सन् २००३ को पुरुष एकदिवसीय विश्वकपपछि मात्रै क्रिकेटसँग नजिक भएर परिचित हुने मौका मिल्यो। त्यसभन्दा अघिका एकदिवसीय र टेस्ट क्रिकेट अल इन्डिया रेडियोको प्रत्यक्ष प्रशारण बाटै सुनियो। कहिले घरको दलानमा त कहिले आगनको डिलमा ठूलाबाले ल्याइदिएको पानासोनिक रेडियोमा स्पिकर थर्किने गरि कमेन्ट्री सुने। त्यो बेलाको विएसएनएल छक्का विएसएनएल चौका अहिले पनि याद छ। त्यो बेला यो विएसएनएल के होला भन्ने लाग्थ्यो। पछि थाहा पाए त्यो त भारतको दुरसंचार कम्पनी रहेछ।
स्कुलबाट रेडियोमा क्रिकेट कमेन्ट्री सुन्न कक्षा हापेर पनि आइयो। एकपटक भारत पाकिस्तानको टेस्ट थियो। हिउँदको समय थियो। पहिलो टेस्ट चेन्नईमा थियो। पाकिस्तानले टस जितेर ब्याटिङ सुरु गर्यो। दुवै टिमले पहिलो इनिङ्ग्समा खासै ठूलो स्कोर बनाउन सकेनन्। तर पाकिस्तानले दोस्रो इनिङ्ग्समा २८६ बनाएर भारतलाई २७१ रनको लक्ष्यका लागि मैदानमा निम्त्यायो। खेलका दुई दिन बाँकी थिए। चौथो दिन थियो आइतबार। कमेन्ट्री सुन्न स्कुलको दोस्रो घन्टीमै सरसँग आज मेरो घरमा श्राद्ध छ सर छुट्टी दिन पर्यो भनेर बिन्ति गरे। बुढा पण्डित थिए उल्टै यो तिथि न मितिको जाडोमा के को श्राद्ध भनेर मुर्गा बनाए। पाँच मिनेट पछि खै किन हो छुट्टी दिए। झोला बोकेर उखुको बारी हुँदै घर टाप कसेको हिजै जस्तो लाग्छ। मलाई के थाहा श्राद्धको तिथि हुन्छ भनेर।
घर आएर झोला काँधमै छ। लुगा पनि फुकालेको छैन। रेडियोको सानो घुमाउने बटन खोलेर ठूलो घुमाउने बटनले फ्रिक्वेन्सी मिलाउन सुरु गरे। फर्किदासम्म भारतका ४ विकेट चट्काइ सकेछ। पहिलो इनिङ्ग्समा खाता नखोली पभेलिएन फर्केका सचिन खेल्दै रहेछन्। दोस्रो इनिङ्ग्सका लागि तेस्रो दिनबाट खेल मैदान छिरेका सचिन चौथो दिन १३६ रन बनाएर वासिम अक्रमको बलमा आउट भए। भारत १२ रनले हार्यो।
यस्तै एउटा अर्को भारत पाकिस्तान टेस्ट कलकत्तामा थियो। त्यसमा पनि हाफ छुट्टीमा स्कुलबाट भागेर कमेन्ट्री सुन्न घर आइयो। सचिनको विकेट पहिलो इनिङ्ग्समा शून्य मै सोहेब अख्तरको बलि चढ्यो। दोस्रो इनिङ्ग्समामा चल्दै चलेनन्। यी दुवै खेल सन् १९९९ को सुरुवाती महिनाका हुन्। यहि १ महिनाको अन्तरालमा स्कुल छोडेर भए पनि रेडियो सुन्न घर आउछ भन्ने थाहा पाए पछि बुवाले रेडियोको ब्याट्री दिउसो लुकाइदिने गर्नु भयो। तै पनि ब्याट्री खोजीखोजी छुट्टीको समय कमेन्ट्री सुनियो। सन् २००४ पछि मात्रै यस्ता टेस्ट क्रिकेट टिभीमा हेरेको थिए।
