आजभन्दा ४० वर्षअघि अर्थात् २०४० साल भदौ ५ गते बिहान काठमाडौँमा पहिलो पटक पाइला टेकिएको थियो पिताजीका साथमा। त्यति बेलाको आइएल अर्थात् कानुन विषयमा प्रवीणता प्रमाणपत्र तहमा भर्ना हुने लक्ष्य लिएर रोल्पाबाट तीन दिन लगाएर काठमाडौँ छिरेको, भर्खरै एसएलसी पास गरेको म ४ गते नै म्याद सकिएको कारण आइएलमा भर्ना हुन पाइनँ र अन्ततः प्राइभेट क्याम्पसमा वाणिज्य शास्त्रमा प्रवीणता तहको पहिलो वर्षमा भर्ना हुन पुगेँ।
पिताजीले मलाई काठमाडौँमा बस्नु हुने आफ्नो घनिष्ठ मित्रको घरमा छोडेर रोल्पा फर्किनुभयो। पिताजीका घनिष्ठ मित्रका तीन वटी छोरीहरूलाई पढाउँदै गर्दा २०४० साल असोज ९ गतेदेखि बिहानी कक्षा सुरु गरेँ। कक्षा बिहान ६ बजेदेखि ९ बजेसम्म हुन्थ्यो। त्यसै दिन बिहान १० बजेदेखि सरकारी उद्योग वीरगन्ज चिनी कारखाना लिमिटेडको सम्पर्क कार्यालय पुतलीसडकमा योग्यताभन्दा एक तह मुनिको अस्थायी जागिर सुरु गरेँ।
रत्नपार्कदेखि लगनखेलसम्मको साझा बसको भाडा ५० पैसा थियो। पहिलो महिनाको तलब पुरस्कार र उपहार पर्ने लोभमा भृकुटीमण्डपको रमाइलो मेलामा स्वाहा भएपछि अर्को दिन कार्यालयका साथीसँग सापटी मागेर महिना गुजारेँ। छ महिना पिताजीको मित्रको घरमा नानीहरूलाई पढाउँदापढाउँदै वहाँको घरबाट सरेर सातदोबाटो स्थित एउटा कोठा लिएर बस्न थालेँ, कोठा भाडा मासिक १२५ रुपैयाँ थियो।
पुतलीसडकमा रहेको म कार्यरत कार्यालय २०४१ सालमा डिल्लीबजारस्थित अनन्तमणि दीक्षितको घरमा सर्यो। तीन तले घरको भाडा जम्मा ४ हजार थियो। त्यस घरमा कोठा पनि खाली भएकोले मलाई एउटा कोठा उपलब्ध भयो र सातदोबाटोबाट म डिल्लीबजारमा सरेँ। कोठा भाडा तिर्नु परेन, खाना पकाउन हिटर थियो, मट्टितेल खर्च पनि जोगियो। प्रधान कार्यालय वीरगन्जमा भए पनि सञ्चालक समितिको बैठक डिल्लीबजारस्थित कार्यालयमा नै बस्थ्यो।
सदस्य प्रतिनिधिहरू सबैजसो मन्त्रालय र विभागका हुन्थे भने बैठकमा उपस्थित हुन नारायणी अञ्चलका सहायक अञ्चलाधीशलाई मात्र सिमरा विमानस्थलबाट प्लेनमा काठमाडौँ आउनुपर्थ्यो। लिखित र अन्तर्वार्तापछि २०४१ माघ १८ गते मेरो जागिर स्थायी भयो। मासिक ४१० रुपैयाँ तलब आउने उक्त जागिरले महिना धकेल्न मुस्किल थियो। काठमाडौँको महँगी त्यति बेलादेखि नै चर्को थियो। वीरगन्जमा भन्दा काठमाडौँ करिब करिब दोब्बरको हाराहारीमा महँगी थियो। २०४०/४१ सालमा काठमाडौँमा चामल र चिनी प्रतिकिलो ५।५ रुपैयाँ थियो, मट्टितेलको भाउ पनि त्यस्तै थियो।
