मेरो एक जना साथीले यस्तै कुराहरूको प्रसंग चल्दै जाँदा एउटा घटना दुःख मान्दै सुनायो।
‘कलेजको युनिफर्म लगाएर बाटोमा हिँडिरहेका विद्यार्थीहरू आफ्नै तालमा हिँडिरहन्छन्, उनीहरूले कुनै पनि कुराको प्रवाह गरिरहेका हुँदैनन् जेब्राक्रसिङबाट बाटो काट्नुपर्ने ठाउँमा गलत ठाउँबाट बाटो काटिरहेका हुन्छन् र अचानक उनीहरूलाई स्पिडमा आइरहेको गाडीले ठक्कर दिन्छ। उनीहरू आफ्नो गल्तीको कारण सही तरिकाले र सही ठाउँबाट बाटो नकाटेको कारणले यो भइरहेको छ भनेर सोच्दैनन्। तर उल्टै गाडी चालकसँग रिसाउँछन्, खाउँलाझैँ गर्दै हेरेर थर्काउँछन्, भन्न हुने नहुने साफ गाली गर्छन्।’
यो सब देखिरहँदा मेरो साथीलाई हाम्रो शिक्षा प्रणालीमा समस्या हो कि कार्यान्वयनमा समस्या हो र किन यस्तो भइरहेको छ भन्ने कौतुहलता निकै बढेछ।
यस्ता घटनाहरू मेरा आँखाले पनि कयौँ पटक देखेका छन्, विभिन्न ठाउँमा विभिन्न परिवेशमा युवापुस्ताका मुखबाट असभ्य शब्दहरू निकै सुनेको छु। कतिपय मान्छेहरूले गुनासोहरू गर्छन्। अहिलेको पुस्तामा कस्तो किसिमले पुस्तान्तरण भइरहेको छ? गलत ओरियन्टेसन नै भइरहेको हो त? आखिर समस्या कहाँनेर छ?
एउटा कुनै विद्यालयको गाडी विद्यार्थीहरूलाई लिएर विद्यालयतर्फ जाँदै थियो। गाडीभित्र खचाखच विद्यार्थीहरू थिए र लगभग चार जना जति शिक्षकहरू थिए। गाडीभित्र केही केटीहरूले छाडा बोल्न सुरू गरे। चर्को स्वरमा कराएर चिच्याएर अपाच्य शब्दहरू बोले र गाडी चालक र सहचालक पछाडि फर्किएर हेरेर उनीहरूलाई सम्झाए। तर केटीहरूले उनीहरूको कुरालाई अलिकति पनि मतलब गरेनन्।
अनि एक जना शिक्षकले मिठासपूर्ण ढंगले सम्झाउँदा शिक्षकको कुरालाई सुनेर मनन गर्नुको साटो शिक्षकलाई आँखा बटारेर आफ्नो चेहरा अर्को बनाए। उनीहरूको उज्ज्वल भविष्यको निर्मातालाई अवमूल्यन गरिदिन्छन्। तर शिक्षक निरिह भएर बसिरहन्छन्। यो हेर्नमा सामान्य देखिन्छ। लाग्न सक्छ विद्यार्थीहरूले गाडीमा रमाइलो गरेका हुन् तर यसलाई गम्भीर भएर बुझ्दा यहाँ गम्भीर समस्या देखिन्छ। यहाँ समस्या कुनै केटाकेटीहरूले गाडीमा असभ्य शब्द बोले भनेको होइन। समस्या त यहाँ हाम्रो प्रवृत्ति र हुर्कंदै गरेको युवापुस्तामा देखिएको दृष्टिकोण र उनीहरूमा दिन प्रतिदिन विकास हुँदै गइरहेको संस्कारको हो।