यसअघि गाउँमा बिजुली नभएकाले टिभी कसैको घरमा थिएन। बिस्तारै गाउँमा बिजुलीको पोल गाडियो। दिउँसो गाउँलेले आफ्नो नम्बरी जमिनमा पोल गाड्न दिँदैनन् भनेर स्कुलदेखि गाउँसम्म कंक्रिटका अग्ला पोल एकै रातमा गाड्ने ठाउँमा राखियो। तर बिजुली आउने खुसीले कुनै गाउँलेले बिरोध गरेन। बरु खाल्डो खन्ने ठाउमा गएर सहयोग गरे। पोलमा तार झुण्ड्याउन केहि महिना लाग्यो। तारमा बिद्युत बगाइयो। गाउँका ठूलाठूला जमिनदारहरुले टिभी राख्न थाले। पहिला गाउँभरि जम्मा एक जनाको रंगिन र बाँकी हुने जति सबैका ब्ल्याक एण्ड व्ह्याइट टिभी थिए। केवल थिएन। उल्टो छाता जस्तो देखिने डिस एन्टेना जम्मा २ घरमा थियो भने माछाको काडाँ जस्तो आल्मुनियम एन्टेना टिभी राखेका सबैको घरमा थियो। खप्राको छानाबाट बाँसको टुप्पोमा बाधेको एन्टेना धेरै पटक घुमाइयो। भित्रबाट "आयो" भने पछि घुमाउन रोकिन्थ्यो। यस्तो मेहनत गरेर दुरदर्शन आउँथ्यो त्यो पनि झिरझिर। गाउँ नजिकैको अत्तरियामा बजारमा भने केबल सहितको रंगिन टिभी हेर्न मिल्थ्यो।
त्यहिँ सन् २००३ को क्रिकेट विश्वकप हेरेर सिको गर्दै सालको फ्रेम ताछेर ब्याट जस्तै बनाएर मोजाको बल हुदै टेनिस बलसम्म खेल्ने भयौ। घरमा भाई भएकाले एउटाले बलिङ गरे अर्कोले ब्याटिङ गर्ने गर्थौ। यस्तै तरिकाले केहि महिना दुवै दाई-भाई अनि गाउँका सहपाठीहरु सानो चौरमा तीन वडा डण्डा गाडेर खेल्थौ। खेलका सबै नियम थाहा थिएनन्। त्यसपछि जुन २००१ मा प्रदर्शन गरिएको लगान फिलिम सन् २००४ को सेरोफेरोमा डिभिडी चक्कामा हेर्ने मौका मिल्यो। त्यसपछि त के थियो। गाउँका फुच्चे केटाहरु क्रिकेट भनेपछि हुरुक्कै। बल त जसोतसो जुगाड गरिन्थ्यो तर ब्याट किन्न सक्ने हाम्रो क्षमता थिएन। राम्रो ब्याट काँहा पाइन्छ भन्ने पनि थाहा थिएन। केटा साथीहरु जोडिन थाले पछि क्रिकेट खेल्न एकपटकलाई २ ब्याट चाहिने रहेछ भन्ने लाग्यो। ब्याट बनाउन काठ खोज्न लाग्यौ।
सालको काठ भारी हुने लागेर हल्का काठ खोज्न थाल्यौ। घरमा सामुदायिक बनले दिएको टुनीका फ्रेमहरु थिए। आमाले भान्साको र्याक बनाउने भनेर राख्नु भएको रहेछ। एउटा फ्रेम समातेर बासुलोले ताछे। हाते रन्दाले ब्याट खुबसँग चिल्लो बनाए। आरीले ब्याटको ह्यान्डलको आकार दिए। र बल्ल ३२ इन्च लामो टुनीको ब्याट बन्यो। ब्याट मुस्किलले १ किलोको होला। सार्है हलुङ्गो थियो।