दोस्रो पटक जन्मथलो रोल्पा जाँदा काठमाडौँबाट भैरहवा प्लेनमा ३ सयको मात्र भाडा थियो भने उता भैरहवाबाट रोल्पाको प्लेन टिकट २१० रुपैयाँ थियो। क्याम्पस टाढा भएकोले दोस्रो वर्ष अध्ययनको लागि लगनखेल जाने जाँगर लागेन र गाइडहरू किनेर पढ्न थालेँ, फी तिर्न मात्र जान्थेँ क्याम्पसमा।
२०४३ सालमा कारखानाको कार्यालय डिल्लीबजारबाट आफ्नै भवन बालुवाटारस्थित चिनियाँ दूतावासको छेउमा सर्यो। म साथीहरूसँग नक्सालस्थित ढुंगेधारा अगाडि ३ सय भाडा तिर्ने गरी एउटा कोठामा बस्न थालेँ। एक वर्ष नहुँदै अर्थात् २०४४ सालमा नक्सालको भगवतिवहालमा सर्नुपर्यो। पुतलीसडकस्थित शंकरदेव क्याम्पसमा बिकम पढ्दा पनि म दोस्रो वर्षमा खासै उपस्थित हुन सकिनँ। काठमाडौँको महँगीमा तलबले नपुगेपछि बालुवाटारमा बाबुकाजी अवालेका छोराछोरीहरूलाई ट्युसन पढाउन थालेँ। त्यसपछि यट्खास्थित साउदी अरेबियाका लागि तत्कालीन राजदूत दुर्गेशमान सिंहका छोराछोरीलाई पनि ट्युसन पढाएँ।
२०४६ सालमा बिहे भएपछि म साथीहरूसँग छुट्टिएर नेपाल राष्ट्र बैंकका एक पूर्व कर्मचारीको धोबिधारास्थित घरमा श्रीमतीका साथमा बस्न थालेँ। दुई कोठाको मासिक भाडा छ सय रुपैयाँ थियो। पानीको अभावले तनावै तनाव हुन्थ्यो, म रोल्पास्थित जन्मथलो खुँग्रीको पानीको धारा सम्झिरहन्थेँ जहाँ निरन्तर अर्थात् अटुट रूपमा पानी धाराबाट झरिरहन्थ्यो।
२०४७ सालमा म तेस्रो तहबाट चौथो तहमा बढुवा भएँ। तर जीवनमा खासै सुधार हुन सकेन। हामी काठमाडौँको चरम महँगीमा पिल्सिएर दिन कटाउँदै गयौँ, पानीको अभाव जहाँ सरे पनि कायमै रह्यो। २०४७ साल भदौ २६ गते रोल्पामा छोरो जन्मिएको खबर आ.बा. मार्फत थाहा पाएँ, त्यति बेला रोल्पामा टेलिफोन थिएन।
न्वारनमा रोल्पा जान सकिनँ। दसैँमा गएर, तिहार समेत मानेर ३५ दिनको बालक डोकोमा बोकाएर दाङबाट काठमाडौँका लागि बस चढ्न घोराहीतर्फ हिँड्यौँ। रोल्पाको मसिना नपुग्दै झमक्क साँझ परेकोले त्यहीँ बास बस्यौँ। भोलिपल्ट दाङ पुगेर घोराहीको एक होटेलमा बसेर बिहानको साझा बस चढ्न गयौँ, तर हामी ढिला पुगेकाले बस छुट्यो र भोलिका लागि टिकट मिलाइदिए काउन्टरवालाले। साझा बसको भाडा पनि एक जनाको एक सय रुपैयाँ थियो जस्तो लाग्छ।
