मेरी छोरीले बिएस्सी नर्सिङ उत्तीर्ण गरेको झन्डै एक वर्ष भयो। यसमा शिक्षण शुल्क र अन्य खर्च समेत गरेर हाम्रो करिब २० लाख रुपैयाँ लगानी भयो। फ्लोरेन्स नाइटिङ्गेलको जीवनीबाट प्रभावित भएर नेपालका रोगी र बिरामीहरूको सेवा गर्ने उनको बाल्यकालदेखिकै उद्देश्य थियो।
उनले विज्ञान विषयमा १२ कक्षा उत्तीर्ण गरेपछि उच्चशिक्षाका लागि यो विषय रोजेकी हुन् र काठमाडौं विश्वविद्यालयबाट झन्डै ८०% अङ्क ल्याएर बिएस्सी नर्सिङ उत्तीर्ण भएकी हुन्। आमाबुवाको उपस्थितिसहित दीक्षान्त समारोहमा नर्सिङ ग्राजुएसनको उपाधिले विभूषीत हुँदाको त्यो बखत उनको उत्साह सगरमाथाको शिरभन्दा उचो भएको थियो।
नेपालमै बस्ने, कुनै पायक पर्ने हस्पिटलमा जागिर गर्ने र त्यहिँबाट ‘लेडी विथ द ल्याम्प’को प्रेरणाबाट सिकेको ज्ञान र सीप आफ्नै देशका बिरामीहरूको उपचारमा खर्चिने उनको प्रबल चाहना थियो। फलस्वरूप, उनले नर्सिङ लाइसेन्स परीक्षा उत्तीर्ण गरेर जागिरका लागि आफ्नो बायोडाटा बोकी काठमाडौंका निजी हस्पिटल चहार्न थालिन्।
धेरै हस्पिटलले उनको आवेदन सशुल्क दर्ता गरे र फोन कलमा खबर आउँछ भनी आश्वास्त पारे। पछि हस्पिटलबाट कुनै जानकारी र खबर आएन। केहीले परीक्षा लिन बोलाए तर नाम निकालेनन्। एउटा हस्पिटलले नामको सूची त निकाल्यो तर आवश्यकता पर्दै जाँदा बोलाउने भनी पन्छियो। १/२ महिना बायोडाटा छोड्ने र फोन कुर्नेमै बित्यो। यससँगै उनमा निराशाको बादल मडारिन थाल्यो।
उनको मानसिक तनाव देखेर जीवनमा कहिल्यै नगरेको ‘भनसुन’ले बल्लतल्ल एउटा निजी अस्पतालमा उनको जागिर भयो। यसमा तलब २० हजार रुपैयाँ र त्यसमा कोष कट्टी भएर १७ हजार रुपैयाँ हात पर्ने भयो। यति न्यून तलबमान सुनेर फेरि उनीमाथि निराशाको अर्को बादल मडारियो। यद्यपि, अनुभवका लागि भए पनि काम सुरु गर्नुपर्छ भनी हामीले सम्झाइबुझाइ गरेपछि छोरीले काम सुरु गर्नथालिन्।
विस्तारै कामसँगैका उनका भोगाइ र अनुभवले ‘नेपालमै बसेर बिरामीको सेवा गर्ने’ बचेखुचेका उनका जाँगर मर्न थाले। १२ कक्षा सँगै उत्तीर्ण गरेकी छिमेकीकी छोरीले अस्ट्रेलियामा नर्सिङ पढेर जागिर सुरु गर्न थालेकी थिइन्। उनीहरू यता र उताको तुलना गर्दै कुरा गरिरहन्थे। यता उनको त्यही थोरै तलब पनि महिना मर्नेबित्तिकै आउँदैन थियो। कहिले कुन दिन तलब आउँछ कहिल्यै पत्तो नहुने। कामको चाप र तनाव उत्तिनै।
एकजना नर्सले हेर्नुपर्ने बिरामीको सङ्ख्या पनि उत्तिनै धेरै। ८ घण्टाको दिवा ड्युटी र १२ घण्टाको रात्री। पातलो शरीरले आइसियुका ठूला र जटिल बिरामीलाई अचेट्नु पर्ने। लामो समय टुसुक्क नबसी काम गर्नुपर्दा कम्मर र खुट्टा गलेर भुतुक्क हुने। अहिले नै ‘कम्मरमा पेटी बाँधेर काम गर्न सिनियर दिदीहरूले सल्लाह दिइरहनु भएको छ’ भनिररहन्थिन् उनी। थोरै तलब, त्यो पनि कहिले पाइने हो बेटुङ्गो।
