अमिनावादको भीडमा मारुफले मेरा हातहरू समाई र तान्दै फटाफट हिँडेर एउटा एकान्त गल्लीमा पुर्याई। बंगारा बानेर चर्को आवाज निकाल्दै उसले मलाई भनि, ‘तुम क्या खाना चाहते हो?’
बुर्काभित्र उसका आँखाहरू रिसले चुर थिए। अशान्त र अस्थिर थिए। कसैले देख्लान् भन्ने उत्पात डर थियो उसलाई। तर म एकदम शान्त र बेवारिस थिएँ। जिन्सको गोजीमा हात कोचारेर, मुन्टोले जमिनमा जोतेर म चुपचाप उसको अघि उभिएको थिएँ।
‘तुम अभी वापस जाओगे। अभी यहाँ बहुत खतरा है। मुझे नहीं पता कि तुम कैसे वापस जाओगे।’
मैले भनें – ‘क्यूं’
‘क्योंकि यह शहर तुम्हारा नहीं है।’ मारुफको आवाजमा गहिरो सत्यको कम्पन थियो र त्यो कम्पनले मलाई भित्रैदेखि हल्लाएको थियो।
केही दिनपछि त यो सहर मारुफको पनि हुने छैन। किनकी उसको बिहे कोलकत्ता हुँदै थियो र यो कुराले मलाई दुखेको थियो। पहिलो र अन्तिम भेटका लागि लखनऊ पुगेर मारुफलाई अचानक मैले फोन गरेको थिएँ।
उसले भने जस्तै जहाँ म उभिएको थिएँ, त्यो सहर मेरो थिएन। त्यो देश मेरो थिएन। त्यो धर्म मेरो थिएन र त्यो अल्लाह पनि मेरो थिएन। त्यसैले मैले मेरो भनेको प्रेम पनि मेरो नभएपछि शिथिल शरीरलाई ट्याक्सीमा राखेर रुपैडियासम्म फर्काइ ल्याएको थिएँ।
त्यो घडीले मलाई आफ्नोपनको अर्धसत्य के हो, भन्ने सिकाएको थियो।
हामीले जस्लाई आफ्नो भनिरहेका छौं, के ती आफ्ना हुन् ? यति भनिसकेपछि एउटा प्रश्नको निर्माण हुन्छ, आफ्नो भनेको के हो ? यो शब्दको अर्थ थाहा पाउन म र मेरो शब्दको अर्थ थाहा पाउनु जरूरी हुन्न र?
एक दिन ब्रह्मकुमारी ईश्वरीय विश्वविद्यालय पुगेको थिएँ। पहिलो चरणमा सात दिनको कक्षा हुँदो रहेछ। सहभागी पनि भएँ। प्रमिला दिदीले भन्नुभयो, ‘म भनेको ब्रह्म हो, मेरो भनेको भ्रम हो।’
मेरो हात, मेरो आँखा, मेरो छाला, मेरो घर, मेरो श्रीमती, मेरो सन्तान, मेरो बाआमा। मेरो हुनु भनेको म हुनु होइन। ती कुनै पनि कुराहरू मसँग कुनै पनि सम्बन्ध नभएका कुराहरू हुन्।
त्यसपछि के बुझ्नुपर्ने रहेछ भने, यथार्थमा मैले मेरो भनेको देश पनि मेरो होइन। मैले मेरो भनेको घर पनि मेरो होइन। मैले मेरो भनेको श्रीमती र सम्पत्ति पनि मेरो होइन।
