सशस्त्र द्वन्द्व उत्कर्षमा रहेको बेला, हरेक मान्छेसँग खुसी र उपलब्धीभन्दा पीडाका कथा बग्रेल्ती हुने समय। पेशाले पत्रकार तथा रंगकर्मी नवराज बुढाथोकी अखबारबाट टाढा रहन सक्दैनथे। समाचार मात्र होइन, समाजभित्रका अनेक कथाहरुमा उनको विशेष रुची थियो। पत्रपत्रिकामा आउने लामा फिचरले उनका आँखा झट्टै तानिन्थे।
एक पत्रिकामा एक व्यक्तिको फिचर आयो, त्यतिबेलासम्म ठोस रुपमा फिल्म बनाउने सोची नसकेका बुढाथोकीले मनमनै भने, ‘कुनै दिन फिल्म बनाएँ भने यही विषयमा बनाउँछु।’
फिचर थियो, लास चिर्नेको।
सशस्त्र द्वन्द्वको समय, हरेक मान्छेको कानमा मृत्युले सुस्केरा हाल्दै हिँड्थ्यो। लास चिर्नेको कथा भए पनि फिचरले त्यतिबेलाको समाजलाई छर्लङ्ग देखाउँथ्यो।
उनलाई त्यो फिचर पढ्दा जति आनन्द मिलेको थियो, उति नै छटपटी पनि। समाजका तल्लो तहका मान्छेको कुरा पत्रिकामा पढ्न पाउँदा उनको मन आनन्दित भएको थियो भने समाज द्वन्द्वमा भासिँदाको छटपटी। र, त्यस व्यक्तिका बारेमा थप जान्ने हुटहुटी पनि उनमा पलायो।
करिब १७ वर्षपछि नवराज त्यस्तै चरित्रको कथा सुनाउन आइपुगेका छन्। उनलाई सुन्न शुक्रबारदेखि हल खुलेको छ। अर्थात्, तयार भएको छ, ‘भुइँमान्छे।’ भुइँमान्छे, लास चिर्नेको कथा हो। लास चिर्ने भुइँमान्छे हो। जसको भूमिका रमेश बुढाथोकीले निभाएका छन्।
लास चिर्नेको कथा पढेपछि उनले त्यो पत्रिकालाई काटेर राखे। बेला–बेला प्रसंग चल्दाबाहेक उनको सम्झनामा त्यो कथा र ती लास चिर्ने व्यक्ति आउँदैनथे।
करिब ५ वर्षअघि उनले निर्देशन गरेको पहिलो फिल्म ‘वनफूल’ रिलिज भएन। पहिलो फिल्म, उनका लागि स्कुल थियो। परीक्षा थियो। आफ्नो भविष्यको निक्र्यौल गर्ने जिम्मा वनफूललाई छोडिदिएका थिए। वनफूल रिलिज नभएसम्म आफूले अर्को फिल्ममा हात नहाल्ने उनको अठोट थियो।
https://www.youtube.com/watch?v=uhMc0PYfnCk
तर, विविध कारणले वनफूल रिलिज भएन। तीन वर्ष कुरे। तर, त्यसको अत्तोपत्तो छैन। पेशाले पत्रकार भएकाले समाचारको नजिक हुने भइहाले। फिल्मका कथाका लागि समाचार मुख्य स्रोत बनिदिन्थे। अझ, सक्रिय रंगकर्मीसमेत भएकाले कथालाई दृश्यमा कसरी ल्याउने भन्नेमा उनी घोत्लिरहन्थे। व्यापक फिल्म हेर्ने भएकाले अरुका कमजोरी देख्दा, उनलाई ‘म भएको भए अझ राम्रो गर्थें’ भन्ने लाग्थ्यो। दिमागमा फिल्मका अरु आइडिया पनि आइरहन्थे। दिमागमा कथा थियो, कथा भन्ने तरिका पनि थियो, फिल्म बनाउने सीप पनि थियो, तर पैसा हालिदिने कोही थिएन। त्यो पनि केही समयमै मिलिहाल्यो।
जसमध्ये, एउटा कथा त्यही लास चिर्नेको थियो।
पत्रिकामा पढेको आधारमा कल्पना गरेर फिल्मका लागि उनले आधासरो कथा लेखिसकेका थिए। कथालाई पुरा गर्न, अनुसन्धानको खाँचो थियो। पोखराको एक अस्पतालमा लास चिर्ने भेटिए।
नवराजले आफूले खोजेजस्तै ‘भुइँमान्छे’ भेटे।
‘लास चिर्ने मान्छे एउटा त्यस्तो अचम्मको पात्र रहेछ, जसलाई कसैले चिन्दैन,’ नवराज भन्छन्, ‘किनकि, ऊ आफूलाई चिनाउनै चाहँदैन। ऊ समाजले वास्ता गर्ने पात्रमा पर्दैन।’
अनुसन्धानका क्रममा भेटिएका, पढेका र सुनेका आधारमा नवराज भन्छन्, लास चिर्ने हरेक व्यक्ति पियक्कड हुन्छ। रक्सी नपिई त उसले कामै गर्न सक्दैन। ऊ हत्तपत्त कसैसँग खुल्दा पनि खुल्दैन। लास चिर्नेको पदसमेत नहुँदो रहेछ। स्विपर, पियन या यस्तै तल्लो ओहदाको पदबाट उसले जागिर खान्छ।
मृत्युको खास समय हुँदैन। लास चिर्नेको जागिरको पनि खास समय हुँदो रहेनछ। पोस्टमार्टम जुनसुकै बेला पनि पर्न सक्छ, लास चिर्ने जतिखेरै हाजिर हुनुपर्ने। उसको काम सिर्फ लास चिर्ने हो, चुइँक्क बोल्न पाउँदैन। बोल्ने काम डाक्टरको हो।
‘रिपोर्ट दिने काम डाक्टरको भए पनि लास चिर्नेलाई पनि लास स्वार्रर चिर्नेबित्तिकै यो मान्छे यसकारण मरेको हो भनेर लगभग पत्ता लगाउँदो रहेछ,’ नवराजले सुनाए।
पोखरामा भेटिएका व्यक्ति त्यस्तै थिए। उनी सुरुमा कोहीसँग कुरै गर्न चाहँदैनथे। न काम बताउँथे, न सही नाम। उनलाई खुलाउन नवराजको टोलीले एउटा नवराजको टोलीले एउटा ‘ट्रिक’ लगायो– पियाउने।
https://www.youtube.com/watch?v=QLOqp9pFDrA
पिएपछि त फिलिली! आफ्ना अन्तरंग कुरा खोले। नवराजलाई चाहिएको यही थियो–लास चिर्नेलाई समाजले कसरी हेर्छ, लास चिर्नेले समाजलाई कसरी हेर्छ? हरेक दिन लाससँग खेल्ने मान्छेले मृत्युलाई कसरी बुझ्ला?
