प्रिय जोन,
तिमीले लेखेको किताबको नाम सुनेरै मेरो दिमागको तार हल्लेको थियो। ‘असफल स्कूल’, तिम्रो किताबको नाम। किताब नेपाली भाषामा प्रकाशन भएपछिको सन्दर्भ हो यो। ‘सिकाइ समुह’का सुदर्शन घिमिरेले जानकारी दिनुहुँदा नै म सोच्थें, यो कस्तो किताब होला! ठान्थें, गज्जबको किताब होला। आखिर किताबले हल्लाइदियो नै। हल्लिएको मनले सोचेर केही शब्द लेख्दैछु।
नेपाली भाषामा लेखिएका शिक्षा सम्बन्धी पुस्तक पढ्छु म। सहजै उपलब्ध भएका हिन्दी, अङ्ग्रेजी भाषाका पुस्तक पनि पढ्ने प्रयास गरिरहेको हुन्छु। मैले काम गर्ने स्कूलहरूमा पनि म यसखाले पुस्तक पढ्न सिफारिस गर्छु। मेरा सहकर्मी शिक्षाकर्मीलाई पनि पढ्न सुझाउँछु।बालबालिकाको क्षेत्रमा काम गर्ने अभियन्ताहरूलाई पनि पढ्नू भनिरहेको हुन्छु। कोही भने पढ्छु भनेर पनि नपढ्ने पाउँछु। नपढे वा सिक्न छोडे बूढो भइने कुरा नै बिर्सनेलाई म केही पनि भन्दिनँ। मनमनै प्रार्थना गर्छु, पढे हुने नि। सबै कुरा जान्दछु भन्ने भ्रममा परेकालाई त झन् के भन्नु र!
आफुलाई शैक्षिक अभियन्ता वा शिक्षाकर्मी हुँ भनेर जिकिर गर्ने जो कोहीलाई एउटा प्रश्न सोध्ने गरेको छु– गिजुभाइको ‘दिवास्वप्न’ र ‘हामी आमाबाबु’, तेच्चुको कुरियोनागीको ‘तोत्तोचान’, चिनगिज आइतमातोभको ‘प्रथम गुरु’ जस्ता पुस्तक पढेको छ कि छैन? पढेको छुु भन्ने जवाफ सुन्न पाउँदा म पूलकित हुन्छु। कत्तिलाई त पुस्तक खरीद गरेरै उपहार दिने गरेको छु।
यस्तैमा तिम्रो पुस्तक प्रकाशन भएपछि म डबल खुसी भएँ। तर तिम्रो पुस्तक बजारमा आउनेबित्तिकै पढ्न भ्याइनँ। पढ्नेबित्तिकै केही लेख्न सकिनँ। केही जरुर लेख्नेछु भन्ने मनमै साँचेर बसें। आज राम्रो स्कूल बारे तिमीले जोड गरेका कुराहरु सम्झिने कोसिस गर्दैछु र केही शब्द कोर्दैछु।
हाम्रोमा पनि तिमीले पुस्तकमा उल्लेख गरेजस्तै अवस्था छ। अझ त्योभन्दा कैयौं वर्ष पछाडि छौं हामी। यहाँ पनि राम्रो स्कूल कुन छ भनेर कसैले सोध्यो भने तर्जनी औंला कता तेस्र्याउने भन्ने कुराको समस्या उस्तै छ। बहस हुँदै छन्। छलफल जारी छ। बहसमा हस् मात्र हुने, काम नहुने। रुपान्तरण र सोचान्तरणमा सिन्को नभाँचिने। छलफलमा छल मात्र बाँकी भएर फल नफल्ने परिपाटी। राम्रो स्कूल बनाउनुपर्छ भन्नेले पनि बनाउन सकेको देखिँदैन। राम्रो स्कूल खोज्नेहरूले दिउँसै टर्च बाल्नुपर्ने अवस्था छ।
किताबमा स्कूलहरू असफल हुँदै गएकोतर्फ इंगित गरेको पक्ष जायज छ। भयानक सत्य पनि हो वर्तमानको। राम्रो स्कूल कस्तो स्कूल हो त? यो प्रश्नको उत्तर पनि छायाँमै छ। यो प्रश्नको उत्तर नजानेर, नबुझेर र उल्टो बुझेर हामी अल्झिएका छौँ। स्कूलको परम्परागत मान्यता हाम्रो मनबाट हट्न सकेको छैन।
भवन ठूलाठूला भएको स्कूल राम्रो हो। खेल मैदान भएको स्कूल राम्रो हुन्छ। स्कूल बस भएको पो राम्रो त। कम्प्युटर ल्याब भएको स्कूल राम्रो नि। नृत्य, सङ्गीत, कला सिकाउने स्कूल बडो राम्रो हुन्छ त। तालिमप्राप्त शिक्षक भए पो स्कूल राम्रो हुन्छ। यस्तैयस्तै कुराहरू हामी सुन्छौँ। अझ अन्यान्य कुरा पनि सुन्छौँ। कडा अनुशासन भएको राम्रो हो। कुटेरै पनि तह लगाउने स्कूल भए झनै राम्रो हुन्थ्यो। यसरी सतहका एकदुई कुरामा अल्झेका छौं हामी। हरेक दिन कक्षा हुने, पिरियड खाली नहुने, दिनहुँ कापी जाँच गर्ने र पढेको कुरा विद्यार्थीलाई सोध्ने भएमा राम्रो मान्ने पनि पाइन्छ।
स्कूल भनेको भौतिक कुरा हुन् भन्ने छाप टाउकोमा छ। बालबालिका एउटा फ्रेममा सिक्न आउने हुन्। निश्चित किताबी कोर्स पूरा गर्ने गराउने नियमित प्रक्रिया नै स्कूलको कार्यक्रम हो भन्ने छ।
तिम्रो किताब पढेपछि त म रोकिएँ। अडिएँ। प्रश्नहरू रोकिएनन्। सोच्न थालेँ। कस्तो हो त राम्रो स्कूल? कस्तो हो त रमाइलो स्कूल? कस्तो स्कूल बनाइरहेका छौं त हामी? कस्तो बनाउन पर्ने हो स्कूल? कस्तो हुनुपर्ने हो राम्रो स्कूल? के हामी सक्दैनौं र स्कूललाई राम्रो बनाउन, रमाइलो बनाउन?