हाम्रो मोक्षशास्त्र (गीता) ले पनि भन्छ, तिम्रो के गएको छ र तिमी रुन्छौ? तिमीले के लिएर आएका थियौ र तिमीले हरायौ? तिमीले के पैदा गरेका थियौ र नाश भयो? तिमीले केही लिएर आएका थिएनौ। जे पायौ, यहीँबाट पायौ। जति दियौ, यहीँ नै दियौ। खाली हात आएका थियौ, खाली हात नै जान्छौ, जे आज तिम्रो छ, त्यो हिजो अरू कसैको थियो, भोलि अरू कसैको हुनेछ। तिमी यसलाई आफ्नो सम्झेर मग्न भैरहेका छौ। यही खुसी नै तिम्रो दुःखको मूल कारण हो।
मोक्ष मार्गको गहिराइबाट अलिकति उक्लिएर सतहकै कुरा भन्छु।
पूर्वपश्चिम राजमार्ग भएर तीन वर्ष पहिले म कोहलपुर आएको थिएँ। आकाश उक्लिरहेका घरहरू, फैलिरहेका सडकहरू, दौडिरहेका सवारीहरू तर शान्त मानिसहरू। झट्ट हेर्दा यो सहर, प्यूपाबाट पुतलीमा रूपान्तरण हुँदै गरेको जीवजस्तो लागेको थियो। लामो कालखण्ड एउटा चोकको जीवन बाँचेर अब सहर बन्छु भनेर बल गरिरहेको ठाउँ हो यो।
केही समय सरकारी ‘बोरा’ बोक्ने पक्कापक्की भएपछि मलाई बैंक एकाउन्ट चाहियो। म नेपाल बंगलादेश बैंक लिमिटेडको कोहलपुर शाखामा पुगेँ।
पर्पल कलरको लिपिस्टिक लगाएकी एउटा केटीले फर्म ल्याइन् र रूखो लवजले सोधिन्, ‘तपाईंको नाम के हो?’
मैले नागरिकताको फोटोकपी देखाएँ। नागरिकतामा मेरो फोटो देखेरै सायद होला, ऊ मुसुमुसु गरी र फेरि सोधी ‘तपाईंको ठेगाना कहाँ?’
म टक्क रोकिएँ। अनि हाम्रा आँखाहरू जुधे।
मैले भनेँ, ‘म यो ठाउँको मान्छे होइन नि।’
‘कहाँ को त ?’ उसको यो प्रश्नले पनि मलाई झस्कायो। किनकी, म जहाँको थिएँ, त्यो ठाउँ छोडिसकेको थिएँ। अब त्यो ठाउँ पनि मेरो थिएन।
‘भन्नुस् ठेगाना कहाँको लेखम् ?’ त्यो केटीले नछोड्ने भई।
अनि मैले भनेँ, ‘लेख्नुस्, कोहलपुर, बाँके।’
जीवनमा पहिलो पटक कोहलपुर मेरो ठेगाना भयो। तीन वर्षपछि यसो सम्झन्छु, कागजमा कोहलपुर मेरो ठेगाना त लेखाएकै थिएँ, तर त्यो मेरो भयो त? अनि म कोहलपुरको भएँ त?
दुभार्ग्य, दुई वर्षपछि नै त्यो बैंक आफैं आफ्नो भैरहन सकेन। नविल बैंकसँग मर्ज भएर कारोबार गर्न थालेको छ अहिले। सधैंका लागि आफू आफ्नै पनि त हुन नसकिने रहेछ।
गुराँस क्याफेमा एकदिन अमेरिकानोको स्वाद लिइरहेको थिएँ।
लक्ष्मी नारायणले निर्वाचन प्रचारको कार्ड दिएर गएको थियो। उसले गलत मान्छेमा प्रचारको लगानी गर्दै थियो। ब्ल्याक एण्ड ह्वाइट रंगकी एउटी राम्री वेटर आएर आँखामा हेरेर सोधी, ‘तपाईंले कसलाई भोट हाल्नुहुन्छ?’
