एकदिन म प्यूठान बाग्दुलादेखि मच्छीसम्मको सार्वजनिक बसको यात्रा गरिरहेकी थिएँ। बसमा यात्रुहरूको निकै चाप थियो, म बसको अन्तिम सिटमा बसेको थिएँ। केहीबेरमा मैले कक्षा १ देखि १० सम्म अध्ययन गरेको स्कूलका प्रधानाध्यापक बसमा आउनुभयो। मेरो आगाडि सिटमा बसेको व्यक्तिले गुरुलाई सिट छाडिदिए।
गुरु त्यहीँ सिटमा बसेर एक छेउमा बसेका व्यक्तिलाई सोध्नु भयो, ‘बेगु आजकल कता छौं, देखिँदा पनि देखिँदैनौ।’
ती व्यक्तिलाई म पनि सानो उमेरदेखि चिन्थें। उनी ज्यामी काम गर्छन्। मलाई पनि चासो भयो, मैले अलि ध्यान दिएँ।
उनले भने, ‘हजुर मेरा त दुइटी छोरी मात्र छन्, त्यहीँ भएर खासै काममा जाँदिन, कसका लागि कमाउनु?’
गुरुले सोध्नु भयो, ‘कतिमा पढ्छन्, कहाँ छन् आजकल ?’
‘एउटी छोरी संस्थाले जापान पठाएको छ, अर्की १२ कक्षामा पढ्छे,’ उनले बताए।
बेगुको उत्तरले मेरो मनमा प्रश्न उठायो। छोरी मात्र हुने बाबुआमाले के सम्पत्ति कमाउनु हुँदैन? के छोरी जन्माउने बाबु आमासँग निराशा मात्र बाँकी हुन्छ? के छोरीहरू उद्देश्यहीन, लक्ष्यहीन नै हुन्छन्?
आखिर छोरा नै जन्मिएको भए पनि कोही विदेश जान्थ्यो होला। कोही नेपालमा हुन्थ्यो होला। म पनि छोराको पर्खाइमा जन्मेकी छोरी थिएँ। तर के मेरो जन्मले बाआमाको शिर झुकायो त?
घर पुगेर मैले आमा र बालाई भने, 'म जन्मेको दिन हजूरहरू निराश हुनुभयो होला है।’
उहाँहरूले मुखामुख गर्नुभयो। अनि हाँसेर भन्नु भयो, ‘हामीले त छोराछोरी केही फरक गरेनौं, तर छिमेकीहरूले यसपालि पनि छोरी जन्मिछ भनेर पिर मानेका थिए।’
त्यसको केही समयपछि मेरो घरमा विद्युत सट भएर आगलागी भयो। आमा आगोमा परी सख्त घाइते हुनुभयो। उहाँको टाउकोमा चोट लागेको थियो। बेहोश अवस्थामा दिदीले प्यूठानबाट काठमाडौं टिचिङ अस्पताल ल्याउनु भयो। म पनि आमाको औषधी उपचारमा लागेँ।
आमाको रिपोर्ट आएपछि डाक्टरहरूले छलफल गरेर आमालाई टिचिङ अस्पातको 'रेड जोन’मा सारे।
‘आमाको अवस्था के छ सर?' भनेर मैले सोध्दा डाक्टरले 'तेत्ति आत्तिनु पर्दैन, ठीक हुन्छ' भन्ने उत्तर दिए। आमालाई करीब १२ घण्टा सम्म ‘अब्जर्भेसन’मा राखियो, कुनै उपचार सुरूनै भएन।
टिचिङमा आइसियू बेड पाउनु भनेको भगवाननै भेट्टाएजस्तो रहेछ।
डाक्टरले आत्तिनु पर्दैन भनेपछि म पनि अलि ढुक्क भएँ। उपचार हुँदै जाला भन्ने आशा पलायो।
तर आमाको अवस्था विस्तारै दयनीय बन्दै गयो। उहाँ घाइते भएदेखि बोल्नु भएको थिएन। डाक्टरहरू पनि मसँग भन्दा भेट्न आएका दाइहरूसँग धेरै कुरा गर्न थाले।
एक दिन राती १२ बजेतिर आमाले अचानक ‘पानी’ भन्नुभयो। आमाको अवस्था झनै चिन्ताजक थियो। म रात्री सिफ्टमा आएका डाक्टरसँग कुरा गर्न गएँ।
'डाक्टरसा'ब हेर्नु न आमाको अवस्था झनै बिग्रिदै गयो।’
डाक्टर मसँग झडङ्ग रिसाउँदै 'रेड जोन' भनेको थाहा छैन तपाईंलाई?
'बिरामी अन्तिम अवस्थामा छ, खोइ तपाईंको अलि सिनिअर मान्छे कोही छैन? तुरुन्त आइसियू खोजेर लैजान भन्नुस्,' उनले भने, ‘तपाईको दिउँसो आउनु भएका दाइलाई हामीले भनेका थियौं।’
मैले डाक्टरलाई सोधेँ, 'मलाई दिउँसो नै किन यो कुरा नभनेको? यो रातको १२ बजे म कहाँ गएर आइसियू खोजौं?’
