म नाटक '६ पात्रको एकलाप'माथि आफ्नो दर्शकीय अभिमत लेखिरहेको छु।
तर केही लेख्नुभन्दा अघि यहाँ प्रस्तुत गरिहाल्नुपर्ने एउटा तथ्य छ:
'गरिबी निवारण नीति २०७६'अन्तर्गत नीति नं ४ मा 'गरिब र विपन्न वर्गको मर्यादित जीवनका लागि न्यूनतम मानवीय आवश्यकतामा सहज र न्यायपूर्ण रूपमा पहुँच स्थापित गर्ने' र ५ मा 'गरिब र विपन्न वर्गप्रति विभिन्न स्वरूपमा हुने सबै खाले विभेदको अन्त्य गर्ने' भनेर लेखिएका छन्।
सरकारको नीति यस्तो छ, अर्कोतिर राष्ट्रिय योजना आयोगको प्रतिवेदनलाई आधार मान्दै हिजोमात्रै अखबारले अलग्गै तथ्यांक देखाएको छ।
अघिल्लो वर्ष ५६ लाख व्यक्ति गरिबीको रेखामुनि रहेकोमा यो वर्ष १२ लाख बढेर गरिब हुनेको संख्या ६८ लाख पुगेको छ।
उदेकलाग्दो कुरा त के छ भने प्रत्येकपटक माइकसँगको साक्षात्कारमा देशका शासकहरू समृद्धिको नारा उघ्राइरहेका हुन्छन्।
घर-घरमा ग्यासको पाइप पुर्याइदिने प्रधानमन्त्रीको चुनावी प्रतिज्ञा त उनले सुनाउने चुट्किलाको सूचीमा अब ‘आउटडेटेड’ हुने भैहाल्यो। योपछि पनि उनको मुखारबिन्दबाट घतलाग्दा धेरै 'जोक'हरू श्रवण गरिसकिए।
गरिबमाथि भद्दा मजाक विषयमा मानार्थ विद्यावारिधि ग्रहण गर्दै जीवनमा अर्को डक्टरेट त उनले तब प्राप्त गरे, जब लकडाउनमा खान नपाएर घर फर्किरहेका मजदुरहरूलाई भनेर जोकको आकस्मिक राहत बाँडे। पाठकवृन्द कृपया मलाई नसोध्नुहोला, केही दिनअघि खान नपाएर एक जना विधवा महिलाले सडकमा भिख मागिरहेको भाइरल भिडिओ प्रधानमन्त्रीले हेरे कि हेरेनन्।
यो पनि नसोध्नुहोला, ठेलापसल चलाएर गुजारा गरिरहेकी एक वृद्धाको ठेला प्रशासनले खोसेर लग्यो, ती बुढी आमाको आँसु प्रधानमन्त्रीले देखे कि देखेनन्।
तपाईंहरूले बिर्सिनुभयो होला, म सम्झाइदिन चाहन्नँ कि केही महिनामात्रै हुँदैछ, हातमा नाम्लो पक्रेर कीर्तिपुरको सडकपेटीमा भोकै मरेको मजदूरको विभत्स लास देख्दा तपाईं पनि रुनुभयो होला।
प्रधानमन्त्रीलाई गाली नगरौं यो कुरामा, त्यतिबेला विचरा उहाँले सत्ता जोगाउनुपर्ने बडो सकसपूर्ण परिस्थिति थियो!
सत्ताको कोहीनूरजडित हार पहिरेर तानाशाही उवाच लिइरहेका शासकलाई यस्ता झिनामसिना कुरा सुनाएर ध्यानभंग गरिदिने ? यस्तो हर्कत निषेध छ, गणतन्त्रकै लागि समेत भर्खरै खतराको घण्टी बजिसकेको अवस्था जो छ!
