१० कक्षाको टेस्ट (सेन्टअप) परीक्षाको समय। आज गणित विषय। परीक्षा सुरु हुनुभन्दा आधा घन्टा अगाडि स्कुल पुगेँ।
यस बेला बल्ल... मैले कुरेको कुरै। बीजगणितको अभ्यास २० बाट पक्का आउँछ रे। ल यो हिसाब गर्।
पार्वतीले हतार-हतार मेरो हातमा कापी-कलम थमाई दिई। उसले बीजगणितको अभ्यास २० पल्टाउँदै प्रश्न नम्बर ७ मा दाहिने हातको चोर औँला राखि। हो यो।
मैले हिसाब सुरु गरेँ।
मानौँ,
रामको हालको उमेर बरारबर एक्स
२० वर्षपछि रामको उमेर २० प्लस एक्स
जसै मैले उत्तर निकाले। सर टुप्लुक्क मेरो छेउमा आउनु भयो। 'जब पर्यो राति, तब बूढी ताती'। परीक्षाको दिन बल्ल कापी-किताब पल्टाउने। आज पढ्ने दिन हो कि परीक्षा दिने? हिजो अस्ति नै तयारी सक्नु पर्दैन। 'दिन उजेली बुढी सुति बिताइ, रात उजेली बुढी बिस्कुन सुकाइ'।
सर उखान फलाक्दै अफिस कोठा तर्फ लाग्नु भयो।
मैले मात्र पढेको छु...। चउरभरी छरिएर पढिरहेका केटाहरुलाई देख्नु भएन सरले बरू उनीहरुलाई गएर भन्नु नि। दिन उजेली बुढा... भनेर। मेरै अगाडि आएर भन्नु पर्छ। यस्ता अरुलाई होच्याउने उखान...।
सर अफिस कोठा भित्र प्रवेश गरिसकेको पक्का भइसकेपछि पार्वतीसँग कराएँ।
तैले गर्दा...। पार्वतीको कापी-कलम उसकै अगाडि हुर्राइदिएँ। आँखाको डिलभरीको आँसुलाई कसो-कसो आँखा भित्र पचाए।
ओहो! एउटा हिसाब के गरेकी थिई पूरै कपी पसिनाले लुछुप्प। यसको हातमा त पसिनाकै पोखरी छ कि क्या हो? एक त यसको नबुझिने नराम्रा अक्षर, त्यसमाथि पसिनाले भिजेका।
'उसै त कमिनी काली गाजल लत्पतेकी।'
तँ... तँ बाहुन हुँदैमा गोरी छस्?
जे पायो त्यही उखान-टुक्का बोल्ने भाकी। रीसमाथि रीस नउठा है कलौटी।
सरको रीस पनि सोझी साथी पार्वतीलाई नै पोखेँ।
हिहिहि... नरिसा के।
मेरो रीसको जवाफ हाँसेर दिई पार्वतीले। हाम्रो कक्षाकि गौतम बुद्ध।
घन्टी बजेपछि हामी दुवै परीक्षाहल भित्र गयौँ। परीक्षाको गार्ड मेडम पर्नु भएको रहेछ। म सुरुकै बेन्चमा परेछु। छेउमा म, कुनामा अग्नि र बीचमा हरि। परिक्षा सुरु भयो। मेरो मनपर्ने विषय भएर होला सायद, प्रश्न पनि सजिलै लाग्यो।
परीक्षा सकिन १५ मिनेट बाँकीको घन्टी बजेपछि हरिले कहिले मेरो कापी कहिले अग्निको कापी हेर्न थाल्यो।
'पढ्ने बेलामा पढ्नु छैन, परीक्षा दिने बेलामा केको दायाँ-बायाँ दायाँ-बायाँ? तीन घन्टा बित्न लाग्दा तीन वटा हिसाब गर्नु छैन। दायाँ-बायाँ नगरिकन जे आउँछ त्यही लेख्।'
मेडमले हरिलाइ थर्काउनु भयो। तर उसले मेडमले भनेको टेरेन र टाउको दायाँ-बाँया घुमाइ रह्यो।
