झापाबाट इलाम आइपुग्दा हजुरबा निकै सिथिल देखिनुभएको थियो। उहाँको जीउ लल्याकलुलुक भएको थियो।
हामीले उहाँलाई के भयो भन्ने जिज्ञासा राखेर हेरेका थियौँ। उहाँको पहिलो वाक्य फुट्यो- ‘हरामीले ढाँटेछ।’
‘कसले के ढाँट्यो हजुरबा?’ मैले सोधेँ।
‘गाडी चढ्ने बेलामा त्यसैको चक्का चाट्दा बान्ता हुँदैन भन्थ्यो,’ हजुरबाले कुरा प्रष्ट पार्न खोज्नुभयो।
‘छ्या किन चाट्नु चक्का?’ भाइले थुक्कुकी मान्दै प्रश्न गर्यो।
‘उसले बान्ता नै हुँदैन भनेको थियो, तर उसले भनेजसरी नै चक्का चाट्दा पनि बान्ता भयो, झन् धेरै भयो।’
हजुरबाको त्यो आक्रोश हामी प्रश्न गर्नेहरूमाथि पनि पोखिने पक्षमा थियो। त्यसैले हामी सबैजना चुप लाग्यौँ।
यो प्रसंग बीसौँ वर्ष अगाडिको हो। त्यतिबेला मेची राजमार्ग पिच भएकै थिएन। गाडी फाट्टफुट्ट मात्र चल्न थालेका थिए। मानिसहरू टाढा–टाढासम्म पनि हिँडेर नै पुग्ने गर्थे।
समयक्रममा सबै कुरा फेरियो। राजमार्ग पिच भयो, बाक्लै गाडी कुद्न थाले। त्यसपछि गाडी चढ्दाको बान्तासँग पनि परिचित भइयो। अनि मात्र चक्का चाट्नुपर्ने बाध्यताका बारेमा थाहा भयो।
राँके, इलाम हुँदै झापा पुग्ने यो बाटो नागबेली परेको छ। आठ गोलाइ र बाह्र गोलाइ भन्ने घुम्तीका नामहरू नै छन्। लामा बसमा पछाडिको सिटमा बसेको यात्रीलाई प्रत्येक घुम्ती काट्ता लाग्ने चक्कर र आउने बान्तालाई सम्झँदै काँडा उम्रिन्छन्। ऊ फेरि गाडी चढ्न वीरबलको बिरालोजस्तै तर्सिन्छ, तर नचढी धर पाए पो।
ट्याक्सी आकारका छोटा गाडी आएपछि अलि सहज भएको छ। तर बान्ता हुने क्रम रोकिएको छैन। तराईमा गाडी चढ्दा कहिल्यै बान्ता नहुनेहरूलाई पनि यो बाटोबाट यात्रा गर्दा भएरै छोड्छ। अरुलाई बान्ता गर्यो भन्दै जिस्क्याउनेहरू पनि एकपल्ट यो बाटोबाट यात्रा गरे भने आफैं फेला पर्छन्।
गाडी चढ्नुअघि चक्का चाट्दै गर्नेहरू अझै पनि देख्ने गरिन्छ। बीसौँ वर्ष अघिदेखि चलेको हल्ला र हल्लाप्रतिको विश्वास अझै हटेको छैन। कोही सिटमा पत्रिका बिछ्याएर बस्दा बान्ता आउँदैन अरे भन्दै बस्नेहरू भेटिन्छन्। कोही कम्पनी पैसा मुखमा लगाएर बस्दा आउँदैन अरे भन्दै मुखमा लगाउनेहरू भेटिन्छन्। यस्ता अनेक यत्न गर्दा पनि केही नलागेर हजुरबाजस्तै आक्रोशित हुनेहरू पनि भेटिन्छन्।
हजुरबा बितेर जानुभयो तर सनातनदेखिको हल्ला र विश्वास अझै कायम छ। गाडी चढ्ने बेलामा झ्यालतिरको सिटमा बस्न तँछाड–मछाड रहन्छ। तिनीहरूका बीचमा बाझो पनि चल्छ। बान्ता गर्न सजिलो होस् भन्ने तिनको ध्याउन्न हो।
‘मिलेर बस्नुहोस् है!’ यो गाडीवालाहरूले सधैं प्रयोग गर्ने भाषा हो। यो बाटो अनगिन्ती पटक ओहोरदोहोर गरेर म पनि अनेक प्रसङ्गहरूको प्रत्यक्षदर्शी बनेको छु।
यताको बाटो अलि बढी चिनजानको गाडीचालक केशवको गाडीमा हिँडियो। आज पनि म यही गाडीको अगाडिको सिटमा उसकै छेउमा बसेको छु। तेह्र सिट क्षमताको बोलेरो गाडीको दास्रो सिटमा चालककै ठिक पछाडि बसेकी महिलाले त्यतिबेलै सोधिन्- ‘गुरुजी, पोलिथिन छ?’
