करिब चार वर्षअघि, संगीतकार आशिष अविरललाई चुड्का भजनमा आधारित गीत बनाउन रहर जाग्यो। आफ्नो रहर रचनाकार एकनारायण भण्डारीलाई सुनाए। एकनारायणले गीतका शब्द कोरेर थमाइदिए। तिनै शब्दलाई गीत बनाउन केन्द्रित भए आशिष। संगीत भरे।
झ्याम्मै कोरोना महामारी आयो, काम रोकिएको रोकियै भयो।
केही समयअघि अभिनेत्री स्वस्तिमा खड्काले आशिषलाई फोन गरिन्। आशिष र स्वस्तिमाले 'झम्के माया' बोलको गीतमा एकसाथ काम गरिसकेका थिए। उनले फेरि एउटा फिल्मका लागि गीत चाहिएको भनिन्।
आशिषले पनि तुरून्त हुन्छ भने।
अनि उनको भेट 'ऐंचो पैंचो' की निर्देशक कृषा चौलागाईं, कलाकारहरू स्वस्तिमा, वर्षा राउत र मुकुन भुषालसँग भेट भयो।
'त्यो भेटमा मैले तीनवटा गीत सुनाएँ। तीमध्ये उहाँहरूलाई 'काले केटाले' मनपर्यो,' आशिषले सम्झिए।
काले केटाले, काले केटाले
हिरो बन्छ, मै हुँ भन्छ
काले कृष्णझैं हुँ भन्छ, काले केटाले...
गीत मनपरे पनि त्यसलाई कसरी प्रस्तुत गर्ने निधो भइसकेको थिएन। यो महिला स्वरका लागि लक्षित रचना थियो। त्यसैले फिल्म निर्माण टिमले अस्मिता अधिकारीलाई गाउन दिने भयो। पछि महिला र पुरूषको स्वरमा गीत राख्ने कुरा भयो।
अनि गीत लेखक एकनारायण भण्डारीले थपे,
मेरी केटीले, मेरी केटीले
अप्सरा नै मै हुँ भन्छे,राधारानीझैं हुँ भन्छे, मेरो केटीले...
यी हरफ आशिषले नै गाए।
'निर्देशक कृषाजीले यो गीत तपाईंले भन्दा राम्रो कसले गाउन सक्छ र भन्नुभयो, अनि मैले नै गाएँ,' आशिषले भने, 'यसको डमी पनि मेरै स्वरमा रेकर्ड थियो।'
आशिषले यो गीतको संगीतमा नेपाली बाजाहरूको धून प्रयोग गरेका छन्।
संगीतबारे उनले भने, 'नेपालीपन दिनुपर्ने भएकाले मादल, बाँसुरी र सहनाई राखेँ। सहनाई म आफैंले बजाएको हुँ।'
कोरोनाअघि नै योजना बनेको भए पनि गीत तयार भने छोटो समयमै भएको आशिष बताउँछन्। त्यसैले संगीतमा सोचेजसरी बाजाहरू प्रयोग गर्न भने नपाएको उनले बताए।
'ऐंचो पैंचो' मा समावेश यो गीतको भिडिओमा वर्षा, स्वस्तिमा, मुकुन र सुशील सिटौलासँगै डान्सर एलेक्स विश्वकर्मालाई देख्न सकिन्छ। एलेक्स उनै हुन् जो भारतीय गायक बादशाहको 'सनक' गीतको भिडिओमा नाचेपछि चर्चामा आएका थिए। केही समयअघि सार्वजनिक भएको सुजन चापागाईंको गीत 'फूलथुंगे रानी' मा पनि उनले अभिनय गरेका छन्।
दर्शकस्रोताले रूचाएको यो गीत राम्रा कलाकारहरूले गर्दा अझ बलियो बनेको बताउँछन् आशिष।
तर यो सफलता चुनौतीरहित भएन।
आशिषका अनुसार गीत हिट भइरहेको खुसीबीच उनलाई नक्कलको आरोप लाग्यो।
'चुड्का भजनमा आधारित भन्दैमा गीत मिल्यो भन्न पाइन्छ र! त्यसो त मैले पहिल्यै देवी घर्ती मगर र खुमन अधिकारीको स्वरमा चुड्का भजनमै आधारित गीत निकालिसकेको छु,' आशिषले सम्झिए, 'मलाई गीत कपी भयो भन्नेलाई मैले यही जवाफ दिएँ। आफ्नो गीत भन्दै दाबी गर्न नसकेपछि यो गीतमा आशिष अविरलको नाम हुनु हुँदैन भन्नुभएछ।'
यो विवाद फिल्म रिलिजको मुखैमा आएको थियो।
