प्रधानमन्त्री शेरबहादुर देउवाको प्रेस सल्लाहकारका रूपमा सात महिना बालुवाटार बस्दा मलाई धेरै कुरा सिक्ने–बुझ्ने मौका मिल्यो, आफैँले १५ वर्ष बिताएको पत्रकारिताबारे।
रिपोर्टिङको क्रममा म बारम्बार त्यस्ता नेता, सरकारी अधिकारी वा आम मानिसलाई भेट्ने गर्थें, जो भन्थे– पत्रकारहरू केही बुझ्दैनन्, हावामा समाचार लेख्छन्, आफ्नै पेशाप्रति प्रश्न उठ्दा मन खिन्न हुन्थ्यो। कहिले प्रतिवाद गर्थें, कहिले खिस्स हास्थेँ मात्र।
तर मुलुकको कार्यकारीको प्रेस सचिवालयको नेतृत्व गर्ने अवसर मलाई जुर्यो। जसले मलाई पत्रकारिताका विविध आयामका साथै यसभित्रका अनेक खालका ‘हेङकी–पेङकी’का विषयमा पनि थाहा पाउने मौका जुर्यो।
सधैँभरि प्रिन्ट मिडियामा मात्रै काम गर्ने मजस्ता धेरै पत्रकारलाई हेक्का नहुन सक्छ– केही पत्रकारहरू बिहान ४ बजेदेखि नै समाचार लेख्न, बजाउन थाल्छन्, आफ्नो कार्य क्षेत्रमा खटिएर। प्रधानमन्त्रीको प्रेस सल्लाहकारका रूपमा बालुवाटार र सिंहदरबार बस्दा थाहा भयो– पत्रकारका साँच्चिकै दुःख र सुखहरू।
ती पत्रकारहरू अधिकांश रेडियोकर्मी बिहान पौने पाँच नबज्दै मलाई फोन गर्न थाल्थे। फेसबुक म्यासेन्जर, भाइबर र ह्वाट्सएपबाट पनि म्यासेजहरू पठाउँथे। म प्रायः राति १० बजेपछि मात्रै घर फर्कन्थेँ। यसैले, मलाई बिहान ६ बजे ब्यूँझन निकै सकस पर्थ्यो। सुरुका केही महिना मैले अर्धनिद्रामै फोन उठाएँ। बिहान नौ बजेसम्म सयभन्दा बढी कल आइसकेको हुन्थ्यो। प्रायः सबैको एउटै प्रश्न हुन्थ्यो, ‘आज प्रधानमन्त्रीको कार्यक्रम के छ?’ प्रधानमन्त्री अर्थात् मुलुकको कार्यकारीको दैनिकी उनीहरू आफ्नो समाचारमा समावेश गर्न चाहन्थे।
राम्ररी नब्यूँझदै एकपछि अर्को फोन रिसिभ गर्नुपर्दा कहिँलेकाहीँ झिँझो लाग्नु स्वभाविकै हो। तर, देशभरका पत्रकार मित्रहरूसँग हुने कुराकानीले मलाई सकारात्मक उर्जा नै दिन्थ्यो। तर, यसको अर्को पाटो पनि थियो– मेरो कारणले श्रीमती र छोराहरूको पनि एकाबिहानै निद्रा खल्बलिन थाल्यो। मेरो तीन वर्षीय कान्छो छोरो म राति घर पुगेपछि मात्रै सुत्थ्यो। ऊ पनि एकाबिहानै बाबाको फोन कलसँगै उठ्नुपर्थ्यो।
मलाई लाग्यो– मेरो कारणले पूरै परिवारको निद्रा खल्बलिनु ठीक होइन। त्यसैले मैले त्यो समस्याबाट पार पाउने उपायहरू खोज्न थालेँ। एक मनले लाग्यो, बिहान ७ बजेसम्म फोन अफ गरी ढुक्कै सुतौँ। तर, प्रधानमन्त्रीको प्रेस सल्लाहकारको फोन हरदम खुला हुनुपर्छ भन्ने मेरो मान्यता थियो। अर्को जुक्ति सोचेँ– बिहान साइलेन्ट मोडमा राख्ने र पछि कलव्याक गर्ने। तर, त्यो पनि व्यवहारिक रूपले निकै कठीन थियो।