टिकटक चलाइरहेको रूपेशले फरक्क फर्किएर त्यो बहिनीलाई हेर्यो, र भन्यो, ‘हामी यहाँको भए पो...।’
त्यसपछि मैले रूपेशको आँखा हेरेँ।
चुनावको दिन आयो। अघिपछि देखिने सुकिला मुकिला, गोरा र हृस्टपुष्ट थुप्रै थुप्रै अनुहार मतदान केन्द्रमा देखिएनन्। भोट लिष्ट खोज्दै कतै गए होलान्। अवश्य भन्न सकिन्छ, उनीहरूको पनि थिएन, यो सहर।
केही महिनापछि, त्यो क्याफेबाट ब्ल्याक एण्ड ह्वाइट रंगकी वेटर रुँदै निस्किएको देखेँ। न साहुलाई के भयो भनेर सोध्न सकेँ, न त्यसपछि त्यो केटीलाई भेट्न पाएँ।
मैले बुझेँ, मेरो भन्नु भनेको केही क्षणका लागि आनन्दानुभूति मात्रै रहेछ। त्यो जति जति लामो समय स्थिर हुन्छ, झन झन दुखाउने बन्छ। २८० दिनपछि पनि बच्चा जन्मिएन भने गर्भवतीलाई जोखिम हुन्छ। हामी कसैको हुनु र नहुनुलाई प्रकृतिले समय दिएको छ। तपाईं सधैं छोरा वा छोरी बनिरहन सक्नु हुन्न। एक दिन प्रकृतिले तपाईंको बाबुआमालाई मारिदिन्छ र तपाईंबाट आफ्नै सन्तान जन्माई दिएपछि तपाईंलाई बाआमाको रूपमा रूपान्तरण गर्छ, स्थानान्तरण गर्छ।
लाख वर्ष जमिनमुनि निदाइरहेको सुनलाई पनि ब्युँझिएर मानिसका लागि गहना बन्नुपर्छ। यो पृथ्वीमुनि र माथिका कुनै पनि कुरालाई हाइसन्चो छैन।
कुरो फेरि गहिरो बन्न थाल्यो। निस्कियौं, फेरि सतहमा।
तपाईंले सोच्नुभएको छ, कोहलपुर हिजो कसको थियो? यो प्रश्न आध्यात्मिक होइन। यो पूरै भौतिकवादी प्रश्न हो।
पुराना मानिसहरूले पुराना इतिहास भन्छन्, त्यो पनि कथाको शैलीमा।
हाल नेपालगंजबाट कोहलपुरको चौराहा भएर उत्तर हान्निएको यो रत्न राजमार्गको चौडा छाती कुनै जमानामा झारझाडीले छोपेको जंगल मात्रै थियो। यो भूगोलको प्रकृति प्रदत्त स्वभाव अहिले बदलिएको छ। निश्चिन्त भन्न सकिन्छ, यो भूगोल कुनै समय कुनै चराको थियो। अनाम फूलले बासनाको मोहनी बल्छी हानेर भमरा बल्झाउने आँगन थियो। स्यालले वियोग गाउने गाउँ थियो। अहिले यही ठाउँमा नगरपालिकाले चार लेन सडकको बीचमा बिरूवा रोप्न करोडको बजेट खर्च गरिरहेको छ।
गर्यवा पर्गा थारू यही कोहलपुरको चौक चटार गर्दागर्दै, हिँड्दा हिँड्दै र नियाल्दा नियाल्दै उनी आफैं हराउने सहर भैसक्यो। उनको अनुहार हेर्दा लाग्छ के यिनको पनि वैँश आएको थियो र ? ती सेताम्मे फुलेका डाँडापारिका जुनजस्तै थारूलाई गमदा बोध गर्न मन लाग्छ, कि, समय त आफ्नो झन् हुँदै होइन। विडम्बना उनले गाई चराउन अझै छोडेका छैनन्। पर्गा थारूलाई पछि पारेर यतिबेला कोहलपुरले वैंश देखाएको छ। उनी यो सबै परिवर्तन सपनाझैं ठान्छन्।