म झोक्किएँ, ‘तपाई किन सिनिअर मान्छे खोज्नु हुन्छ? म नै हो सिनियर मान्छे।’
डाक्टरले मुख लेपर्याए, ‘बचाउन मन छ भने खोज्नुस्, होइन भने मेरो भन्नु केही छैन।’
त्यसपछि मध्यरातै भए पनि म र बहिनीले एउटा निजी अस्पतालको अध्यक्षलाई फोन गर्यौं । भाग्यवश, त्यहाँ आइसियू बेड खालिरहेछ र उनले सहयोग पनि गरे। रगतको रिपोर्ट आउन अझै बाँकी थियो, त्यसलाई थातिराखेर हामी निजी अस्पताल पुग्यौं।
बाटोभरि सोचिरहें, ‘मैले किन सही सूचना समयमै पाइँन?’
आमा निजी अस्पतालमा भर्ना हुनुभयो। त्यहाँ दिनको दुई पटक बिरामीको आफन्तलाई काउन्सलिङ गर्ने चलन रहेछ। म पनि काउन्सलिङ कक्षमा छिरे।
डाक्टरले सोधे 'तपाई हो बिरामीको मान्छे ?’
'हो सर ।’
उनले फेरि सोधे, ‘अरु अलि सिनिअर मान्छे हुनुहुन्न?’
मलाई फेरि सूचनाबाट बञ्चित हुनुपर्ने त होइन भन्न डर लाग्यो।
मैले भने, 'डाक्टरसा'ब, यो बिरामीको सिनिअर, जुनिअर जे भनेनी मै हो। यहाँ बिरामी राख्ने वा नराख्ने निर्णय र पैसा तिर्ने सबै मैले गर्ने हो। मलाई नै सबै कुरा भन्नुहोस्।’
त्यसपछि डाक्टरले हाँसेर 'हुन्छ' भने ।
आमाको अवस्थामा केही सुधार भएपछि ‘पोस्टवार्ड’ हुँदै जनरल वार्डमा सार्यौं । आमाको अझै पुरै होस् आइसकेको थिएन।
आमा घरिघरि मेरो जेठा दाइलाई बोलाउनु हुन्थ्यो। 'म नै हो तपाईंले बोलाएको जेठो छोरो’ भन्दै आमाको नजिक पुग्थें। आमा मेरो हात सुम्सुमाउनु हुन्थ्यो, घरको काम सोध्नु हुन्थ्यो । आमाको बेड नजिक मस्तिष्कघातको उपचार गराइरहेकी अर्की बिरामीका कुरुवा थिए, छोरीज्वाई।
आमाले निरन्तर छोरा खोजेको देखेर ती छिमेकीहरूले भने, 'ए आमा, कति छोरालाई बोलाउनु हुन्छ, छोरीले यत्रो सेवा गरिराकी छिन् त। छोरै किन चाहियो?’
आमाले तुरुन्तै भन्नुभयो, ‘छोरा त शत्रुको बार हो। छोरा छ भनेपछि शत्रुले पनि शिर निहुराउँछ। छोरी त घर उजेलो बनाउन चाहिने हो।’
दुर्गम पहाडमा हुर्किनु भएकी मेरी आमाका के कुरा? भर्खरै काठमाडौंका पढेलेखेका डाक्टरले त म ‘छोरी'लाई पत्याएका थिएनन्। म छोरी भएकै कारणले त हो टिचिङका डाक्टरले मलाई पूरा सूचना दिएनन् र मैले झण्डै आमालाई गुमाएकी!
मेरो बाआमाले दाजु र मलाई हुर्काउने क्रममा केही फरक गर्नु भएन। तर आमालाई मेराभन्दा भर त दाईकै लाग्दो रहेछ। मेरी आमा र बेगु यो समाजका प्रतिनिधि पात्र हुन्। मेरी आमाको बुझाई बहुसंख्यक नेपालीको बुझाई हो।
यो समाजमा छोरालाई बाबुआमाको बुढेसकालको टेक्ने लौरोको रूपमा लिइन्छ। छोरी भने त्यो लठ्ठीको उज्यालो रङ मात्र हो।
छोरा हुने र छोरी मात्र हुनेको मनोबलमा आकाश जमिनको फरक हुनेगर्छ, गाँउघरमा।
छिमेकीबीच विवाद भयो भने छोरा हुने व्यक्तिले झगडाको अन्तिममा 'मेरो छोरा आउँछ र तलाईं देखाइदिन्छ' भन्छन् । छोरी मात्र हुनेले चाहिँ, 'मेरा छोरीमात्र छन् भनेर हेपेको तैंले' भनेर आक्रोश पोख्छन्।
जतिसुकै सक्षम, समर्थ र उदार भए पनि, जस्तोसुकै पारिवारिक बोझ उठाउन सक्षम भए पनि समाजले छोरीलाई हेर्ने दृष्टिकोणमा यस्तो हेपाई किन? यो विभेदको अन्त्य कहिले होला?
हामी शिक्षाले सबै कुरा ठिक गर्छ भन्छौं। तर शिक्षा र कानून सहायक कुरा मात्र हुन्।
मेरी आमा शिक्षाको ज्योतिबाट बञ्चित साधारण गृहणी हुनुभयो।संकीर्ण परम्परानै पछ्याउनु भयो रे।
तर, काठमाडौंका डाक्टर नि? पढेलेखेका ती डाक्टरजस्ता पुरुषहरूको हेर्ने दृष्टि कसरी फेर्ने? तिनलाई कसले बताउने आमा कुर्न छोरीले पनि सक्छे, आमा-बाको उपचार गर्न छोरीले पनि सक्छे।