एउटा नर्सले हेर्नुपर्ने बिरामीको अत्याधिक चाप, शारीरिक थकान, र कतिपय भिजिटरको कर्कश र अपमानपूर्ण व्यवहार समेतले हरेक दिनका अनुभव तिक्ततापूर्ण हुन थालेपछि देशमै बस्ने र सेवा गर्ने उनको रहर र आकांक्षामा अहिले पूर्णरुपले तुसारापात लागेको छ। र, उनी अहिले एन-क्लेसको तयारीको लागिपरेकी छिन्, जसले अमेरिका अस्ट्रेलियामा कामसहितको स्थायी बसोबासको बाटो खोल्नेछ भन्ने उनको नयाँ अपेक्षा छ। फलस्वरूप, हामी बाबुआमाको लाखौँको लगानी फेरि सुरु भएको छ।
छोरी नवपुस्ताका नर्सहरूको एक प्रतिनिधि पात्र मात्र हुन्, तर यही हो अधिकांश युवा नर्सहरूको वर्तमानको सजीव तस्वीर। यही सन्दर्भमा म उनीहरूले भोगेको अनुभवको आधारमा निम्न तीन सवाल सरकार समक्ष राख्न चाहन्छु:
नेपालमा हाल नर्स उत्पादन गर्ने दुई बाटा छन्। पहिलो, सिटिइभिटीबाट १० कक्षा उत्तीर्ण गरी ३ वर्षको नर्सिङ कोर्ष पूरा गरी प्रविणता प्रमाणपत्र तह (पिसिएल) को योग्यता लिएर र दोस्रो, विश्वविद्यालयको कार्यक्रमबाट बिएस्सी वा बिएन गरेर। यद्यपि, दुवै योग्यताले प्राप्त गर्ने नर्सिङ लाइसेन्स र गर्ने काम एउटै हो, र अधिकांश हस्पिटलले यीमध्ये जुनसुकै जनशक्ति राखे पनि दिने तलबमान एउटै हो। सायद संसारमा यही मात्र एक देश होला जहाँ १३ वर्षे शिक्षा (पिसिएल) र १६ वर्षे शिक्षा (बिएस्सी र बिएन) दुवैले रजिस्टर्ड नर्सको लाइसेन्स पाउँछन, एउटै पदमा एउटै काम गर्दछन् र लगभग उत्तिनै पारिश्रमिक पाउँछन्। हो यहीं हो, सरकारले निम्न प्रश्नका आधारमा गर्नुपर्ने नीतिगत व्यवस्था- रजिस्टर्ड नर्सको लागि न्यूनतम योग्यता कति हो? दुवै योग्यताले रजिस्टर्ड नर्स हुन सकिने भए काम, पद र तलबमा के अन्तर हुने हो? जबसम्म यी दुई योग्यताको पद, काम र दाममा अन्तर देखिँदैन, माथिल्लो योग्यता भएका नर्सहरूमा स्वाभाविकरुपमा नैराश्यता आउँछ नै।
नेपाल सरकारले २०८० श्रावण १ देखि निर्धारण गरेको न्यूनतम पारिश्रमिक १७ हजार ३०० रुपैयाँ हो। यो तलबमान कुनै औपचारिक शैक्षिक योग्यता नचाहिने श्रमिकहरूको आधारभूत तलबमान हो। यसमाथि शैक्षिक योग्यताअनुसार प्राप्त हुने पदहरूको तलबमानमा हामी सबै परिचित नै छौं। पछिल्लो तलबमानअनुसार स्नातक योग्यताअनुसार प्राप्त हुने राजपत्राङ्कित तृतीय श्रेणीसरहका जुनसुकै कर्मचारीको पारिश्रमिक रू ४३ हजार ६८९ हो।
अहिले बजारमा मागभन्दा नर्सहरूको उपलब्ध सङ्ख्या निकै उच्च छ। यही उपलब्धताको फाइदा उठाएर अधिकांश अस्पतालले नर्सहरूको ठूलो श्रम शोषण गरेका छन्, र अधिकांश निजी अस्पतालले यही रू २० हजारको हाराहारीमा तलब दिएर उनीहरूलाई काम लगाइरहेका छन्। धेरै ठूला र महङ्गा भनिएका अस्पतालले पनि यसैमा दुई चार हजार बढी दिएका होलान्। तर, धेरैले नियुक्तिपत्र समेत दिँदैनन्।