हाइमास्ट लाइटको उज्यालोले अन्धकारमा पनि चम्किने यो कोहलपुरको छायामा थुप्रै काला कथाहरू छन्। नेपालगंजमा हाट आउने हटारुका पैतालाले नक्साङ्कन गरेको गोरेटोलाई चरक्क चिरेर विक्रमादित्यको बीसको दशकपछि महेन्द्र राजमार्ग बन्यो र एउटा चोक बन्यो। यहाँका आदिवासी थारू समुदायले तोरी पेल्ने परम्परागत काठको उपकरण ‘कोल’बाट यसको नाम ‘कोहलपुरवा हुँदै कोहलपुर’मा विकास भयो। टाँगा चल्ने कच्ची बाटोमा ट्रक चल्न थाले, अहिलेको आधुनिक सडकसम्म आइपुग्दा कति जोर पैताला हिँडे होलान् ? त्यसमध्ये कति पैताला कोहलपुरको आफ्नो भए ? कति भएनन् ? यो अनन्त वियोगमा मुर्छा परेर रोइदिने ठेक्का यो देश दुनियाँमा कसले लिएर बसेको छ र? अहँ, छैन।
इतिहासको कुनै दिन थारू समुदायले झाडी जंगल फाडेर हालको कोहलपुरको भूगोल भोगचलन गर्न सुरू गरेका थिए। पुराना मानिसहरू पुराना कुरा कसो कसो सम्झिएजस्तो गरेर भन्छन्।
आफ्नै बित्दो इतिहास पनि आफ्नो हैन जस्तो गरेर उनीहरू बोल्छन्, जहाँ अहिले टाउन प्लान छ, त्यो थारूले खर काट्ने जंगल थियो, जोत्ने खेत थियो, आफन्त मरेपछि गाड्ने चिहान थियो।
सागर गैरे कोहलपुरको इतिहास लेख्दैछन्, भन्छन्, ‘होटल म्याक्स उभिएको जग कुनै समय वरले खुट्टा टेकेको भूमि थियो। वडा नम्बर ११ को कार्यालय बसेको जमिन त्यसअघि आँप हुर्केको आँगन थियो। कुसुम फुल्ने करेसो थियो।’
बसपार्क हुनुअघि बेल र बयरका बोटहरूले त्यो जमिन जोगाएका थिए। यी बोट बिरूवाको हैसियतबारे के भन्नु ? थारूले आर्जेको यो भूगोल कालान्तरमा उनीहरूको समेत भएन। प्रतिकट्ठा पैतीस सय रुपैयाँमा अधिग्रहणका लागि दिएको त्यही जमिनप्रति नौ धुरको एउटा घडेरीलाई थारूहरूले पच्चीस हजार रुपैयाँमा किन्न सकेनन्।
यो परिस्थितिलाई म उनीहरूको दुर्भाग्य भनौं कि, के? जसको जमिनमा टाउन प्लानको जग खनियो त्यो कोहलपुरमा अहिले कुनै थारूहरूको घडेरी छैन। घडेरी नै नभएपछि घर हुने कुरै भएन। अनि मलाई सोध्न मन लाग्छ, यो कोहलपुर कसको हो ? यो प्रश्नले कुनै प्रमाण पुष्टि वा कुनै तथ्य तथ्यांक माग्दैन। यसले विवेक निर्माण गर्छ।
आज पाँच दश मिनेटभित्रै कोहलपुरलाई मोटरसाइकलबाट फन्को लगाएर सकिन्छ। तर सहरको एउटा विशेषता हुने रहेछ, प्रत्येक सहरले सत्ता निर्माण गर्ने रहेछ। गरिबी जन्माउने रहेछ र बहुसङ्ख्यक मजदूरमाथि मुठ्ठीका मानिसले शासन गर्ने रहेछन्। यस्तो बेला गायक जेवी टुहुरेको गीत सम्झना आउँछ।
‘बसाइ हिँड्नेको ताँतीले बस्नेको मन रुँद छ,
लाखौंको लागि उजाड छ यो देश, मुठीभरलाई त स्वर्ग छ।’
