पर्दा पछाडिको हिरो
मौसम हिमालीलाई त्यति बेलासम्म म्युजिक भिडिओतिर रूचि नै थिएन। रूचि नभएको क्षेत्रमा लाग्छु भन्ने सोच हुने कुरै भएन।
उनमा त एउटै सपना सवार थियो — आर्मी बन्ने।
यसकै लागि मौसमले आफ्नो तर्फबाट तयारी समेत गरिरहेका थिए। तर अनायसै एक दिन उनको त्यो रहर मर्यो।
मान्छेको मुड न हो! कुन बेला बदलिन्छ के थाहा!
उनले नयाँ लक्ष्य बनाए — कोरिया जाने।
तयारी थाले, कोरियन भाषा पढे। तर परीक्षा दिएनन्।
फेरि पनि मौसमको मुड मौसमझैं बदलियो।
यसपछि उनले अलि बेग्लैतिर पाइला चाले — कलाकारिता क्षेत्रमा।
उनी नाच्न थाले। बिस्तारै कलाकारहरूलाई नचाउन थाले।
नाच्दा नाच्दै आखिरमा उनका खुट्टाले बाटो पहिल्याए। यही काममा आफ्नो पहिचान बनाए।
कहिलेकाहीँ नसोचेको क्षेत्रमा नसोचेको सफलता मिल्दोरहेछ!
'सानैदेखि नाच्ने-गाउने गरे पनि यो क्षेत्रमा आउने सोचेकै थिइनँ,' मौसमले भने, 'अहिले यही क्षेत्रमा जमेँ।'
मौसम म्युजिक भिडिओहरूमा रूचाइएका र खोजिने कोरियोग्राफर एवं निर्देशकमध्ये एक हुन्। राजेश हमाल, करिस्मा मानन्धरदेखि प्रकाश सपुत, पशुपति शर्मा, अञ्जली अधिकारी, सनिशा भट्टराईसम्मलाई उनले भिडिओेमा नचाइसकेका छन्।
प्रकाश दुतराजको पछिल्लो गीत 'रिमै' मौसमको कोरियोग्राफी एवं निर्देशनमा बनेको हो। स्वरूपराज आचार्यको स्वर रहेको 'डाँडाघरे साइँली' मा मौसमको कोरियोग्राफी छ। त्यस्तै 'ए हो र माया, कहाँको साइनो, ए आमा जाम भन्यो मलाई, 'कस्मिरे पछ्यौरी' लगायत निकै रूचाइएका गीतको भिडिओमा पनि मौसमकै काम देख्न सकिन्छ।
उनले कोरियोग्राफ गरेको सबभन्दा पछिल्लो चर्चित गीत विष्णु माझीको 'आइनँ आमा यो तीजमा' हो। विष्णुको गत वर्षको तीजगीत पनि मौसमले नै कोरियोग्राफ गरेका थिए।
म्युजिक भिडिओमा चलेका अधिकांश कलाकारलाई नृत्य गराइसकेका मौसम भन्छन्, 'मैले चाहिँ कोरस डान्सरबाट यो क्षेत्रमा करिअर सुरू गरेको हुँ।'
उनी स्नातक पढ्न भनेर सुर्खेतबाट काठमाडौं आएका थिए। उनका काका नन्दराम परियार र दाइ धुव्र हिमाली सांगीतिक क्षेत्रमै थिए। नन्दराम म्युजिक कम्पनी चलाउँथे। धुव्र कोरियोग्राफी र निर्देशनमा सक्रिय थिए।
'मलाई म्युजिक भिडिओ क्षेत्रतिर अलिकति पनि रूचि थिएन। म त खुरूखुरू पढिरहेको थिएँ। नाच्न आउने भएकाले अंकल र दाइले आफ्नो गीतमा ब्याक-डान्सरका रूपमा लैजानु हुन्थ्यो,' करिअरको सुरूआती दिन सम्झिँदै मौसमले भने, 'त्यही क्रममा म घुलमिल हुँदै गएँ, चिनजान बढ्दै गयो। त्यसपछि अरूले पनि कोरसमा नाच्न बोलाउन थाल्नुभयो।'
बिस्तारै मौसम कोरस डान्सरका रूपमा निर्देशकहरूका रोजाइमा पर्न थाले। उनले थुप्रै भिडिओमा कोरस नाचे। केही समयपछि भने उनी नाच्न छाडेर कोरियन भाषा परीक्षाको तयारीमा लागे।
यत्तिकैमा एक दिन निर्देशक बब्बु थापाले भने, 'कान्छा, तेरो भविष्य यो क्षेत्रमा राम्रो छ। तैंले अब मेरो स्थान लिनुपर्छ।'
त्यस बेला म्युजिक भिडिओमा बब्बु निकै चर्चित मानिन्थे। तर डेढ दशक लामो करिअर छाडेर उनी अमेरिका जाने तयारीमा थिए। उनको निर्देशनमा मौसमले थुप्रै भिडिओमा कोरस नाचेका थिए।
'उहाँले मलाई हौसला, आँट र भरोसा दिनुभयो। त्यसपछि म कोरियन भाषा परीक्षा दिनै गइनँ,' मौसमले सम्झिए, 'त्यसपछि दाइको भिसा नलागुञ्जेल एक वर्ष उहाँसँगै हिडेँ। उहाँको सहायक भएर काम गरेँ।'
बब्बु अमेरिका लागेपछि केही समय मौसमलाई गाह्रो भयो। झट्टै काम मिलेन। यताउति सानोतिनो काम गरे। डान्सबारमा पनि नाच्न गए।
