फुर्सदमा सिनेमा
कथाः
प्रशान्त रसाइलीको निर्देशनमा बनेको फिल्म 'कथा' एक जना बोल्न नसक्ने युवती कुमारी (उषा रजक) र अर्का भकभकाएर बोल्ने युवक कान्छा (सौगात मल्ल) को कथा हो।
कुमारी र कान्छा गहिरो प्रेममा परेका छन्।
यी दुई प्रेमी एक अर्काबाट छुट्टिन चाहँदैनन्। तर बिहे गर्ने पैसा जुटाउन कान्छा चौंरी लिएर हिमालतिर जानुपर्ने परिस्थिति आउँछ। कुमारीलाई फर्केर बिहे गर्ने बाचासहित कान्छा साथी सोनामसँगै हिमालतिर उक्लिन्छन्।
कान्छालाई कुरिरहेकी कुमारीको बिहे अगावै पेटमा बच्चा हुर्कन थाल्छ। यो घटनाले कुमारी उनकी आमा र समाजको नजरबाट तिरस्कृत हुन्छिन्। यो सबै कुराबाट बेखबर कान्छा धेरै टाढा हुन्छन्।
अब यी दुई प्रेमीको भेट कहिले र कस्तो अवस्थामा होला? या, यी दुईको भेटै नहुने अवस्था आउला? यसपछिका घटनाले दर्शकका यस्तै जिज्ञासा मेटाउने छन्।
फिल्ममा सौगात र उषासँगै सोनाम राईले कान्छाका साथीका रूपमा महत्वपूर्ण भूमिका निर्वाह गरेका छन्। मन छुने कथा, सुन्दर अभिनय र मनै हर्ने सिक्किमको हिमाली गाउँको दृश्यले 'कथा' फिल्म लोभलाग्दो बनेको छ। खास गरी यो फिल्मको कथा न्यारेट गर्ने शैली मीठो छ।
कान्छा र कुमारीको प्रेमजस्तै फिल्ममा कान्छा र सोनामको मित्रताले पनि मन जित्छ।
सन् २०११ मा रिलिज भएको 'कथा' लामो समयसम्म मनमा बास बस्ने खालको फिल्म हो।
लभ साशाः
धेरै कथाहरू संयोगबाट सुरू हुन्छन्। 'लभ साशा' पनि संयोगबाट सुरू हुने कथा हो। अस्ट्रेलियाबाट काठमाडौं आइपुगेकी साशा (केकी अधिकारी) संयोगले फोटोग्राफर पर्ल/प्रल्हाद (कर्मा) को क्यामराको फ्रेममा पर्छिन्।
फेरि अर्को संयोग। काठमाडौंबाट आफ्नो घर पोखरा हिँडेकी साशाको गाडी बिग्रेपछि उनै पर्लसँग स्कुटरमा लिफ्ट माग्न पुग्छिन्।
साशा अभिभावकको रोजाइको केटासँग इन्गेजमेन्ट गर्न नेपाल आएकी हुन्। नजिक आइसकेको इन्गेजमेन्ट र त्यसपछि हुने बिहेको कुराले उनको मनमा अनौठो डर पलाएको छ। यता पर्ल भने ब्रेकअपको ताजा पीडामा छन्।
फरक परिस्थितिसँग जुधिरहेका यी दुई पात्र छोटो भेटमै एकअर्कासँग सहज महसुस गर्छन्। साथी बनिसकेपछि साशा पर्लको मनबाट पूर्वप्रेमिकाको याद भुलाउन पर्लसँग समय बिताउन थाल्छिन्।
एकअर्काको आनीबानी र संगतले प्रभावित यी दुईको मित्रताले प्रेमको ढोका ढकढकाउँछ। तर साशाको पहिल्यै एक जना व्यवसायीसँग इन्गेजमेन्टको तयारी भइसकेको हुन्छ।
संयोगले भेटिएका साशा र पर्लबीचको मित्रता कसरी झांगिन्छ? र, त्यसपछि उनीहरूको सम्बन्धमा कस्तो मोड आउँछ? लभ साशाको मूल कथा यही हो।
