गुड फ्राइडे सिनेमा
अरबी फिल्मको इतिहास लामो भए पनि पछिल्लो समय सुस्ताएको छ। सन् १८९६ मा इजिप्ट र अल्जेरियामा लुमिएर भाइहरूले दर्शकलाई पहिलोपटक फिल्म देखाएका थिए।
बिस्तारै लेबनान, सिरिया, इराक, कुवेत, अल्जेरिया, मोरक्को, ट्युनिसिया, बहराइन, जोर्डन, लिबिया, ओमन, कतार, साउदी, सुडान लगायत देशमा फैलिँदै गयो।
सुरूआतमा अरबी फिल्महरूमा प्रायः पश्चिमी फिल्मको नक्कल गरिन्थ्यो। पछिल्लो समय भने आफ्नो संस्कृतिलाई महत्त्व दिइन थालेको छ।
आजको 'गुड फ्राइडे सिनेमा' मा तपाईंहरूलाई हामी अरबी फिल्म 'थीब' सिफारिस गर्दैछौं।
यो एक घुमन्ते जीवन बिताउने पात्र थीबको कथा हो। उनी आफ्नो दाइ हुसेनसँग घुमन्ते जीवन बिताइरहेका हुन्छन्। एक रात उनीहरूको शिविरमा एक ब्रिटिश अफिसर आउँछन्।
उनीहरूको संस्कृति अनुसार पाहुनालाई बाख्रा काटेर खुवाउने तयारी हुन्छ। यो काम हुसेनले थीबलाई सुम्पिन्छन्। तर थीब डराउँछन् र पछि हट्छन्।
ब्रिटिश अफिसरले एउटा काठको बक्स बोकेका छन् जसमा थीबको नजर गइरहन्छ। उनी उक्त बक्समा के छ भनेर हेर्न उत्सुक भइरहन्छन्।
हुसेनलाई पर्यटकहरूलाई एक रेलवेमा छोड्न आदेश दिइएको हुन्छ। उक्त बाटोमा डाकुहरू हुने डर हुन्छ। त्यसैले हुसेन आफ्ना भाइलाई छाडेर त्यही शिविरमा जाने निर्णय गर्छन्। तर थीब उनीहरूको पछि लाग्छन्।
त्यसपछि आफ्नो भाइलाई पनि यात्रामा सहभागी गराउँछन्।
एक इनारमा उनीहरू पानी खान रोक्किन्छन्। पानी खान खोज्दा इनारमा रगत देखिएपछि अफिसर डराउँछन्। उक्त इनारमा मान्छेको शव भेटिन्छ।
त्यहाँबाट उनीहरू छिट्टो भाग्ने प्रयासमा हुन्छन्। अर्को इनारमा पुगेपछि अफिसरलाई डाकुले गोली हान्छन्। उनीसँगै अन्य दुई व्यक्तिलाई पनि गोली हानेर मारिन्छ।
हुसेन र थीब त्यहाँबाट भाग्न सफल हुन्छन्।
तर रात परेपछि उनीहरू पनि डाकुको हात लाग्छन्।
के उनीहरू बच्न सफल होलान्? वा, कथाले अर्कै मोड लेला?
नजी अवु नोवारले निर्देशन गरेको फिल्म ‘थीब’ मा जसिर इद अल–ह्विटटले थीबको भूमिका निर्वाह गरेका छन् भने हुसेन सलामेह अल–स्वीलहिनले हुसेनको भूमिका निर्वाह गरेका छन्।
यो फिल्म सन् २०१४ मा ७१ औं भेनिस अन्तर्राष्ट्रिय फिल्म महोत्सवमा प्रदर्शन भएको थियो जसमा फिल्म निर्देशक अबु नोवरले उत्कृष्ट फिल्म निर्देशकको उपाधि जितेका थिए।
त्यस्तै यो फिल्म ८८ औं एकेडेमी अवार्ड (अस्कर) मा पनि उत्कृष्ट विदेशी भाषी फिल्मका रूपमा मनोनीत भएको थियो।