अब स्कुलका सँगै पढ्ने साथीहरुलाई हाफटाइममा क्रिकेटको गफ दिन थालियो। त्यस मध्ये एकजना साथीको गाउँमा पनि क्रिकेट मज्जाले खल्ने रहेछन। कुरैकुरामा आउँदो शनिबार हाम्रोमा म्याच खेल्न आउन त भनेर निम्ता गर्यो। गाउँमा फर्केर भएजतिका साथी थुपारेर शनिबार म्याच खेल्न जाने सल्लाह गरियो। शनिबार आउन केहि दिन बाँकी थियो। अभ्यास गर्यौ। चैतको महिना थियो, शनिबारको दश बजे तिर साथीको गाउँ बाँगेसाल हिनियो। एक टेनिसको बल, टुनीको ब्याट र तेह्र जना जतिले हरेकका गोजीमा दश रुपैयाँ बोकेर नदीको बगरै बगर हिड्दै गयौ। बाटोमा थोरै सालको जंगल पनि थियो। चैतको महिनामा सालका रातापहेला पातहरु बाटै भरि थिए। पाँच रुपैयाँ म्याचमा बाजी राखेर जित्दा दश रुपैयाँ हुने र फर्किने बेला चाउचाउ किनेर खादै फर्किने योजनामा थिए केटाहरु। जनप्रभातको खेल मैदान पुगियो। पहिलो खेल टस जितेर ब्याटिङ गरियो। हाम्रोमा पनि "विनिंग टस इज ब्याटिङ फस्ट" को चलन थियो।
पहिलो खेलमा हाम्रो टिमका कसैले पनि दोहोरो अंकको रन बनाएनन्। हामीहरु थोरै रनमा प्याक भयौ। उनीहरुका दुई ओपनिङ ब्याटरले पाँच ओभर मै हामीले दिएको लक्ष्य भेटे। दोस्रो खेल पनि खेल्यौ, त्यो पनि हार्यौ। हामीसँग घरमै बनाएको टुनीको ब्याट थियो। उनीहरुसँग भारतीय बजारका राम्रा ब्याटहरु थिए। त्यो दिन टुनीको ब्याटले कुनै कमाल देखाउन सकेन। ग्राउण्ड पनि ठूलो बाउन्ड्री भएको थियो। त्यसमाथि धेरै जसो केटाहरु त भारत मै बस्नेका छोराहरु रहेछन्। जो भारत हुँदा गली मोहल्ला क्रिकेट खेल्दा रहेछन्। हामी भने भरखर ब्याट उचाल्न सिक्दै गरेका थियौ। साथीले मलाई यो कुरा नभनेको रहेछ। घर फर्केर अर्को दिन देखि सबै फेरि क्रिकेट सिक्न थाल्यौ।
मालाखेती स्कुलमा डन केटाहरु थिए। त्यो समूहमा केहि हाम्रा पनि साथीहरु थिए। त्यसैले हामीलाई केहि गर्दैन थिए। मालाखेती स्कुलका केटाहरुलाई हामी क्रिकेट खेल्छौ भन्ने थाहा भएछ। उनीहरुले पनि स्कुलको ग्राउण्डमा क्रिकेट खेल्न बोलाए। हामी पनि सबै त्यहि टुनीको ब्याट लिएर पुग्यौ। खेल बिस ओभरको थियो। मालाखेतीका केटाहरुले मध्यम स्कोरको टार्गेट दिए। ग्राउण्डको अफ-साइड तिरको आउट फिल्डमामा दुई कोठे जापानी प्रविधिका ट्रस बिल्डिंग थिए। जसले गर्दा अफ-साइड तिरको बाउन्ड्री थिएन। नियम यो थियो कि त्यो बिल्डिंग काट्यो कि छक्का। हाम्रा केटाहरुले पहिलो हारबाट धेरै सिकेका थिए। टुनीको ब्याटले टेनिस बल त्यहि जापानी भवन कटाउदै पहिलो खेल जिते। दोस्रो पन्ध्र ओभरको फेरि खेल्ने भनेर टस गरियो। उनीहरुले टस जितेर फेरि पहिला ब्याटिङ रोजे। ब्याटिङ गर्ने मध्ये एकजनाले आफ्नो बजारको ब्याट छोडेर हाम्रो टुनीको ब्याटले खेल्छु भनेर ब्याट समातेर खेल्यो। ब्याट हलुङ्गो थियो। बल स्लो गरे पछि ब्याटमा लागे पनि टाढा जान्थेन। धेरै रन बनाउन सकेनन्। उनीहरु त्यो खेल पनि हारे। हामी त्यहि टुनीको ब्याटले दुवै खेल जितेर खेतैखेत घर फर्क्यौ।