उनले थपे, 'हामीले लोकगीतबाट प्रभावित भएरै लोकगीत बनाउने हो। हुबहु मिलेको भए छुट्टै कुरा हुन्थ्यो। चुड्का भजन, रत्यौली, रोइला, सालै जो, झ्याउरे, ठाडो, कौडा लगायत लोकगीतका ६–७ वटा मात्रै भाका छन्। त्यसमै आधारित भएर तयार हुन्छ। त्यसैले कहीँ न कहीँ उस्तै सुनिन्छ। व्यक्तिको कथा र शब्द फरक हुनसक्छ, भाका त त्यही नै हुन्छ।'
विवाद भएपछि उनले त्यसलाई सङ कलेक्सन (फोक-सङ) नाम दिए। अड्चन झेले पनि फिल्म निर्धारित मितिमै, भदौ १४ गतेदेखि हलमा लाग्यो। फिल्म प्रदर्शन भएपछि दर्शक-श्रोताले यो गीत अझै रूचाएको बताउँछन् आशिष।
'गीत बनाउनुअघि नै विस्तारै चल्छ भन्ने लागेको थियो। मैले गीतमा दोस्रोपटक पार्श्व स्वर दिएको हुँ। यसअघि झरना थापाको फिल्म 'ए मेरो हजुर ३' मा समावेश 'परान परान' गीत गाएको थिएँ। दुवै गीतलाई दर्शक-श्रोताले रूचाउनुभयो। म एकदमै आभारी छु,' उनले भने।
बागलुङमा जन्मेका आशिष अविरल सांगीतिक माहोलमा हुर्किएका हुन्। उनका आमाबुबा र दाइ गाउँघरमा गीत गाउँथे। उनलाई पनि सानै उमेरदेखि गीत-संगीतमा रूचि भयो।
२०५२ मा सालमा उनी रक्तिम गाउँ समाज नामक संगठनमा आवद्ध भए। उनका दाइ पनि यसमा आवद्ध थिए। यो समूहले विभिन्न ठाउँमा हुने सांस्कृतिक कार्यक्रममा सहभागिता जनाउँथ्यो। उनीहरू पनि कार्यक्रमहरूमा जान्थे। बाजा बजाउनेदेखि गाउनेसम्मको जिम्मा उनीहरूकै थियो।
गाउँलेहरूले भने उनको भन्दा दाइको स्वर मन पराउँथे।
तर उनका दाइ 'मैले होइन, भाइले राम्रो गाउँछ, राम्रोसँग बाजा बजाउँछ' भन्दै आशिषलाई नै अघि सार्थे।
आशिष बाँसुरी बजाउन सिपालु थिए। एक दिन विद्यालयमा भएको सांस्कृतिक कार्यक्रममा बाँसुरी बजाए। त्यहाँ उनको धूनको मात्र तारिफ भएन, उनले नयाँ नाम नै पाए — मुरली केटो।
उनी मादल, हार्मोनियम र पन्चेबाजा पनि उत्तिकै राम्रो बजाउँथे। त्यसैले उनका दाइले सांगीतिक क्षेत्रमा राम्रो गर्न सक्छस् भनेर हौस्याइरहन्थे। आफूभन्दा राम्रो गाउने दाइले हौस्याएपछि उनले सांगीतिक क्षेत्रमै लाग्ने निर्णय गरे।
एसएलसी दिएपछि उनी पढ्न सदरमुकाम गए। केही महिना नबित्दै गायनमा क्षेत्रमा अघि बढ्ने सोचेर पोखरा पुगे। त्यहाँ पुगेपछि उनले बरू काठमाडौं जान ठीक हुने सुझाव पाए।
आशिष घर गएर आमाबुबासँग काठमाडौं जान्छु भनेर ढिपी गर्न थाले। घरको आर्थिक अवस्था सामान्य भएकाले काठमाडौंको खर्च धान्न सजिलो थिएन। बुबा मानेनन्।
'पहिले सदरमुकाम जान्छु भनिस्, पठाएँ। त्यसपछि पोखरा जान्छु भनिस्, त्यहाँ पनि पठाएँ। अब फेरि काठमाडौं जान्छु भन्दैछस्! भोलि अमेरिका जान्छु भन्लास्! तँलाई कसले पठाउन सक्छ!' आशिषले त्यो बेला बुबाले भनेको कुरा सम्झे।
यहाँनिर फेरि उनका दाइले आड दिए। त्यसपछि २०५७ सालमा आशिष आमाले दिएको केही पैसा बोकेर काठमाडौं आए। राजधानी सहरमा उनको गायन यात्रा सोचेजस्तो सहज भएन। डोरेमी संगीत पाठशालामा संगीत सिक्न थाले र पढ्न सरस्वती क्याम्पसमा भर्ना भए।
तीन वर्ष संगीत सिकेपछि उनको घाँटीमा समस्या देखियो। गायक बन्ने सपना बोकेर आएका आशिषलाई सपनाको महल ढलेझैं भयो।
उनलाई लाग्यो — मेरो भविष्य सकियो। अब के गर्ने?
