सन्तान जन्माउनु हरेक महिलाको एक विशिष्ट गुण हो।
९ महिना गर्भमा राखेर अनेक शारीरिक र मानसिक कष्टलाई सहेर मात्र एउटी महिलाले सन्तान जन्माउँछे।
प्रसव पीडा कस्तो हुन्छ सायद त्योभन्दा पीडादायी क्षण जीवनमै अरू हुँदैन। गर्भमा ९ महिना हुर्काएर प्रसवको समयमा असिम वेदना सहेरमात्र महिलाले मुक्ति पाउँदैनन्।
यसरी जन्माएपछि बच्चालाई हुर्काउने जिम्मा पनि आमाकै हुन्छ। त्यसका लागि ती आमाले धेरै कुरा गुमाउनुपर्छ। राम्रोे लागेको लगाउ भन्दा, छोराछोरी भइसककीले के नक्कल गरेको रे। कतै घुम्न वा रमाउन जाऊँ भन्दा, बच्चा भइसक्यो अब कहाँ त्यसरी हिँड्न पाइन्छ रे। कतै रमाइलो गरौं भन्दा अब नाच्ने गाउने रमाइलो गर्ने समय सकियो रे।
आम्मामा कति कुरामा रोकटोक कति बाधा अड्चन?
के महिलाले आफ्नो लागिमात्र सन्तान पाएकी हो र? हुन त यी सबै त्यागका बाबजुद पनि सन्तान बाबुकै नामले चिनिन्छ। बच्चा जन्माउने कुरामा सबैले भोगेको पीडा एउटै नहुन सक्छ।
म आफैंले पहिलो सन्तान जन्माउँदा गरेको अनुभव र दोस्रो सन्तान जन्माउँदा भोगेको शारीरिक र मानसिक पीडामै धेरै भिन्नता छ।
मेरो पहिलो बच्चा विराटनगरको श्री अस्पतालमा भ्याक्युम प्रयोग गरेर मात्र जन्मियो।
सामान्य भन्दा अलि फरक तरिकाले सुत्केरी भए पनि प्रसवको दुखाइबाहेक मलाई अस्पतालमा अन्य असहजता भएन।
पहिलो सन्तान विस्तारै हुर्किंदै गयो। ९ वर्ष पुगेपछि उसले भाइ बैनीको तीव्र चाहना राख्न थाल्यो।
हामी एउटा मात्रै सन्तान भए पुग्यो भनेर बसेका दम्पतीलाई दोस्रोे बच्चा नजन्माइ धरै भएन। छोराको साथी आउने पक्का भयो। डाक्टरले २०७८ कात्तिक १४ को अनुमानित डेट दिएका थिए।
२०७८ असोज २९ गते एक्कासि अत्यधिक पानी बग्न थालेपछि म आत्तिएँ। श्रीमान घरमै भएकोले बिहानै बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पुग्यौं। अस्पताल जाँदा सबै राम्रै थियो।
ठूलो नाम चलेको अस्पतालमा पुगेकाले खासै अस्पतालमा अन्य समस्या नहोला भन्ने सोचकी थिएँ। एकसेएक नाम चलेका वरिष्ठ डाक्टरहरू भएको अस्पतालले मलाई मर्न त दिँदैनन् भन्ने मेरो विश्वास थियो तर मैले सोचेको भन्दा एकदमै खराब व्यवहार र पीडा भोगें।
अस्पतालमा प्रसूति कक्षमा महिलामाथि विभिन्न किसिमका दुर्व्यवहार हुन्छ भन्ने मैले पत्रकारिता गर्दा सुनेकी/पढेकी थिएँ। तर पत्याएकी थिइनँ।
मेरो बुझाइ गलत रहेछ। अस्पतालका बारेमा बाहिर आउने कथाहरू नै सत्य रहेछन्।
त्यो दिन अस्पताल पुगेर चेकजाँच गरेपछि नर्मल छ आत्तिनु पर्दैन, नर्मल डेलिभरीको लागि कुरौ भनेर डाक्टरले भर्ना गराए।
बिहान ८ बजेदेखि मलाई औषधि सुरू गरी वार्डमा सारियो।
दोस्रो बच्चा भएकोले प्रसवको दुखाइ र अस्पतालमा हुने चेकजाँचको लागि म मानसिक रूपमा तयार नै थिएँ। तर त्यस्तो पीडाको समयमा ब्यथाले थलिएर हारगुहार मागिरहेका महिलामाथि स्वास्थ्यकर्मीहरूको अपशब्द र असहयोग त्यो अझै मेरो दिमागबाट हट्न सकिरहेको छैन।
