पात्रमा बाँच्ने अभिनेता भनेर चिनिन्छन् विपीन कार्की।
'पशुपतिप्रसाद' मा भष्मे डन होस् वा 'जात्रा' मा फणिन्द्र, उनी हरेक भूमिकामा जीवन्त अभिनय गर्छन्।
फिल्ममा विपीन छन् भनेपछि दर्शकहरू समेत आशावादी हुन्छन्। भिन्न पात्रमा देखिने मात्र होइन, उनी दर्शकको मनमस्तिष्कमै बस्न सफल हुन्छन्। स्वर भासिएको आवाज निकाल्नेदेखि लिएर वृद्ध पुरूषको भूमिकामा उनले न्याय गरेको देखिन्छ।
फिल्म जस्तो भए पनि विपीनको अभिनयले दर्शकलाई खासै निराश बनाउँदैन।
यिनै विपीन फिल्म 'एक भगवत् गीता' को टिजरमा दर्शकले सोचेभन्दा फरक भूमिकामा देखिएका छन्।
यसमा उनी 'कमला माई' को भूमिकामा छन्। कमला माई एक पारलैंगिक महिला (ट्रान्सवुमन) पात्र हो।
'मैले कहिल्यै पनि पारलैंगिक महिलाको भूमिका निर्वाह गर्छु भनेर सोचेकै थिइनँ,' विपीनले कमला माई पात्रबारे भने, 'तर कलाकार भएपछि कुनै पनि भूमिका निर्वाह गर्न पछि हट्नु हुँदैन भन्ने मेरो अडान हो।'
उनले विभिन्न सञ्चारमाध्यममार्फत झरना थापाले फिल्म 'एक भगवत् गीता' बनाउन लागेको भन्ने जानकारी पाएका थिए। फिल्ममा कहिले दयाहाङ राई अनुबन्धित भए भन्ने सुन्थे त कहिले सौगात मल्ल।
फिल्मको चर्चासँगै उनलाई छायांकन भइसक्यो होला भन्ने लागेको थियो।
तर एक दिन निर्माता सुनीलकुमार थापाले उनलाई फोन गरेर भने — हामी तपाईंलाई पारलैंगिक महिलाको भूमिकामा लिन चाहन्छौं।
'पशुपति २ः भष्मे डन' को तयारीमा रहेका विपीन फिल्म खेल्ने मनस्थितिमा भने थिएनन्। उनले आफूसँग समय नभएको बताए। निर्माता सुनीलले भेटेर कुराकानी गर्ने इच्छा व्यक्त गरे। सुनील र झरनासँगको भेटमा उनले आफ्नो भूमिकाको बारेमा थप जानकारी पाए।
सुनीलले 'पशुपति प्रसाद २ः भष्मे डन' का निर्देशक दीपेन्द्र के खनालसँग कुरा गरी समय मिलाउने बताएपछि विपीन फिल्म खेल्न तयार भए।
'मेरो भूमिकाबारे थाहा पाएपछि खेल्ने निर्णय गर्न सजिलो र छिटो भयो। यस्तो भूमिकाको प्रस्ताव बारम्बार आउँदैन जस्तो लाग्यो,' विपीनले भने।
निर्माण टिमसँग औपचारिक सम्झौता भएको केही दिनमै उनी छायांकनमा लागे। जनकपुरधाममा बनाइएको सेटमा उनी एकदमै फरक अनुभव गरिरहेका थिए। बिहान ८ बजे छायांकन सुरू हुने भए पनि उनी ५ बजे नै सेटमा पुग्नुपर्थ्यो।
'रौं खुर्किनेदेखि लिएर बेहुलीको जस्तो मेकअप गर्नुपर्थ्यो। पहिले त सारी कसरी लगाउने भन्ने नै थाहा थिएन। त्यहाँ सारी लगाउँदा लगाउँदै म सारी लगाउन जान्ने भइसकेँ,' उनले छायांकन क्रमको आफ्नो अनुभव सुनाए।
मिथिला भाषासँग समस्या नभए पनि उनलाई सबभन्दा ठूलो चुनौती वेशभूषा र हाउभाउकै भयो। छायांकन गर्दा गर्दै उनी बीचबीचमा पुरूषको हाउभाउ गर्न थाल्थे।
झरनाले उनको हाउभाउ मिलेन भनेपछि उनी सजग हुन्थे र चरित्रमा घुस्थे।
विपीनका अनुसार उनी चरित्रमा यति घुलमिल भएका थिए कि धेरै स्थानीयले उनी अभिनेता हुन् भन्ने थाहै पाएनन्।
