लडाईंमा त्यस्तो बेला पनि आउँछ, जतिबेला राम्रो र नराम्रो मान्छेबीचको फरकले अर्थ राख्न छोड्छ। सबै कुरा विध्वंश र नरसंहारमा सीमित भइसकेको हुन्छ। त्यहाँ बाँकी रहने भनेका निर्दोष सर्वसाधारण नै हुन्, जो युद्धको असरलाई भोग्न छोडिन्छन्। जसलाई युद्धसँग कुनै लेनदेन हुँदैन।
जनताले भोगिरहेको यस्तो अर्थहीन बर्बरताबाट आजित भएर २०१२ मा सिरियाको एलप्पोमा स्वयंसेवकहरूको एक समूह निस्किन्छ। मृत्युलाई जित्दै उनीहरू युद्ध र बमहमलाका बीच सकेको सहयोग र सेवा बाँड्न थाल्छन्। उनीहरू उद्धारकर्ता¸ प्राथमिक उपचार वितरक, फायर फाइटर्स तथा सके जति सबैथोक भएर काम गर्छन्। सिरियाको त्यो नागरिक रक्षा समूह पछि ‘ह्वाइट हेल्मेट्स’ भनेर चिनिन थाल्छ। उनीहरूले लगाएको सेता हेल्मेटहरू विश्वभर चर्चित हुन्छन्।
सिरियन फिल्म निर्देशक फिरस फयादले तिनै ह्वाइट हेल्मेटहरूको कथा देख्छन्। उनको देशले सबैभन्दा विषालु तरिकाले के भोगिरहेको थियो भन्ने कुरा बताउँछन्। उनी समस्त विश्वले सिरियाको दोस्रो ठूलो सहर एलोप्पोमा बस्ने मानिसहरूको दु:ख थाहा पाओस् र महसुस गरोस् भन्ने चाहन्छन्। २०१६ मा असदको नजिक भएका सेनाहरूले विद्रोहीको अन्तिम पकड क्षेत्र मानिएको एलप्पोमा पछिल्लो पाँच वर्षयताकै सबैभन्दा ठूलो आक्रमणले निम्त्याएको असर देखुन् भन्ने चाहन्छन्।
देखाउन खोजेको कुरा देखाउन उनी सफल भए। एलप्पोमा खिचेको तिनै सेता हेल्मेट लगाएका मानिसहरूको उद्धार कार्य देखाउने डकुमेन्ट्री ‘लास्ट मेन इन एलप्पो’ ले सन्डान्स फिल्म फेस्टिभलमा वर्ल्ड सिनेमा ग्रान्ड जुरी पुरस्कार जित्यो। विश्वभर भएका प्रकाशकहरू तथा फिल्म उद्योगभित्रका सबैले उनको कामको प्रशंसा गरे। उनीसँगको अन्तरवार्ता यहाँ प्रस्तुत गरिएको छ।
सिरियन लडाईं सुरु हुने समय विद्रोह र सडकमा भएका विरोधहरू खिचेपछि तपाईं दुईपटक गिरफ्तारमा पर्नुभएको थियो। तपाईंलाई जेलमा यातना दिइयो?हो, मलाई यातना दिइएको थियो र त्यो धेरै हिंस्रक थियो। जेलको गार्डले मलाई भन्यो कि तँ फिल्ममेकर भएकाले तँलाई यातना डबल हुन्छ। उनीहरूले मलाई आँखा बाँधेर जमिनभन्दा तीन तला मुनि राखेका थिए। उनीहरू मबाट सूचना चाहन्थे। म युरोपमा पढेको थिएँ र उनीहरूलाई म युरोपको कुनै देशको लागि काम गरिरहेको छु जस्तो लागेको थियो।
उनीहरूले तपाईंलाई जासुस सम्झिए?हो। सिरियन अथोरिटिहरू पश्चिमा देशहरू तथा इजरायललाई आफ्नो शत्रु मान्छन् र यो त्यसैको एक भाग थियो। जब तपाईं त्यस्तो वातावरणमा हुर्किनुहुन्छ उनीहरूले वरपर भएको सबैथोक नियन्त्रण गर्न खोजिरहेको थाहा हुन्छ। एउटा प्रोफेसनलको रूपमा भए पनि जब तपाईं सिरियाभन्दा बाहिर जानुहुन्छ उनीहरू तपाईंलाई पछ्याउँछन् र नियन्त्रण कायम राख्छन्। र यो डरलाग्दो पनि हुन्थ्यो किनकि अरू धेरै कलाकार तथा पत्रकारहरू त्यसरी नै यातना दिएर मारिएका थिए।