८ बजेदेखि मलाई पेटमा कटक्क दुख्न सुरू भयो जुन तारन्तार भोलिपल्ट १ बजेसम्म चलि नै रह्यो।
बेला-बेला डाक्टरले घर कति खुलेको छ भन्दै हातै हालेर हेर्थे तर खासै प्रगति नभएको भन्दै फर्किन्थे।
ओहो कति निर्दयी हुन् यी डाक्टरहरू पीडाले छटपटाइरहेकी महिलाको संवेदनशील अंगमा हात नै छिराउँदा कत्ति पनि सावधानी अपनाउनु पर्दैन। दुई चार पटक हो र? धेरै पटक। उल्टै दुखाइ हुन्छ भन्ने थाहा थिएन र भन्दै व्यंग्य गर्थे नर्सहरू।
केहीबेर अघि सबै पीडा सहन मानसिक रूपमा बलियो भएर आएकी म डाक्टर नर्सहरूको व्यवहारले विस्तारै आत्तिन थालें।वरिपरि भएकाहरू सबै आफूजस्तै छन्। कोही रूँदैछन्, कोही कराउँदैछन्।
मसँगै भर्ना भएकाहरूको बच्चा जन्मिसक्यो।
मलाइ लामो समय ब्यथा लागिरहेकाले यो पटक कम्प्लिकेशन भएजस्तो महसुस हुन थाल्यो। रातिमा डाक्टरहरू कोही आएनन्। उनीहरूले हात हालेर दुखाउने भएकोले त नआएकै राम्रो लागेको थियो। पीडैपीडामा जसोतसो रात कट्यो। बिहान हुँदा मेरो चेत उडिसकेको थियो।
बिहान ७ बजे डाक्टरहरूको एक हुल आयो। त्यो बेला मेरो श्रीमान र सासू बाहिर निस्किनु भएको थियो त्यही बेला रुमा रिजाल पर्दा पछाडि आऊ भनेर बोलाए। मेरो शरीर फुलेर आयो। म नसुनेझैं गरी बसिरहें। उनीहरूले फेरि बोलाए पछि म रूँन थालें। नर्सहरूले मलाई हात समातेर पर्दा पछाडि लगे। डाक्टरले फेरि उही हात हालेर चेक गरे। योभन्दा बढी दुखाइ कस्तो हुन्छ मलाई थाहा छैन म अर्धचेत अवस्थामा पुगेपछि डाक्टर र नर्सहरूले नै मलाई बाहिर ल्याएका रहेछन्। त्यहाँबाट मलाई सिधै लेबर रूममा लगियो। लेबर रूपमा पुगेपछि ब्यथा मात्र होइन मनको डर पनि बढ्यो।
म उचालिँदै पछारिँदै गर्न थालें। मलाइ एकदमै तल्लो पेट पोल्न थाल्यो। त्यसमाथि भित्रका सबै उस्तै उस्तै। सबै कराइरहेका छन्। कोहीको बच्चा जन्मिँदैछ, कोही ब्यथा खप्न नसकेर रूँदैछन्। कोहीको बेडमै बच्चाको टाउको निस्किसकेको छ। बच्चा जन्माउन राख्ने कुर्सी खाली छैन भन्दै डाक्टरले बेडमै कसैको डेलिभरी गराइरहेका छन्। मान्छेबाट मान्छे निस्कने यो जटिल प्रक्रियाको ब्यवस्थापन गर्ने ठाउँ कति अस्तब्यस्त। त्यहाँको अस्तब्यस्तता देखेर नै धेरैको हौसला कमजोर हुने वातावरण बन्दोरहेछ।
अझ त्यसमाथि नर्सले कराइरहेका छन्। कसैलाई त कुट्दै पनि छन्। म चकित पंरे कतिसम्म रूखो बोल्न सकेका नर्सहरू। हौसला दिनु त परको कुरा उल्टै झपारिरहेका छन्।
लाग्छ कि उनीहरू कसैको यस्तो दिन आउने छैन।
मेरै बेडको छेउमा एउटी दवाडी थरकी २०/२२ वर्षकी महिला थिइन्। उनको पहिलो बच्चा जन्मिँदै थियो।
उनलाई गाह्रो भएको बेला उनी ब्यथाले चिच्याउँथिन्। उनको बच्चाको टाउको तल झरिसकेको भए पनि कुर्सी खाली नभएकाले उनलाई नर्सहरूले बेडमा बल गर्न भनिरहेका थिए बिचरा उनले पनि सक्दो बल त गरिरहेकै थिइन्। तर नर्सहरूले उनलाइई बच्चा च्यापिएर मर्यो भने हामीलाई दोष लाउन पाइँदैन भन्दै हकारे। बल गर्ने बेलामा नगर्ने अनि अहिले बच्चा अड्किएपछि तल (यौनांगमा इशारा गर्दै) वार कि पार हुने गरी चिरिदिएपछि थाहा हुन्छ भन्दै रिसाएको देखेर मलाई असह्य भयो।