२०४९ मङ्सिरमा भाटभटेनीस्थित रञ्जु कार्कीको घरमा ५ सय भाडा तिर्ने गरी सर्यौँ। एक वर्ष नबित्दै कार्यालय परिसरमा रहेको कोठामा बस्न थाल्यौँ। छोरालाई बोर्डिङ स्कुलमा भर्ना गरेका थियौँ, तर नाम मात्रको बोर्डिङ थियो। पढाइको स्तर गतिलो थिएन। छोरालाई तीन कक्षादेखि भानुभक्त स्कुल पानीपोखरीमा भर्ना गरिदिएँ।
छोरालाई पुर्याउन र ल्याउन १५/१५ मिनेट लाग्दथ्यो। २०५४ सालमा मलाई उद्योग मन्त्रालयले काजमा बोलायो। कारखाना उद्योग मन्त्रालयअन्तर्गत थियो। तर कारखानाका केही मान्छेले मलाई काजमा पठाउन मानिरहनु भएको थिएन। उनीहरूबाट मेरो दुई महिनाको तलब रोक्ने काम पनि भयो। लोक सेवा परीक्षा पास गरिसकेपछि मैले २०५६ माघ १८ गतेदेखि लागु हुने गरी कारखानामा राजीनामा दिएँ र २५ गते लोक सेवाको सिफारिसमा नियुक्ति पत्र लिई जिल्ला सिँचाइ कार्यालय धुन्चे रसुवामा हाजिर हुन गएँ।
दुई महिनापछि सो कार्यालय नुवाकोट डिभिजनमा गाभिने भएपछि म उद्योग मन्त्रालयमा सरुवा भएर आएँ। मेरो इमानदारिता र कर्मनिष्ठता देखेर मन्त्रालयका सचिव, सहसचिव तथा उपसचिवहरूलगायत कैयन सहकर्मीहरू मप्रति आकर्षित हुनुभयो। मैले मन्त्रालयमा राति नौ बजेसम्म पनि काम गरेको छु।
मलाई सिंहदरबारको 'कम्प्युटर हिरो' को उपाधि पनि दिइएको थियो। त्यस्तै विभागमा सार्वजनिक बिदाका दिनहरूमा समेत खटेर काम गरेको थिएँ। तर मैले जागिरे जीवनमा कहिल्यै पनि निजामती सेवा पुरस्कार भने पाइनँ। पुरस्कार पाउनेहरूमा कोही छट्टु र कोही चाकडीबाजहरू पनि पर्दथे। त्यसैले मैले पुरस्कार नपाएकै उपयुक्त ठानेँ।
२०७० मा मलाई कपिलवस्तुको मोतीपुर गाविसको सचिवमा पदस्थापन गरियो। नयाँ करङ पलाएको र त्यसैको पीडा कम गर्न निजी तथा सरकारी अस्पतालमा थेरापी गराइरहनु परेको हुँदा कपिलवस्तुमा गएर कामकाज गर्न असमर्थ भएँ। त्यसैले सार्वजनिक संस्थान निर्देशन बोर्डमा काजमा बसेँ। २०७५ मा बोर्ड खारेज भएपछि म करिब एक वर्ष अर्थ मन्त्रालयमा हाजिर भएँ। काम केही पनि नदिइएको हुँदा पुस्तकालयमा बसेर अध्ययन गरेर दिन बिताउँदथेँ।
२०७५ मै म बोर्डमा काजमा रहेकै बखत मलाई कार्यालय नभएको स्थान बाराको सिम्रौनगढमा पदस्थापन गरियो। त्यति बेला पनि म अस्वस्थ नै थिएँ। मलाई नियमित रूपमा चिकित्सककोमा जानुपर्ने हुँदा काठमाडौँमै पदस्थापन गरियोस् भनेर सामान्य प्रशासन मन्त्रालयमा निवेदन दिएँ। उक्त मन्त्रालयमा छ जना साथी तथा कुनै बखतका सहकर्मीहरू रहे तापनि मेरो सरुवा हुन सकेन। मेडिकल बोर्डको सिफारिस पेस गर्दा पनि सुनुवाइ भएन। कार्यालय नभएको ठाउँमा गएर पनि के गर्नु भनेर म बोर्डमा काजमा नै रहेँ।