'जनकपुरधाममा भारत लगायत अन्य देशबाट तीर्थारूहरू आउँथे। त्यहाँ पारलैंगिक महिलाको आशीर्वाद लाग्छ भन्ने विश्वास छ। म पारलैंगिक महिला समूहको प्रमुख जस्तो हुलियामा भएकाले तीर्थारूहरू मसँग पनि आशीर्वाद लिन आउँथे,' उनले हाँस्दै भने।
स्थानीय सपना माई नामक पारलैंगिक महिलाबाट प्रभावित भएर कमला माई पात्र निर्माण गरिएको उनी बताउँछन्। सपना माईले आफूजस्तै यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायका धेरै मान्छेहरूलाई आरक्षण दिएकी छन्।
यो फिल्ममा पारलैंगिक महिलाको भूमिकामा विपीन मात्र देखिएका छैनन्, अरू ७० जना पनि छन्। उनीहरू विपीनजस्तै कलाकार भने होइनन्, सबै वास्तविकतामै पारलैंगिक महिला हुन्।
उनीहरूसँग काम गर्दा आफूलाई पात्रमा भिज्न सजिलो भएको विपीन बताउँछन्। यो फिल्मले उनलाई यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायका मानिसहरूलाई नजिकबाट बुझ्ने अवसर पनि दियो।
'मैले उहाँहरूको निकै दर्दनाक कहानीहरू सुनेँ। कतिपय घरबाट कुटिएर लखेटिएको, कोही धेरै वर्षपछि घर गएको, कोही आफ्नो ठाउँको पहिचान छाडेर अर्काे ठाउँमा नयाँ नाममा बसेको। उहाँहरूलाई खुल्न कति गाह्रो छ भन्ने कुरा थाहा पाएँ,' उनले भने, 'यो समुदायका बारेमा मलाई पनि धेरै थाहा थिएन। स्कुल पढ्दाताका मैले पनि साथीलाई जिस्काएको छु। अहिले मलाई चेत भएको छ। मैलाई धेरै कुरा जानकारी भयो।'
फिल्ममा एक संवाद छ — कसैको घरमा छोराछोरी जन्मियो भने पारलैंगिक महिलाको आशीर्वाद लिइन्छ। तर आफ्नो घरमा पारलैंगिक महिला जन्मियो भने त्यो स्वीकार गर्न सक्दैनन्।
समाजको यथार्थ यो संवादजस्तै रहेको बताउँछन् विपीन।
'मैले फिल्महरूमा पारलैंगिक महिलालाई धेरैजसो हाँसोको पात्रका रूपमा चित्रण गरेको देख्थेँ। मलाई त्यस्तो भूमिका गर्नु थिएन। त्यही समुदायलाई प्रतिनिधित्व गर्ने र त्यसो गर्दा उहाँहरूको भावनामा ठेस नपुगोस् भन्नेमा म सचेत थिएँ। फिल्मले उहाँहरूलाई न्याय गर्छ जस्तो लाग्छ,' उनले भने।
वास्तविक पात्रलाई फिल्ममा समावेश गर्दा यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायको कथा अझै राम्रोसँग आउने विपीनको ठम्याइ छ।
'सायद म वास्तविक पात्र भएको भए अझै खुल्न सक्थेँ होला। यो फिल्ममा म पात्रको नजिक पुग्ने कोसिस भने गरेको छु। यो हो कि भन्दै गर्नुभन्दा वास्तविक पात्र भएको भए अनुभवसँगै आउँथ्यो होला,' उनले भने।
विपीनको भूमिकाको छायांकन सुरूमा २० दिनमा सकिने भनिएको थियो। तर एक महिना लाग्यो।
'अन्तिम दिनमा आइपुग्दा मेरो अभिनयमा सुधार आइरहेको थियो। बल्ल अब छायांकन सुरू गरेको भए मैले बबाल गर्ने रहेछु भन्ने महसुस भएको थियो,' विपीनले भने।
आगामी भदौ २९ गतेदेखि प्रदर्शन हुने फिल्ममा विपीनसँगै सुहाना थापा र धिरज मगरको मुख्य भूमिका छ।