एक दिन सदरमुकाम बस्ने साथी ग्राउण्डमा आएर हाम्रो ब्याटले खेल्न थाल्यो। तेस्रो बल मै आउट भयो। ब्याट त हल्का रहेछ सचिनको जस्तो दुई किलोको ब्याट भए आउट नै हुन्थेन भनेर गफ दियो। अनि हामीले पनि साचै होला त भनेर टुनीको ब्याटलाई थन्क्याई दियौ। उमेरले ठूला भैसकेका थियौ। जस्तो सुकै ब्याट पनि समात्ने ताकत पाखुरामा थियो। जागिर गर्ने केहि दाइहरुले नयाँ ब्याट ल्याइदिनुभयो। तर आजकाल वडाध्यक्षले हरेक वर्ष आफ्नो मत कायम राख्न क्रिकेट किट नै दिने गरेको देख्दा ठिकै लाग्छ। मेयर कप अनि वडाअध्यक्ष कप आयोजना गरिन्छ। हाम्रो पालामा यस्तो थिएन।
गाउँले क्रिकेट तब सकियो जब क्याम्पस पसे। क्याम्पसमा पनि म भन्दा खुंकार साथि भेटियो किशोर। उ साइन्स विषय पढ्न महेन्द्रनगर क्याम्पस भर्ना भएको रहेछ। तर दिनभरि मैदानमा समय बिताइदिन्थ्यो। जसले गर्दा उ केहि दिन मै साइन्सबाट मानविकी संकायमा भेटियो। मेरो पनि पहिलो एडमिसन साइन्स मै थियो। दुवै साइन्स हापेर मानविकी पढ्न आएका थियौ। फुर्सद भयो कि खेल्न कुदिहाल्थौ। उसले पनि हाम्रो टिमलाई गेटा मेडीकल कलेज नजिकैको ग्राउण्डमा खेल्न बोलायो। हामीले पैसाको बाजी राखेर खेल्यौ। पहिलो खेलमा हामी पैतिस रनमा अलआउट भयौ। दोस्रो खेल पनि खेल्ने भनियो। किशोरको टिम तीस रनमा अलआउट भयो। किशोरले हाम्रो टिमको फिल्डिङ दक्षिण अफ्रिका जस्तो छ भन्यो। बल्ल थाहा भयो कि टुनीको ब्याट लिएर खेल्ने हाम्रो टिम अफ्रिकामा आयोजना भएको २००३ को विश्वकप हेरेर त्यस्तै फिल्डिङ गर्ने भएछ। किशोरले त्यसो भनेको उसका धेरै साथि क्याच अथवा रन आउट भएकाले होला।
किशोर र क्रिकेटसँग जोडिएका मेरा अनेक किस्सा छन्। पहिला दुवै कैलाली क्याम्पसको बार्षिक उत्सवमा मानविकी संकायबाट क्रिकेट खेल्थ्यौ। पछि त्रिविको अंग्रेजी विभागमा भर्ना भएपछि कहिले काही त्रिविको गान्धी भवन अगाडिको जग्गामा क्रिकेट खेल्यौ। एक पटक त्रिवि स्ववियुले क्रिकेट प्रतियोगिता आयोजना गर्यो। अंग्रेजी विभागका खेल्न इच्छुकलाई तल ल्याबरोटरी स्कुलमा छनोटका लागि बोलाइयो। हामी दुईको बलिङ र ब्याटिङ हेरेर प्लेईङ एलेभनमा राख्ने भनियो। सबै खेलहरु त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा खेलाइएको थियो। लिगमा त ब्याटिङको पालो