हामीले चितवनको तोरी, पोखराको जेठोबुढो र पोखरेली चामल, बरमझियाको पेडा, मनकामनाको सुन्तला, सिन्धुलीको जुनार, जुम्ला र मुस्ताङको स्याउ, जनकपुरको माछा (पोखरी), मलेखुको माछा (त्रिशुली नदि) इलामको पाँच-अ (अदुवा, अम्रिसो, अलैँची, अर्थोडक्स, अकबरे ) पाँचखाल र साँखुको आलु, लालबन्दीको गोलभेँडा, झापाको सुपारी, रिडीको खुदो, भक्तपुरको दही, धुनिबेशीको अम्बा, टिकनीको चिउरा, चित्लाङको मुला, टोखाको चाकु, फर्पिङको नासपाती, खोकनाको तेलको चर्चा त सुन्ने गरेका छौँ।
अन्य कतिपय जिल्ला तथा स्थानहरू पनि केही न केही उपजले ख्याति कमाएको पाइन्छ। त्यसमध्ये एउटा हो रोल्पाको प्रमुखद्वारले परिचित सुन्दर गाउँ खुंग्रीको मास।
हालका दिनहरूमा भने नेपाल कृषिप्रधान देशको रुपमा परिचित हुन छाडेपछि व्यंग्यको रुपमा नेपाली उपभोक्ताहरूले भन्ने गर्छन्- 'नेपालमा नाम चलेका उपजहरू युक्रेनको पीठो, भारतको चामल, फापर, कोदो र मकै आदि इत्यादि।'
सदियौँदेखि खुंग्रीको मासले प्रसिद्धि कमाउँदै आएको छ। पहिले प्युठान र हाल रोल्पामा पर्ने खुंग्री पहिलेको बाइसे राज्य पनि हो। त्यहाँको मास राप्तीभर चर्चित छ। समुद्र सतहदेखि ७०० मिटरको उचाइमा अवस्थित समसितोष्ण हावापानी भएको सुन्दर ठाउँ खुंग्री रोल्पाभरिमा सबभन्दा सुन्दर गाउँमा गनिन्छ।
सन्यासीपछि ठकुरीको बाहुल्यता रहेको खुंग्री क्षेत्री, ब्राह्मण र मगर तथा दलित जातीहरूको सन्तुलित बसोवास भएको गाउँ पनि हो। यहाँको हावापानी अत्यन्त्यै सुहाउँदो छ, जाडो याममा न धेरै जाडो न त गर्मीयाममा धेरै गर्मी नै हुन्छ। आँप, केरा, चिउरी ज्यादै फल्ने खुंग्रीमा हालका दिनहरूमा केराहरू मासिँदै गएपछि स्थानीयहरू चिन्तामा छन्। खुंग्रीको बयर पनि चर्चामा आउने गर्छ।
सिंहदरबार निर्माण हुँदा खुंग्रीबाट तीन हप्तासम्म भरियालाई बोकाएर काठमाडौँमा मास ल्याइएको भन्ने कुरा पनि सुन्न पाइन्छ। मास भिजाएर लेदो पारेर सुकाएमा त्यो सिमेन्टजस्तै कडा हुन्छ। उदाहरणको रुपमा त्यसबाट बनेको बरी हातले फुटाउन कठिन हुन्छ। त्यसैले सिंहदरबार निर्माण गर्दा खुंग्रीको मास प्रयोग भएको भन्ने कुरा सही हो भन्न सकिन्छ, त्यसको तथ्य प्रमाण भने कतै पाइँदैन। पोटिलो दाना, मिठो स्वाद र पानीमा राम्ररी भिज्ने भएकोले राप्ती भेगका धेरैको रोजाइमा पर्दैआएको छ खुंग्रीको मास।
रोल्पाको सदरमुकाम लिबाङ र आसपासमा पछिसम्म पनि सिमी, बोडी, चुच्चेकरेला र रायोको सागबाहेक अन्य तरकारीको खेती गरिदैनथ्यो। खुंग्रीबाट काउली, बन्दा, प्याजलगायत मास भारीका भारी सदरमुकाम लिबाङतिर आपूर्ति हुन्थ्यो। खुंग्रीको मास, घोडागाउँको सिन्की र लिबाङ-गजुल-सिर्प-नम्जाको सुकासाग (स्थानीय भाषामा मार्यासाग) को चर्चा पनि नभएको होइन। लिबाङ नजिक पर्ने भुमको डौँरे (ठूलो निगुरो) र सुन्तला पनि उत्कृष्टमा गनिन्छ।
तेबाङको सुन्तला र मोसम पनि चर्चामा रहनेगरेको छ। फर्साचौरमा लट्टेको खेती अझै पनि हुनेगरेको देखिन्छ। जुन पाक्नुअघि बारीमा राता, पहेँला र सेता रङहरूमा आकर्षक देखिन्छन्। सिमीको दालमा पनि रोल्पा आत्मनिर्भर थियो, तर केही वर्ष अघिदेखि सिमीका दाना अन्यत्र निकासी हुनाले गाउँघरका स्थानीयहरूले मधेसबाट आएको मुसुरो र रहरको दाल खानथालेका छन्।