गाडीमा पोलिथिन माग्नेबित्तिकै बान्ता आउन लागेको भन्ने बुझ्न गाह्रो परेन।
‘छ, तर एउटा मात्र छ, बान्ताले पूरै भरेर मात्र फाल्नु है!’ उसले पोकाबाट एउटा निकालेर दियो। गाडीमा रहेका हामी सबै गलल्ल हाँसेपछि ती नवविवाहिता जस्ती देखिने महिलाले भनिन्- ‘छ्या! कस्तो बोलेको?’
ऊ यस्तै उट्पटयाङ बोल्छ भन्ने मलाई थाहा छ। गाडी चढ्ने हजारौँ जनासँग बोल्दाबोल्दै यस्तो व्यवहार सिक्छन्। उसले अघिल्लोपटक गरेको उटपट्याङ पनि प्रसङ्ग निकै स्मरणीय थियो।
‘भाइ! गाडी रोक त साह्रै पिसाबले च्याप्यो,’ एकजना यात्री पटक–पटक गाडी रोक्न लगाउँदै थिए।
‘एकछिन पर्खनुहोस्, अलि पर रोक्छु ल,’ ऊ विनम्र भाषामा पर्खिन लगाएर गाडी हाँक्दै थियो। उसले एकछिन–एकछिन भन्दै एक घन्टा बितायो।
‘गाडी नरोक्ने, यहीँ छाड्दिनू,’ ती यात्री अन्तिमपल्ट कड्किए। त्यहीबेला चालकले साइड लगाएर गाडी रोक्यो।
हामी सबैजना बाहिर गएर आएपछि उनले चालकलाई सोधे- ‘यतिबेर गाडी नरोकेर किन दुःख दिएको?’
उसले सहज उत्तर दियो- ‘महेन्द्र सर! तपाईंले पनि मलाई कक्षा आठमा पढाउँदै गर्दा ट्वाइलेट जान अनुमति मागेको बेला अहिले जानु पर्दैन, कक्षा सकिएपछि जानू भनेर यस्तै दुःख दिनु भएको थियो।’
उसले अहिले आफ्नो स्कुल पढ्दाको अङ्ग्रेजी शिक्षकसँग त्यो बेलाको बदला लिएको रहेछ।
आजको सानो व्यक्ति भोलि ठूलो हुन्छ, कमजोर पनि सबल हुन्छ। पालो सबैको आउँछ। साना लाग्ने घटनामा पनि सिक्ने कुरा धेरै हुन्छन्। तथापि सरले यसलाई अन्यथा लिएनन्, हाँसे मात्र।
उसले आज गाडीमा पोलिथिन माग्ने महिलालाई पनि उसैगरी भन्यो।
‘अरुलाई धेरै नभन है भाइ, तिमीले बिहे गर्ने केटी झन् गाडी देख्ने बित्तिकै पेट बटारिने खालकी पर्लिन्,’ तर यी महिलाले टेर्ने जस्तो गरिनन्।
‘त्यसरी बान्ता गर्नेलाई म कहाँ बिहे गर्छु र? म त गाडीमा धेरैचोटि ओहोर–दोहोर गराएर विचार गरीकन मात्र गर्छु,’ ऊ एकपटक खित्का छोडेर हाँस्यो अनि फेरि भन्यो, ‘अस्ति एउटी दिदी गाडीमा बान्ता गरेकै निहुँमा मलाई त बुढाले छाड्यो भन्थिन्। तपाईं पनि ख्याल गर्नू है।’