यो त एकदमै भयानक अनुभव लाग्छ, जसले सामान्य मानिसहरूलाई सजिलै भत्काउन सक्थ्यो। तर तपाईं जेलबाट निस्किन तथा सिरियाबाट भाग्न सफल हुनुभयो। अहिले डेनमार्कमा हुनुहुन्छ। कसरी सक्नुभयो?पहिलो कुरा त म सिरियाबाट भाग्न सफल भएको हैन, भगाइएको हुँ। मलाई जबरजस्ती मेरो देश¸ सहर¸ घर छोड्न लगाइएको हो। मैले मारिने वा फेरि पक्राउ गरिने भनिएका धेरै धम्कीहरू सहेँ। मेरो परिवारलाई पनि घर छोड्न बाध्य बनाइयो। त्यसका लागि म आफैंलाई जहिल्यै दोषी देख्छु। तर अरू धेरै कलाकार तथा फिल्मकर्मीहरू पनि यही अवस्थामा छन्।
अहिले आफूलाई सुरक्षित महसुस गर्नुहुन्छ?छैन। किनकि 'लास्ट म्यान इन एलप्पो' बनाएपछि मलाई फेरि धेरै धम्कीहरू आएका छन्। म्यासेजमा उनीहरूले ‘तँ जहाँ भए पनि भेटेरै छोड्छौं' भनेका छन्।
कुनै पूर्वतयारी गरिरहनुभएको छ त?म कहाँ बसिरहेको छु वा कहाँ जान्छु भन्ने कुरा म कसैलाई भन्दिन। यति मात्र गरिरहेको छु।
तपाईंको डकुमेन्ट्री युद्धको बारेमा बनाइएको राजनैतिक फिल्म हैन। त्यसको साटो तपाईं ह्वाइट हेल्मेटको लागि काम गर्ने दुई जना मुख्य पात्र खालिद र मोहम्मदको व्यक्तिगत कथाहरूमा जानुहुन्छ। यस्तो व्यक्तिगत धार किन छान्नुभएको?जब तपाईं ती मानिसहरूलाई भेट्नुहुन्छ र के कारणले गर्दा उनीहरू अरूका लागि आफ्नो आत्माको बलिदान दिइरहेका छन् भनेर सोच्नुहुन्छ। उनीहरूको सुरक्षा के हो? उनीहरूको परिवार? उनीहरूको परिवारप्रतिको उत्तरदायित्व र आफ्नो कामप्रतिको उत्तरदायित्वबीचको आन्तरिक द्वन्दले मलाई तान्यो। उनीहरूले मलाई त्यस्तो पागल युद्धको बीचमा पनि मानवता बाँच्छ भन्ने विश्वास दिलाइदिए।
र, मलाई ह्वाइट हेल्मेट्स हुनु सेतो हेल्मेट लगाएर विध्वंश मच्चिरहेको ठाउँमा पुग्नुभन्दा धेरै बढी हो भन्ने देखाउनु थियो। यो त उनीहरूको मनैबाट मैले गर्नुपर्छ भनेर आएको विश्वास हो। यो उनीहरूले गर्नैपर्छ किनकि मानिसहरूलाई बचाउनको लागि उनीहरूसँग अरू कुनै उपाय छैन। म त्यसैले मानिसहरू भित्रको व्यक्तिगत क्षतिलाई देखाउन चाहन्थेँ। पुस्ता गुमाउनुको पीडा ती मानवतावादीहरूले कसैलाई बचाउनका लागि छोडेका केटाकेटी¸ दाजुभाइ तथा परिवारको कथालाई उन्न चाहान्थेँ।
एलप्पोमा सुट गर्दाको सबैभन्दा कठिन भाग कुन थियो?सबैभन्दा चुनौती त मुख्य पात्रलाई कथामा सहभागी गराउनु नै थियो। किनकि उनीहरूका लागि लडाईं तथा उनीहरूले गरिरहेको काम केवल उनीहरूका मानिसहरूको लागि थियो। उनीहरू सोच्थे कि फिल्ममा आउनुको मतलब उनीहरू सबैकुरा केवल देखाउनको लागि मात्र गरिरहेका छन्। र मैले त्यसलाई पनि देखाउने प्रयत्न गरेँ। एउटा दृश्य छ, जतिबेला मोहम्मद उसले बचाएको एक जना मानिसलाई भेट्न जान्छ। त्यसपछि उसले भन्छ ‘मलाई त्यो मन परेन। म अबदेखि आफूले बचाएको मानिसलाई भेट्न जान्न। त्यो सब म देखाउनको लागि गर्दैछु भन्ने लाग्यो मलाई। म कसैलाई पनि मैले यसको जीवन बचाएको हुँ भनेर देखाउन चाहान्न।’
