नेपाली विद्यार्थी विदेशमा गएर अध्ययन गर्ने प्रचलन परापूर्वकालदेखि सुरु भएको पाइन्छ।
इतिहास हेर्ने हो भने नेपाली जनमानसमा शैक्षिक चेतना भएसँगै नेपाली विद्यार्थीहरु भारतका विभिन्न विश्वविद्यालयमा गई अध्ययन गर्ने गरेको पाइन्छ।
विकासक्रमसँगै नेपालले विश्वका विभिन्न विकसित मुलुकहरु जस्तै, बेलायत, संयुक्त राज्य अमेरिका, अष्ट्रेलिया, युरोपेली मुलुकलगायतका देशहरुसँग दौत्य र कुटनीतिक सम्बन्ध राखिसकेपछि विदेशमा गई अध्ययन गर्ने विद्यार्थीको संख्या झन् बढ्दै गएको छ।
उच्च शिक्षाका लागि विदेशमा गई अध्ययन गर्ने क्रम दिनानुदिन बढ्दै गएपछि यसका सकारात्मक तथा नकारात्मक पक्षका बारेमा विभिन्न बहसहरु चल्दै आएका छन् । जुन स्वभाविक छ र हुनु पनि जरूरी छ।
विदेशमा गई अध्ययन गर्ने प्रकृयालाई एकथरी विश्लेषकले उर्जाशील देशका होनाहार युवाको ‘ब्रेन ड्रेन’ भयो यसलाई जसरी पनि रोक्नुपर्छ भन्दै आवाज उठाउँदै आएका छन्। तर, अर्का थरी विश्लेषकले भने यसलाई स्वभाविक प्रकृयाका रुपमा लिने गरेका छन्।
जसलाई अहिलेको विश्व परिवेशमा ‘समयको माग र युवाको चाहना’ हो जुन ‘ब्रेन ड्रेन’ नभएर ‘ब्रेन एक्वाएर’ हो भन्न रुचाउँछन्।
यी दुवै थरी विचारहरुलाई गहिरिएर हेर्ने हो भने, स्वदेशको पढाई र सर्टिफिकेटमा विद्यार्थीले भविष्य नदेख्नुनै वैदेशिक शिक्षामा आकर्षण बढेको हो।
त्यसो त नेपालमै अवसर खोजिरहेका पनि प्रशस्तै छन् । नेपालमा अध्यापन हुने विभिन्न कार्यक्रमहरु जस्तै मेडिसिन, इञ्जिनियरिङ, नर्सिङ, हेल्थ साइन्स, कृषिलगायतका विषयहरु लामो समयदेखि विद्यार्थीका प्रमुख रोजाइमा निरन्तरता पाएका छन्। तर, स्वदेशमै केही गरौं भन्ने विद्यार्थीहरु पनि नेपालको अव्यवहारिक शिक्षा तथा अस्थिर राजनीतिका कारण वैदेशिक अध्ययनमा जान खोजिरहेको पाइन्छ।
अर्को तर्फ, नेपाली विश्वविद्यालयका शैक्षिक प्रणालीले शैक्षिक योग्यता र स्वदेश तथा विश्वबजारका रोजगारीका अवसरलाई परिपूर्ति गर्न सकिरहेको छैन।
यहाँका पाठ्यसामग्री व्यवसायिक उद्यममा आधारित स्वरोजगारमुलकभन्दा सिद्धान्तमा आधारित छन्। जसले गर्दा पनि धेरै विद्यार्थी विश्वविद्यालयबाट दीक्षित भइसक्दा समेत आफूले अब के गर्ने भन्नेमा जानकार हुँदैनन्।
उच्च शिक्षा अनुसन्धान र अन्वेषणमा आधारित हुनुपर्छ भनिए पनि हाम्रो विश्वविद्यालयहरुले विकसित शिक्षा पद्धती तथा सोही अनुरुपको पाठ्यक्रम निर्माण गर्न सकेका छैनन् ।
गुज्रदो शिक्षा प्रणालीमा हुर्किरहेको पुस्तालाई आधुनिक शिक्षा पाउनबाट निरुत्साहित हुने गरी स्वदेशमै बसिरहनुपर्छ भन्ने मान्यता पनि सरासर गलत हो। नीति निर्माणको तहमा रहेकाले प्रतिष्पर्धी शिक्षा आर्जनका लागि वातावरण पनि नबनाइदिने र विदेशमा गई व्यवहारपयोगी शिक्षा लिन्छौ भन्दा पनि विदेशिने विद्यार्थीमाथि लाञ्छना लगाउँदै हिड्नु ठीक होइन।
कस्तो शिक्षा लिने र आफ्नो भविष्य कस्तो बनाउने भन्नेमा निर्णय लिन हरेक व्यक्ति स्वतन्त्र हुन्छ। विदेशमा अध्ययन गरी स्वदेशमै फर्किएर राष्ट्रको लागि योगदान पुर्याइरहेकाको भूमिकालाई गौण देखियो भने यो पनि सोझै अन्याय हुन जान्छ।
अन्ततः विदेशमा उत्कृष्ट शिक्षा लिएका व्यक्तिलाई स्वदेशमा अवसर दिलाई राष्ट्र निर्माणमा उनीहरुको ज्ञान र सीपलाई प्रयोगमा ल्याउन सक्नु राज्यको दायित्व हो। तसर्थ विदेश पढ्न जाने प्रणालीलाई सही र गलतको व्याख्यामा समय खर्चिनुभन्दा विदेश पढेका शिक्षित र दक्ष व्यक्तिको अनुभवलाई स्वदेशको हितमा कसरी लगाउने भन्ने तर्फ सबैले सोच्नु आवश्यक छ।
नेपाली शैक्षिक जनशक्तिलाई देश विकासको मुल प्रवाहमा ल्याई देशको आर्थिक समृद्धिमा जोड दिनुपर्छ। यी सबै सम्भावना र यथार्थ हाम्रा माझ हुँदा हुँदै अध्ययनका लागि विदेश जानु आवश्यकता हो की महत्वाकांक्षा वा बाध्यता हो? विचार गर्नुपर्ने बेला आएको छ।