'पल पलमा' बोलको गीतबाटै प्रमोद खरेलले स्रोता/दर्शकको माया पाइसकेका थिए। तर जब उनको स्वरमा 'म बिना कसै कसैलाई ...' गीत सार्वजनिक भयो, त्यसपछि चाहिँ उनले पछाडि फर्किएर हेर्नुपरेन। एकपछि अर्को गीतले उनलाई पछ्याइरह्यो।
'ओए झुमा झुम्कावाली', 'म बाँचेकै', 'यो कुरा गोप्य' लगायत थुप्रै डान्सिङ र सेन्टिमेन्टल गीतबाट प्रमोदले स्रोता/दर्शकलाई मन्त्रमुग्ध पारे।
यसबीच देश-विदेशका स्टेज कार्यक्रममा सर्वाधिक खोजिएका गायकमध्ये पर्छन् प्रमोद। कहिले गीत, कहिले कन्सर्ट त कहिले रियालिटी शोबाट उनी स्रोता-दर्शकसँग जोडिइरहे र मन जितिरहे।
तर धेरैलाई थाहा नहोला, सांगीतिक क्षेत्रबाट नाम-दाम कमाएका प्रमोदको सुरूआती सपना गायक बन्ने थिएन।
एसएलसी सकेर झापाको बनीयानी गाउँबाट रात्रिबास चढेर काठमाडौं आउँदै गर्दासम्म उनले गायक बन्छु भन्ने सोचेका थिएनन्। गाउन त उनी बच्चैदेखि गाउँथे। स्वर खिपेर खुब मीठो गरी गाउँथे। तर उनले गाउँछन् भन्ने टोल-छिमेक, स्कुलका साथीभाइ र शिक्षक कसैलाई थाहा थिएन। किनभने, अन्तरमुखी स्वभावका प्रमोद आफ्नै घरभित्र मात्र गाउँथे।
उनले सेतोपाटीसँगको भिडिओ कुराकानीमा आफ्नो बाल्यकाल सम्झिँदै भने, 'मैले स्कुलमा कहिल्यै गीत गाइनँ। आमाबुबा दुवै शिक्षक भएकाले पढ्नुपर्छ भन्ने दबाब थियो। त्यसैले गीत गाउँछु भन्न आँट आउँदैनथ्यो। यस्तो काममा लागे पढाइ बिग्रिन्छ भन्ने समाजको पुरातन धारणा थियो।'
यस्तै धारणाका कारण १४ वर्ष उमेरमा एसएलसी दिएर काठमाडौं आउँदासम्म प्रमोदको एउटै लक्ष्य थियो – मेडिकल पढ्ने, डाक्टर बन्ने।
तर कहिलेकाहीँ यस्तो अप्रत्यासित मोड आउँछ, जसले जीवनको दिशा नै फेरिदिन्छ।
प्रमोदको जीवनमा पनि त्यस्तै भयो।
उनी काठमाडौं आएर आइएससी पढ्दै गर्दा एफएम रेडियोको लहर चलेको थियो। एफएममा गीतहरूले विशेष प्राथमिकता पाउँथे।
प्रमोदलाई पनि एफएममा गीत सुन्ने टख बस्यो। उनको कोठामा सधैं गीत गुञ्जिरहेको हुन्थ्यो। साइन्सको प्राक्टिकल गर्दा पनि गीत सुनिरहेका हुन्थे।
-1739434659.jpg)
आइएससी सकेपछि उनी केही समय झापा फर्के र स्कुलमा पढाए।
त्यति बेलै उनले गाउँमा कन्सर्ट आयोजना गरे र गीत गाए। आफै नाटक लेखे र निर्देशन गरे। सार्वजनिक रूपमा गीत गाएको त्यो उनको पहिलो अवसर थियो।
पछि बिएससी पढ्न भनेर काठमाडौं आउँदासम्म प्रमोदको मनमा गीत-संगीतले डेरा जमाइसकेको थियो।
कलेजका साथीहरूले पनि उनको गायनको तारिफ गरे। यसबाट हौसिएका प्रमोदले गायनलाई गम्भीर रूपमा लिन थाले। कतिसम्म भने, त्रिचन्द्र कलेजमा भर्ना हुन गोजीमा बोकेको पैसा उनले डोरेमी संगीत पाठशालामा बुझाए र संगीत सिक्न थाले।
उनको बिएससी पढाइ र सांगीतिक अभ्यास सँगसँगै अघि बढ्यो। त्यसैबीच २०५६ सालमा उनले पहिलो गीत रेकर्ड गरे।
'त्यतिखेर रेकर्ड गरेर क्यासेटमा सार्ने चलन थियो। म फूलपातीको रात गीत रेकर्ड गरेर बिहान अबेरसम्म सुतेको थिएँ र दिउँसो क्यासेट बोकेर घर गएको थिएँ,' पहिलो गीत ल्याउँदाको क्षण सम्झिँदै प्रमोदले भने, 'घर गएपछि बजारको क्यासेट दोकानमा मान्छे भेला गराएर त्यो गीत सुनेका थियौं।'
पहिलो गीत आएपछि साथीहरूले अरू गीत पनि गाउनुपर्छ भन्दै प्रेरणा दिए। कतिपय साथीले त रेकर्डिङका लागि पैसाधरि उठाएर दिएका थिए। प्रमोद अहिले पनि ती साथीहरूलाई आफ्नो प्रेरणाको स्रोत मान्छन्।
