नयनराज पाण्डेको लोकप्रिय उपन्यास 'उलार' रंगमञ्चमा मञ्चन सुरू भएको छ। टेकुस्थित कौसी थिएटरमा चे शंकरको परिकल्पना तथा निर्देशनमा नाटकको मञ्चन सुरू भएको हो।
२५ वर्षअघि प्रकाशित उलार नेपालगञ्जको परिवेशमा बुनिएको सीमान्तकृत जनताको संघर्षको कथा हो।
‘एउटा टाँगा चलाउने पात्र जसलाई समाजले विद्रोहीको रूपमा रूपान्तरण गर्छ यो उसैको कथा हो,’ निर्देशक चे शंकरले भने, ‘तराई परिवेशमा आधारित नाटकमा मुख्य पात्रको जीवनशैली, आशा, अभिलाशाको बारेमा देखाइन्छ।’
गार्डेन थिएटरले कथा घेरासँगको सहकार्यमा मञ्चन हुने नाटकमा सरिता गिरी, सबिर चरौटे, अरुण शर्मा, संजय गुप्ता, शेखर चापागाईंलगायत कलाकार मुख्य भूमिकामा देखिने छन्।
नाटक मञ्चनका लागि कलाकारहरूले एक महिना बढी रिहर्सल गरेको कलाकार सरिता गिरीले उल्लेख गरिन्।
‘मधेशको परिवेशलाई हामीले नाटकमार्फत् प्रस्तुत गर्दा सबै कलाकार कथासित अप्रत्यक्ष रूपमा जोडियौं,’ कलाकार गिरीले भनिन्, ‘हामीले हाम्रो तर्फबाट नाटकको पात्रलाई न्याय दिने प्रयास गरेको छौं।’
दर्जन बढी नाटक निर्देशन गरेका चे शंकरको निर्देशनमा यसअघि सेम टाइम नेक्स्ट इयर, लुक ब्याक इन एंगर, तिर्खा, ऊ मरेकी छैन, कोही किन बरबाद होस्, मिस्टर फक्स लगायत नाटक मञ्चन भइसकेका छन्।
पाठकले निकै रुचाएको उलारका पात्र र कथालाई नाटकका रूपमा दर्शकमाझ ल्याउने काम चुनौतीपूर्ण भए पनि आफू उत्साहित रहेको उनले बताए।
उनले नाटक वैशाख ६ देखि १८ गतेसम्म साझ ५ बजे मञ्चन हुने बताए।