नवराजले यस्ता थुप्रै कुरा खोतले। ती व्यक्तिले दुइटा लास चिरेको हेरे। ‘सायद, डरकै कारणले होला रक्सी नपिई त लास चिर्नै नसक्ने,’ नवराज भन्छन्, ‘हामीले भेटेका व्यक्तिलाई हेर्दा, मृत्युसँग मतलबै थिएन। हामीले हाम्रो काम गरेजस्तै हो, एकदमै सहज। न एप्रोन लगाउँथे, न हातमा पञ्जा नै। हामीले बोरा उधारेजस्तो, दाह्री काट्ने पत्तीले स्वार्रर ... काट्थे।’
नवराजले भेटेका ती व्यक्तिको स्वभाव उनले फिल्मका लागि कल्पना गरेको भन्दा विपरित पात्र थिए। तर, थुप्रै मनोविज्ञान मिल्थ्यो। नवराजले सुने/पढेअनुसार लास चिर्नेहरु उति पढेलेखेका हुँदैनन्। उनीहरुका ठोस योजना पनि हुँदैनन् र भयंकर पश्चातापमा पनि बाँच्दैनन्। तर, नवराजले भने उमेरले पचास टेक्न आँटेको पात्र कल्पना गरेर उसको जीवनमा थुप्रै उतारचढाव मिसाएदिए। डाक्टर बन्ने सपना पुरा गर्न नपाएको पात्रले अस्पतालभित्रै बसेर लास चिर्नुपर्दा के सोच्दो हो? नवराजले आफ्नो फिल्मलाई यस्तै कथाको वरिपरि घुमाए। त्यसमा एउटा भुइँमान्छेको समग्र जीवनको चित्र खिचे। र, फिल्मको नाम पनि भुइँमान्छे नै दिए।
भुइँमान्छेको कथामा फिल्म बनाउने नवराजको रहर हो। उनको पहिलो फिल्म वनफूल पनि भुइँमान्छेकै कथामा थियो। जसमा एक जोडी श्रीमान–श्रीमती हुन्छन्, जो बच्चालाई पढाउन नसकिने डरले सन्तान नै जन्माउँदैनन्। बोर्डिङको स्कुलप्रति अभिभावको मोह, सरकारी स्कुललाई व्यंग्य गरिएको फिल्म थियो त्यो।
तर, त्यो फिल्म रिलिज भएन। उनलाई चमकधमकका पात्रभन्दा, आममान्छे तर फरक विशेषता बोकेका पात्रको कथा भन्नुथियो। त्यसैले उनले लास चिर्नेको कथा रोजे।
‘लास चिर्ने मान्छे हाम्रो वरिपरि नै देखिन्छ तर, हामी त्यसलाई चिन्दैनौं,’ नवराजले दोहो¥याए, ‘किनकि, ऊ आफ्नो परिचय लुकाउँछ। आफ्नै परिचय लुकाएर हिँड्ने मान्छेको कथा मलाई रोचक लाग्यो।’
पहिलो फिल्म रिलिज नभएकाले उनले त्यसको पुरा स्वाद चाख्न पाएनन्। हुन त हरेक फिल्म निर्देशकको नयाँ परीक्षा हो। तर, सुरुवाती फिल्मले विशेष अर्थ राख्छन्। नवराजलाई भुइँमान्छेले त्यस्तै अर्थ राख्छ। उनी अहिले एकखाले डर र एकखाले आत्मविश्वासको बीचमा छन्।
आत्मविश्वास यसकारण रहेछ, प्रिमियर तथा केही प्रदर्शनमा दर्शकसँग सँगै बसेर नियाल्दा दर्शकलाई फिल्मले बाँध्न सफल भएको पाए। उनी फिल्मले हेरुन्जेल मात्र आनन्द दिने नभई हेरिसकेपछिचाहिँ फिल्मको असर बढी रहने दाबी गर्छन्।
‘मलाई पहिले एउटै डर थियो, दर्शकले मेरो फिल्म हेर्दा धैर्य गर्न सक्लान् कि नसक्लान्?’ नवराज अहिले ढुक्कका साथ भन्न सक्छन्, ‘केही शोमा दर्शकसँगै हेरेपछि म अहिले दाबीका साथ भन्न सक्छु, हेरुन्जेल होइन, भुइँमान्छेले हेरिसकेपछि झट्का दिन्छ।’