तर तपाईं त आफ्नो जीवनलाई जोखिममा राखिरहनुभएको थियो नि हैन? त्यहाँ बम खसिरहेका थिए। ह्वाइट हेल्मेट्सहरूलाई पछ्याइरहँदा भग्नावशेषबाट लासहरू निकालिइरहेका थिए। आफूलाई कति एक्सपोज्ड भएको पाउनुभयो?कुनै कुनै बेला क्यामेरा बोक्नु र पात्रलाई पछ्याउनु सारै गाह्रो हुन्थ्यो। एकबेला त बम हामीभन्दा केही मिटर पर खस्यो र हामी जमिनमा पछारियौं। जब म ब्युझिएँ, त्यो कुनै गाह्रो सपनाजस्तो थियो। अगाडि के भइरहेको थियो मलाई थाहा नै भएन। कुनै कुहिरोमा रूमल्लिएको जस्तो। म बाँचेको थिएँ कि मरेको थाहा पाउन नसकेजस्तो। र त्यो घटनापछि त झन् मलाई यो फिल्म मैले बनाउनैपर्छ भन्ने भयो।
केही मानिसहरूले यसलाई एकतर्फी भएको भनेर आलोचना पनि गरेका छन्। यसले एलप्पोमा भएका विद्रोहीहरू (जसलाई अमेरिकाले सहयोग गरिरहेको थियो) ले स्थानीय मानिसहरूलाई दिएको दु:खबारे केही देखाएको छैन। तपाईंको फिल्म असदको फोर्स र रसियन गठबन्धनले गरेको बम हमलालाई मात्र देखाउनुभएको छ। त्यस्तो आलोचनालाई के भन्नुहुन्छ?पहिलो कुरा त मैले असद र रसियनहरूलाई फोकस गरेकै छैन। मैले कारलाई सहरभित्रैबाट हमला भएको देखाएँ किनकि मलाई त्यो बम आइएसले फालेको हो वा अलकायदाले भन्ने जानकारी थिएन। खलिदले त्यो दृश्यतिर भाग्दै गर्दा जे भनेको थियो मैले त्यो कुरामा मात्र फोकस गरेँ। हो, एलप्पोमा खराब मानिसहरू पनि थिए जसले मानिसहरूको जीवनलाई कष्टकर बनाए तर असद र रसियनहरूले गरेको बम हमलाजस्तो त्यो हमला थिएन। त्यहाँको मानिसहरूको लागि असद र रसियनहरूको बम हमला नै मुख्य शत्रु थियो। मेरो क्यामेराले जे क्याप्चर गर्यो मैले त्यही कथा भनेको हुँ।
फिल्ममा महिलाको पनि साह्रै न्यून उपस्थिति छ किन?मैले खलिदको श्रीमतीलाई आग्रह गरेको थिएँ, तर उनले फिल्ममा खेल्दिन भनिन्। एलप्पोको ह्वाइट हेल्मेटमा केवल पुरुषहरू मात्र संलग्न थिए। अरू सहरहरूमा भने महिलाहरू पनि संलग्न थिए। मेरो आउने फिल्म महिलाहरूको बारेमा नै हुनेछ तर त्यो ह्वाइट हेल्मेटको बारेमा हुनेछैन।
यो हप्ता सिरियामा युद्ध सुरु भएको ६ पुगेर ७ वर्ष लाग्दैछ। अन्तर्राष्ट्रिय समुदायले अहिलेसम्म त्यहाँ शान्ति सम्झौता गर्न असफल भएका छन्। सिरियामा शान्ति फर्किन्छ भन्ने कुरामा तपाईंलाई केले आशावादी बनाउँछ?यसका लागि आफ्नो जीवन बलिदान गरेकाहरूको जीवनले मलाई आशावादी बनाउँछ। र यो पनि महसुस गर्छु कि धेरै मानिसहरू हामीसँगै उभिएका छन्।
विभिन्न देशका सरकारहरूले सिरियाको बारेमा अझै धेरै सोचुन् भन्ने हामी चाहन्छौं। यो लडाईं रोक्न र समाधान खोज्नमा उनीहरूले सचेत कदम चाल्नैपर्छ। तर समाधान जहिल्यै न्यायसँग जोडिएको हुनुपर्छ। अपराधीहरू अदालतसम्म पुग्नैपर्छ। र मेरो फिल्म ‘लास्ट म्यान इन एलप्पो’ ले पनि यो द्वन्द्व र पीडालाई रोक्नैपर्छ भन्ने सन्देश दिन्छ, किनकि अवस्था जगजाहेर नै छ। असल कुरा र खराब कुरा पनि सबै प्रस्ट छ। यो मिसिएको वा अस्पष्ट छैन। कहाँ सही छ र कहाँ गलत छ भन्ने कुरा थाहा भइसकेपछि अब ढिलो हुनुहुँदैन।