नै आएन खाली बलिङ मात्र गराए। म आफ्नो टिमको ओपनर ब्याटर सेमिफाइनलमा आठौं स्थानमा ब्याटिङ गर्न पठाए। विपक्षीले मेरो पालोमा स्पिनर लगायो। बलमा कुनै टर्न थिएन यसमाथी विकेट तेज थियो। सैंतिस रन जोडे र टिम फाइनलमा प्रवेश भयो। त्यस खेलको प्लेयर अफ द म्याच पनि भए। फाइनल खेल भने बर्षाका कारणले प्रभावित भयो। अन्तमा डिएल मेथडबाट खेलको पहिलो रनरअप भए। झेलि भयो भन्दै बिरोध गर्दा पनि नतिजामा कुनै फरक परेन। सजाउने सिसाको र्याक नभएपछि राखेर के काम भनेर मेडल र ट्रफी घरवेटी भाइलाई दिए।
अब मूख्य विषयमा प्रवेश गरौ। त्यो के हो भने क्रिकेटलाई भलादमीको खेल भानिन्छ। अथवा भद्रमहिलाको खेल। यो किन भनिएको हो भने यो खेलमा सद्गुण सहितको स्पिरिट अफ क्रिकेटलाई ध्यानमा राखेर खेलिन्छ। यसका लिखित अलिखित धेरै नियमहरु छन्। नियमअनुसार खेलिएन भने दण्ड सजायको पनि व्यवस्था छ। नियममा बसेर खेलाउनका लागि दुईजना अनफिल्ड अम्पायर हुन्छन। भएन भनेर टिभी अम्पायर र म्याच रेफ्रीको पनि व्यवस्था हुन्छ। क्रिकेटमा गणित, विज्ञान, भाषा, भाग्य, अनुमान अनि प्रविधिको वेजोडसँगम देखिन्छ।
यति हुँदाहुँदै पनि बल ट्याम्परिङ, अनफिल्ड स्लेजिङ, स्लो ओवर, स्पट फिक्सिङ, मान्कड़ आदि अभलादमी क्रियाकलापहरु खेलमा जहिले पनि देखिन्छ। त्यसरी आचारसंहिताको उल्लङ्घन भएको पाइएमा आइसीसी अन्तर्गतको एमसीसीको नियमले दण्ड, जरिवाना र सजाय गर्दछ। तर जघन्य अपराध गरेमा राष्ट्रिय तथा सार्वजनिक अन्तराष्ट्रिय कानूनले क्षेत्राधिकार ग्रहण गर्दछ।
हालका बर्षहरुमा नेपाली क्रिकेटले धेरै उतारचढाव व्यहोरेको सबैलाई जानकारी छ। टिमको नेतृत्व अपराधिक कर्ममा संलग्न भएको आरोप र घरेलु लिगमा स्पट फिक्सिङका जस्ता घटनाले निम्त्यायको गिरफ्तारी जस्ता कुराहरुले नेपालका विद्यमान कानूनका जघन्य अपराधका दफा समेत आकर्षित गरे। पुष्टि हुनु नहुनु कानूनको विधि अन्तर्गतको कुरा भयो। टिमका प्लेइङ इलेभनका सदस्य अभियुक्त भई प्रहरी हिरासतबाट अदालतको जमानत लिई खेलमा समावेश गराउनु पर्ने अवस्था समेत देखियो। यी यावत कुराहरु अदालतमा विचाराधीन अवस्थामा रहेकाले केहि भनिएन। तर बैवाहिक जजक, शरीर नै वारदात स्थल र मानशिक ट्रमा जस्ता कानूनी नजिर स्थापना गर्न भूमिका खेल्ने कानून व्यवसायीबाट चुक हुनु भनेको शंकाको सुविधा पक्कै छ। प्रतिभा र अपराधसँगै जान सक्दैनन्।