ओहो! के भनेको होला त्यति रूखो। बिचरा उनलाई कति गाह्रो भएको छ। सान्त्वना दिनुको साटो यस्तो नमीठो बोली कति अशिष्ट भाषा प्रयोग गरेका। मैले यसअघि सुनेभन्दा पनि अभद्र हुँदा रैछन् ‘लेबर रूम’का नर्सहरू त!
आफू असह्य पीडामा भए पनि म भित्रको पत्रकार जाग्यो।
मैले सकीनसकी ती नर्सहरूलाई जवाफ लाएँ। यस्तो गाह्रो भएको बेला नि क्या मीठो हौसला पो दिनुहुँदो रैछ है! नर्सहरूको व्यवहार यस्तै हो ? भनेर मैले त्यहाँ भएकी नर्सलाई हप्काइदिएँ।
म बोलेपछि त झनै उनीहरूको पारा तात्यो।
अहिले बाझ्दै चिच्याउँदै बस्नुस् बच्चा मर्यो भने आफैं जिम्मा लिनु भन्दै मसँग पनि उनीहरू बाझ्न थाले।
एउटी त नजिकै आएर हातै हालौंला जस्तै गरी दोस्रो पाला रैछ त थाहा थिएन दुख्छ भन्ने भन्दैै झर्किन थाली।
उनीहरूको दुर्व्यवहार र अशिष्ट वचनबाट आजित भएर त्रसित हुँदै मलाई रेगुलर चेक गर्ने डाक्टर बोलाउनुस् भन्दैै म चिच्याउन थालें।
बच्चा पेटमा आएदेखि मैले डाक्टर रोहित शर्मासँग परामर्श लिँदै आएकी थिएँ। मैले उनको नाम लिएपछि त नर्सहरूलाई झनै बहाना मिल्यो।
ए बरिष्ठलाई देखाएको रैछ त उहाँले चाहिँ भन्नुभएन बच्चा पाउँदा दुख्छ भनेर भन्दै नर्सहरूले मसँग जथाभावी बोल्न थाले।
ड्युटीमा भएका ती नर्सहरूले एक जना मुस्लिम महिलालाई त भनेको मानिन भन्दै कुटे पनि। पीडाको बेला पनि मनमनै सोचिरहेकी थिएँ।
यो लेबर रूमबाट जिउँदै त बाहिर निस्किन पाऊँ तिमीहरू एक एकलाई सबक सिकाउने छु।
घरका मान्छेसँग पनि चित्त दुखेर आयो। यतिका समय भयो म यस्तो हालमा छु किन मलाई अर्को अस्पताल नलगेका होलान् किन केही नगरेका होलान् सारै बिचलित भएँ।
त्यहाँ कसैले मीठो बोलेर सम्झाइमात्र दिएको भए पनि मेरो पीडा आधा घट्थ्यो।
मजस्तै त्यहाँ भएका सबैले यही अपेक्षा गरेका थिएँ। तर त्यहाँ हामीलाई बुझेर बोल्नेसम्म कोही थिएन।
हामी वल्लो बेड पल्लो बेडकाहरू एकअर्काका भएका थियौं। पहिलो पाला हुनेहरूले बरू मलाई पो दिदी मलाई यस्तो भयो के यस्तै हुन्छ? भनेर सोध्थे। मैले पनि उनीहरूलाई ढाडस मिल्ने गरी बताइदिन्थें।
सहनुको पनि त कुनै सीमा हुन्छ नि! यो पटक जीवनदान देऊ भगवान भन्दै पुकार्न थालें।
भरे घरमा भएको छोराको काखमा उसको साथी राखिदिँदाको पल सम्झेर आफूलाई सम्हालें।
ओठमुख सबै सुक्यो। नर्ससँग पानी मागें, धेरै बेरमा मिनरल वाटरको एउटा बोतल दिए। बोतलमा शिल लागेको थियो। हात क्यानुलाले सुनिएर चलाउन गाह्रो भएको थियो। बिर्को खोल्न नसकेर कतिबेर छटपटाएँ।
नर्सलाई खोलिदिनु न भन्दा क्यानुला लाएको हो हात भाँचिएको होइन भन्ने जवाफ पाएँ। यस्तो अमानवीय शिक्षा यी नर्सहरूलाई कसले दियो होला?