सुन्दा वा पढ्दा यो कथा सामान्य लाग्ला। तर लभ साशा केकी-कर्मा जोडीको उम्दा अभिनय भएको विशेष फिल्म हो। यी दुई मुख्य पात्रको सम्बन्ध र अन्तर्द्वन्द्वको सुक्ष्म चित्रणले दर्शकलाई अल्झाइरहन्छ। यसको श्रेय फिल्मको पटकथासमेत लेखेका निर्देशक प्रचण्डमान श्रेष्ठलाई जान्छ।
फिल्ममा रङ, छायांकन र सम्पादनको कलात्मक संयोजन भेटिन्छ। जेसन कुँवरको संगीत तथा ब्याकग्राउन्ड स्कोरले फिल्म सुरू हुने बित्तिकैदेखि प्रभावित पार्छ।
लभ साशा युवावय उमेरजस्तै रोमाञ्च र उल्झनले भरिएको छ। साशा र पर्लबीच हुने संवाद कतै हँसाउने, कतै भावुक बनाउने खालको छ। यी दुवै अवस्थामा केकी र कर्मा आफ्नो करिअरकै सशक्त अभिनय गरेका छन्।
सहरिया युवापुस्ताकै लवजमा बोल्ने पर्दाभित्रका यी पात्र दर्शकलाई चिरपरिचित लाग्छन्। साशा र पर्लमा थोरै/धेरै अंश दर्शकले आफैंलाई भेट्छन्।
फिल्ममा 'बरी लै', 'कथा तिम्रो मेरो' जस्ता मीठा गीत छन् तर पृष्ठभूमिमा मात्र बज्छन्। कुनै धुमधडाक फाइट नभएको यो फिल्ममा मानसिक द्वन्द्व भने सघन छ। तर आन्तरिक द्वन्द्वलाई प्राथमिकता दिँदा पात्रको बाह्य पक्षमा ध्यान दिने केही कुरा छुटेका छन्।
यही कारण साशा र पलसँग दर्शकको आत्मीय सम्बन्ध त गाँसिन्छ तर उनीहरूलाई पूर्ण रूपमा चिन्न पाउँदैनन्। दर्शकलाई ‘इन्गेज’ गर्ने कुरामा सफल भए पनि फिल्मले दर्शकलाई ‘सरप्राइज’ दिने मौका गुमाएको छ। तर प्रेम कथाका परम्परागत शैलीलाई भने सुक्ष्म र भावनात्मक विषयमा कथा भनेर चुनौती दिएको छ।
तैपनि कृत्रिम र 'लाउड' नबनाइ देखेको/सुनेको लाग्ने कथालाई लभ साशामा परिष्कृत रूपमा प्रस्तुत गरिएको छ। पात्रको भावना र संवेदना चित्रणमा जोड दिइएको यो घटनाप्रधान नभइ चरित्रप्रधान फिल्म हो। पात्रका संवेदना फिल्ममा मन छुने संवाद र कलाकारको भावभंगिमाका माध्यमबाट अभिव्यक्त भएको छ।
फिल्ममा आसिफ शाहको छोटो तर महत्वपूर्ण भूमिका छ। यसबाहेक शिवानी चालिसे, रश्मी भट्ट र विकाश जोशी पनि फिल्ममा सहायक भूमिकामा देखिन्छन्। फिल्ममा तपाईंले लेखक बुद्धिसागरलाई पनि भेट्नुहुनेछ।
सन् २०१७ मा सार्वजनिक यो फिल्मले समकालीन नेपालको सहरी परिवेशका युवायुवतीको भोगाइ, सोचाइ र जीवनशैलीको झलक दिन्छ।
साशा स्वतन्त्र हुँदाहुँदै पनि परिवारको खुसीलाई आफ्नो मानेर जीवनसाथी रोज्ने मामिलामा सम्झौता गर्न बाध्य हुन्छिन्। पर्ल भने आत्मीय र दिगो प्रेमका चाहनामा छटपटाएका हुन्छन्। फिल्मले स्वतन्त्रता र आत्मीय सम्बन्धको चाहना बोकेका यस्तै युवा पुस्ताको कथा भनेको छ।
पात्रको मनोदशा चित्रणमा धेरै महत्व नदिइने धेरै नेपाली सिनेमाभन्दा अलग लभ साशाको कथा, कथाका पात्र र संवादले तपाईंको मनलाई पनि छुन सक्छ।