तिमीले लेखेको किताब पढेर खाएको ‘पन्च’ र ‘किक’को स्वाद बारे अरु केही लेखौँला। अहिले भने तिमीले उल्लेख गरेको एउटा राम्रो स्कूलको सम्झना गर्न चाहन्छु। त्यसो त राम्रो स्कूलको कुरा गर्दा मेरो मनमा टैगोरको स्कूलको याद आउँछ। गिजुभाइको स्कूलको सम्झना आउँछ। तोत्तोचान पढेको तोमोए स्कूल मानसपटलमा ताजा भएर झल्किन्छ। नेपालमा भएका केही स्कूलहरूको यादमा टहलिन्छु। तिम्रो किताब पढिसकेपछि म पुनर्विचारको राजमार्गमा गाडी कुदाउँदै स्कूल खोजिहिँडेको छु। राम्रो स्कूलको खोजीमा। त्यो स्कूल राम्रो स्कूल हो जुन खासमा स्कूल होइन र बालबालिका आउन् भन्नका खातिर मात्र त्यसको नाउँ स्कूल राख्नुपरेको होस्।
तिम्रो किताबमा यस्तै भाव अक्षरमा पढ्न पाइन्छ। हो, यस्तै स्कूलको सपना यो मनुवाको मनमस्तिष्कमा उब्जेको हो। यसर्थ पनि म जहाँ जान्छु, जुन स्कूलमा पुग्छु, त्यहाँको सिकाइ संस्कृतिबारे चासो दिएर जिज्ञासा पोखिहाल्छु। यसक्रममा स्कूल राम्रो छ कि छैन भन्ने यकिन गर्न लामो समय लाग्दैन किनकि स्कूलहरूले नियमित रुपमा पाठ्यपुस्तक पढ्ने पढाउने कर्ममै दिन कटाइरहेका छन्। तिमीले उल्लेख गरेको राम्रो स्कूलको सन्दर्भमा केही कुरा जरुर मननीय छन्।
शिक्षक र वयस्कसँग कुरा गर्न केटाकेटी निर्भय, स्वतन्त्र र इमानदार हुन्छन्। पढ्ने पढाउने काम हुँदैन। केटाकेटीलाई के ठीक लाग्छ सोही काम गर्छन्। शिक्षकले मद्दत पुर्याउँछन्। केटाकेटीलाई पढाइको कुनै दबाब छैन। जीवन्त, रोचक, रमाइलो, सुरक्षित, विश्वासी, सहयोगी र मानवीय समुदाय निर्माण गर्न वयस्कहरु केटाकेटीसँग काम गर्छन्। विषय, कक्षा, घण्टी, पाठ्यक्रम, पाठ्यपुस्तक, परीक्षा, ग्रेड, अंक, रिपोर्ट कार्ड केही छैन। सबैजना आआफ्नो गतिअनुसार सिक्छन्। अरुलाई देखाउनका लागि केही पनि गराइँदैन। जे गर्छन् स्वयम् गर्छन् र केटाकेटीले आफैं सिक्छन् । कुनै पनि दुइ केटाकेटी एउटै काम गर्दैनन्। उस्तै काम अर्को दिन गर्दैनन्।
भर्नाका लागि कुनै प्रवेश परीक्षा लिइँदैन। गृहकार्यको बोझले कोही पनि थिचिँदैन। कुनै पनि पुरस्कार वा दण्डका कारण काम गर्ने भन्ने हुँदैन। सबै काम स्वतः हुन्छन्। काम गर्न आवश्यक प्रशस्त सामानहरू शिक्षकले जुटाइदिन्छन्। स्कूलको योजना निर्माण गर्न र पैसा खर्च कसरी गर्ने भन्ने सवालमा केटाकेटीको प्रत्यक्ष सहभागिता हुन्छ। निर्णय गर्न भोट गर्न पाउँछन्। एउटा राम्रो स्कूल कहिल्यै पूर्ण हुँदैन, यसलाई पुनः डिजाइन गर्न र पुनः निर्माण गर्न केटाकेटीले अवसर पाउँछन्। केटाकेटीले एकाग्र भएर केही हेर्दा कसैले उसको ध्यान खल्बल्याउँदैन।
जोन, मलाई लाग्छ यस्ता कुरालाई ठ्याक्कै फर्मुला स्टाइलमा परिपालना गर्न हुँदैन। सकिँदैन पनि। तर हामी पुग्नुपर्ने गन्तव्य त जरूर यही नै हो। दुईमत छैन।
यति गजब पुस्तक अनुवाद र सम्पादनका लागि शरच्चन्द्र वस्तीलाई आभार। प्रकाशनका लागि सिकाइ समुहलाई धन्यवाद। जोन हल्ट, तिमीलाई त नौ मुरीभन्दा धेरै नै सद्भावका शब्दथुँगा अर्पन्छु।
प्रिय हल्ट, तिमीले ‘हल्ट’ भनेका कुरा साँच्चै रोकिउन् भनेर म कामना गरिरहेछु।