प्रायः रेकर्डिङ, स्टेज कार्यक्रम र छायांकनमा व्यस्त हुने कलाकारहरू आइतबार खेतमा पुगे। राष्ट्रिय धान दिवसको अवसरमा आयोजित कार्यक्रममा पुगेर उनीहरूले धान रोपे र नाचगान समेत गर्दै रमाए।
राष्ट्रिय लोक संचारकर्मी नेपालले काठमाडौंको गोकर्णेश्वर–७ शिवचोकको फाँटमा आयोजना गरेको 'रोपाइँ उत्सव' कार्यक्रममा खासगरी गायन क्षेत्रका कलाकारहरूले सहभागिता जनाए।
लोकगायक तथा संगीतकार नारायण रायमाझी, गायक बद्री पंगेनी, नवीन पौडेल, सरोज लामिछाने, राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठानकी अध्यक्ष रीता थापा मगर, गायिका मञ्जु पौडेल, बाल गायिका आयुशा गौतम, अभिनेत्री एलिजा गौतमलगायतका कलाकारहरू त्यहाँ पुगेर धान दिवस मनाए।
कोही कलाकाररू खेतमा पसेर धान रोपे। कसैले सांगीतिक प्रस्तुति दिए। कलाकारहरूको प्रस्तुतिमा किसानसँगै स्थानीयहरू पनि रमाए।
दहीचिउरा खाने दिनका रूपमा समेत लिइने असार १५ कलाकारहरूले पनि विशेष रूपमा मनाए।
आयोजित कार्यक्रममा नारायण रायमाझी र घासे गीतका गायक शिवनारायण जोशीलाई सम्मान समेत गरियो।
गोकर्णेश्वर नगरपालिकासँग मिलेर यो धान रोपाइँ कार्यक्रम गरिएको थियो। नेपाल कृषिमा आत्मनिर्भर हुनुपर्छ भन्ने सन्देश दिन वर्षेनी रोपाइँ उत्सव मनाउँदै आएको आयोजक लोक संचारकर्मी नेपालका अध्यक्ष चन्द्रमणी गौतमले बताए।