मुलुकी ऐन २०२० खारेज गरि मुलुकी देवानी र अपराध संहिता २०७४ लागू गरिएको ५ वर्षको अवधिमा दुवै सारवान कानूनको कार्यान्वयन गर्ने कार्यविधि र सजाय निर्धारणमा केहि त्रुटी देखिए। विशेषगरी जवर्जस्ती करणी, बहुविवाह, बालविवाह, जातीय भेदभाव, आतामहत्या दुरुत्साहन र नागरिकता तथा राहदानीका मुद्दाहरुमा विवादित निर्णयहरु देखा परे। सबै भन्दा बढी नाबालक करणीमा देखियो। मुलुकी अपराध संहिता २०७४ करणी सम्बन्धी कसूरको दफा दुईमा मन्जुरी लिएर भए पनि अठार वर्षभन्दा कम उमेरको कुनै बालिकालाई करणी गरेमा निजले त्यस्तो बालिकालाई करणी गरेको मानिने छ। मुलुकी ऐनको नाबालक उमेरको हद १६ बर्षबाट संसोधन गरि मुलुकी देवानी संहिता २०७४ प्रकृतिक व्यक्ति सम्बधी व्यवस्थाको दफा ३२ को उपदफा १ मा अठार वर्ष उमेर पूरा भएको व्यक्ति बालिग भएको मानिने छ भनेर नाबालकको उमेरको हद अठार वर्ष कायम गरिएको छ। विद्यमान कानूनमा नाबालक करणीका बारे स्पष्ट बोलेको छ। तर पनि जालझेल अनि कानूनी छिद्र प्रयोग गरेर पिडकलाई उन्मुक्ति दिईदै आइएको छ। फौजदारी न्याय व्यवस्थाको जग बसाल्ने बेलामा त्यस्ता कसूर सम्बन्धिका मुद्दाहरु आफु खुशी व्याख्या गर्दै दण्डहीनता फैलाउने हो भने यौन तथा विवाह जस्ता विषयमा अन्तर्राष्ट्रिय मापदण्डका उमेरका हदहरु किन राखिएका हुन्। कानून के समाज सुहाउदो नभएको हो। जाँहा बालबालिका, महिला, दलित, बृद्धबृद्धालाई कानून मिचेर जसो गर्दा पनि हुन्छ भन्ने मानसिकता छ। कानूनलाई न्याय दिने भन्दा पनि शोषण गर्ने हतियारको रुपमा प्रयोग गरिन्छ।
मुलुकी अपराध संहिता २०७४ मा विवाह सम्बन्धी कसूरको दफा १७३ को उपदफा १ मा बीस वर्ष नपुगी कसैले विवाह गर्न वा गराउन हुँदैन भनेको छ। तर सबैभन्दा बढी बालविवाह हुने देशमध्ये नेपाल दशौं स्थानमा पर्छ। सबै समुदायमा बालविवाह भइराखेको हुन्छ। तर यो व्यवस्थाले सबै भन्दा ठूलो न्यायीक असमानता तथाकथित दलित समुदायमाथि हुने गराएको छ। त्यो कसरी भने कुनै दलित समुदायको केटाले गैह्र-दलित केटी संग बिहे गर्यो भने उमेर नपुगेको भए बालविवाह र जजक, उमेर पुगेको छ भने जवर्जस्ती करणीको आरोप सहित चोरी डकैती, अपहरण तथा शरीर बन्धक जस्ता कहिल्यै सफाई नपाउने गरि फर्जी आरोप लगाएर मुद्दा चलाइन्छ। पहुँच नभएका सोजासाझा दलित समुदायका मानिसहरुलाई दिनुसम्म दुख दिइन्छ। कति ठाउँमा त केटीलाई जवर्जस्ती करणी गरेको हो भन्ने कागज बनाएर सहिछाप गर्न लगाइन्छ। तर नाबालिकालाई जवर्जस्ती करणीको आरोप लागेर हिरासतमा राखेको मान्छेलाई जमानतमा बाहिर निकालेर फूलमाला लगाइन्छ। यहाँ न्यायमा समानता कहाँनिर देख्नु हुन्छ ?