गीत-संगीतमा खुरन्धार भएर लागिपर्दा पनि प्रमोदले पढाइ छुट्न दिएनन्। उनले स्नातकोत्तर गरे र केही वर्ष कलेजमा पढाए पनि। एक समय उनी उच्च शिक्षाका लागि विदेश जाने मनस्थितिमा समेत पुगेका थिए। तर गीतहरू चल्न थालेपछि उनको त्यो यात्रा रोकियो।
प्रमोद दुइटा गीतलाई आफ्नो करिअरको टर्निङ प्वाइन्ट मान्छन् — पल पलमा र म बिना कसै-कसैलाई।
-1739434659.jpg)
उनको पहिलो एल्बम खासै चलेको थिएन। दोस्रो एल्बम ठिकै चल्यो। त्यसपछि उनले 'पल पलमा' फिल्मको टाइटल गीत गाउने अवसर पाए। सुरेश अधिकारीको शब्द र महेश खड्काको संगीत रहेको त्यो गीत निकै चल्यो।
उनको अर्को सुपरहिट गीत 'म बिना कसै-कसैलाई' मा पनि महेश खड्काकै संगीत रहेको छ। शब्द शितल गिरीले लेखेका हुन्।
'यी गीतले मलाई धेरै कुरा सिकाए। अग्रज संगीतकर्मीहरूसँग संगत बढ्यो। मैले २०-२५ वटा फिल्ममा लगातार काम गरेँ,' उनले भने, 'यसले मलाई आम जनसमुदायसम्म पुर्याउने काम गर्यो। देशभित्र र बाहिरका स्टेज कार्यक्रमहरूबाट एकदमै डिमान्ड आउन थाल्यो।'
उनले एकपछि अर्को हिट गीत दिए। दर्शकहरूको खुब माया पाए। र, सांगीतिक क्षेत्रमा आफ्नो कद अग्लो बनाए।
चर्चित रियालिटी शो 'द भ्वाइस अफ नेपाल' को प्रशिक्षक (कोच)का रूपमा उनले आफ्नो कद थप बढाएका छन्। उनी त्यसको पहिलो सिजनदेखि नै प्रशिक्षक थिए। अहिले उनले त्यो काम छाडेका छन्, तर कतिपय दर्शकले उनलाई त्यही रूपमा खोजिरहेको कार्यक्रमको युट्युब च्यानलमा आएका प्रतिक्रियाबाट बुझिन्छ।
यसपालि भ्वाइस अफ नेपालको कोचबाट ब्रेक लिनुको कारणबारे उनी भन्छन्, 'भ्वाइस अफ नेपाल र भ्वाइस किड्स गरी लगातार ८ वर्ष म कोचका रूपमा रहेँ। मैले गत वर्ष नै ब्रेक लिन खोजेको थिएँ। आफ्नो ब्यान्डको काम, कन्सर्टहरूको तयारी र रेकर्डिङको काम पनि भएकाले यसपालि ब्रेक लिएको हुँ। तर पर्दामा नदेखिए पनि म भ्वाइस अफ नेपालमै छु।'
अहिले पनि आफू भ्वाइस अफ नेपालको स्टुडिओमा गइरहने र हरेक एपिसोड नबिराई हेरिरहने उनी बताउँछन्।
प्रमोद अचेल एकल गायनभन्दा बढी ब्यान्डसँग गाउँछन्। उनको 'प्रमोद खरेल एन्ड परम्परा' ब्यान्डले देश-विदेशमा थुप्रै प्रस्तुति दिइसकेको छ। शुक्रबारबाट फेरि कन्सर्ट लिएर ब्यान्डसहित नेपाल टुरमा निस्किँदै छन्।
प्रमोदले यो ब्यान्ड सुरू गरेको एक दशकअघि नै हो। त्यसलाई व्यावसायिक बनाउन भने समय लागेको उनको भनाइ छ।
'मलाई धेरै अग्रजहरूले ब्यान्ड कन्सर्ट गर्न सुझाउनुहुन्थ्यो। तर मेसो मिलेको थिएन,' उनले भने, 'अहिले म ब्यान्डलाई नाम दिएर सक्रिय बनाउने अभियानमा लागेको छु।'
'सोलो कन्सर्ट गर्दा र ब्यान्डसँग कन्सर्ट गर्दा धेरै फरक महसुस हुन्छ। दर्शक/स्रोतालाई संगीतको वास्तविक स्वाद र मजा दिन पाइन्छ। खर्चको हिसाबले पनि ब्यान्ड कन्सर्ट चुनौतीपूर्ण हो,' उनले भने।
चुनौती भए पनि दर्शक/स्रोताले राम्रो अनुभूति गर्न पाउँछन् भन्ने लागेर ब्यान्ड सक्रिय बनाउन केन्द्रित भएको उनी बताउँछन्।
उनका अनुसार ब्यान्डमा ठाउँ र परिवेशअनुसार गीत परिवर्तन गर्न सकिन्छ। नयाँ नयाँ प्रयोग गर्न सकिन्छ। एक्लै गाउँदा बढीमा एक घन्टाको प्रस्तुति दिन सकिन्छ भने ब्यान्डमा दुई घन्टाभन्दा बढी समय दर्शकलाई मनोरञ्जन दिन सकिन्छ।
यसबीच प्रमोदले भ्यालेन्टाइन्स डेको पूर्वसन्ध्यामा केही दिनअघि नयाँ गीत 'लैलैलै' पनि सार्वजनिक गरे। यो गीतले दर्शक/स्रोताबाट माया पाइरहेको छ। भ्यालेन्टाइन्स डेको अवसरमा सौराहमा पहिलोपटक यो गीत प्रत्यक्ष सुनाउने उनको तयारी छ।
प्रमोद खरेलसँग विस्तृत भिडिओ कुराकानी: