नेत्र अर्याल निजामती कर्मचारी हुन्। २०७४ सालदेखि उनी वन अनुसन्धान तथा प्रशिक्षण केन्द्र, बबरमहलमा नायब सुब्बाका रूपमा काम गरिरहेका छन्।
उनको परिचय सरकारी जागिरेमा मात्र सीमित छैन। उनी गीतका रचनाकार पनि हुन्।
यस्ता रचनाकार, जसले एकाध होइन, एक हजार वटाभन्दा बढी गीत लेखिसकेका छन्। अनि उनका गीत औसतदेखि सुपरहिटसम्मको सूचीमा अटाएका छन्।
'सोचेझैं जिन्दगी रैनछ, धनगढीको बसमा, लरी लरीलै, सुर्ती माड्दै माड्दै गयो जोवन, अरेली काँडैले, कट्टा हान्दिछु, म त ढलेँ ढलेँ' जस्ता चर्चित गीत उनैले लेखेका हुन्।
'सरल र सहज शब्द भएनन् भने गीत श्रोताको मन मस्तिष्कमा बस्न सक्दैन,' उनी भन्छन्।
गुल्मीमा जन्मिएका नेत्रलाई सानैदेखि कविता लेख्न रूचि थियो। उनका बुबा भारतीय सेनामा थिए। बुबाले चिठी लेखेर घरमा पठाउँदा केही टुक्का फुराएर लेखेका हुन्थे। नेत्र पनि टुक्का मिसाएर जबाफ फर्काउँथे।
नेत्रका दाइलाई पनि गीत-संगीतमा रूचि थियो। घरको माहोलले गर्दा नेत्र संगीत क्षेत्रसँग नजिक भए।
२०६४ सालतिर उनी पढाइको सिलसिलामा काठमाडौं आए। उनलाई आफ्नो नाम रेडियोमा सुन्ने खुब रहर भयो। उनले गाउँकै एक जना दाइलाई गीत लेख्न रहर भएको सुनाएका थिए। कता कताबाट जोडिएर उनले अवसर पनि पाए।
'तर मैले लेखेको गीत अर्कैको नाममा आयो। किन अर्कैको नाममा आएको भनेर बुझ्न खोजेँ तर गतिलो जबाफ पाइनँ,' नेत्रले भने, 'म त सांगीतिक क्षेत्रमा जोडिने अवसर पाएँ भन्ने कुराले नै बढी खुसी भएँ।'
उनी गीत लेखनको सुरूआती चरणमै थिए। एक दिन उनलाई गायक खुमन अधिकारीले फोन गरेर तीन दिनमा एउटा गीत लेखेर पठाऊ भने।

'राम्रो लाग्यो भने गीत रेकर्ड हुन्छ, नत्र आशा नगर्नू भन्नुभएको थियो,' नेत्रले सुनाए।
उनले आफ्नो खुबी देखाउने यो अवसर गुम्न दिएनन्। मेहनतले लेखे। सो गीत एक हप्तापछि रेकर्ड हुन लागेको जानकारी खुमनले दिए।
यसरी २०६५ सालमा उनको पहिलो गीत 'पल्टन पुगेपछि' रेकर्ड भयो। गीतमा खुमन अधिकारी र देवी घर्तीको स्वर छ।
त्यसयता नेत्रले एक हजार वटाभन्दा बढी गीत लेखिसके। उनका धेरै गीतले युट्युबमा करोड भ्युज पाएका छन्।
'मैले हरेक विधाका गीत लेखेको छु। राष्ट्रभक्तिको चाहिँ लेख्न पाएको छैन। चर्चाको हिसाबले मनोरञ्जनात्मक गीत अगाडि छन्,' नेत्रले भने, 'मानिसहरूलाई रमाइलो गीत मात्र लेख्यो भन्ने पर्न सक्छ तर म हरेक विधाको लेख्ने प्रयासमा हुन्छु। मैले जुन वर्गलाई लक्षित गरेर लेखेको हुँ, कम्तीमा उनीहरूसम्म त्यो गीत पुगोस् भन्ने चाहना हुन्छ।'