माडी खोला भेगमा चिउरी घिउको पनि वर्चश्व छ। चिउरी घिउलाई आयुर्वेदले उत्कृष्ट ठहराएको छ। तिहारमा बनाइने फिनीरोटी अन्य तेलमा बनाएको भन्दा चिउरी घिउमा बनाएको आकर्षक र मिठो मानिन्छ। प्युठानस्थित बड्डाँडाको सानो बजारमा चिउरी घिउका पोकाहरू पसलमा राखेको देखिन्छ। बड्डाँडा आसपासमा प्रांगारिक तवरले उत्पादन गरिएका स्थानीय जातका केरा, अदुवा र पिँडालुलगायतका उपभोग्य वस्तुहरू बिक्री वितरणका लागि राखिएका हुन्छन्। बड्डाँडामा गाडी रोकेर ती वस्तुहरू खरिद गर्न यात्रुहरू आकर्षित हुनेगरेको पाइन्छ।
रोल्पामा सदियौंदेखि गरिँदैआएको परम्परागत अनाजहरू जस्तै- कोदो, फापर, लट्टे, भटमासलगायतका कृषि उपजहरू हालका दिनमा घट्दै गएकोमा स्थानीयहरू चिन्तित छन्। जसले स्वास्थ्यमा पोषण प्रदान गरिआएका थिए। तर आयात गरिएको गुणस्तरहीन चामलको प्रयोगले स्थानीयहरूको स्वास्थ्यमा नकारात्मक असर परेको छ भन्नुमा कुनै अत्युक्ति हुनेछैन।
खुंग्रीमा मनाइने माघेसंक्रान्ति
माघेसंक्रान्तिमा खुंग्रीमा घिउ, चाकु, तरुल खाने चलन छैन। चाकु त अहिलेसम्म रोल्पामा प्रवेश पाएजस्तो पनि लाग्दैन। माघेसंक्रान्तिका दिन बिहान झुसेतिल अर्थात् फिलिंगेको तेलसँग खिचडी खाने चलन थियो। पहिले-पहिले बारीका बीचमा हरियो मास र वरिपरि फुलेका फिलिंगेका पहेँला फूलहरूले मान्छेलाई मनमोहक बनाउँथ्यो। हालका दिनहरूमा फिलिंगेको खेती त्यति गरेको देखिँदैन। फिलिंगेको तेलको सट्टा खिचडीसँग घिउ खाने चलन छ। बेलुकी भने मासकै फुरौला अर्थात् स्थानीय भाषामा बटुक खाने चलन छ। धेरै पहिले चतुर्भुजमा माघेसंक्रान्ति मेला पनि लाग्दथ्यो।
साविक राप्ती अञ्चलका केही स्थानहरूमा चर्चित कृषि उपजहरू-
खुंग्री, सारी, भिंग्रीको मास
मिझिङको जौँ र लट्टे
कोइरालखर्कको कोइरालो
धबाङ, जिनाबाङ र गामखोलाको आलु
बाजाबाङको केरा
धबाङ र तेबाङको सुन्तला
सुकिदहको रायोको बिउ
थबाङको भाङो
बोज्याङ, बडाचौर र गुम्चालको कोदो
खद्दर र बोज्याङको भटमास
रुकुमको सुकाएको सिस्नो
रोल्पाको आसपासका कृषि उपजहरूले पनि चर्चा नपाएको होइन। प्युठानको मुला, बाँझीपुरको बदाम, खालको काफल र बाजमको मह पनि चर्चामा आउँछन्।
हाल रोल्पामा पालिकै पिच्छे धेरै स्थानहरूमा बजार विस्तार हुँदैगएका छन्। खेतबारी बाँझो हुँदैजाँदा रोल्पाका स्थानीय कृषिउपज हराउँदै अर्थात् लोप हुँदैजाने र कतिपय अनाज तरकारी र फलफूल मधेशलगायत बाहिर जिल्लाबाट आउनेगरेको छ। बजार बजारमा डेरी खुल्नथाले। रोल्पालीहरूले हालका दिनहरूमा पहिलेको जस्तो मकै, भटमास, लट्टे, जुनेलो भुटेर खाने चलन हट्दै गैरहेको छ। रोटी, आटो आदि खान छाडेर खानाको रुपमा आयातीत अस्वस्थकर चामलको भात खान थालेका छन्। खाजाको रुपमा पाउरोटी, चाउचाउ र बिस्कुट खानथालेका छन्। जुन स्वास्थ्यका लागि स्थानीय उत्पादबाट बन्ने परिकारजति लाभदायक छैनन्।
२०४३ सालमा बानेश्वरको व्यापारीको एक गोदाममा बोराका बोरा मास भण्डारण गरेको देखेको थिएँ। के हो भनी सोध्दा खुंग्रीको मास भन्ने जवाफ पाउँदा दंग परेको थिएँ। त्यतिबेला रोल्पाबाट सिधैं यातायातका साधन चल्दैनथे। रोल्पाबाट दाङसम्म मान्छे वा घोडामा बोकाएर मास ल्याइन्थ्यो र दाङबाट बसमा काठमाडौँसम्म आउँथ्यो।
जथाभावी रासायनिक मलको प्रयोगले गर्दा देशभर माटोको उर्वराशक्ति घट्दै गएपछि यसमा खुंग्री पनि अछुतो रहन सकेन। फलस्वरुप मासको उत्पादनमा कमी हुँदै गैरहेको छ।