तर म शासकहरूलाई एउटा अनुरोध गर्नसक्छु। गोठाले नाटकघरमा यतिबेला प्रदर्शन भइरहेको नाटक '६ पात्रको एकलाप' एकपटक हेरिदिनुस्।
तपाईंका आँखाहरूले अपेक्षाको क्रिमपाउडर दल्दादल्दा विद्रुप बनेको र सदियौंदेखि गरिबीको आलो खत बोकेर बाँचिरहेका 'सयौं थुंगा फूल'जस्ता जनताको अनुहार त देखेनन् नै। सुन्ने त झन् कुरै भएन।
तपाईं जो अजङ्गको पर्खालभित्र कानमा तेल हालेर बस्नुहुन्छ ! यति भनिसकेपछि, आफ्ना मागहरू पूरा नभएकाले शान्तिपूर्ण आन्दोलन गर्ने क्रममा एक जना उखु किसानको मृत्यु भएको कुरा यहाँ उल्लेख गरिएन भने मृतकमाथि मरणोपरान्त अन्याय हुन्छ।
पहिलो अन्याय त शासक आफैंले गरिसकेको छ। म अर्को शासक हुन चाहन्नँ। बरु शासकहरूका कुरा गर्दैगर्दा अजित क्षेत्रीको यो कवितांश यहाँ राख्न चाहन्छु:
'म स्कुल होइन
जानु छ मैदानमा
लड्नु छ
जित्नु छ वर्षौंदेखि हारेको युद्ध
बा,
उदाउनेछ हाम्रो पनि आँगनमा सूर्य
आमा, फुल्ने छ तिम्रो ओठमा मखमली फूल
जाऊ आज आफ्नै हातले मन्दिरमा जल चढाएर आऊ
म जितेरै फर्कने लडाइँमा निस्कने मुहुर्त घर्कनै लागेको छ
आगोको एउटा फिलिङ्गो वर्षौंदेखि जल्न आतुर छ।'
(कविता: आमा म युद्धमा जानु छ)
नाटक '६ पात्रको एकलाप'का निर्देशक घिमिरे युवराजका लागि म दर्शकभन्दा प्रशंसक बढी हुँ। म उनको प्रशंसक हुने एउटा सपाट कारण छ। त्यो हो, नाटकमा प्रतिबिम्बित हुने उनको निर्देशकीय अभिप्राय। युवराजले नाटकमा किन यो वा त्यो शैली अपनाइरहेका छन् वा उनले नाटकमार्फत् के सन्देश दिन चाहिरहेका छन् भनेर मज्जाले बुझिन्छ। यसको प्रमुख कारण, उनी विषयवस्तु छनोटमा स्पष्ट छन्।
उनको चलाखी भनौं, समाजमा उठान हुनुपर्ने विषयमाथि उनको दिमाग अरूकोभन्दा छिटो जान्छ।
एउटा सामान्य उदाहरण, रङ्गकर्मीहरू व्यवस्थामाथि प्रश्न गर्न लागिरहेका छन् भने, त्यो पहिलो प्रश्नकर्ता घिमिरे युवराज हुन्छ। उनको यही विशेषता नाटकमा समेत झल्किन्छ।
अधिकांश समय उनी राजनीतिक विषय नै टिपिरहेका हुन्छन् र त्यसलाई प्रस्तुत गर्ने सबसे उत्तम शैली छनोट गर्छन्।
'६ पात्रको एकलाप'मा समेत उनले आफ्नो यो नितान्त निजी शैलीलाई निरन्तरता दिएका छन्। मेरो प्रतिदाबी यति हो, म कुनै समीक्षक नभएर घिमिरे युवराजको नाट्यशैलीको प्रशंसक भएको आधारमा यो लेख लेखिरहेको छु।
नाटकमा ६ भिन्न परिवेशका पात्रहरूको एकलाप छ। अब प्रश्न आउँछ, किन त एकलाप ? घिमिरे युवराजले एकलाप शैलीलाई किन छनोट गरे भन्ने उत्तर थाहा पाउन पहिला नाटकमा एकलाप किन प्रयोग गरिन्छ भन्नेतिर जाऔं।
पात्र आफैंले भन्नुपर्ने कुरा भनाउनका लागि नाटकमा एकलापको प्रयोग गरिन्छ।