चालकको यो बोली सुन्दा सीमा नाघेझैँ लाग्थ्यो तर सुन्नेले कुरालाई कसरी ग्रहण गर्छ, परिणाम त्यसैमा भर पर्दो रहेछ।
उनी त अचानक परीक्षामा आफूले जानेका प्रश्न पाएको विद्यार्थी झैँ उत्प्रेरित भइन् र भन्न थालिन्- ‘किन छोड्नु? मेरो विवाह त गाडी चढ्दा नै जीउभरि बान्ता गरिदिएपछि चिनजान भएको मानिसँग भएको हो। पत्यार लागेन भने उहाँ यहीँ बस्नुभएको छ, सोध।’
गाडीचालक केशव अलि हच्कियो। ऊ हा हा.. गर्दै ठूलो हाँसो हाँस्यो। अनि पछाडि फर्किएर ती महिलाका छेउमा बसेका उनका श्रीमानतिर एक नजर लगायो।
उनले कुरालाई अगाडि बढाउँदै लगिन्- ‘यताबाट झापा हिँडेकी मलाई फिक्कल कटेपछि बान्ता आयो। बीचमा बसेकी थिएँ, झ्यालतर्फ लम्कँदै गर्दा नै ह्वाल्लै आइहाल्यो। उहाँका जीउभरि गरिदिएछु। धेरै रिसाउनुभयो, तथानाम गाली गर्नुभयो। हर्कटे पुगेपछि गाडी एकछिन रोकियो। आफू सफा भएँ, उहाँको पनि ज्याकेट मागेर पुछ्दै पानीले सफा गरिदिएँ। मैले दिएपछि ज्याकेट लगाउनुभयो। काम बिगारेपछि माफी माग्नुपर्थ्यो, माफी माग्दा झन् गाली खाइन्थ्यो। तथापि के भनूँ के भनूँ भइरह्यो। मैले भनेँ- मेरा अरु सबै गुण मात्र छन्, अवगुण भनेको गाडी चढ्दा बान्ता गर्ने मात्र हो। मनमा बिझेछ क्यार मुसुक्क हाँस्नुभयो।’
बीचमा सबै गलल्ल हाँसेपछि उनले आफ्नो भनाइलाई जोडिन्- ‘हामी झापा पुग्यौँ र आआफ्नो बाटो लाग्यौँ। यस्तो भेट र कुरा धेरैसँग हुन्छ। सबैको ख्याल पनि गरिँदैन। कुरा बिर्सिएको थियो। तर भोलिपल्ट चारपाने आँखा हस्पिटलमा अचानक हाम्रो भेट भयो। हामीले परिचय गर्यौं, फोन नम्बर साटासाट गर्यौँ अनि फोनमा कुरा गर्दागर्दै एक वर्ष बितेपछि विवाह पनि गर्यौँ।’
फेरि दोस्रोपल्ट हाँसो चल्यो र रोकियो।
त्यसपछि गाडी चालकले भन्यो- ‘तपाईंको फोन नम्बर त मलाई पनि दिनुपर्ने भयो।’
गाडीका यात्री र आफ्नै श्रीमानका अगाडि यस्तो बाङ्गो कुरा गरेकामा उनले अलि रिसाएको स्वरमा भनिन्- ‘किन दिनुपर्यो?’