एक दिन गायक रामजी खाँडले फोन गरेर सहकार्यको प्रस्ताव गरे।
मौसम दंग परे।
उनले भिडिओमा रामजी र करिस्मा ढकाललाई नृत्य गराए। अनि भने उनलाई अरू काम आउन थाले।
'त्यहाँदेखि कहिल्यै पछाडि फर्किएर हेर्नुपरेको छैन,' उनले भने।
मौसमको कोरियोग्राफी यात्राको सुरूआती चरणमा सबभन्दा चलेको गीत 'चौतारीको बर' हो। यसपछि प्रकाश दुतराजको 'घर कता हो बैनीको' धेरैको नजरमा परेको उनले बताए। यो गीतपछि मौसम निर्देशक एवं कोरियोग्राफरका रूपमा खोजिँदै गए। एकपछि अर्को प्रस्ताव आइरह्यो।
उनी कुनै गीत आएपछि कस्तो थिममा बनाउने भनेर गीत ल्याउनेसँग सल्लाह गर्छन्। पटक पटक गीत सुन्छन्। शब्द र भाका हेर्छन्। थिम बनाउँछन्। भिडिओ कसरी प्रस्तुत गर्ने, कलाकार र कोरसलाई कसरी नचाउने, नृत्यको कस्तो स्टेप दिने खाका तयार पार्छन्।
'कुनै गीत धेरै नसुनी भिडिओको थिम दिमागमा आउँछ। कुनै भने पटक पटक सुन्दा पनि आउन गाह्रो हुन्छ,' उनले भने।
कलाकारको ड्रेसदेखि सेट डिजाइनको काम प्रायः उनी आफै हेर्छन्। कहिलेकाहीँ सेटमा पुगिसकेपछि कलाकारको सुझावअनुसार पनि काम गर्छन्। धेरैलाई अडिओ तयार भइसकेपछि भिडिओ ल्याइहालौं भन्ने हतार हुन्छ। त्यसरी आएका थुप्रै गीत उनले हतारमै पनि गरेका छन्। समय र अरू बन्देज नराखेको अवस्थामा काम अनुभव र गराइ फरक हुने मौसम बताउँछन्।
कतिपयसँग उनले गीतको अडिओ तयार हुनु अगाडिदेखि नै जोडिएर काम गरेका छन्। केही भिडिओका लागि ठाउँ हेर्न टाढा टाढासम्म पुगेका छन्। कति भिडिओका लागि भने काम गर्नुअघि कलाकारलाई नृत्य प्रशिक्षण दिएर मात्र सुटिङ सेटमा लगेका छन्।
'कश्मिरे पछ्यौरी, माइली, निरमाया ठूली' आदि सेटमा जानुअघि नृत्य प्रशिक्षण गराएर खिचिएका भिडिओहरू हुन्।
प्रकाश दुतराजको गीत 'रिमै' को भिडिओ राउटे समुदायको कथामा निर्माण गर्ने सल्लाह भएपछि उनीहरू ठाउँ हेर्न र राउटे समुदायको परिवेश, रहनसहन बुझ्न दैलेख पुगेका थिए। त्यस बेला राउटे समुदायबारे इन्टरनेटको माध्यमबाट थप अध्ययन गरेर एक महिनापछि मात्रै छायांकनमा निस्किएको मौसमले बताए।
प्रकाशका यसअघिका भिडिओ कथा पनि दुई जनाको सरसल्लाहमा तयार भएको थियो।
'कतिमा फ्री-स्पेस मागेर पाइँदैन। यो भिडिओलाई केही नयाँ विषयवस्तुमा सोचेर काम गरौं भन्नुहुन्छ भने समय दिन सक्छु। तर धेरै लगानीकर्तालाई भिडिओ ल्याइहालौं भन्ने हुन्छ,' मौसम भन्छन्।
उनले अहिलेसम्म कति गीतमा निर्देशन र कोरियोग्राफ गरे, यसको टिपोट गरेका छैनन्। तैपनि सर्सती हिसाब गर्दा १५ सय हाराहारी भएको उनको अनुमान छ।
केही वर्ष अघिसम्म उनलाई सकेसम्म धेरै काम गर्छु भन्ने लाग्थ्यो। उनले कुनै एउटा तीजको समयमा एकै दिनमा तीनवटा भिडिओ कोरियोग्राफ गरेका थिए।
'त्यो बेला धेरै काम गरौं भन्ने हुन्थ्यो। अहिले कसरी राम्रो काम गर्ने, कसरी नयाँ दिने भन्ने हुन्छ,' उनले भने।
मौसम अचेल विशेष गरी मौलिक गीतको भिडिओका लागि बढी रोजाइमा पर्छन्। उनले काम गरेका गीतले पनि यही देखाउँछ।
'हामी हुर्केको, बढेको, देखेको, सिकेको हाम्रो संस्कृति देखाउनुपर्छ भन्ने लाग्छ। नेपालमा बस्नेलाई त भइहाल्यो, विदेश बस्ने नेपालीलाई पनि हाम्रो भिडिओमा देखाएका चिजले गाउँठाउँ सम्झाओस्, बाल्यकालमा फर्काओस् भन्ने हिसाबले काम गर्छु,' मौसमले भने, 'आगामी दिनमा पनि मौलिकतालाई प्राथमिकतामा राखेर भिडिओ तयार गर्छु।'