अर्थात् कति कुरा यस्ता हुन्छन्, जुन कुरा पात्र स्वयंले भन्दामात्रै त्यसको अर्थ खुल्छ। दोस्रो व्यक्तिले भनिदिएमा त्यसको अभिव्यंजना फरक हुन आउँछ। यही कारण युवराजले एकलापको शैली यस नाटकमा प्रयोग गरेका छन्। उनले ६ पात्रमार्फत् उठान गरेका विषयवस्तु यति संवेदनशील छन्, दोस्रो वाचकले त्यो कुरा दर्शकसम्म जस्ताको तस्तै पुर्याउन सम्भव छैन।
जस्तो कि, कालो वर्णकी कुनै युवतीले आफ्नो छालाको वर्ण कालो भएकै आधारमा आफू डुब्नुपरेको मनोसामाजिक विभेदको दहको गहिराई के कुनै अर्को मान्छेले नाप्न सक्छ ? सक्दैन नि, पीडितको भोगाइसम्म त कोही पनि पुग्नै सक्दैन। चरित्र निर्माणको क्रममा दर्शकको मनमस्तिष्कमा उक्त पात्रको छाप कुन माध्यमको प्रयोगबाट सबसे राम्ररी पर्छ भन्ने सवालमा स्पष्ट हुनु निर्देशकीय दायित्व हुन आउँछ।
यस्तोमा आफ्नो दृष्टिकोण प्रष्ट हुने भएकैले निर्देशक घिमिरे युवराज आफ्नो निर्देशकीय अभिप्राय दर्शकलाई बुझाउनमा अरूभन्दा एक कदम अगाडि छन्।
०७६, ६ मंसिरमा प्रकाशित आफ्नो लेखमार्फत बीपी साह लेख्छन्: 'नेपाली समाजमा रंगभेदको पछिल्लो उदाहरण कास्कीको निर्वाचनमा पनि देखियो। त्यहाँ हुन लागेको उपनिर्वाचनमा मधेसी उम्मेदवारले प्रस्तावक र समर्थकसमेत पाएनन्।
पहाड चढेका मधेसी नेता डा. कृष्णचन्द्र साहले प्रस्तावक/समर्थक नपाएपछि प्रतिक्रिया दिएका थिए, ‘राष्ट्रिय एकताको भाव लिएर पहाडमा उम्मेदवारी दिन गएको थिएँ, रंगभेदको मानसिकता बोकेकाले मलाई सहयोग नै गरेनन्।’
०७४ को चुनावमा निर्वाचन आयोगको चुनाव प्रचार–प्रसारसम्बन्धी सामग्रीमा मधेसीलाई चिनाउन कलाकारको अनुहारमा कालो रङले पोतिएको घटना विवादमा आएको थियो।
त्यस घटनामा संवैधानिक निकायले कालो भनेकै मधेसी हुन् भन्ने मानसिकता देखाउन खोजेको प्रस्ट हुन्थ्यो।'
लेखको यो अंशबाट के प्रस्ट हुन्छ भने रंगभेद नेपाली समाजमा विद्यमान छ।
यो केवल कसैले कालो वा काली भनिदिएको वा वर्ण कालो भएको कारण मन नपराइदिएको तहमा मात्रै सीमित छैन। यसले राजनीतिक उचाइ ग्रहण गरिसकेको छ र यसको रफ्तार अत्यासलाग्दो छ।
जसरी शाह यही कुरालाई लेखमार्फत् भन्छन्,'हाम्रो मस्तिष्कले नेपालमा पनि रंगभेद छ भनेर ध्यानै दिएन। सायद अफ्रिकाका जस्ता कालो अनुहार भएका मानिस नेपालमा नभएर पनि होला।
तर, यथार्थमा नेपालमा रंगभेद गहिरिँदै गएको छ। अफ्रिकामा जसरी राष्ट्रवादी भनिएको नेसनल पार्टीले चुनाव जितेपछि रंगभेद नीति संवैधानिक रूपमा लागू भयो, त्यसरी नै नेपालमा पनि राष्ट्रवादी शक्ति शक्तिशाली भएपछि रंगभेद चरम उत्कर्षमा पुगेको छ।'
यो प्रसङ्ग यहाँ उठाइनुको कारण, नाटकमा एउटा एकलाप रंगभेदमा आधारित छ। उठाउनैपर्ने विषय नाटकमार्फत् उठान गरिदिएकोमा निर्देशकलाई धन्यवाद छ !
