आजभोलि उनलाई जुम्ली भाषा र लवज झनझन् प्यारो लाग्दैछ। आफ्नै भाषामा संवाद बोलेर नाटकमा अभिनय प्रवेश गरेका उनी जुम्ली कलाकारका रूपमा अघि बढ्दै छन्। हिमाली कलाकारका रूपमा परिचित हुँदै छन्।
उनी हुन् रंगकर्मी गोविन्द सुनार।
हाल मण्डला थिएटरमा मञ्चन भइरहेको 'हिउँभन्दा चिसो' नाटकमा गोपी नामका पात्रको भूमिकामा छन् गोविन्द।
नाटकमा गोपीकी पत्नी छिन् नौरती। दुवै जना जुम्ली पोसाकमा हुन्छन्, दुवैको जुम्ली लवज हुन्छ। सबै गतिविधिले दम्पतीलाई पूर्ण जुम्ली देखाउँछ।
गोविन्द जुम्लाको खलंगाका स्थायी बासिन्दा हुन्। हिउँभन्दा चिसो उनको छैटौं नाटक हो।
यो नाटकका निर्देशक सोमनाथ खनाल गोपी पात्रका लागि उपयुक्त रंगकर्मीको खोजीमा थिए। नाटकमा सबै परिवेश कर्णालीतिरकै भएकाले सोमनाथ त्यतैको कलाकार चाहन्थे। कर्णालीकै कलाकार भए कथाको मर्ममा न्याय हुन्थ्यो भन्ने उनको धारणा थियो।
यसै अनुसार उनले एक दिन गोविन्दलाई फोन गरे। दुई जनाको कुरा भयो।
'मेरो कलाको सम्मान गरेर निर्देशकले मलाई फोन गरे। मेरा लागि निकै खुसीको कुरा भयो,' गोविन्दले भने, 'निर्देशक आफैंले खोजेर अवसर दिए। त्यो बेला अवसर नै मलाई खोज्दै आएको जस्तो लाग्यो।'
गोविन्दलाई नाटकको कथा औधी मनपर्यो। राम्रो अभिनय गर्न सक्छु, पात्रतामा न्याय गर्न सक्छु जस्तो लाग्यो।
रिहर्सल (अभ्यास) लगातार अठार दिन चल्यो। गोविन्दका लागि नाटकमा प्रयोग भएको कर्णालीतिरको भाषा–लवज कुनै कठिन काम थिएन। उनले सहजै पूरा गरे। उनी मञ्चमा प्रकाश, आवाज र संगीतको संयोजन गर्नमा पनि सिपालु छन्। उनले यस काममा पनि नाटकको टिमलाई सघाए।
हिउँभन्दा चिसोमा आउनुअघि ३० वर्षीय गोविन्दले 'प्रकाश' फिल्ममा अभिनय गरेका थिए। प्रकातशमा पनि उनी जुम्ली पात्रकै अभिनयमा थिए। उनले निर्देशक टिमलाई जुम्ली कलाकार खोजी, भाषाशैली, स्थान छनोट र जुम्ली संस्कृतिबारे आवश्यक सहयोग गरे।
कोभिड–१९ को लकडाउनमा परेर फिल्म प्रदर्शनी ढिलो भयो। ढिलै भए पनि फिल्म अएपछि उनको अभिनयको चर्चा भयो, राम्रो मानियो। सकारात्मक प्रतिक्रिया पाएपछि उनलाई काममा ऊर्जा मिल्यो।
नाटकबाट फिल्मसम्मको यात्रा गर्नु गोविन्दका लागि कर्णालीको तिखो चट्टानमा हिँड्नुसरह थियो।
'दलित समुदायको हुनुले अवसरबाट बञ्चित हुनुपरेको तीतो अनुभव पनि छ मसँग। कतै मेरो जुम्ली लवज पनि बाधक भएको छ,' उनले भने।
नाटक गर्ने क्रममा यात्रा गरिरहनुपर्थ्यो। ग्रामीण क्षेत्रमा ठाउँठाउँमा बास बस्नुपर्थ्यो। यसरी बास बस्नु उनका लागि कम्ती सकसको कुरा थिएन।
'ठाउँठाउँमा बास बस्नुपर्ने हुन्छ। पश्चिमतिर जातीय विभेद धेरै छ। म कतै पनि आफ्नो जात लुकाउँदिनँ,' गोविन्द भन्छन्, 'दलित समुदायको हो भन्ने थाहा पाएपछि सबै व्यवहार फरक हुन्छ। निकै समस्या हुन्छ। मैले धेरै पटक भोगेको छु।'
गोविन्द पाँच वर्ष उमेरका हुँदै बुबा बिते। छोराछोरी हुर्काउने एक्लो जिम्मेवारी आमाको भयो। गोविन्द आज अभिनयको जुन स्थानमा पुगेका छन्, त्यसको श्रेय आमालाई नै दिन्छन्।
'आमाले कष्ट नगरेको भए म यहाँसम्म आइपुग्ने थिइनँ। आमाले सन्तानका लागि आफूलाई बिर्सिनुभयो। घामपानी, केही भन्नुभएन। आमाको यो ऋण म कहिल्यै तिर्न सक्दिनँ,' उनले भने।