यी मुठ्ठीभरका मानिसहरू कहाँबाट आउँछन्? के लिएर आउँछन् ? कुन चेतना र वैभव बोकेर आउँछन् र शक्तिमा पुग्छन्? यो कुरा ती लाखौं मानिसहरूले थाहै पाउँदैनन्? म आफैं गम्दा गम्दै अलमलमा पर्छु।
होलीको अघिल्लो साँझ। म कवि केशव निमेशको पसल पुग्दै थिएँ। इलाका प्रशासनअगाडि तीन वटा हेप्पी होली लेखिएको सेतो टिसर्ट राखेर एउटी आमा ग्राहकको प्रतीक्षा गरिरहेकी थिइन्। मैले बाइक फनक्क घुमाएर उनको अघि रोकेँ। ढल्किँदो साँझमा पनि उनको आँखामा हतार थिएन।
‘कति दाम यसको?’– मैले दया भावले सोध्ने कोसिस गरेँ। ती टिसर्टहरू मेरो शरीरका लागि थिएनन् र अरू कसैका लागि किनिदिनु जरूरी थिएन। किनकि म एक्लो थिएँ सहरमा।
‘दुई सय हो बाबु’ – ती वृद्धा आफ्नो ठाउँबाट उठिन्। मैले पर्स निकालेँ। झारझुर पारेर झण्डै पाँच सय पुग्यो।
‘तीन वटै लैजान्छु, पाँच सय मात्रै रैछ, दिनुहुन्छ त ?’– एकछिन सोचेर उनले 'हुन्छ' भनिन्। हुन सक्छ उनले नाफाको हिसाब गरिन्। मनमनै औंलाहरू भाँचिन्। मैले तीनै वटा बेकामे टिसर्ट लिएर बाइक स्टार्ट गरेँ। उनी पाँच सय पुग्ने फुटकर नोट चौबन्दी चोलीको पेटी गोजीमा कोचारेर मेनरोडतर्फ सोझिइन्। म केही पर पुगी छलिएर ती आमा गएको हेरिरहेँ। आकाशमा चराहरू गुडतर्फ गइरहे जस्तै दृष्य थियो त्यो।
अनि, त्यो साँझ हजरतको वफ बिरयानी खाने एक सय साठी रुपैयाँ पनि भएन मसँग। कोठामा आएर कृष्ण पौडेलको विश्व आर्थिक क्रान्ति भन्ने किताबको झण्डै एक सय वटा पेज पढेर सुतेँ। सम्झेँ, यो सहर ती वृद्धाको पनि हो ? अनि मेरो ? कुनै प्रश्नहरूको उत्तर आएन। उत्तर आफ्नै मुटुको दुखाइ बनेर आयो।
बेडमा कुकुर सुताएर निदाउने भैसकेको कोहलपुरले फुटपाथको मानिसलाई किन मानिसको आँखाले हेर्दैन?
कसैलाई पनि थाहा छैन, ती सडक किनाराका सबै मानिसको ठेगाना। थाहा छैन मान्छेको मूल्य। अनि साहित्यकार सागर गैरेलाई आँगनका फूलहरू जोगाउन किन यति गाह्रो? देश देशावर आश्चर्य बन्ने गरी किन मारिनु परेको होला सर्जन विकलाई?
जब जब कुनै घरमा पुग्छु, ठूला अक्षरले गेटमा लेखेको देख्छु, ‘कुकुरदेखि सावधान’, ‘फलानो निवास’, ‘यो जाति निवास’ यस्तै यस्तै। त्यसपछि त्यो घर मेरो लागि होइन भन्ने सम्झन्छु। जुन सहरमा सँगसँगै बसेर चिया पिउन नामको पछाडि थर एउटै हुनुपर्छ। त्यो सहरको भविष्य कस्तो बन्छ?
कोलहपुर चौराहमै डिजिटल बोर्ड बनाएरै लेखिदेओस् कसैले, यो सहर कसको हो ? अनि यस्ता शब्दभावहरू लेख्ने मजस्ता नाथे लेखकहरूले आफ्नो हैसियत थाहा पाउँछन्।