समाजले रुचाउन/पचाउन सक्दैन। यो विषय यति गम्भीर छ कि यसमा सार्वजनिक बहस पनि हुँदैन। न त स्थानीय सरकार यो विषयमा गम्भीर र न स्थानीय राजनीतिक कार्यकर्ता। कथंकदाचित कसैले यो विषय उठाए पनि अभिभावकले गर्ने प्रश्न एउटै हुन्छ– 'मेरो छोरी भाग्यो भने तपाईँले जिम्मा लिनु हुन्छ?' अनि सब निरुत्तर हुन्छन्।
एका तिर अभिभावकको यस्तो मनोदशा छ र अर्कोतिर किशोरीहरूको बिहेप्रतिको उत्कट चाहना। मधेसी समाजको गतिरोधको एउटा कारकको रूपमा यो रहेको र यसले समाजलाई अघि बढ्नबाट रोकिरहेको मैले अनुभव गरेँ।
किशोरकिशोरीमा यौन चाहना हुनु र त्यसको लागि उनीहरू विवाह गर्न चाहनु पछाडिको मनोविज्ञान बुझ्न कुनै विश्वविद्यालय जानु पर्दैन। यो सामान्य कुरा हो। यसबाट बाहिर निकाल्ने काम विद्यालयको हो। विद्यालयले यो उमेरमा हुने शारीरिक, मानसिक र मनोवैज्ञानिक परिवर्तनहरूको बारेमा किशोर किशोरीहरूलाई सिकाउनु पर्छ तर विद्यालयमा यस विषयमा चर्चा हुँदैन। प्रजनन स्वास्थ्यको बारेमा शिक्षकहरू छिर्नै चाहँदैन। परिणामस्वरूप नियमित विद्यालय जाने किशोर–किशोरीलाई पनि प्रजनन स्वास्थ्यको विषयमा थाहा छैन। अझ विद्यालय नजाने किशोर किशोरीलाई कहाँबाट थाहा होस्।
म आफै विद्यार्थी हुँदा पनि शिक्षकले यो विषयमा छिर्नै नचाहने देखेको थिएँ। शिक्षकहरू यो विषय कहीँ पढाउन थाल्यो भने छात्राहरू कक्षाबाट निस्किदिने गर्थे। तर त्यो १०–१२ वर्ष अगाडिको कुरा हो। अहिले प्रविधिको विकास भएको छ। मलाई लागेको थियो, प्रविधिको विकासले धेरै परिवर्तन भएको होला, तर अहँ, छैन। शिक्षक तथा विद्यालयको वातावरणमा परिवर्तन भएकै छैन। शिक्षकले खुलेर पढाउँदैन।
मैले काम गर्ने समूहका किशोरीहरूमध्ये अधिकांशले बिचमै पढाइ छोडेका छन्। उनीहरूलाई प्रजनन, किशोरावस्थामा हुने शारीरिक, मानसिक र भावनात्मक परिवर्तनलगायतका विषयमा थाहा नै छैन। बिचरीहरूले कसरी थाहा पाउन! जहाँ विद्यालय जस्तो ठाउँमा यो विषय पढाइ हुँदैन त्यहाँ समुदायमा यसको चर्चा हुने परिकल्पना पनि गर्न सकिँदैन।
पहिले सुन्ने गर्थेँ, मधेस प्रदेश शिक्षा र स्वास्थ्यको सूचकाङ्कमा पछाडि छ तर म पत्याउँदिन थिएँ। लाग्थ्यो, दिनदिनै यतिका विद्यालय खुलेका छन्, यतिका अस्पताल थपिएका छन्, कसरी पछाडि हुन सक्छ? तर जब समुदायमा गएर हेरेँ अनि थाहा भयो, हाम्रो समुदाय कति जटिल र पछाडि छ।
नेपालको सबैभन्दा कम साक्षरको सूचीमा सबैभन्दा अगाडि मधेस प्रदेश छ। यस प्रदेशको ८ वटै जिल्ला टप १० भित्र पर्छ। पूरै प्रदेशको साक्षरता दर मात्र ६३.५ प्रतिशत छ र महिला साक्षरता प्रतिशत ५४.७ छ। हुन त अरू तथ्याङ्कले जस्तै इन्सेकको एउटा अध्ययनले महिला साक्षरता प्रतिशत ३८.८८ मात्र रहेको देखाउँछ। मैले काम गर्ने पालिकाहरू धनुषा जिल्लाको क्षिरेश्वरनाथ र धनुषाधाममा क्रमशः ५२.५ प्रतिशत र ५१.२ प्रतिशत महिला साक्षरता रहेको देखिन्छ। आधा–उधी जनसङ्ख्या निरक्षर रहेको समाजमा कस्ता-कस्ता सामाजिक समस्याहरू हुन्छ र हुनसक्छ, अनुमान लगाउन सकिन्छ। मैले ती समस्याहरूलाई मात्र तथ्य र तथ्याङ्कमा होइन, आफ्नै आँखाले देख्न पाएँ, पाइरहेको छु।
त्यसैले मैले निधो गरेँ, सके जति यो समुदायको लागि गर्छु। मैले मेरो जागिरमा अर्थ भेटेँ र यो मेरो लागि फगत एउटा जागिर रहेन, यो समाज बुझ्ने ऐना भयो, अभियान भयो।