चालकले उत्तर दियो- ‘ट्याक्सी व्यवसायी संघको कार्यक्रम हुनेवाला छ, तपाईंहरूलाई पनि सम्मान गर्ने प्रस्ताव ल्याउँछु।’
‘बान्ता गरिदिएका कारणले विवाह भयो भनेर होइन? भयो पर्दैन।’
अब त सम्मान शब्दकै अपभ्रंश भइसक्यो। सम्मान गर्नु भनेको कसैको खिल्ली उडाउनु पो रहेछ।
त्यसपछि ती महिला केही बोलिनन्। गाडीमा उस्तै ठट्टा र कुराकानी चल्दा पनि कुनै प्रतिक्रिया जनाइनन्। आँखा चिम्लिएर थिइन्, निदाएकी जस्ती देखिन्थिन्।
जोरकलश पुग्ने बेलामा उनले अचानक चालकलाई कोट्याएर इसाराले केही कुरा मागिन्। के भएर यो झ्याल खुलेन भन्दै उनका श्रीमान् खोल्ने प्रयत्नमा थिए।
त्यतिबेलै उनले ह्वाल्लै बान्ता गरिन्, चालकका पिठ्यूँभरि लाग्यो। गाडी साइड लगाउँदै ऊ कराउन थाल्यो ‘यी दिदीले त जानी–जानी बान्ता गरिदिनुभयो, कस्तो थेत्तरो स्वभाव रहेछ!’
उनले अघि पोलिथिन झोला माग्दा बान्ताले भरेर मात्र फाल्नू भनेर खिल्ली उडाएको बदला लिएकी होलिन् जस्तो मलाई पनि लागेको थियो तर होइन रहेछ।
‘हातको पोलिथिन झोला खोल्न खोज्दा प्वाल परेको रहेछ, मलाई झ्याल उघार्न लगाइन्, त्यो खुलेन। बान्ता आइहालेछ,’ उनका श्रीमानले जानाजान गरेको होइन भन्ने प्रमाण पेश गरे।
चालकले ज्याकेट खोलेर पछाडिको सिटमुनि खाँदे र पुरानो कपडा झिकेर सिट पुछ्यो।
ती महिला बाहिर बाटोका छेउमा गएर बान्ता गर्न थालिन्। आँखाबाट तरर आँसु चुहिँदै थियो। तिनको अनुहारभरि र्याल सिँगान लतपतिएको थियो। वाकवाकी लाग्दा तिनको प्राण नै निस्किएला जस्तो देखिँदै थियो। उनी निकैबेर टाउकामा हात राखेर निहुँरिएपछि अलि तङ्ग्रिएर आइन्। ओढेको सल झिकेर आफ्नो मुख पुछिन् अनि सिटमुनि खाँदिन्।
अवस्था सामान्य भएपछि चालक आएर गाडी स्टार्ट गर्यो र कसैसँग नबोली गाडी चलाउन थाल्यो। थप केही गाली गरेन।
अघिल्लोपल्ट यही सिटमा बसेकी अर्की महिलाले झ्यालभरि बान्ता गरेकी भन्दै उसले निकै गाली गरेको थियो। तर ती महिलाले अरुले जस्तो गाली सहिनन्। उनले भनेकी थिइन् ‘जताबाट खाएको हो त्यतैबाट निकाल्न कति गाह्रो हुन्छ! सामान्य अवस्थामा कसैलै बान्ता गर्छ? यस्तो अवस्थामा पानी दिनू, सम्हाल्नू, सकेको सहयोग गर्नू तर किन यसो गरेको भन्दै गाली नगर्नू।’
चालकले भनेको थियो, ‘होसियार हुनुपर्छ मात्र पो भनेको हो, जथाभावी गर्नु त भएन नि।’
उनले झन् चर्किएर भनेकी थिइन्, ‘आधा मरिसकेको हुन्छ, केको होसियार हुनु? ब्याएको गाईलाई मात्र व्यथा थाहा हुन्छ। तिमीले होसियार भएर गाडी चलाउँदा पनि कति वटा कुकुर किच्याइसक्यौ!’