न आफै जानेर पढ्ने, न भनेको मानेर पढ्ने। 'पहिले बुढी जानिन, पछि बुढी मानिन। बाघ लाग्यो घिच्याउन, बुढी लागि चिच्याउन।' मेडम कराउनु भयो।
दाहिने हातले हरिको कापी तान्दै देब्रे हातले ढोका तर्फ देखाँउदै अझ ठूलो स्वरले कराउनु भयो। गेट आउट... हरि बाहिरियो।
ए मेडम गल्ती त केटाको हो नि! किन फेरि बुढी… गल्ति जसले गरेपनि अरुलाइ होच्याउनु पर्यो कि बुढी भनेर उखान भन्ने। आफू महिला भएर पनि कस्तो ख्याल नगरेको।
म मनमनै भुत्भुताउनुको विकल्प थिएन। मेडम कडा जो पर्नु भयो।
परीक्षा सकियो। म घरतिर लागेँ। प्रश्न सजिला थिए तर मन असजिलो भयो। न सरको व्यवहार मन पर्यो, न मेडमको। पार्वती त १० कक्षाको विद्यार्थी न हो।
सर मेडमको सिक्नु स्वभाविकै हो तर समाजको शिक्षित वर्गको प्रतिनिधित्व गर्ने सर मडेमहरुले किन विचारै नगरी यस्ता उखान टुक्काहरुको प्रयोग गर्नुहुन्छ होला...? म जम्मा १० कक्षामा पढ्ने भुराले के सम्झाउनु? घोरीँदै घर पुगेको पत्तोनै पाइनँ।
ढोकामा ताल्चा लागेको थियो। ममि स्कूलबाट फर्किनु भएकै रहेनछ। रश्मी र समि बाटातिर भुले होलान्। ड्याडि घर आईपुग्न त साँझ पर्न निक्कै बाँकी थियो। घरमा एक्लै धुमधुम्ति ढोका कुरेर त के बस्नु? मामाघरतिर दौडिएँ।
जम्मा पाँच मिनेटको बाटो न हो, तीन मीनेटमा पुगेँ। हजुरआमाले बनाएको मिठो खाजा खाएपछि भाइ बहिनीहरुसँग खेल्न थालेँ। भोलि नेपाली विषय... अङ्ग्रेजी गणित जस्तो तयारीको तनाव पनि भएन। १० कक्षाको उमेर न हो, ठूलासँग पनि मिल्दिने बच्चासँग पनि भुल्दिने।
हामी यति रल्लै भएर खेल्यौँ कि कति बेला छिमेकी हमाल्नी बज्यै आएर हामी खेलेको हेरिरहनु भएको रहेछ पत्तै पाएनौँ। हमाल्नी बज्यै आएको थाहा पाएर हजुरआमा बाहिर आउनु भयो। उहाँको नमस्कार फर्काउँदै म तिर हेरेर भन्नुभयो।
'नानी यस्ता चिचिलासँग भुलेर हुन्छ १० कक्षाको परीक्षा दिने मान्छे। धेरै बेर भैसक्यो खेलेको। पढ्नु पर्दैन। भोलि जाँच छ भनेर बिर्सिस कि क्या हो।'
'त्यही त। पढ्नु पर्दैन। तिम्री हजुरआमा मेरी नातिनी पढ्न तगडा छ भनेर गाउँभरी बयान लाउँदै हिड्ने, नातिनी जाँचको बेला पनि नपढ्नी... फेल भइएला नि फेरि।'
'सर्हाएकी बुहारी डुमको पोइल' हमाल्नी बज्यैले थप्नुभयो।
हमाल्नी बज्यैले बोलेको केही नबुझे पनि उहाँको भावभङ्गि हेर्दा पक्कै हामीलाई गाली गरेको हो भन्ठानेर आभाष र भावना दौडिएर भागे।
दिदीलाई त बुहारी अरे। पारसले मेरो मुखतिर हेरेर फिस्स हाँस्यो। आठ वर्षको बच्चा न हो, उखानको अर्थ बुझेन।
मेरा मुटुको ढुकढुकी बढ्यो। कान तात्यो। हातखुट्टा लगलगि काँपे। हे भगवान! आज एक दिनमै पाँच पटक...। किन यति सजिलै प्रयोग गर्दछन्। मानिसहरु अरुलाइ होच्याउने यस्ता उखान टुक्काहरू।