फेरि नर्सहरूको सङ्ख्या, तलबमान र अन्य सुविधाहरूको बारेमा आधिकारिक जानकारी तथा तथ्याङ्क कहीँकतै छैन। अहिलेसम्म त्यस्तो अध्ययन अनुसन्धान समेत भएको छैन होला। सायद अध्यावधिक र आधिकारिक तथ्याङ्क नेपाल नर्सिङ काउन्सिलसँग पनि छैन। ज्ञातव्य के छ भने, नेपालमा अधिकांश राजनीतिक दलका पेसागत भातृसंगठनहरू छन्। ती संगठनले नै पेसागत सेवासुविधाका लागि आन्दोलन र हड्ताल गर्छन् र रोजगारदातालाई न्यूनतम सुविधाका लागि बाध्य पार्दछन्। तर, नर्सहरू स्वभावैले कोमल, कामप्रति समर्पित र पेसाप्रति उच्च निष्ठा भएर होला पार्टीको पछि लाग्ने, संघसंगठन खोल्ने, आन्दोलन र हड्ताल गर्ने काम गर्न चाहँदैनन्।
आजसम्म नर्सहरूको पेसागत नेतृत्वमा हड्ताल भएर अस्पताल बन्द भएको हामीले कमै सुनेका छौं। यसरी सरकारको बेवास्ता र अकर्मण्यताको शिकार नर्सहरू भएका छन्, फलस्वरूप निजी अस्पताल नर्सहरूको निरन्तरको श्रम शोषणमा रमाइरहेका छन्। के निजी अस्पतालले सरकारी तलबमानअनुसार न्यूनतम पारिश्रमिक दिनुपर्दैन? यसमा कुनै निकायले नियमन गर्नुपर्दैन? यो विषयमा नर्सिङ काउन्सिल र सरकारी निकायहरूले कहिलेसम्म कानमा तेल हालेर बसिरहने? यस्तै हो भने निजी अस्पतालले महिनावारी १० हजार रुपैयाँमा काम लगाएको सुन्न धेरै दिन कुर्नुपर्दैन।
नेपाल सरकारले नर्सहरूको लागि निर्धारण गरेको दरबन्दी राजपत्र अनंकित प्रथम श्रेणी हो, जसका लागि सिटिइभिटीको पिसिएल र युनिभर्सिटीको बिएस्सी र बिएन गरेका रजिस्टर्ड नर्स दुवै योग्य हुने गर्दछन्। स्नातक गरेका नर्सहरूलाई राजपत्रांकित तृतीय श्रेणीका पदहरूमा नियुक्ति दिएको विरलै होला। यसरी चार वर्षे स्नातक गरेका नर्सहरू नेपाल सरकारको अफिसर सरहको नर्सिङ जागिर खान पाउँदैनन्।
आफू सरहको साथी स्नातक गरेर माध्यमिक तहको शिक्षक भइ मासिक रू ४३ अजार ६८९ को जागिर सुरु गर्दछ, तर धेरै महङ्गो प्राविधिक शिक्षा लिएर सरकारी सेवा प्रवेश गर्दा पनि नर्सहरू एक तह मुनिको पदमा मासिक रू ३४ अजार ७३० लिएर जागिर गर्न बाध्य छन् नर्सहरू। सरकारको यही विभेदकारी नीतिले नै होला, लोक सेवा पास गरेका नर्सहरू पनि आफ्नो पद र सुविधासँग खुसी देखिँदैनन्। तसर्थ, स्नातक गरेका नर्सहरूलाई राजपत्रांकित तृतीय श्रेणीको पद सिर्जना गरेर सम्मानजनक सेवाको अवसर दिनु आजको अर्को प्रमुख आवश्यकता हो।
माथि उल्लेखित तीन क्षेत्रमा सरकारको ध्यान पुग्नसके र हस्तक्षेपकारी नीतिमार्फत यी सवालहरूलाई सम्बोधन गर्नसके नेपालमा कार्यरत नर्सहरूको मनोबल र पेसागत सम्मान उच्च रहने देखिन्छ भने नयाँ पुस्ताका नर्सहरूलाई पनि स्वदेशकै अस्पतालमा बिरामीहरूको सेवा पुर्याउन प्रेरणा मिल्ने देखिन्छ। साथै, यी सुधारहरूले नर्सहरूको स्थायित्व र पलायनको हालको विकराल अवस्थालाई थोरै भए पनि कम गर्न सहयोग पुग्ने देखिन्छ।