एउटा घरमा एक जना बाजेले आफ्नो नातिलाई गाली गरिरहेका थिए। नाति र बाजेको बीचमा भनाभन भइरहेको थियो। बाजेको दुखेसो थियो ‘नातिले राम्रो संस्कार नसिकेको, असभ्य भाषाहरू बोलेको, आफ्नो जिम्मेवारी एक रत्ति पनि बहन नगरेको।’
बाजेका अनुसार ‘उनको नातिले विद्यालयले दिएको गृहकार्य कहिल्यै गर्दैन, भनेको मान्दैन र आफ्नो उमेर अनुसारको कर्तव्य बोध छँदै छैन।’
अचम्मलाग्दो कुरा भने बाजेले ठोकुवा गरेर भनेका थिए कि यसमा विद्यालय सम्पूर्ण रूपले दोषी छ। विद्यालयले कडा अनुशासनमा नराखेको र जिम्मेवारी बहन गर्न नसिकाएको।
यी सब कुराहरू सुनाइसकेपछि मलाई लाग्यो कि अहिलेको समयमा विद्यालय, घर-परिवार र विद्यार्थीहरूको बीचमा एउटा ठूलो खाडल छ। विद्यालयको रहनसहन र चालचलन नबुझिकन एक जना अभिभावकले ठोकुवा गरेर विद्यालयले अनुशासन नसिकाएको, जिम्मेवारी नसिकाएको भन्नु गम्भीर समस्या हो।
धेरै जना अभिभावकहरूको गुनासोहरू हुने गर्छ आफ्ना नानीबाबुले गृहकार्य नगर्नु, अनुशासित नहुनु र शिष्टाचार नगर्नुलाई अभिभावकहरूले विद्यालयलाई दोष लगाउने गर्छन्। आफ्ना नानीबाबुहरूलाई उनीहरूले गर्नुपर्ने गृहकार्य के कारणले गरिरहेका छैनन्, के पुगिरहेको छैन कहाँनेर समस्या छ भनेर समस्याको समाधान खोज्नुभन्दा पनि सिधै विद्यालयलाई दोषी ठहर गरिदिन्छन्। अनि विद्यालयले पनि कतिपय अवस्थामा घरपरिवारले समय नदिएको र अनुशासनको जग नबसालेको भन्ने कुरा व्यक्त गरिरहेका हुन्छन्।
यहाँ एकले अर्कालाई दोष लगाएर मात्र समस्याको समाधान पक्कै पनि हुँदैन। झन्-झन् समस्या विकराल बन्दै जान्छ। समयमा अहिलेको पुस्तालाई मर्यादित, अनुशासित र जिम्मेवार बनाउनको लागि यसमा घर, परिवार, वरपरको वातावरण, साथीसंगी र विद्यालय सबैको उत्तिकै स्थान रहन्छ। तर दोषारोपण गर्नुको साटो यसको समाधान खोज्नु पर्छ। पक्कै पनि यसको समाधान छ। यदि समयमै समाधान खोजिएन तथा गरिएन भने अहिलेका पुस्ताहरू झन् अर्को तहमा पुग्नेछन्।
कुनै ठाउँमा खाना खान जाँदा एउटा रमाइलो कथा सुन्ने मौका मिल्यो। त्यो ठाउँमा सबैले खाना खानको लागि आफैं लिने व्यवस्था रहेछ। खाना खाइसकेपछि आफूले खाएको थाल कचौरा धुने ठाउँमा राखिदिनुपर्ने रहेछ। सबैजनाले राखिरहँदा केही व्यक्तिहरूले राखेनन् कुरा चल्यो ‘उनीहरू त धनी घरको हो नि! कहाँ धनी घरको केटीहरूले जुठो भाँडा बोकेर हिँड्छन् त!’