‘कुरा ठिक आयो है,’ गाडीका अन्य यात्रीहरूले समर्थन जनाएपछि चालक चुप लागेको थियो।
व्यथालाई वाणी दिन सक्ने, आफ्नो कुरा सही ढङ्गले अरुलाई बुझाउन सक्ने र आफ्नो सही तर्क राखेर अरुलाई पनि ठिक हो भन्ने बनाउन सक्ने क्षमता भएका मानिस कम मात्र हुन्छन्।
त्यो घटनापछि चालकको स्वभावमा परिवर्तन आएछ। उसले आज आफ्नो जीउभरि बान्ता गर्ने महिलालाई पनि त्यति धेरै गाली गरेन। तर उसको मुड भने निकै खराब देखिन्थ्यो। मैले अवस्थालाई सामान्य बनाउने उपाय सोचेँ र भनेँ- ‘अब तपाईंको ज्याकेट चाहिँ कसले सफा गरिदिन्छ नि?’
ऊ खिस्स हाँस्यो अनि पछाडि फर्किएर ती महिलातिर हेर्दै भन्यो- ‘तपाईंका बहिनी त होलान् नि?’
उनी त केही बोल्ने अवस्थामा थिइनन् तर उनका श्रीमानले उत्तर दिए- ‘छन्, तर यिनीजस्तै छन्।’
तिनको यिनीजस्तै छन् भन्ने वाक्यले मिलेका दाँत, लामो कपाल, राम्रो अनुहार भएकी तथा शीलस्वभावयुक्त भन्ने अर्थ दिँदैनथ्यो। यस्तै बान्ता गर्ने भन्ने मात्र अर्थ दिन्थ्यो। त्यो अहिलेका लागि सम्पूर्ण रुपमा अवगुण मात्र थियो।
गाडी चालकले त्यो केही नसुने झैँ गरी भन्यो- ‘आजको दिन साँच्चै खराब रहेछ।’
‘गाडी चालकलाई यस्तो पर्नु सामान्य हो भन्छन्,’ बान्ता भएर श्रीमतीको सातो उडेपछि उनका श्रीमान् बोल्न थालेका थिए।
उनले फेरि थपे- ‘यस्तै परोस् भनेर श्राप दिइएको रहेछ।’
‘कस्तो श्राप?’
सुनेको छैन?
‘छैन।’
महिलाका श्रीमान् भन्नथाले- ‘एक वृद्ध महिला र एक जवान केटी एकैपटक गाडी चढ्न आइपुगेछन्। वृद्ध महिलाले मलाई बान्ता हुन्छ, अगाडि बस्छु भनेर धेरै अनुरोध गरिछन्। तर जति अनुरोध गर्दा पनि मलाई अप्ठ्यारो हुन्छ भन्दै उनलाई पछाडिको सिटमा लगेर राखेछ र केटीलाई अगाडि आफूसँगैको सिटमा राखेछ। वृद्ध महिलाले बान्ता गरिछन्, उल्टै गाली गरेछ। त्यसैबेला ती वृद्धाले राम्रा केटी देख्नेबित्तिकै अगाडि आफूसँगै राख्ने तर वृद्ध, बिरामी, अशक्तको ख्याल नै नगर्ने, यस्ता गाडी चालकहरू सबैले बान्तामै लत्पतिनु परोस्, बान्ता हेर्दै खाना खानु परोस् भन्ने श्राप दिइछन्। अनि तिनलाई यही श्राप लागेको हो अरे।’
‘हा हा... अब नसकिने भयो,’ चालकको चित्त बुझेजस्तो देखियो।
अहिले लोककथा भन्न र सुन्न छाडिए तर सन्दर्भसँग मिल्ने कथाहरू बनाउन, भन्न र सुन्न छोडिएको छैन। उनले भनेको यो कथा लिखित रुपमा छैन होला तर धेरै चोटिलो र स्मरणीय छ।
कति कुरा कयौँचोटि पढ्दा पनि स्मरणमा रहँदैनन्। कुनै कुरा एकैपटक सुनेकै भरमा कण्ठ हुन्छ। गाउँबस्तीमा बाटो पुगेर फाट्टफुट्ट मोटरसाइकल चल्न थाल्दै गर्दा सुनेको दुई पङ्ति अझै स्मरणमा छन्–
उत्तरेमा गुराँस फुल्छ रातमाटेमा टाँकी
पुष्कर कट्टेल हेर्दै हिँड्छन् मोटरबाइक हाँकी।
अँ, मोटरसाइकल चढ्नेहरूलाई त बान्ता भएको थाह छैन। तर मैले त्यो चढ्ने आँट गरिनँ। भाडाको गाडीमा नै यात्रा अघि बढ्दैछ।
मुक्तिचोक नजिक पुगेपछि गाडी रोकियो। ती बान्ता गरेर लखतरान भएकी महिलालाई उनका श्रीमानले हतेर्दै लगेर पसलको पेटीमा बसाए। हामी आफ्नो गन्तव्यतर्फ अघि बढ्यौँ।
उनीहरू छुटे, जससँग अब कहिल्यै भेट नहोला। उनीहरू एकपटक पढेका कथाका पात्रजस्ता हुन्। पढिसकेपछि ती पात्रहरू कहिल्यै फर्किएर आउँदैनन्।
एउटा प्रश्न आउन सक्छ- ‘कथाका ती पात्रहरू आए र भेट भयो भने के हुन्छ?’