९ वर्ष पहिला डाक्टर रश्मी कोइरालाले म ब्यथा लागेर छटपटाउँदा भनेको शब्द याद आयो।
रुमा केही हुन्न मान्छेबाट मान्छे पो निकाल्ने हो गाह्रो त भैहाल्छ नि तर विश्वास गर्नुस् तपाईंलाई केही हुन दिँदैनौं।
धेरै गाह्रो भएको बेला १,२,३,४ भन्दै १०० सम्म गन्ने, मुख बन्द गर्दै खोल्ने, लामो लामो श्वास लिने रश्मीले सिकाएका यिनै कुरा फलो गर्दै थिएँ।
यसैबेला एक जना डाक्टर आएर ४, ५ घण्टा भयो त यो प्यासेन्ट आएको के भइरहेको छ भन्दै नर्सलाई सोधे।
नर्सले नर्मल छ ४ घर जति ओपन छ भन्दै मेरो अवस्थाको बारेमा सुनाइन्। डाक्टरले नजिकै आएर तल पेटमा छामे नर्सलाई मलाई तुरून्त कुर्सीमा लग्न भने।
बच्चाको टाउको तल झरिसकेको छ बच्चाले बल गरिरहेकाले आमाले पनि बल गर्नु त भन्दै मलाई कुर्सीमा राखे। अब हल्का ढाडस मिलेको अनुभव गरें। फलामले फलाम काट्छ भनेझैं दुखाइले दुखाइलाई नै काट्दो रैछ क्यारे अन्त्यमा दुखाइ बिर्सिए बल ज्यादा आयो।
कुर्सीमा राखेपछि मलाई डाक्टरले बच्चा जन्मिन लागेकाले नरोकी बल गर्न हौसाए। मैले पनि सके जति बल गर्दै थिएँ। आँखाले केही देखिरहेको थिएन। माइकमा रुमा रिजालको मान्छे भनेको अलि अलि सुनें।
भित्र डाक्टरले भ्याकुम तयार पार्न भन्दै आत्तिएको आवाज पनि सुनें। मुटु चसक्क भयो अन्तिम समय आयो झैं लाग्यो । त्यसपछि के भयो मैले थाहा नै पाइनँ तर निरन्तरको प्रयासपछि बच्चा जन्मिएछ।
बच्चा निस्केपछि पहिलाभन्दा अलि केही दुखाइ कम भयो तर नर्सहरूलाई त पुगेको रहेनछ। मलाई गाली गर्ने नर्स छेउमै आएर बल्ल बल्ल जन्मियो तर तपाईंले बल गरेर होइन! मेरो बच्चा उसैले जन्माइदिएकी जस्तो गरी बोलिन्।
म केही बोल्न सक्ने अवस्थामा थिइनँ।
२८ घण्टाको प्रसव पीडापछि म सफल भएँ। प्रसव पीडासँग तुलना गर्न सकिने पीडा जीवनमा भोग्नु परेकै छैन कि हुँदैन कुन्नि? यो पीडा कस्तो हुन्छ त्यो एउटी आमाले मात्र बक्न सक्छे।
अब मलाई भने कतिबेला यहाँबाट निस्किएर परिवारलाई भेटौं र नर्सका बारेमा उजुरी गरौं भन्ने लागेको थियो।
बच्चा लिएर बाहिर निस्किएपछि दिदी, भाउजू, ममी, बुवा र श्रीमान सबैलाई एकै ठाउँमा ढोकामै भेटेपछि मन थामिएन ६ घण्टा एक्लै तड्पिएर बस्दा मलाई कति पीडा भयो।
मेरो आफन्तले यसरी कुरेर बस्दा एक जनालाई भित्र पस्न दिने नियम किन छैन नेपालमा? विदेशमा त श्रीमान साथसाथै हुन्छन् रे। भक्कानिएर रुन आयो। मानिसलाई साह्रो गाह्रो परेकै बेला हो सहारा र असल व्यवहार चाहिने, मीठो बोली र सान्त्वना चाहिने तर त्यसको सट्टा हर्काने कुट्ने तथानाम भन्ने कति रिसाहा नर्स हाम्रो देशमा।