यो तर्क त झन् मलाई यति रिस उठ्ने लाग्यो कि धनी घरको भन्नेबित्तिकै आफूले खाएको भाडा थन्काउन नसक्ने पनि हुन्छ र? अनि धनी हुनु भनेको अमर्यादित र अनुशासनहीन हुनु हो र? गरिब व्यक्तिहरू मात्रै झुकेको र अनुशासित हुनुपर्ने हो र? कस्तो गलत बुझाइबाट गुज्रिरहेका छौं हामी।
भौतिक सेवा सुविधा गरेका व्यक्तिहरूले नियम कानून नमान्ने र असभ्य अपाच्य व्यवहार देखाउने हो र!
यो एउटा कुनै ठाउँमा भएको प्रसंग मात्रै हो।
यो परिवेशका पात्रहरू अहिलेका कतिपय युवा पुस्ताहरूको प्रतिनिधि पात्रहरू हुन्। युवा पुस्ताहरू यस्तो गलत मानसिकताबाट गुज्रिरहेका छन्। मैले यस्ता अनगिन्ती व्यक्तिहरू देखेको छु जसले आफूलाई सम्भ्रान्त परिवारको भनेर फोस्रो धाक् लगाउने र अमर्यादित चालचलन देखाउने गरेको। यो सब गलत बुझाइ, हुर्काइ र संस्कार संस्कृतिको हो। सानैदेखि उनीहरूको दिमागमा कतैबाट यस्तो प्रकारको गलत छाप परेको छ। जसलाई परिमार्जन गर्न अति जरूरी छ।
अहिलेको समयमा विद्यालयमा पनि बालबालिकाहरूलाई पठनपाठन गर्न ठूलो चुनौती देखिँदै छ। उज्वल भविष्यको निर्माण गर्न विद्यालय गएका विद्यार्थी उसको उज्वल भविष्य निर्माणमा ठूलो भूमिका खेल्ने र हरदिन लागिपर्ने गुरू वर्गको कुरा पनि सुन्दैनन्। अभिभावक भन्छन्- शिक्षकले केही गर्न सक्दैन, शिक्षक भन्छन्- अभिभावक दोषी छ।
कतिपय अवस्थामा शारीरिक सजाय नदिएको कारणले गर्दा अहिलेका विद्यार्थीहरू, पुस्ताहरू नटेर्ने, नमान्ने भएका हुन्। तर मलाई यो तर्क पनि सान्दर्भिक लाग्दैन।
कुनै पनि व्यक्तिलाई कुटेर, पिटेर सजाय दिएर ज्ञान पक्कै पनि दिन सकिँदैन र लिने व्यक्तिले पनि जबरजस्त रूपमा कदापि लिन सक्दैन। ज्ञान दिने तथा ग्रहण गर्ने कार्य स्वतःस्फूर्त र सोहार्दपूर्ण वातावरणमा हुनुपर्छ। अनि मात्र त्यो सिकाइले मूर्तरूप पाउँछ। यहाँ समस्या कुट्नु तथा पिट्नुसँग होइन यहाँ समस्या त बस्दै गएको र फैलिँदै गरेको प्रवृत्तिसँग हो। यसलाई समयमा नै निराकरण गर्नुपर्छ।
स्कुल, कलेज तथा विश्वविद्यालयमा अध्ययनरत विद्यार्थीहरूले आफूलाई अध्यापन गराउने शिक्षकहरूलाई महत्वपूर्ण तरबारले हेरिएको पाइँदैन। कक्षाकोठामा मर्यादित वातावरण सिर्जना हुन सकिरहेको छैन। कतिपय कक्षाकोठाहरूमा दुखद् घटनाहरू पनि घटेका समाचार आइरहेका हुन्छन्। कतिपय अवस्थामा शिक्षकलाई पिटेका घटना पनि बाहिरिन्छन्। ज्ञान दिने र ज्ञान आर्जन गर्ने व्यक्तिहरूको बीचमा सुमधुर सम्बन्ध हुनु अति जरूरी छ। जब कक्षाकोठाहरूमा प्रजातान्त्रिक वातावरण हुन्छ तब शिक्षण सिकाइ सफल हुन्छ। बालमैत्रीपूर्ण वातावरणमा अध्यापन गराउनु शिक्षकहरूको दायित्व हुन्छ।