भूमि व्यवस्था विभागमा गएर रोल्पामा रिक्त रहेको पदमा काज माग गरेपछि २०७६ फागुन २७ गते रोल्पा मालपोतमा गएर हाजिर भएँ। कोरोनाको कारण करिब चार महिना लकडाउन भयो र कार्यालयमा कामकाज ठप्प भयो। मालपोत मेरो रुचिको निकाय नभएको हुँदा मलाई छटपटी हुन थाल्यो। काज र बिदामा बसेर पनि समय व्यतीत गरेँ। अस्वस्थताका कारण छ महिना विभागमा काजमा रहेँ र सबैभन्दा कमजोर निकाय भनेर चिनिने खेलकुद मन्त्रालयमा मेरो सरुवा भयो।
स्वास्थ्यमा समस्या पनि भएकोले र खेलकुद मन्त्रालय कार्य बोझ नहुने मन्त्रालय भएकोले आनन्दको सास फेरिरहेको थिएँ। तर मलाई मन्त्रीको निजी सचिवालयमा खटाइयो। जुन भद्रगोल र अस्तव्यस्त हुने ठाउँ थियो। सचिवालयमा समय बिताउँदै जाँदा स्वकीय सचिवले मेरो कुर्सी टेबुल नै कब्जा गरे। मलाई कुनातिर मिल्काइयो। मन्त्रालयमा खुराफाती काम देखिन थाले। स्वकीय सचिवले जथाभाबी सरुवाको चाल रच्न थाले र आफू अनुकूलका कर्मचारी भित्र्याउन थाले।
मलाई यस्तो बेथिति देखेर दिक्क लागेर दुई महिना बिदामा बसेँ र २०७९ असार २३ गतेदेखि अनिवार्य अवकाश लिएँ। २०७५ सालमा मलाई पठाइएको बाराको सिम्रौनगढमा म अवकाश भएको दुई महिनापछि अर्थात् २०७९ भदौमा मात्र कार्यालय स्थापना भयो।
अहिले श्रेणिविहीन कर्मचारी अर्थात् कार्यालय सहयोगीकोभन्दा पनि कम पेन्सन थाप्ने गर्दछु। २०७० सालमा जिल्ला विकास समितिका लेखापालको लापरबाहीले पोसाक भत्ता बापत ७५०० पाउनबाट वञ्चित भएँ भने रोल्पा मालपोतका लेखापालको लापरबाहीले नागरिक लगानी कोष कट्टी रकम ८५०० खातामा दाखिला नहुँदा त्यो पनि गुमाउन पुगेँ।
२०६१ मा बाल कविता सङ्ग्रह 'इन्द्रेणी' प्रकाशन गरेको थिएँ भने दोस्रो कृतिको रूपमा आत्मकथा सङ्ग्रह 'ओगिल्जा' र तेस्रो कृतिको रूपमा 'रापतीका अलग शब्दहरू' प्रकाशन गर्नुका साथै रोल्पाको सेरोफेरोको गीत 'साइँली सलल' रेकर्डिङ भएर युट्युबमा उपलब्ध छ। थप गीत तथा भजन रेकर्डिङको लागि कुरा भइरहेको छ।
कुनै प्रकाशन गृहले साथ दिएमा भविष्यमा छ वटा कृतिहरू प्रकाशन गर्ने योजनामा रहेको छु। त्यसपछि म आफ्नै गाउँ ठाउँमा गएर रमाउन चाहन्छु। सहरको वायु तथा ध्वनि प्रदूषण, अस्तव्यस्त र गन्जागोल अनि समस्याग्रस्त जीवनबाट टाढिन चाहन्छु। अब मलाई सहरको बसाइ पुग्यो।