सिनामंगलस्थित पुरानो घरमा नाटक 'ट्युवेल' मञ्चन सुरू हुने भएको छ।
आज शुक्रबारदेखि सुरू हुने नाटक साउन १५ गतेसम्म मञ्चन गरिनेछ। नाटकमा प्रजातन्त्रको पुनर्बहालीपछि तराईका किसानहरूले सिँचाइसम्बन्धि भोगेका समस्यालाई देखाइनेछ।
रोशन सुवेदीको परिकल्पना तथा निर्देशनमा तयार भएको नाटकमा निशा दाहाल, अरविन्दकुमार मौर्य, भुवन लुहार, श्रवण यादव, राजिव चौधरी, कुन्दन थारु, रोहित रजकलगायत कलाकारको अभिनय छ।
रोशनको यो डेब्यू निर्देशित नाटक हो। उनका अनुसार नाटकको कथा २०५६ को भए पनि तराईमा परिस्थिति परिवर्तन भएको छैन।
काठमाडौंमा तत्कालिन तराई जिल्लाहरूको परिवेश देखाउने उद्देश्यले नाटक मञ्चन गर्न लागेको उनले बताए।
नाटक बुधबारबाहेक साताको प्रत्येक दिन साँझ ५:१५ बजे मञ्चन हुनेछ। शनिबार भने दिउँसो १ बजे अतिरिक्त शो हुनेछ।