अब हामी आमा छोरालाई वार्डमा लगियो २ बजिसकेकाले भोक असाध्यै लागेको थियो केही खाएर मस्त निदाउन शरीरले खोजिरहेको थियो। तर बच्चा सानो छ कहाँ भने जस्तै हुन्छ र भर्खर जन्मेको बच्चो रुन पो थाल्यो।
बच्चाको रुवाइ यस्तो थियो कि नर्सका बारेमा उजुरी गर्ने, अस्पतालका प्रबन्धकसँग कुरा गर्ने भन्ने सबै बिर्साउने।
बच्चा काखमा बोके चुप लाग्छ नत्र अत्तालिएर रुने। जन्मेको दिनदेखि रुन सुरू गरेको बच्चो ५ महिनासम्म रुदै हुर्कियो। यो ५ महिना रातमा निदाएको अनुभव नै छैन मसँग। रातभरी अनिँदो दिउँसो केही समय निदाउन खोज्यो दिमागमा अस्पतालमा नर्सहरूले तथानाम बोलेको मात्रै एकोहोरो घुम्छ।
म मानसिक रूपमा बिचलितझैं भएकी थिएँ। दिउँसो समेत बच्चा १ आधा घण्टा पनि निदाउँदैन थियो।
हातमा कोक्रोको डोरी नै समातेर हल्लाइराख्नुनर्पे नत्र त्यति पनि नसुत्ने। अस्पतालमा भएको घटनाले मन झस्किरहने र त्यही कुरा सम्झिरहने।
त्यहीमाथि मलाई स्तनमा गाँठो देखिएर अपरेसन गर्न पर्यो। आठ महिनाको निरन्तर दुखाइपछि गाँठो निकालियो।
लगभग २०,२२ महिना पछि म तंग्रिन लागेकै बेला पत्रकार महासंघ सुनसरीको एउटा निर्णयले मलाई निकै हतोत्साहित बनायो।
पत्रकारहरूको हकहितको लागि बोल्ने यो संगठनमा म पनि साधारण सदस्य थिएँ।
मैले मेरो जीवनको एउटा ऊर्जावान समय पत्रकारितामा नै समर्पित गरेको छु। अझ पनि त्यही पेशा मेरो हो। तर त्यही संस्थाले शुद्धीकरणको नाममा मेरो सदस्यता खारेज गरिदिएछ।
म काममा फर्किन आतुर भइरहेका बेला महासंघले गरेको यस्तो निर्णयले मलाई निराश बनाएको छ।
जटिल अवस्थाबाट गुज्रिरहँदा कता हुनुहुन्छ , काममा किन सक्रिय हुनुहुन्न भनेर एकपटक पनि सोध्ने जिम्मेवारी नसम्झिने महासंघले किन आफूलाई पत्रकारको हकहितको लागि काम गर्ने पेशागत संगठन भनेर फूर्ति गर्नु?
मैले जानेकै कर्म पत्रकारिता हो, त्यसैलाई निखार्न अध्ययन पनि पत्रकारिता नै गरिरहेकी छु। तर राजनीतिक तथा पितृसत्ताको धङधङीमा हुर्किएका पुरूषले कब्जा गरेको पत्रकार महासंघ एउटी महिलाले किन निरन्तरता दिन सकेकी छैन भनेर सोच्ने ज्ञान र चेतसम्म राख्दैन।
पत्रकार महासंघले सदस्यता कायम राखे पनि नराखे पनि मैले पत्रकारिता छोड्दिनँ। अब कलम चलाउन थालिसकेकी छु।
यो पटक आफ्नै कथा लेखें अब गाउँ समाजका अरू कथामा फेरि भेटौंला।