समर्पणजंग कार्कीले देखेको एक मात्र सपना हो पाइलट बन्ने।
विराटनगरका उनी सानैदेखि आफ्नो लक्ष्य पूरा गर्न केन्द्रित भए। सन् २०१४ मा पाइलट पढ्न अमेरिका गए।
त्यहाँ उनी सांस्कृतिक लगायत अवार्ड समारोहमा पनि सहभागी हुन्थे। यो क्रममा केही कलाकारलाई नजिकबाट चिन्ने अवसर पाए।
पढाइ सकिएपछि सन् २०१९ मा नेपाल फर्किए। कोरोनाका कारण केही समय अल्झियो।
सन् २०२१ देखि भने पाइलटका रूपमा सन् बुद्ध एयरमा काम सुरू गरे।
आफूले रोजेको पेसा अपनाइरहेका उनलाई सिने कलाकारहरूले आकर्षित गर्थे, मनपर्ने अभिनेता राजेश हमाल।
'मैले आफ्नो भविष्य बनाउँदा बनाउँदै धेरै वर्ष बिताएँ। त्यसपछि अतिरिक्त कुरामा पनि सहभागी हुनुपर्छ भन्ने लाग्यो। अनि मिस्टर नेपालमा जाने सोचेँ,' उनले भने।
हुन त केही वर्षअगाडि नै उनी मिस्टर नेपालमा सहभागी हुन चाहन्थे। तर आफ्नो सपनाप्रति केन्द्रित हुँदै गर्दा समय मिलाउन सकेनन्।
यसपालि भने जसरी पनि समय नमिलाए उनको हातबाट यो अवसर सधैंका लागि फुत्किन्थ्यो। प्रतियोगितामा १८ देखि ३२ वर्ष उमेर समूहका युवाले भाग लिन पाउँछन्। ३२ वर्षीय समर्पणका लागि यो अन्तिम अवसर थियो।
त्यसैले उनले दुइटा निर्णय लिए – मिस्टर नेपालमा सहभागी हुने र पाइलट पेसालाई निरन्तरता दिने।
मिस्टर नेपालको सुरूआती चरणमा उनले दुवैतिर समय मिलाइरहेका थिए। केही दिनपछि भने मुस्किल भयो। त्यसैले छुट्टी मागेर जागिरलाई केही समयको विश्राम दिए।
'मैले मिस्टर नेपालकै लागि भनेर कुनै विशेष तयारी त गरिनँ। तर यसका लागि आवश्यक विशेषता सानै उमेरदेखि आफूमा विकास गरेको थिएँ,' उनले भने, 'अनुशासन, समयनिष्ठ, कडा परिश्रम र प्रतिनिधित्व गर्ने क्षमता बिस्तारै आफूमा विकास गर्दै लगेँ।'
अन्तिम अवसर र पहिलो प्रयासमा समर्पण सन् २०२३ को मिस्टर नेपाल उपाधि जित्न सफल भए।
मिस्टर नेपाल घोषित भएको केही दिनमै उनी जागिरमा फर्किए। उपाधि जिते पनि आफ्नो दैनिकीमा खासै परिवर्तन नआएको उनी बताउँछन्।
'मिस्टर नेपाल हुँदा होस् वा नहुँदा, आफ्नो पेसाप्रति म उत्तिकै लगनशील छु। जीवनमा जुनसुकै सफलता हात पारे पनि धरातल चाहिँ बिर्सिन्नँ,' उनले भने।
यो क्षेत्रमा अगाडि बढ्न यो जित मात्रै काफी नभएको उनी बताउँछन्। उनलाई यो क्षेत्रमा कामै गर्न मन छ। सौन्दर्य प्रतियोगिता मर्यादित बनाउन राम्रा कुरालाई प्रोत्साहन र नराम्रालाई सुधार्न चाहन्छन्। आफूलाई पनि अझै निर्खार्दै लैजाने सोचेका छन्।
समर्पण अब अभिनयमा पनि प्रवेश गर्दैछन्। रेखा थापाको नयाँ फिल्म 'उपहार' बाट उनको डेब्यु हुने भएको छ।
अभिनेत्री रेखा थापासँग उनको कलाकारका रूपमा मात्र नभई पारिवारिक समारोहमा पनि भेट हुन्थ्यो। रेखाले उनलाई मिस्टर नेपालमा जानुअघि नै फिल्म प्रस्ताव गरेकी उनले बताए।
त्यति बेला उनी मिस्टर नेपालमा जाने तयारीमा थिए। त्यसैले तत्काल केही जवाफ दिएनन्। फिल्ममा काम गर्न सक्छु कि सक्दिनँ भन्ने दुबिधा पनि थियो।
'यस फिल्ममा एकदमै राम्रा कलाकारहरू हुनुहुन्थ्यो। मेरा लागि सब नयाँ भएकाले सुरूमा अलमल थियो,' उनले भने।
केही समयपछि रेखा थापा र निर्देशक ज्ञानेन्द्र देउजासँग कुराकानी भएपछि उनी राजी भएका हुन्।
मोडलिङ वा फिल्म क्षेत्रमा काम गरे पनि आफ्नो पहिलो प्राथमिकता पाइलट पेसा नै रहने उनी बताउँछन्।
'मेरो पहिलो प्राथमिकता पाइलट नै हो। छुट्टीको समयमा सुटिङ राख्न निर्माण टिम सहमत हुनुभएको छ। मिस्टर वर्ल्डका लागि बिस्तारै तयारी गर्नेछु,' उनले भने।