नेत्र जागिरसँगै गीत लेखनमा उत्तिकै समय दिन्छन्। तर यही समयमा गीत लेख्छु भनेर फुर्ने होइन। कहिलेकाहीँ बाटोमा हिँड्दै गर्दा फुर्छ र नोटबुकमा टिप्छन्। धेरैजसो गायकहरूको माग अनुसारै लेख्छन्।
उनी एउटा गीत दुई-तीन दिनमै तयार पार्छन्। गीत लेख्न घरमा छुट्टै कोठा छैन। शान्त वातावरण भने चाहिन्छ।
'टिभी खुलेको छ भने सानो बनाउन लाउँछु अनि लेख्न थाल्छु। होहल्लामा लेख्न सक्दिनँ,' उनले भने।
आफूलाई बेलुका भन्दा बिहान छिटो गीत फुर्ने नेत्र बताउँछन्। कुनै घटनाले पनि उनलाई प्रेरित गर्छ। यसको उदाहरण हो 'रमरम मरौटी' बोलको गीत।
मरौटी (फूल फुल्ने एक प्रकारको औषधीय वनस्पति) उनका लागि नयाँ चिज थिएन। उनको आँगनमै हुन्थ्यो। सानो छँदा मरौटीको अचार खुब खाएका थिए।
एकपटक एउटा गीतको छायांकनका लागि नेत्र गायक खेम सेञ्चुरीसहितको टिमसँग सिन्धुपाल्चोकको सुकुटे पुगेका थिए। त्यहाँ उनले मरौटी देखे। खेमलाई यसबारे जानकारी थिएन। नेत्रले यसको अचार बन्छ र जाडोमा सुप पनि बनाएर खाइन्छ भने।
यो सुनेपछि खेमले भने, 'मरौटी शब्द टिपिकल रहेछ। यसमा गीत बनाऔं।'
नेत्र केहीबेर घोत्लिए र मरौटी शब्द अगाडि 'रमरम' थपे। खेम उत्साहित भए। अनि यसपछि पनि हरफ जोड्न भने।
नेत्रले तुरून्तै फुराए — तिम्रो रूपै करौंती।

खेम र अस्मिता अधिकारीको स्वरमा यो गीत सार्वजनिक भयो। गीतले धेरै चर्चा पायो। मरौटीबारे जानकार नभएकाहरूले पनि मरौटी के हो भनेर खोज्न थाले।
'यसरी दर्शकले गीतको शब्द खोज्नु एक प्रकारको सफलता हो। गीत लेखनको सबभन्दा ठूलो चुनौती नयाँपन हो। गायकहरूले एउटै गीत मेला महोत्सवमा बारम्बार गाउन सक्छन् तर सर्जकको हकमा त्यस्तो हुँदैन,' नेत्रले भने, 'एउटा गीत कसैले दिएपछि अर्का गीतमा नयाँपन दिन सक्नुपर्छ। राम्रा शब्द छनोट गरेर दर्शकको माया बटुल्न सक्नुपर्छ। गीत चलेन भने सर्जकको खोजी हुँदैन। त्यसैले सबैले मन पराउने र व्यावसायिक रूपमा सफल हुने गीत लेख्न सक्नुपर्छ।'
नेत्रको हालैको गीत 'म त ढलेँ ढलेँ' ले चर्चासँगै आलोचना पनि खेपेको छ। नेत्र भने विवादित शब्द प्रयोग गरेर चर्चामा आउने प्रलोभन नभएको बताउँछन्।
भने, 'म गीतको शब्दबारे बहस गर्न तयार छु।'
नेत्रले धेरै चर्चित गीत लेखेका छन्। तर स्रोताले रचनाकारलाई चिन्ने विरलै हुन्छ। नेत्रलाई यो कुरा थाहा छ। तैपनि उनी यो काममा रमाएका छन्। भविष्यमा पनि जागिर सँगसँगै गीत लेखन अगाडि बढाउने चाहना छ।
'१५ वर्ष गीत लेखनमा बिताइसकेँ। यतिले मात्र जीविकोपार्जन गाह्रो हुने भएकाले जागिर गरिरहेको छु। तर गीत लेखन मेरो वैकल्पिक पेसा होइन,' नेत्रले भने।