४१ वर्षअघि जब म रोल्पाको खुंग्रीमा रहन्थेँ, तमाम प्राकृतिक अनुभवहरू बटुलेको थिएँ।
२०४० सालमा राजधानी काठमाडौं छिरेपछि ती अवसरहरूबाट बञ्चित हुन पुगेँ। गाउँमा रहँदा दुःख हुँदाहुँदै पनि प्रकृतिसँग रम्दा दुःखलाई दुःख मानिँदैनथ्यो। सहरको कोलाहल र गञ्जागोलले ती रमाइला क्षणहरू मेटाउन खोज्यो, तर मेटिएनन्।
काठमाडौंमा रहे पनि सपनामा जन्मथलो नै देख्छु, उतै विचरण गरेको हुन्छु अनि रमाउँछु। जब बिहानीको निद्राले नेटो काट्छ अनि म पुनः सहरको अप्राकृतिक वातावरणमा जेलिन पुग्छु। सहरको ध्वनी प्रदूषण, वायु प्रदूषण, पानीको संकट, मान्छेहरूको मानसपटलमा स्वार्थका भकारी, अहंकार अनि तँछाड-मछाड।
मेरो जन्मथलोमा त्यसबखत प्रशस्त आँप र केराहरू फल्ने गर्थे। आँपका रूखका नामहरू पनि रङ र स्वादका आधारमा राखिएका थिए। जति पाके पनि अमिलो भैरहने आँपका नाम चुकाआँप थियो। एउटा चुकाआँप हालको मुख्यसडकको बीचमा रहेको थियो भने अर्को चुकाआँप चेत प्रसाद सुवेदी ठूलोबाको बाँसघारीस्थित घाँसेमैदान अर्थात् स्थानीय शब्दमा खर्यानमा थियो।
एउटा सिन्दुरे आँप सुवर्ण सेनको घरमुनिको कुलोको डिलमा थियो भने अर्को सिन्दुरे आँप विचारी काका (नवबहादुर आचार्य) को बारीको बीचमा थियो। हाम्रो बाको अंशमा परेको जग्गामा भने एउटा कल्लीकोसे र अर्को नुनढुके आँप थियो। अहिले कल्लीकोसे र नुनढुके आँपको बोट ढालिएर अस्तित्व नै मेटिएको छ भने बाले नै २०३० सालतिर प्युठानको खलंगास्थित कृषि कार्यालयबाट ल्याएर रोप्नुभएको कलमे आँपले अहिले धेरैको मन प्रसन्न गराउँदैआएको छ। त्यो आँपको नाम नै कलमे आँप भएको छ। किशोरावस्थामा सिन्दुरे आँपको रूखमा चढेर पाकेको आँप टिपेर हाँगामै बसेर चुसेर खाएका ती दिनहरू मेरो मानसपटलमा अझै ताजै छन्।
खुंग्रीचौरका डम्बर गिरीको घरनिरको बोटमा भने एक किलोभन्दा बढी वजनका आँप फल्थे। हाम्रो गाउँ खुंग्रीबाट पहिले डोकोबाट बोकाएर सदरमुकाम लिवाङसम्म पनि पाकेको आँप लगिन्थ्यो। आँपका अन्य नामहरूमा मिठी आँप, चिनी आँप, बम्बई आँप, जगल्टे आँप, लोरे आँप, पेदी आँप, डल्ले आँप, भदौरे आँप, कालि आँप, सुपारे आँप, दियाले आँप थिए।
दियाले आँपमा सल्लाको खोटोको बास्ना पनि आउँछ। हाल कतिपय आँपका बोटहरू ढालिएका छन्। फर्निचर बनाउन वा घर बनाउँदा चिर्पटका लागि आँपको काठ उत्तम मानिन्छ।
लेखकले सम्झिए अनुसार खुंग्रीको प्रमुख घाँसे मैदान भनेर चिनिने ओगिल्जामा ठाउँ-ठाउँमा आँपका समूहहरू छन्। हामी आँप खानको लागि ढुंगा प्रहार गरेर पाकेको आँप झार्थ्यौं भने सजिला बोटहरूमा चढेर पाकेको टिपेर साथमा लगेको चक्कुले ताछेर स्वादसँग पेटभरि आँप खानेगर्थ्यौं भने बस्तीतिरका आँपहरूको रूखमा चढेर आँप खाने गरेका थियौं।
एकपटक आँपको रूख चढ्न खोज्दा समातेको फेदको सुकेको बोक्रा फुत्किएर झण्डै भुइँमा खस्नुपरेको थियो। मुटु सिरिङ भएपछि आँप खाने योजना रद्द गरेर भुइँमा झर्नुपरेको थियो। सिन्दुरे आँप भुइँबाट हाँगामा हेर्दा निकै लोभलाग्दा र आकर्षक देखिन्थे। चक्कु लिएर रूखमा चढेर पाकेका सिन्दुरे आँप खाँदा ज्यादै सन्तुष्टि प्राप्त हुन्थ्यो। राप्ती भेगतिर आँपका देहायका परिकारहरू पनि बनाइन्छ।
अम्चुरः
राप्ती भेगमा आँपमा हाड चढ्नुअघि गाउँमा अम्चुर काट्ने चलन छ। रूखमा चढेर हाँगा हल्लाएर झार्ने वा लामो लठ्ठी वा अंकुसेले झारेर डोकाबाट घरमा ल्याई विशेषगरी फुर्सदमा रहेका महिलाहरूले अम्चुर काट्ने र सुकाउने चलन परापूर्वककालदेखि नै हो। गुलियो खालको आँपको अम्चुर हुँदैन। काँचो आँप काटेर सुकाएको सुकुटीलाई अम्चुर भनिन्छ। सुकाएपछि कुनै गाढा खैरो र कुनै कालो पनि देखिन्छ। कोक्याउने खालका बाँको, कर्कलो, गाभा र जलुको पकाउँदा अम्चुरको आवश्यकता पर्दछ। राप्ती भेगतिर अन्य तरकारीहरूमा पनि अम्चुर उत्तम मानिन्छ, अचारहरूमा समेत अम्चुरको प्रयोग गरिन्छ। तील वा भाँगोमा अम्चुर मिसाएर ढिँकीमा कुटेपछि पछिसम्म खाने छोप बन्दछ। हाल गाउँघरमा ढिकीको संख्या घट्दै गएको पाइन्छ। विद्युत पुगेको ठाउँमा ग्राइण्डरबाट नै छोप बनाउने चलन आइसकेको छ।
अमटः
मीठो खालको पाकेको आँप बोक्रैसँग उसिनेर, निचोरेर ठूला आकारका थाल वा नांग्लोमा पिँधतिर तोरीको तेल लगाएर सुकाइन्छ। आवश्यकतानुसार त्यसमा आँपको लेदो थप्ने पनि गरिन्छ। पछि आँपको सिजन गएपछि अमट खाँदा आँप खाएझैँ आनन्द र मिठासको अनुभूति हुन्छ।
त्यस भेगतिर गुच्चाभन्दा ठूलो हुँदाबित्तिकै आँपलाई सिलौटामा थिचेर अचार वा चटनी बनाइन्छ त्यसलाई राप्तीभेगतिर कुचा भनिन्छ। यसमा पुदिना वा तील वा भाँगो पनि मिसाइन्छ। यस कुचा वा चटनीले खानालाई रुचिकर बनाइदिन्छ। हड्डी चढ्दा बित्तिकैको आँपलाई जोडबलले काटेर वा फ्याँक पारेर मरमसला प्रयोग गरेर पछि खानको लागि सिसीमा खाँदेर अचार राख्ने चलन पनि छ। यसमा गुड अर्थात् भेली प्रयोग गरिन्छ।
आँपपछि खुंग्रीतिर चिउरीको बढी महत्व छ। चिउरी असोजको अन्तिमदेखि मंसिरको पहिलो हप्तासम्म फुल्ने गर्दछ। चिउरीको फूलको झुप्पामा चिउरीकै पातले छ्यापछ्याप पार्दा पातमा टाँसिएको रस चाट्दा पनि निकै मजा हुन्थ्यो। चिउरीको एक झुप्पामा २५/३० वटा फूलहरू हुन्छन्। पातमा रस झार्दा काला मसिना कीराहरू र सेतो धुलो वा पराग पनि झर्थ्यो। कीराहरू तुरून्त उडिहाल्थे भने हामीहरू पराग र गुलियो रस चाटेर खान्थ्यौं। आजकल डाबर नेपाल लगायतका अन्य मौरी फार्महरूले रोल्पा-प्यूठानको माडिखोला भेगतिर मौरी चराउनको लागि लैजाने र खुंग्रीका केही स्थानहरूमा समेत दर्जनौं घारहरू राख्ने गरेको पाइन्छ। त्यसरी उत्पादन गरिएको महमा चिउरीको रसको सुगन्ध आउँछ।
वैशाखमा पाक्ने चिउरीलाई वैशाखे चिउरी भनिन्छ भने साउनमा पाक्ने चिउरीलाई साउने चिउरी भनिन्छ। चिउरी बाँदरका लागि पनि उत्तम फल हो। चिउरी पाकेपछि फलको रस खाने र त्यसको गेडा वा विजौला संकलन गरेर चिउरी घिउ बनाउने चलन छ। चिउरी घिउ मिलमा पेल्न कठिन हुने हुँदा स्थानीय यन्त्र वा काठेकोलमा नै पेल्नुपर्ने हुन्छ। चिउरी घिउमा पकाएको फिनी रोटी र अन्य रोटी सफेद देखिने र तेलमा पकाएकोभन्दा मीठो पनि हुन्छ।
राप्ती भेगमा पाइने अन्य फलफूलहरूमा निम्न प्रकारका उत्पादन हुने गर्दछन्।
बेलौती अर्थात् अम्बाः बेलौती वा अम्बा खुंग्रीको अर्को फलफूलको नाम हो। मुन्टा भएका अम्बा स्थानीय वा रैथाने हुन् भने मुन्टा नभएका अर्थात् पूरै गोलो आकारका भएका अम्बालाई विकासी अम्बा भनिन्छ। स्थानीय अम्बाको तुलनामा विकासी अम्बा कम स्वादिलो हुन्छ।
तित्री अर्थात् इमलीः तित्रि वा इमली पनि राप्ती भेगको अर्को गुणकारी फल हो। इमलीको पात पनि अमिलो नै हुन्छ। हाँगाका टुप्पामा टिप्न नसकिने हुँदा इमली त्यसै सुकेर खेर जाने गरेको पाइन्छ। काठमाडौंमा भने थाइल्याण्डबाट आयात गरिने इमली किलोको ९०० मा किन्नुपरेको यो लेखक आफै साक्षी छ।
तिँदूः तिँदू काँचोमा टर्रो र पाकेपछि गुलियो हुने रैथाने फल हो। यो २५०० मिटरसम्मको उचाइमा फलेको पाइन्छ। यसको फूल खासै नदेखिएता पनि असारदेखि दाना लाग्न सुरू हुन्छ। लामो समयपछि चैत वैशाखतिर मात्र तिँदू पाक्दछ।
ऐंसेलुः ऐंसेलु पनि समुद्र सतहबाट ७०० मिटरदेखि २००० मिटरसम्मका भूभागहरूमा फल्ने फल हो।
निबुवा वा अमिलोः निबुवा खासगरी चुक बनाउन प्रयोग हुन्छ। यसलाई साँधेर खाने चलन पनि पहिल्यैदेखिको हो। अमिलो खाएपछि तुरून्त पानी खानुपर्छ, नत्र रगत जम्छ भन्ने भनाइ पहिलेदेखिको हो। सत्यता के हो त्यो चाहिँ अनुसन्धानले नै देखाउला।
बिमिरोः बिमिरो पनि निबुवा वर्गको फल हो यसको गुदी खाने चलन छैन। गुदी बाहिर र बोक्राभित्रको सेतो भाग मात्र खाने चलन छ।
ज्यामिरः सुन्तला आकारका र ज्यादै अमिलो हुने फल ज्यामिर पनि खुंग्रीतिर फल्ने गर्थ्यो। हालका दिनहरूमा भने यसको खेती गरेको देखिँदैन।
कालिगेडी अर्थात् कालोचुत्रोः यसलाई दाङतिर करेँत पनि भनिन्छ। काँडा भएको यो फल हरियो अवस्थामा तिती, रातो अवस्थामा अमिलो र कालो अवस्थामा गुलियो हुन्छ। गुदीभन्दा गेडाले यसलाई बढी ओगटेको हुन्छ।
तिमिलोः तिमिलो दुई किसिमको हुन्छ। सानो खालको तिमिलो पनि वाक्चे र पाक्चे हुन्छ भने ठूलो खालको पनि वाक्चे र पाक्चे हुन्छ। वाक्चे खाएमा वान्ता हुने र पाक्चे खाएर केही नहुने यो फलमध्ये ठूलो खालको फल हरियो छँदै उसिनेर अचार बनाउने चलन छ भने पाकेर रातो भएपछि फुटाएर भित्रको महजस्तो देखिने जेल खाने चलन छ।
वनमा आफै उम्रिएर हुर्किएका, फुलेका अनि फलेका र मौसम अनुसार पाक्ने केही फलहरूको प्रसंग पनि यहाँ प्रस्तुत गर्नु सान्दर्भिक देखिन्छः
भला अर्थात् भलायोः साउने संक्रान्ति अर्थात् लुतो फाल्ने चाडमा भलायोको पातको आवश्यकता पर्दछ। जुन पात ठूला र लामा आकारमा हुन्छन्। सानो झरी समेत छेक्न सक्ने पात भएको भलायोको फल भने खान जानिएन भने दुःख पाइन्छ। हरियो हुँदै पहेँलो र पाकेपछि रातो भएता पनि ताजै खान हुँदैन। किनकि यसमा भएको चोप खतरनाक हुन्छ। छोएको केहीबेरमै शरीरमा डाबरहरू देखिन्छन् र चिलाउनथाल्छ। घाममा चाउरी परूञ्जेल सुकाएर खाएमा भने भलायोको फल ज्यादै मीठो हुन्छ। फल बाहिर देखिने कालो गेडामा पनि खतरा खालको तेल हुन्छ। त्यो पनि छालामा परेपछि एलर्जी हुन्छ।
प्यारः प्यारलाई सानो भलायो पनि भनिन्छ। यो भने खतरा हुँदैन।
अमारोः अमारो पनि एक प्रकारको अमिलो स्वादको फल हो।
बयरः पाकेपछि पहेँलो वा रातो हुने बयर समथर जमिन वा हल्का भिरालोमा हुनेगर्छ। यो मंसिर महिनामा पाक्दछ। बयरलाई सुकाएर ढिँकीमा कुटेर धुलो पारेर गर्मीमा खाने चलन छ।