बाल्यकालका घरको आँगनमा दाजुभाइ भकुन्डो खेल्थे। छिमेकीहरू गैरदलित थिए। कहिलेकाहीँ भकुन्डो उफ्रिँदै उनीहरूका आँगनमा पुग्थ्यो। त्यो भकुन्डो लिन जानु पनि निकै सकसको काम हुन्थ्यो। गाली पाउनु सामान्य थियो, कहिलेकाहीँ त कुटाइ पनि खाएको उनले बताए।
हुर्किँदै जाँदा उनलाई आफूहरू दलित भएकाले हेपिएका हौं भन्ने महसुस हुँदै गयो। एकपटक अपमानको एउटा घटनामा उनीहरूले सार्वजनिक मुद्दा पनि हाले। त्यसपछि विभेद कम भएको उनी बताउँछन्। उनका विचारमा छुनु वा नछुनुभन्दा मनोवैज्ञानिक दबाब बलशाली छ।
'तिमीहरू सानो जातका हौ, तिमीहरू हेपिनुपर्छ, तिमीहरूले सहनुपर्छ भन्ने मनोवैज्ञानिक दबाब अन्त्य हुन आवश्यक छ,' उनी भन्छन्, 'मानसिक रूपमा गढेर बसेको विभेद खतरनाक हुन्छ। यस्तो मनोविज्ञानले पीडितलाई गुम्स्याउँछ। दलित समुदाय यसबाट बाहिर निस्कन आवश्यक छ।'
माध्यमिक शिक्षाको पढाइ पूरा भएपछि गोविन्द दलित समुदायमाथिको विभेदविरूद्ध कुनै किसिमको विद्रोहको उपाय खोज्दै थिए। यसका लागि उच्च सामाजिक चेतना आवश्यक पर्छ भन्ने उनको ठहर थियो। यही मेसोमा उनी स्नातक तहमा समाजसेवा (बिएसडब्लु) पढ्ने विचार गरेर काठमाडौं आए।
गाउँमा उनले ससाना नाटक हेरेका थिए। त्यति बेलै उनलाई नाटकमा काम गर्न मन भएको थियो।
'ऊ बेला गाउँमा नाटक देखाइन्थ्यो। नाटक गर्दा पैसा मिल्थ्यो,' उनले भने, 'मैले पनि नाटक गर्न चाहेको थिएँ तर मौका पाइनँ, दर्शक मात्रै भएँ।'
गोविन्द काठमाडौंमा विद्यार्थी छँदा कालिकोटमा चुलो छोएको निहुँमा एक दलित युवकको हत्या भयो। त्यो घटनाले उनलाई ठूलो चोट पुर्यायो। उनले कलामार्फत विद्रोह सुरू गरे।
'कालिकोटको घटनाले मेरो मुटु चर्कियो। त्यही घटनालाई जोडेर बीस मिनेटको सांगीतिक नाटक गरेँ। यसपछि कलामार्फत आफ्नो कथा भन्न सक्छु भन्ने आँट पलायो,' उनले भने।
स्नातक तहको पढाइको 'फिल्डवर्क' क्रममा घटनाका कथाहरू लेख्नुपर्थ्यो। यही बेला गोविन्दले केही कथालाई नाटकको रूप दिए। आफ्नो कक्षाका साथीहरूलाई अभिनय गराए।
'सानो छँदा सडक नाटक हेरेको भरमा मैले नाटक बनाउने आँट गरेँ,' उनले भने, 'बिएसडब्लु पढेपछि कलामार्फत सामाजिक रूपान्तरणको काम गर्न सकिन्छ भन्ने लाग्यो।'
काठमाडौं आएपछि नाटक सिकाउने कक्षा हुन्छ, नाटकघर पनि हुन्छ भन्ने उनले थाहा पाए। कलेजमा नाटक लेख्ने र मञ्चन गर्ने कामकै क्रममा उनी नाटकघर अर्थात् थिएटर पुगे। सबभन्दा पहिले उनी मण्डला नाटकघरमा नाटक हेर्न गए। यसपछि उनले नाटक पढ्न थाले। जसोतसो खर्च जुटाएर एक महिनासम्म अभिनय सिके।
अभिनय सिके पनि नाटक गर्न त्यति सजिलै कहाँ पाउनु! सहयोगी बनेर नाटकको टिममा प्रवेश गरे। मञ्च व्यवस्थापन, प्रकाश, संगीत र आवाजको प्रविधिबारे थाहा पाउने अवसर पाए।
तीन वर्षपछि, सन् २०१७ मा गोविन्दले 'मेटासिड' नामको नाटकमा अभिनय गर्न पाए। उनको अभिनय राम्रो मानियो। उनी निकै दंग परे। तर तुरून्तै अर्को अवसर पाएनन्।
स्नातक तहको पढाइ पूरा गरेपछि उनी जुम्ला फर्के। उतै 'पम्फाफूल' नामको नाटकमा काम गर्न पाए। उनी आफूसमेत लागेर नाटक तयार भयो। आफैं मुख्य पात्र बने। दुई महिनासम्म रिहर्सल भयो। एउटा सरकारी कार्यालयको हल खाली थियो। नाटक त्यहीँ देखाइने भयो। प्राविधिक तयारी पनि आफैं गरे।
नाटक प्रदर्शन भयो। गोविन्दकी आमा कला सुनारले पनि हेरिन्। छोरालाई नाटकमा देखेर दंग परिन्।
नाटक हेरेपछि छोरालाई भनिन्– भौवा (बच्चा) तैंले क्या गरिस्!