जवर्जस्ती करणीको मुद्दा सारकारवादी हुन्छ। सरकारका तर्फबाट नेपाली जनताले तिरेको करबाट पारिश्रमिक भुक्तान गरिन्छ। सबै संयन्त्रहरु हुन्छन। यतिका सुविधाहरु हुँदाहुँदै पनि अभियुक्त विरुद्धको अभियोजन र अनुसन्धान यति फितलो बनाइदिन्छन् कि अधिकांस सरकारीवादी मुद्दा सरकारले हार्छ। विचरा नीजि कानून व्यसायीसँग यी कुनै सुविधा हुँदैनन् तर पनि मुद्दा जितेरै छोड्छ। यसमा न्यायलयको कति स्वतन्त्र छ भन्ने प्रश्न उठ्छ। जुन बिरालोले मुसा समात्दैन त्यसलाई घरमा पालेर केहि काम हुन्छ र सरकार?
यसरी नै दण्डहीनता बढाई राख्ने हो भने के नेपालका जेलहरु दलित र जनजातिका लागि निर्माण गरिएको हो? तिनीहरुको उन्मुक्ति किन हुनु नपर्ने हो श्रीमान्?
वर्षौदेखि सानोतिनो कसुरमा पनि दलितहरुलाई कारागार चलान गरिएको हुन्छ। अहिलेको न्याय व्यवस्था र मुलुकी ऐन १९१० को व्यवस्था फरक देखिए पनि कार्यान्वयनको विधि र पद्दति एउटै छ। मुलुकी ऐन १९१० मा तागाधारी, खस, मतवाली, छोईछिटो चल्ने र नचल्ने छुट्टयाई तिनको बर्गीकरण अनुसार दण्ड र सजायको फरक फरक ब्यवास्था थियो। त्यहिँ व्यवस्थामा दलित जनजातिलाई दण्ड सजाय दिईन्थ्यो भने अन्यलाई उन्मुक्ति। उदाहरणको लागि आन्दोलनका क्रममा सशस्त्र प्रहरीका सहायक निरीक्षक थमन बिक घाइते अवस्थामा महोत्तरीमा एम्बुलेन्सबाट थुतेर हत्या गरियो। न प्रहरीले केहि गर्यो न कुनै अड्डाले। यो टिकापुर जस्तै घटना थियो। सबैलाई थाहा छ टीकापुर घटनामा नाम मुछिएका मान्छेलाई प्रहरीले के गर्यो ? त्यसैगरि आफ्नो कैद अवधि सकिए पनि नेपालगन्जका सुन्दर हरिजनले नियोजित ढंगले अर्काको सट्टामा कैद भुक्तान गराउदा रोल्पा कारागारमा ज्यान गयो। यस्ता घटना जिल्ला कारागारमा हेर्ने हो भने थुप्रै छन्। यसरी फेद बिनाको टुप्पो राष्ट्रबादमा रमाउन सिखाएको नेतृत्वले न्यायमा समानता स्थापना गर्न जरुरी देखिन्छ।
विगतमा दलितमाथि दुर्व्यवहार देखि जघन्य अपराध हुँदासम्म भइहाल्यो एकपटकलाई सामान्य हो भन्दै उन्मुक्ति दिने चलन चल्दै आयो। त्यस्तो दण्डहीनताले अपराध गर्नेलाई केहि हुदैन रहेछ भन्दै थप अपराध गर्न उर्जा दियो। यसमा पनि केहि होइन भन्दै पीडितलाई न्याय दिनुको साटो आरोप खेपिरहेका मानिसलाई उन्मुक्ति दिनुले त्यसको दुरगामी असर पर्ने देखिन्छ। नेपाली क्रिकेट र न्याय व्यवस्थालाई यो घटनाले नबिर्सने अतित र बल्झाई राख्ने वर्तमान पक्कै दिएको छ। यस्तै बल्झी राख्ने घटना एकजना भारतीय क्रिकेटरलाई थियो। सन् १९८८ तिर एकजना व्यक्तिको कर्तव्य गरि ज्यान मार्न सहयोग गरेकामा निरन्तर अदालत धाइरहनु परेको थियो।