कतिपय ठाउँमा आफ्नो आफन्तजनलाई, चिनजानका व्यक्तिहरूलाई अहिलेको पुस्ताले नचिनेको जस्तो गरिदिने, दिनुपर्ने शिष्टाचार नदिने र कुनै मतलब नगर्ने भनेर अभिभावकहरूले गुनासो गरेको पाइन्छ।
यस्तो पनि देखिएको छ कि कतिपय अभिभावकहरूले रिसाएर जबरजस्ती गरेर शिष्टाचार गर्न लगाएको र पिटेको पनि। यहाँ समस्या नचिन्नु र शिष्टाचार नगर्नुसँग होइन, समस्या पुस्तान्तरणमा देखिन्छ।
कुनै पनि बालक जन्मजात रूपमा असभ्य, अमर्यादित र जिम्मेवारविहीन भएर जन्मिएको हुँदैन। हुर्किंदै गर्दा उसले विभिन्न क्रियाकलापहरू अनायासै सिकिरहेको हुन्छ। जुन सिकाइ अनवरत रहन्छ।
यसमा घरपरिवार र वातावरणको ठूलो भूमिका हुन्छ बालबालिकाको सिकाइ र आचरण विकास गर्नको लागि। त्यसपछि ऊ विद्यालयमा प्रवेश गर्छ अनि विद्यालयको रहनसहन, चालचलन र उसले भेट्ने सङ्गतिहरूको प्रभाव पर्छ। तसर्थ, बालबालिकाहरूलाई दोष लगाउनुको साटो सानैदेखि उनीहरूलाई कस्तो आचरण सिकाउने, कस्तो बानीबेहोरा सिकाउने, कसरी मर्यादित बनाउने, कसरी जिम्मेवार बनाउने भन्ने कुरामा अभिभावकहरूले बेलैमा सोच्नुपर्छ। एउटा काँचो माटोलाई जस्तो आकार दियो त्यस्तै वस्तु बन्छ। दोषारोपण गर्नुभन्दा पनि सानैदेखि अनुशासन र जिम्मेवारी बहन गर्न सिकाउनु पर्छ।
केही जानकारहरूका अनुसार, ‘मोबाइलको कारणले गर्दा युवापुस्ता असामाजिक, अमर्यादित भएका हुन् भनेर भन्ने गरेको पाइन्छ। कतिपय अवस्थामा त यही विषयलाई लिएर बाबुआमा र छोराछोरीको बीचमा ठूलो झैझगडा भएको पनि देखिन्छ। अधिकांश युवापुस्ताले मोबाइल मात्र नभएर कुनै पनि इलेक्ट्रोनिक ग्याजेटहरू बिना उनीहरूको जीवन सहज छैन भन्ने धारणा व्यक्त गरेको पाइन्छ। किनकि उनीहरूले जन्मेदेखि नै त्यही वस्तुहरूसँग सहकार्य गर्दै आइरहेका छन्। ग्याजेटहरूबाट धेरै कुराहरू सिकिरहेका छन्। तर के सिक्ने, के चलाउने, के खोज्ने र कति समय चलाउने र त्यसको प्रयोग कसरी गर्ने भन्ने मापदण्ड सानैदेखि बनाइदिने हो भने कुनै पनि इलेक्ट्रोनिक ग्याजेटको दुरूपयोग गर्दैन थिए होलान्।