आमाको कुराले गोविन्द दंग परे।
उनले पम्फाफूल काठमाडौंमा आयोजित एउटा महोत्सवमा पनि देखाउने अवसर पाए। यसपछि पनि उनी गाउँ फर्के। गाउँमै नाटक गर्ने विचार गरे।
आम्दानीका लागि खलंगामा एउटा सानो क्याफे खोले। मःमः, चाउमिन, चिया बेचे।
'त्यो ग्रामीण परिवेशमा दलित समुदायका व्यक्तिले खोलेको क्याफे चल्ने कुरै थिएन। मलाई यति कुरा थाहा थियो,' उनले भने, 'त्यसैले पकाउने, खुवाउने कामका लागि गैरदलित सहयोगी राखेँ। मैले बाहिरको काम गरेँ।'
क्याफे ठिकै चल्दै थियो। एक दिन काठमाडौंबाट एक जना साथीको फोन आयो। ती साथीले 'चारदुना नौ' नामको टेलिशृंखलामा काम गर्न बोलाए। गोविन्दले यसलाई मौका ठाने। क्याफे बेचेर काठमाडौं हानिए। कोरोनाको लहर चलेको थियो। अनेक उपाय लगाउँदै काठमाडौं आइपुगे। छायांकनका क्रममा रारा ताल पुगे।
नेपाल टेलिभिजनले देखाउने गरी बनेको 'चारदुना नौ' का दस वटा शृंखलामा उनले कर्णालीको पात्र बनेर अभिनय गरे। यसपछि 'प्रकाश' मा काम गर्ने अवसर पाएका हुन्। फिल्मपछि अन्तर्राष्ट्रिय वेबसिरिजहरू 'त्रास', 'क्राइमफाइन', 'शक्ति' मा अभिनय गर्ने अवसर आए।
यसपछि उनलाई काठमाडौंमा नाटक गर्ने बाटो केही सहज भयो।
फिल्म र नाटक दुवैतिर काम गर्ने गोविन्दले यी दुई काममा पर्याप्त भिन्नता अनुभव गरेका छन्।
'फिल्म र नाटकमा फरकफरक मेहनत चाहिन्छ। फिल्ममा क्यामराको भाषा बुझ्नुपर्छ। नाटकका ठाउँको ठाउँ अभिनय गर्नुपर्छ,' उनी भन्छन्।
अहिले जेजति भए पनि उनको आम्दानीको स्रोत फिल्म र नाटक नै हुन्।
गोविन्द प्रायः कर्णालीतिरकै पात्रको भूमिकामा हुन्छन्। यसकै लागि निर्देशकले उनलाई रोजेका हुन्छन्। उनी आफू कर्णालीमा मात्रै सीमित हुनु परेकोका सन्तुष्ट छैनन्।
भन्छन्, 'जुम्लाको पात्रमा म बढी राम्रो गर्न सक्छु तर जुनसुकै भूमिकामा काम गर्न सक्छु। मलाई जुम्लाको पात्रमा मात्र रोज्नु न्यायपूर्ण लाग्दैन।'
काठमाडौंमा नाटक गर्दा पनि गोविन्दलाई जातीय विभेदको तीतो अनुभव भएको छ।
'नाटक सकेर बाहिर निस्केपछि कतिपय दर्शक तिमी शाही हो भनेर सोध्थे। म सुनार हुँ भन्थेँ,' उनले भने, 'कोही दर्शक नाक खुम्चाएर अचम्म माने जस्तो गर्थे।'
गोविन्दको अबको चाहना आफ्नो गाउँमा एउटा नाटकघर खोल्ने हो। नाटकमार्फत उनी उतैका कथा भन्न चाहन्छन्। नाटकको समृद्धिमा योगदान गर्न चाहन्छन्।
'जातीय विभेदविरूद्ध चेतना विस्तार गर्न चाहन्छु,' उनले भने।
सबै तस्बिरः नवीनबाबु गुरूङ/सेतोपाटी