झण्डै चार महिनाजति फोन आउनासाथ ‘सिटिङ रुम’मा गएर कुरा गर्न थालेँ। तर, धेरै दिनसम्म त्यो उपक्रम चलेन। र, बिहान साढे ६ बजेसम्म फोनलाई बिजी मोडमा राख्न थालेँ। यो मोडमा राख्दा केही महत्त्वपूर्ण कलहरूलाई व्याक गर्ने सुविधा मलाई थियो नै र गरेँ त्यही।
बालुवाटारबाट नेपाली मिडिया नियाल्दा मलाई महशुस भयो– पत्रकारिता जगतमाथि लाग्ने गरेका धेरै आरोपहरू सत्य छन्, वा सत्यनिकट छन्। पत्रकारिताका सकारात्मक पक्ष त छँदैछन्, यसको अर्को पक्षका विषयमा म अलि बढी यो लेखमा समेट्न खोज्दैछु।
तर, समाचारको खानीभित्र बसेर पत्रकारिता जगतलाई हेर्दा आफ्नै पेशाको अवस्था देखेर टीठ लाग्यो। केही व्यवसायिक सञ्चार माध्यमबाहेक अधिकांश विभिन्न पूर्वाग्रहले ग्रस्त रहेछन्। पत्रकारकै गुणस्तर पनि टीठलाग्दो रहेछ। केही पत्रकारहरू मलाई सोध्थे– आजको मन्त्रिपरिषद् बैठकमा प्रचण्ड छन् कि छैनन्? मन्त्रिपरिषद् बैठक सानेपामा बसेको हो? मन्त्रिपरिषद् बैठकमा एमालेबाट को आउनुभएको छ?
यो त भयो, प्रक्रियागत जानकारीको अभाव। धेरै पत्रकारलाई विषयगत ज्ञानको पनि कमी रहेछ। राजनीतिक बिटमा रिपोर्टिङ गर्नेलाई नै प्रमुख दलका संगठनात्मक संरचना, आधारभूत सिद्धान्त, नीति–नियम र कार्यक्रमबारे जानकारी छैन भने उनीहरूबाट सही समाचारको अपेक्षा कसरी गर्ने? करोडौं लगानीमा खुलेका सञ्चार गृहहरूले आखिर किन आफ्ना पत्रकारहरूको क्षमतामा ध्यान दिँदैनन्?
अर्को पक्ष, धेरै पत्रकारहरू सूचना पुष्टि गर्न नै चाहँदैन रहेछन्। कसैले केही भन्यो कि पत्याइहाल्यो, छाप्दिइहाल्यो, मुलुककै अग्रणी संचार गृह भएको दाबी गर्ने संस्थासँग सम्वद्ध पत्रकारहरूले समेत कसैको भनाइलाई ‘क्रसचेक’ नै नगरी पहिलो पृष्ठमा समाचार छाप्दा रहेछन्। साँझ म आफैँ बसेको बैठकको विषयमा भोलिपल्ट बिहानको पत्रिकामा आएका समाचार हेरेर कहिलेकाहीँ त म ट्वाँ नै पर्थें। उक्त बैठकमा प्रसंग नै नउठेका विषयहरू समाचारमा महत्त्वका साथ स्रोत कोट गरेर छापिएका हुन्थे।
आफ्नै कतिपय पूर्वसहकर्मी, सहकर्मी र साथीहरूको बाइलाइनमा छापिने समाचार पनि ‘फेक’ हुन्थ्यो। आफैँलाई प्रश्न गर्थें – हामी अज्ञानतावश झूटा समाचार छाप्छौँ कि जानीजानी? भूलवश ‘फेक’ समाचार उत्पादन गरिरहेका छौं भने त सच्याउन सकिएला। तर, नियत र चरित्र नै त्यस्तो छ भने चाहिँ नेपाली पत्रकारिताको भविष्य साँच्चै निराशाजनक छ।
सानो लगानीमा खुलेका अधिकांश मिडियाको कुनै निश्चित उद्देश्य हुँदो रहेछ। त्यसैले त्यहाँ कार्यरत पत्रकारहरू पनि निष्पक्ष नहुँदा रहेछन्। समाचारमा तथ्य होइन, आग्रह र विचारको प्रधानता हुँदो रहेछ।
पत्रकार वा संचार क्षेत्रमा यी र यस्ता धेरै कमजोर त छँदैछन्। अर्कोतर्फ सूचना उत्पादन गर्ने कर्मचारीतन्त्र पनि मिडियासँग निकै असहिष्णु मैले पाएँ। सूचनालाई संविधानले भनेअनुसार जनताको अधिकारको रूपमा सरकारी संयन्त्रले स्वीकार नै नगरेको रहेछ। सरकारी संयन्त्र सकभर सूचना लुकाउने र त्यो गर्न नसके ढिलो सूचना दिने परम्परावादी सोचमा हुँदा रहेछन्।
कर्मचारीमा लोकसेवा पास गरेर आएको ‘म’ भन्ने अहम् भावले पनि सूचनामा पहुँच हुन नसकेको मेरो अनुभव रह्यो। आफू अनुकूलका सूचना पत्रकारलाई बोलाई–बोलाई दिने तर दिनै पर्ने सूचनाहरू लुकाउने प्रवृत्ति कर्मचारी वृत्तमा हावी छ। कर्मचारीतन्त्र भित्रका सबै ‘लियर्स’मा सूचनाले समग्र पद्धतिको विकासमा सहयोग गर्छ भन्ने नै छैन। सूचनालाई उनीहरू आफ्नो सम्पत्तिजस्तो गरेर लुकाएर वा सुरक्षा दिएर राख्न चाहन्छन्।
कर्मचारीतन्त्रसँगै नेतागणहरूमा पनि सूचनालाई जनताको अधिकारका रूपमा बुझेको मैले भेटिनँ। आफ्नो व्यक्तिगत स्वार्थ वा हितमा मिडिया परिचालन गर्न खोज्ने ठूलो समूह सबै राजनीतिक दलमा हावी छ। सायद पत्रिकामा छापिने केही ‘फेक’ न्यूजका केही हिस्सेदार तीनै नेताहरू पनि हुन्।
अन्त्यमा, हामीले जतिसुकै पत्रकारिताको विकास, लोकतन्त्रको सुदृढीकरण र जवाफदेही शासनको कुरा गरे पनि मिडियालाई जनउत्तरदायी नबनाएसम्म शासन उत्तरदायी हुन सक्दैन। यसका लागि मिडियामा लगानी पारदर्शी र व्यवस्थित बनाउन जरुरी छ र सँगै पत्रकारहरूको क्षमता र योग्यतामा कसैले प्रश्न नगरेर निखार ल्याउनु जरुरी छ।
बालुवाटारबाट बाहिरिँदा मलाई अनुभूति भयो– पत्रकारहरूले घोत्लिएर आत्म–समीक्षा नगर्ने हो भने मिडियाप्रति नै जनताको विश्वास उड्न सक्छ। र, अन्तत: यसले लोकतन्त्र कमजोर बनाई अधिनायकवाद र भ्रष्टाचार संस्थागत हुनसक्छ।
२०४६ सालको राजनीतिक परिवर्तनपछि नेपाली पत्रकारिता जगतले छर्लाङ मार्न थालेको सत्य हो। पछिल्लो समयमा एफएम र अनलाइन मिडियाको विकासले पत्रकारिताको आयतन झनै फराकिलो भएको छ। सामाजिक सञ्जालले जो कोहीलाई पत्रकार अर्थात सूचना प्रवाहक बनाइरहेका बेला सूचना रोक्ने वा लुकाउने काम त्यति सजिलो छैन।
तर पनि आफ्नो हतियार धारिलो नबनाई शिकारमा सफल हुन सक्दैनौ भन्ने आम पत्रकारहरूले महशुस गर्नैपर्छ। र, मेरो बालुवाटार बसाईको सात महिने सिकाई पनि यही हो।
(लेखक निवर्तमान प्रधानमन्त्री शेरबहादुर देउवाका वरिष्ठ सञ्चारविज्ञ हुन्)