पत्रकार श्रीराम रेग्मीले काभ्रेबाट १४ माघ, ०७५ मा गरेको रिपोर्टको यो अंश पढौं, 'भुम्लु गाउँपालिकाकी २९ वर्षीया राधिका बस्नेतले श्रीमान को दबावमा दुईपटकसम्म गर्भपतन गरेको दुखेसो गरिन्।
‘गर्भपतन गराउनु मेरो रहर होइन बाध्यता हो’, उनले भनिन्, ‘भिडिओ एक्सरे गर्दा छोरी रहेको थाहा पाएपछि परिवारकै दबावमा गर्भपतन गरें।’ ‘लिंग पहिचानपछि चिनजानको मेडिकलबाट नौ हजार रुपैयाँ तिरेर गर्भपतन गराएँ’, उनले भनिन्, ‘गर्भमा छोरा नहुँदा दुईपटक गर्भपतन गरें।’ तथ्यले यति बोलिसकेपछि नाटकमा एउटा एकलाप भ्रुण हत्यासम्बन्धी किन राखियो भन्ने कुरामा हामी स्वतः प्रस्ट हुन्छौं।
निर्देशकको व्यक्तिगत 'थ्रेड' यस्तो घटनासँग कुन हिसाबले जोडिएको छ, त्यो त म कसरी जानूँ ? तर रंगकर्मी भएर यति संवेदनशील विषयवस्तुमाथि उनको जुन संवेदना छ, त्यो सदा सह्राहनीय छ। कला सधैं घुमाउरो बाटो भएर आइपुग्छ, कतै सुनेको कुरा।
तर कला सधैं चुस्तदुरुस्त वैचारिकतासहित आइपुग्छ, घिमिरे युवराज निर्देशित नाटकमार्फत् देखेको कुरा!
महिला सौन्दर्यको बजारीकरणबारे हुने बहस नयाँ होइन, तर यो पुरानो भैहाल्ने बहस पनि होइन।
किन होइन भने, पितृसत्तात्मक सत्ताले सदियौंदेखि यो मानक स्थापित गरिदिएको छ, महिलाको सौन्दर्य विक्रीका लागि योग्य चिज हो, अथवा विक्रीको चिज हो।
मिस नेपालका आयोजकको विरोध भएको खबर त हामीले सुनिआएका छौं। लेखक खगेन्द्र संग्रौला मिस नेपालबारे यस्तो टिप्पणी गर्छन, 'मिस नेपाल चर्चा गर्न लायक विषय नै होइन। यो थोत्रो अनि पत्रु विषय हो।
यो मिस नेपाल भनेको व्यापारीहरूले आफ्नो सामान बेच्ने विज्ञापनको धन्दा हो भन्ने दुनियाँलाई थाहा भैसकेको छ।
त्यसैले यो छलफल गरिरहनुपर्ने विषय होइन। मिस नेपाल भनेको व्यापारीहरूको खाने धन्दा हो भन्ने थाहा भएपछि यसको आलोचना अनि विरोध गरिरहनु परेन।
पहिलो यो मिस नेपाललाई ग्ल्यामरका रूपमा अगाडि सारियो।
यसले महिलाको सशक्तिकरण गर्छ भन्ने जस्ता विभिन्न विषय ल्याएर एउटा रहस्यजस्तो बनाइएको थियो।
त्यही कारणले यसको चर्चा भएको थियो, तर उक्त रहस्य तोडिएपछि यसको कुनै अर्थ रहेन। त्यसैले म मिस नेपालका विषयमा खासै टिप्पणी गर्न चाहन्नँ।'
नाटकमा एक जना 'सुन्दर' महिला यसै सिलसिलामा आफ्नो एकलाप प्रस्तुत गर्छिन्। महिलालाई आफ्नो सुन्दरताप्रति नै हीनताबोध हुने परिस्थिति किन बनायौं हामीले ?