अचम्म हुन्छ।
एकपटक त्यस्तै अचम्म भयो। मेले सुनेको कथाका पात्रससँग टुप्लुक्क भेट भयो।
आजभन्दा पन्ध्र वर्ष पहिले म नेत्र दाइसँग पहिलोपटक काठमाडौं आउँदको प्रसङ्ग हो। त्यतिखेर उताको पहाडी बाटोमा खुब बान्ता हुन्थ्यो। लामो यात्रामा झन् कस्तो होला भनेर धेरै डर लागेको थियो। तर तराईको सिधा बाटोमा त्यस्तो कष्ट हुने रहेनछ। आनन्दको यात्रा गरियो। तथापि लामो यात्रा गरिएको हुनाले बुलुकी कीर्तिपुर ट्याङ्लाफाँटको दाइको कोठामा पुग्दा निकै थाकिएको थियो।
कोठामा नेत्र दाइको साथी हुनुहुन्थ्यो। उहाँलाई नेत्र दाइले मामाको छोरा भाइ भनी मेरो परिचय गराउनु भयो। उहाँसँग पहिले त आजको हाम्रो यात्राबारेका कुराहरू नै भए। उहाँले मलाई केही थकित देखेर ‘बाटामा बान्ता पनि भयो?’ भनी सोध्नुभयो।
मैले बोल्न नपाउँदै नेत्र दाइले उत्तर दिनुभयो- ‘भएन, तर हुन चाहिँ खाज्यो।’
दाइको साथीले भन्नुभयो- ‘लामो बाटो, पहिलो यात्रा त्यस्तै हो।’
को आउँदा कहिले कति बान्ता भएको थियो भनेर दाइहरूको कुराको प्रसङ्ग पनि त्यतै मोडियो। त्यही प्रसङ्गमा मैले भनेँ- ‘एकतप्पा स्कुलको बिएस्सी सरचाहिँ भोलि गाडी चढ्ने भए भने आजैदेखि बान्ता गर्न थाल्छन् रे।’
यो कुरा सुनेपछि दाइको साथी मुसुक्क हाँस्नुभयो अनि भन्नुभयो- ‘बिएस्सी सर होइन बिसी सर अथात् बालचन्द्र कट्टेल, त्यो भनेको म नै हुँ। अहिले धेरै गाडी चढ्न थालेपछि बान्ता हुन छाड्यो।’
मैले कुन प्रसङ्गमा सुनेको कथाको पात्र अप्रत्यासित रुपमा स्वयम् आफ्नै अगाडि प्रकट भएको पाएर आश्चार्य लाग्यो।
कुन बेलामा कस्ता प्रसङ्गहरू स्मरणीय हुन्छन् भन्ने कुरा केही थाहा हुँदैन। प्रत्येक पटक गाडीको यात्रामा हुँदा मलाई हजुरबाले ‘चक्का चाट्दा पनि बान्ता भयो’ भनेको कुरा याद आइरहन्छ।