हुनत महिला तथा निश्चित जात विशेषलाई होच्याएर बनाइएका यस्ता उखान टुक्काहरु मैले बच्चा बेलादेखि नै सुनेको हो तर बिझाउन थालेको कक्षा नौ/दश पढ्दादेखि हो।
म आफूले स्कूल पढ्ने बेलामा शिक्षक-शिक्षिकाहरु एवम् समाजका अन्य शिक्षित अशिक्षित वर्गको मुखबाट यस्ता उखान टुक्काहरु धेरै सुनेँ तर आफूले स्कूल कलेज पढाउँदा भने कहिल्यै प्रयोग गरिन किनकि मलाई विश्वाश छ, आफूलाई घोच्ने कुराले अरुलाई पनि बिझाउँछ।
दश कक्षाको त्यो टेष्ट (सेन्ट अप) परीक्षा सकिएको मात्र होइन, मेरो मास्टर डिग्रीको फाइनल परीक्षा सकिएको पनि दशक भयो। तर अझै पनि हाम्रो समाजमा यस्ता अरुलाइ होच्याएर बनाएका उखान टुक्काको प्रयोगमा कमी आएको छैन। बरु, पहिला मानिसहरुको मुखबाट प्रत्यक्षरुपमा मात्र सुनिन्थ्यो भने आजभोलि सामाजिक संजाल एवम् विद्युतीय संचार माध्यमबाट पनि प्रशस्त सुनिन्छ।
'आफू मरे डुमै राजा' भर्खरै मात्र एक वरिष्ठ कलाकारले दिएको जवाफ हो यो। तपाईपछि को? भनेर पत्रकारले सोधेको प्रश्नमा। समाजका अनुकरणीय व्यक्तिले पनि यसरी बोलिदिँदा समाजमा कस्तो असर पर्न सक्छ? किन सोच विचार नगरि यस्ता उखान टुक्काहरु प्रयोग गरिन्छन्?
हो, उखान टुक्काले भाषा साहित्यलाई सम्वृद्ध बनाउँछ। आफ्नो भनाइलाइ गहकिलो रुपमा प्रस्तुत गर्न उखान टुक्काहरु सहायक सिद्ध हुन्छन्। विषयवस्तुलाई बुझ्न पनि उखान टुक्काले सजिलो बनाउँछ। सोझै भन्न गार्हो हुने विषय घुमाएर भन्न होस् या अप्ठारो विषयलाई सजिलो गरि भन्न उखान टुक्काले सहयोग गर्दछ तर त्यसो भन्दैमा सयौँ वर्ष अगाडिको समाजलाई प्रतिनिधित्व गर्ने गरि बनाइएका उखान टुक्काहरूको प्रयोग अहिलेको सन्दर्भमा कत्तिको जायज हुन्?
आफूले बोल्दा अरुलाई बिझाउने यस्ता उखान टुक्काको प्रयोग के न्यायोचित हुन्छन्?
हजुरआमा-हजुरबाको पालाको रेडियोले चित्त बुझेन। आमा-बुवाको पालाको टेलिभिजनले पनि पुगेन। हामी हातहातै इन्टरनेट सहितको मोबाइल प्रयोग गर्छौँ तर किन उखान-टुक्का भने शताब्दीयौँ पुरानो?
संविधान, व्यवस्था, अवस्था सबै परिवर्तन गर्न मिल्ने तर यस्ता उखान टुक्का परिवर्तन गर्न किन नमील्ने? २००४ सालबाट हालसम्म आउँदा हामीले संविधान मात्रै सात पटक फेर्यौँ। उखान-टुक्का फेर्न कुन आन्दोलनको आवश्यकता हो र?
उखान टुक्का प्रयोग गर्दा अरुको आत्मसम्मानमा आँच नआउने राम्रा उखान टुक्का छनौट गरेर शिष्ट तरिकाले प्रयोग गरौँ ताकी हामीलाई बिझाउने उखान टुक्काले हाम्रा सन्ततिलाई नबिझावस्।