किन हामीले मानिसको बाह्य आवरणलाई यति बिघ्न ग्राह्यता दियौं ? सुन्दरताका नाममा कसैलाई दुर्व्यवहार गर्ने छुट हामीलाई छैन। न कसैको अनुहार र शारीरिक बनावटको वर्गीकरण गर्ने स्वतन्त्रता हामीलाई छ। मेरो ती तमाम महिलाहरूलाई बराबर सम्मान छ, जसलाई यो समाजले कि राम्री भनेको छ, कि नराम्री भनेको छ।
मेरा लागि त तपाईंहरू सबै महिला भएकै आधारमा सम्मानका लागि सदा योग्य हुनुहुन्छ।
प्रत्येक दिन अखबारमा हामी घरेलु हिंसा र यौन हिंसाका समाचार पढिरहेका हुन्छौं।
प्रहरीको तथ्यांकअनुसार महिलामाथि हुने घरेलु हिंसाको उजुरी गएको पाँच वर्षमा दोब्बर भएर आएको छ।
अर्कोतिर, एक रिपोर्टका अनुसार, 'यौन हिंसा र मानव बेचबिखनमा परेका महिलाले प्रायः बयान फेर्ने गरेको कानुन व्यवसायीले बताएका छन्।
यौन हिंसा र बेचबिखनमा परेका झन्डै ५० प्रतिशत महिलाले उजुरी दर्ता गर्दादेखि मुद्दा अदालतमा चलिरहेका बेलासम्म आफ्नो बयान फेर्ने गरेको उनीहरू बताउँछन्।'
यस्तो दण्डहीनताको बीचमा चिनजानका मान्छेबाट हुने गरेको यौन हिंसा पनि जोडिन आउँछ। आफन्तबाटै यौन हिंसामा परेका किशोरीहरूको तथ्यांक सरकारसँग कति छ, त्यसको मलाई हेक्का भएन। तर दिनानुदिन अखबारमा सुनिने यस्तो खबरले भने दुःखी बनाउँछ।
बलात्कारपछि हत्या गरिएकी निर्मला पन्त त एउटा प्रतिनिधि पात्र हुन्, उनीजस्ता हजारौं पीडितहरू छन् जो न्यायका लागि वा भनौं सुरक्षित समाजको कल्पनामा हरेक दिनको अस्ताउँदो सूर्य हेर्न विवश छन्।
नाटक '६ पात्रको एकलाप' मा एक पात्रले आफूमाथि भएको यौन हिंसामा आधारित एकलाप प्रस्तुत गर्दैगर्दा पीडक त म पनि हो कि जस्तो भान हुन्छ।
महिलामाथि हुने गरेका आमहिंसामा कतै न कतै मेरो पनि संलग्नता छ, म पुरूष भएको नाताले मैले यसको नैतिक जिम्मेवारी लिनुपर्छ।
हामी आत्मालोचानात्मक त हुनैपर्छ। महिलाहरू सधैं पीडित भैरहने र हामी पुरूषहरूले महिलामाथि हिंसा गरिरहने अवस्थाको अन्त्य हुनुपर्छ। यसका लागि हामी पुरूषहरू नै आत्मालोचित हुनु सबभन्दा पहिलो सर्त हो।
यसै लेखमार्फत् म सम्पूर्ण महिलाहरूमा म मेरो हिस्साको गल्तीका लागि माफी माग्न चाहन्छु। र यो चेतसम्म मलाई डोर्याउन सफल नाटकको टिमप्रति म अनुग्रहित पनि छु !
जातव्यवास्थाले नेपाली समाजमा जरा गाडेर बसेको छ भन्ने कुराको प्रमाण प्रत्येक दिन घटित हुने छुवाछुतका घटनाहरूले प्रष्ट पार्छन्।
नवराज विकको घटनाबाट पनि अझै समाजले पाठ सिकेको छैन। यस्तो बेला १९ औं सताब्दीमै भारतजस्तो हिन्दु वर्णव्यवस्थाको मूलजरा भएको ठाउँमा जातव्यवस्थाविरूद्ध आवाज उठाउने विद्वान दयानन्द सरस्वतीको याद आउँछ।
अहिले पनि दयानन्द हुन खोज्ने युवाहरूलाई समाजले दबाउँछ। अन्तरजातीय विवाह गर्न वर्जितजस्तै छ। यसरी कहिलेसम्म चल्छ समाज? कसैको थरको आधारमा उँचो र निचो देख्ने अतिनिन्दनीय चिन्तन हाम्रो मस्तिष्कबाट कहिले हट्छ ?
अब त प्रश्न ती मृतकका आत्माहरूले समेत सोध्न थालिसके, जो जातव्यवस्थाको सिकार भएर मरे।
नाटकले हामीलाई फेरि एकपटक झक्झक्यायो। कति दिन छुवाछूतका पीडितहरूले यसरी नै एकलाप गरिरहने हो ? अब हामी सबै मिलेर यो जात व्यवस्थाको घोर निन्दा गरौं। र मानिसलाई मानिस भएकोमा सम्मान गर्न सिकौं।
नाटकमा सबै ६ पात्रहरू महिला छन्। यो यसकारण कि हाम्रो समाजमा सामाजिक विभेदको सिकार सबभन्दा बढी महिला नै भएका छन्। जुनसुकै प्रकारको विभेद किन नहोस्, महिलाहरू बढी आक्रान्त भएका छन्।
नाटकमा सबै ६ पात्रहरूले एउटामात्रै नाट्यसामग्री (प्रप) प्रयोग गर्छन्। सबैले पात्रहरूले प्रयोग गर्ने त्यो एउटा वृत्ताकार प्रपको अर्थ हुन्छ, समाजले एउटा घेराभित्र महिलालाई सीमित गर्न खोजेको छ।
त्यो वृत्त एउटै किन छ भने, उनीहरूमाथि हुने अन्यायका प्रकृति जेजस्ता भए पनि ती नितान्त एउटै कुरामा आएर जोडिन्छन्, त्यो हो समाजको व्यवस्था।
त्यसकारण समाज सधैं एउटै चिन्तनको घेराभित्र चलिरहेको सांकेतिकता पनि हो त्यो वृत्त। र त पात्रहरू एकलाप सुरू गर्नुअघि समाजलाई प्रश्न गर्छन्,
'म बोल्दैछु आज
हिम्मत गरेर
के तिमी सुन्न तयार छौ ?
यो मेरो एकलाप
यो मेरो जीवनको राग'
अनि त्यो समाज अर्थात् उनीहरूले प्रश्न गरिरहेको अरू कसैलाई नभएर हामीलाई हो। मलाई हो। तपाईंलाई हो!
यस नाटकको कथा भनेकै ६ पात्रहरूका आ-आफ्ना एकलाप हुन्। निर्देशकको आलोचनात्मक चेत नै नाटकको केन्द्रीय चिन्तन हो। नाटकमार्फत् उनी अतिसूक्ष्मवादी भएर सोचिदिन आग्रह गरिरहेका छन्। उनले संवादको माध्यमको रूपमा एकलाप रोजेबाट नै थाहा हुन्छ उनी हामीलाई पात्रहरूको मनमुटु छाम्न आग्रह गरिरहेका छन्।
नाटकका पात्रहरूलाई हेरेर समाजका वास्तविक पात्रहरूप्रति चिन्तित हुन उनले अपिल गरिरहेका छन्।
नाटकमा निर्देशकको निर्देशकीय कल्पनाशीलता त उनले समाजको व्यवस्थामाथि राखेको आग्रहबाट नै झल्किन्छ।
उनले आफ्नो वैचारिक अडानको व्याख्या गरिरहँदा कुनै क्लिष्ट तरिका अपनाएका छैनन्। पात्रहरूलाई आफ्ना कुरा आफैं भन्न लगाएका छन्। नाटकका पात्रहरू त आखिर वास्तविक पात्रहरूको गहन अवलोकनबाट न बन्ने हुन्।
उनले उठान गरिरहेको सन्दर्भ समसामयिक छ र जायज पनि छ। यसका लागि उनलाई साधुवाद छ !