तर सानैदेखि ग्याजेटमा नै आफ्नो अमूल्य समय बिताउँदै आइसकेपछि धेरै एडिक्टेड भइसकेपछि यसलाई समाधान गर्न भने गाह्रो छ। तर समयमा नभनेर उनीहरू धेरै हदसम्म ग्याजेट क्रेजी भइसकेपछि भने यसको समाधान निकाल्न गाह्रो छ। आफ्ना बाबुआमाले भनेको नमान्ने बालबालिका भने पक्कै पनि हुँदैनन्। त्यसको तारतम्यता नमिलेर समस्या निम्तिन्छ र सुल्झाउन नसक्दा समस्याले ठूलो रूप लिने गर्दछ। जुन अहिले भइरहेको छ।
एक जना विश्वविद्यालयको प्रोफेसरले आफूले पढाएको कुनै विद्यार्थीले बाटोमा चुरोट तान्दै गरेको भेटेछन्। उहाँलाई लागेछ विद्यार्थी डराएर भाग्छ तर भागेन सरलाई नदेखेजस्तो गरिदियो। त्यसपछि दुःख मान्दै उहाँले आफूलाई धिक्कार्नु भयो, ‘कस्तो जमाना आयो, अचम्म भयो।’
अनि उहाँले आफू विद्यार्थी हुँदाको समय र आफू आफ्नो शिक्षकहरूसँग डराउने र झुक्ने गरेको अवस्थाहरू कोट्याउन लाग्नुभयो र दोष दिन थाल्नुभयो अहिलेको विकासलाई।
यो एउटा उदाहरण मात्र हो। यस्ता धेरै घटनाहरू छन्। पहिला जस्तो शिक्षकलाई देख्नेबित्तिकै डराएर चार कोस पर भागेर लुक्नु पर्दैन। तर एउटा शिक्षकलाई दिनुपर्ने मर्यादा भने पक्कै दिनुपर्छ। हाम्रो पूर्वीय दर्शन अनुसार गुरू र शिष्यको बीचमा निकै घनिष्ठ सम्बन्ध हुनु जरूरी छ। गुरूलाई माता, पिता सरह सम्मान गरिन्छ। आजकाल गुरूप्रतिको सम्मान हराउँदै गइरहेको छ।
माथि उल्लेख गरिएका केही उदाहरणहरू र परिवेशहरू अधिकांश ठाउँमा भेटिएका हुन्। यहाँ धेरै परिवेशहरू र उदाहरणहरू छन् सबै व्यक्त गर्न सकिएन।
अहिलेको समयमा बाटोमा, घरमा, समाजमा, स्कुल कलेज तथा विश्वविद्यालयमा तथा विभिन्न सार्वजनिक स्थलहरूमा नियालेर हेर्दा अहिलेको युवापुस्तामा पुस्तान्तरणमा समस्या छ। एउटा पुस्ताले चाहन्छ आफ्ना सन्तानहरू आफ्नो संस्कार संस्कृति नभुलून्, सभ्य नागरिक बनून्, पढाइ लेखाइमा अब्बल बनून्, जिम्मेवारी बहन गरून् तर अर्को पुस्ता उनीहरूले सोचेभन्दा ठ्याक्कै उल्टो देखिन्छ र यो बारेमा बहस छलफल र धारणाहरू भने अनगिन्ती पोखिन्छन् तर समस्याको समाधान भने त्यति खोजिएको देखिँदैन।
मैले भन्न खोजेको सबै अहिलेको पुस्ताहरू उस्तै छन् होइन। अधिकांश ठाउँमा यो समस्या देखेको भएर मैले यो लेख तयार पारेको हो।
हरेक अभिभावक, विद्यालय तथा सम्बन्धित निकायहरू सचेत भएर आफ्ना बालबालिकाहरूलाई सही तवरले उचित रेखदेख गर्न जरूरी छ। यसको मतलब यो हैन चाहिनेभन्दा बढी कडा अनुशासनमा राख्नु, कुनै पनि इलेक्ट्रोनिक डिभाइसहरूबाट बञ्चित गराउनु। समय अनुकूल र परिवेश सुहाउँदो तवरले अहिलेका बालबालिकाहरूलाई हेरचाह गर्न सकियो भने उनीहरू हामीले सोचेभन्दा फरक बाटोमा लाग्ने छैनन्।