अब प्रश्न के आउछ भने आफै भएभरको नियममा बाधिएर खेलिने खेलमा कानूनको उलंघन गरेका मानिसले खेल्न पाउँछन? क्रिकेट लगाएत अन्य खेलहरुमा विभेद, असमानता, मानवाधिकारको हनन् भएमा खेलाडीहरुले कालो पट्टि बाधेर पीडित प्रति आफ्नो ऐक्यबद्धता दर्साइ रहेका हुन्छन्। बालबालिका लागि च्यारिटी खेल पनि राखेका हुन्छन्। सन् २०१९ मा सचिन नेपाल आएर बालबालिकालागि एक च्यारिटी खेल खेलेर फर्केका थिए। सन् २०२१ को टी-ट्वान्टी वर्ल्ड कपमा साउथ अफ्रिकाका स्टार ब्याटर क्विन्टन डि ककले रङ्ग भेद बिरुद्द एक मिनेट घुडाँ टेकेर झुक्न नमान्दा सर्वत्र बिरोध भएको थियो। पछि उनले माफी मागे पछि घटना शान्त भयो। के जमानत लिई खेल्दै गरेका खेलाडीले हिँसा, विभेद तथा यौन दुर्व्यवहार बिरुद्द कालो पट्टि बाधेर मैदानमा उत्रिन सक्लान्?
अहिले पो घरेलु मैदान छ। घरेलु दर्शक छन्। दर्शकहरु अपवाद बाहेक कुनै एक व्यक्तिका सर्वकालीन फ्यान पनि हुँदैनन्। फ्यान अस्थायी हुन्छन्, सजिलै बसाई सर्छन्। सधैँ क्रिकेट घरेलु मैदानमा मात्रै खेलिदैन? अन्तर्राष्ट्रिय टुर पनि त हुन्छ। सबै ठाउँमा आफ्नै पक्षका दर्शक पनि त हुदैनन्। त्यस्तो अवस्थामा विपक्षी देशले मनोवल गिराउन विभिन्न प्रपन्च रच्न सक्छ? जसरी स्कटल्याण्डले हात मिलाउन अस्वीकार गरेको थियो।
क्रिकेट भित्रको बेथिति हेर्दा हामी जस्तो रेडियो कमेन्ट्री सुनेर टुनीको ब्याटले खेल्दै हुर्केका मानिसहरुलाई थोरै निरास त पक्कै बनाउँछ। तथापी, हाम्रो त्यो बेलाको अनुराग खेल प्रतिको थियो कुनै खेलाडीप्रति थिएन। संयोग नै भन्नु पर्ला हालका उन्नाइस बर्ष मुनिका पुरुष टिमका कोच जगत टमटासँग सन् २०२१ को एक साँझ भेट भएको थियो। उक्त भेटमा हामी दुईबीच केहि विषयमा मतभिन्नता रहे। तर पनि छुट्टीदा दुबैले हार्दिकता देखाएका थियौ। अन्त्यमा त्यहाँबाट जर्ज बर्नार्ड शाको क्रिकेट बारेको एक प्रसिद्ध भनाई सम्झेर आफ्नो बाटो लागे।