नाटकमा प्रत्येक पात्रको मनोदशालाई दर्साउने छुट्टाछुट्टै शारीरिक क्रियाकलाप छन्। सबै पात्रहरू शरीरले पनि बोलिरहेको जस्तो अनुभूत हुन्छ किनभने पात्रहरूको हाउभाउमा स्पष्टता छ।
उनीहरूको गतिविधि अर्थपूर्ण लाग्छ, त्यसमा कलात्मकता छ त भन्नै परेन। त्यसमा लय छ किनभने समग्र नाटककै कोरियोग्राफी बडो सुन्दर छ।
कलाकारहरूले आफ्नो आवाजबाट पनि अभिनय गरिरहेका छन् भन्ने भान हुन्छ।
उनीहरूमा आफ्नो चरित्रमाथिको समझ राम्रो छ भन्ने कुरा अभिनय गर्दा प्रप, शरीर र आवाजको प्रयोगमा ल्याउन खोजेको विभिन्नताबाट झल्किन्छ।
नाटकमा ध्वनिको प्रयोग अर्थपूर्ण छ। नाटकमा प्रयुक्त कोरस ध्वनिले कथा भनेको छ। पार्स्वसंगीतले पात्रको मनोदशा, अनुभूति र भावको प्रतिनिधित्व गरेको छ।
आफ्नो दुःखलाई गीतमार्फत् भन्न रुचाउने नेपाली समाजका लागि नाटकमा गीति ध्वनिको प्रयोग सान्दर्भिक लाग्छ।
ध्वनि केवल ध्वनिमात्रै नभएर त्यो नाटकको एउटा महत्वपूर्ण अवयव बनेको छ। गीति ध्वनिमा प्रयुक्त शब्द अर्थपूर्ण छ, त्यो पात्रको पात्रतासँग निकटस्थ छ र दर्शकलाई पनि कल्पनाशील बनाउन सक्षम छ।
रंग संयोजनमा निर्देशकीय चातुर्य देखिन्छ। केवल तीन रंग राख्ने क्रममा उनले सेतो, कालो र नीलो रंगलाई क्रमशः ६०-३०-१० को अनुपातमा प्रयोग गरेका छन्।
उनमा रंगको 'सेन्स अफ ब्यालेन्स' छ भन्ने देखिन्छ।
नाटक नेपाली समाजका लागि सान्दर्भिक छ किनभने समाजमा घटित घटनाक्रमलाई कलामार्फत् अभिव्यक्त गर्नु कलाकारको दायित्व हो।
के हो मात्रै होइन, के हुनुपर्छ भनेर आफ्नो प्रस्तावना पेश गर्ने दायित्वबोधको सवालमा घिमिरे युवराज एक नम्बर पात्र हुन् भन्दा अत्युक्ति नहोला।
नाटक हेरिसकेपछि शासकहरू एकपटक आत्मालोचित हुनेछन् भन्नेमा म ढुक्क छु। कमसेकम संविधानमा उल्लिखित मौलिक हक त उनीहरूले नाटक हेरेर घर गएपछि पढ्नैपर्ने हुन्छ।
दर्शकहरू यही समाजका हिस्सा हुन्, आफ्ना मान्यतामाथि उनीहरूले पुनर्विचार नगरिरहने छुट त छँदै छैन।
नाटकको मंच परिकल्पना भने सामान्य छ। निर्देशकले पात्रहरूको गहनता देखाउन मञ्च परिकल्पनाभन्दा पात्रमा बढी ध्यान दिएका हुन् भन्ने मेरो बुझाइ हो। जस्तो कि, उनले प्रप पनि एउटामात्रै प्रयोग गरेका छन्।
नाटकमा पवित्रा खड्काको कोरियोग्राफी रहेको छ। कलाकारहरू पवित्रा खड्का, संगिता उराँव, नम्रता अर्याल, साहिना भट्टराई, सुहाना आचार्य र सुमित्रा लामिछाने छन् ।
नाटक माघ १० गतेसम्म बत्तीसपुतलीस्थित शिल्पी थियटर (गोठाले नाटकघर)मा प्रदर्शन हुनेछ।
सम्भव भएसम्म प्रदर्शनी लम्ब्याउन पनि म निर्देशकसमक्ष यसै लेखमार्फत् आग्रह गर्छु!