उनले आफ्नो समस्या संगीतकार विवि अनुरागीलाई सुनाए।
संगीतका विभिन्न विधामा जमिसकेका अनुरागीले भनेछन् — भाइ, सांगीतिक क्षेत्रमा गायन मात्र हुँदैन नि! गीत लेख्न सकिन्छ, संगीत भर्न सकिन्छ, संगीत संयोजन, रेकर्डिङ गर्न सकिन्छ। यसमा धेरै विधा छ त!'
आशिषलाई यो सुझाव चित्त बुझ्यो। उनी संगीत संयोजन गर्ने सोचेर सिक्न थाले। सिकेपछि पनि उनले काम पाएनन्। उनी काम दिनुस् न भन्न पनि हिच्किचाउँथे। संगीतमा बाटो नदेखेपछि उनले विदेशको बाटो हिँड्ने निधो गरे। यो योजना पनि सफल भएन।
तर सायद उनको असफल यात्रा यहीँसम्म थियो।
उनले एक स्टुडिओमा काम पाए। संगीत संयोजनको काम सुरू गरेको दुई महिनाभित्रै दुई-तीन लाख रूपैयाँ कमाए। दिनमै पाँचवटासम्म लोकगीतको संगीत संयोजन गर्थे।
उनको सांगीतिक यात्राको खुड्किलो भने 'बास्ना' एल्बम बन्यो।
आनन्द अधिकारीको शब्द रहेका गीतमा नरेन्द्र प्यासीको स्वर थियो। आशिषले संगीत भरेका यो एल्बमका 'तिमीले दिने माया', 'फूलको दिलमा पनि' र 'तिमीबिनाको जीवन' गीत सर्वाधिक हिट भए।
यसपछि त झन् आशिषले पछाडि फर्किएर हेर्नुपरेन। संगीतकार र संगीत संयोजकको सूचीमा उनको नाम उक्लिँदै गयो।
अहिले उनको पहिचान झन् फराकिलो बन्दैछ। संगीतका हरेक विधामा उनी खरो उत्रिन लागि परेका छन्। कुनै बेला गाउन नसकेर निराश भएका उनी अब गायकका रूपमा पनि परिचित हुँदैछन्। औंलामा गन्न सकिने गीत गाएका छन् उनले, तर अधिकांश हिट छन्।
'मैले लोकदोहोरीबाट गायन सुरू गरेको थिएँ। त्यसमा भने सफल भइनँ। पहिलेदेखि नै आधुनिक र फिल्मी गीतमा झुकाव भएकाले लोकदोहोरीमा चाहेर पनि सफल हुन सकिनँ,' उनले भने।
स्वास्थ्य समस्या समाधान भए पनि उनले लामो समय नगाउनुको कारण पनि यही थियो। लोकदोहोरीमा असफल भएपछि उनले गायन आफ्ना लागि होइन रहेछ भन्ठानेर चटक्कै छाडे। धेरै समयपछि, त्यो पनि संयोगवश 'ए मेरो हजुर ३' को 'परान परान' गाउने अवसर पाए।
यो गीत पनि आशिषले अर्कैका लागि तयार पारेका थिए। निर्माण टिमले उनकै स्वर मन परायो। यसरी उनी पार्श्व गायकका रूपमा पनि चिनिए।
आशिषका अनुसार उनले अहिलेसम्म आठ हजार वटाभन्दा बढी गीतमा संगीत संयोजन गरिसकेका छन्। करिब दुई सय वटामा संगीत भरेका छन्। अब उनी गायक बन्न हौसिएका छन्।
दोस्रोपटक पार्श्व गायकका रूपमा 'काले केटा' गाएपछि र दर्शक-स्रोताले पनि यसलाई रूचाइदिएपछि, अब उनी गायनमै केन्द्रित हुन चाहन्छन्।
भन्छन्, 'मैले संगीत र संगीत संयोजनमा धेरै काम गरेँ। दर्शकस्रोताले मेरो आवाज पनि रूचाइदिनुभयो। अब म गायनलाई प्राथमिकता दिन्छु। हरेक संगीतकार गायक बन्ने सपना बोकेर आएको हुन्छ। तर गायक बन्छु भनेर मात्र हुँदैन। गायक बनाउने भनेको दर्शकश्रोताले नै हो।'
सबै तस्बिरः नवीनबाबु गुरूङ/सेतोपाटी